विकासन्युज

माछापुच्छ्रे बैंककी संस्थापक कार्कीले ६२ हजार कित्ता सेयर बेच्दै

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ६२ हजार १६५ कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको ईन्दु कुमारी कार्कीको नाममा रहेको सो सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सो सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले माछापुच्छ्रे क्यापिटल सुनधारामा सम्पर्क गर्नु पर्ने जनाएको छ ।

३७० रुपैयाँमा आशा लघुवित्तको १ लाख ३० हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । आशा लघुवित्त वित्तीय संसथाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको १ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । लघुवित्तका अनुसार संस्थापक समूहका केही संस्थापक सेयरधनीहरुले उक्त सेयर बिक्री गर्न लागेका हुन् । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकेको छ । इच्छुक जोकोही लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी तोकि निवेदन पेश गर्नु पर्ने लघुवित्तले जनाएको छ । लघुवित्तले यसअघि ३५ दिनभित्र संस्थापक सेयरधनीलाई बिक्री गरेको थियो । तर, सो समयमा कसैको पनि आवेदन नपरेपछि सर्वसाधारणलाई पनि बिक्री खुला गरेको हा ।

सबैभन्दा कान्छी सांसद डाँगीको अनुभव – सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ

काठमाडौं । “सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन !” विधायिकाको भूमिकाबारे राससको जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकार गरिन् । सांसदसँग राससको अन्तक्र्रियामा उनले आफ्नो संसदीय अभ्यासको अनुभव यसरी व्यक्त गरिन । “म आफँैलाई आफ्नो अपेक्षामा खरो उत्रिन सकेको छैन कि जस्तो लाग्छ । एक वर्षमा के–के नै गर्न सकिन्छ भन्ने लागेको थियो । मेरो व्यक्तिगत प्रयासका बाबजुद समग्र सदनको अभ्यास ‘प्यासिभ’ भएकै हो । सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन,” उनले भनिन् । विधायिकाको भूमिकामा प्रभावकारी काम गर्ने हुटहुटीका बाबजुद संसदीय अभ्यासमा सक्रिय हुन नसकेको उनको बुझाइ छ । “सदनदेखि संसदीय समितिमा राम्रो ‘पर्फमेन्स’ दिन्छु, अध्ययनशील बन्छु, राम्रो गर्छु, नेतृत्व गर्छु भन्ने हिसाबले लागिपरेको छु । तर न समिति सक्रिय भइदिन्छ, न सदनमा जनताको आवाज बोल्ने पर्याप्त समय पाइन्छ”, उनले भनिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापनासँगै राजनीतिक यात्रा सुरुआत गर्नुभएकी २६ वर्षीय डाँगी प्रतिनिधिसभासदस्य मध्ये कम उमेरकी सदस्य हुन् । उनी पार्टीको खस आर्य समूहमा समानुपातिक तर्फ निर्वाचित भएकी थिईन् । उनी रास्वपाको संसदीय दलको सचेतक पनि छिन् । १७ वर्षको उमेरदेखि नै प्रत्यक्षरूपमा सामाजिक कार्यमा संलग्न उनी अपाङ्ग सङ्घसंस्था, महिला पुनःस्थापना केन्द्र, सरसफाइ कार्यक्रम अभियान र वृद्ध तथा बालबालिकाको हकहित जगाउने गतिविधिमा संलग्न थिइन् । कम उमेरमा संसदीय अभ्यासको पहिलो अनुभव बटुल्दै गरेकी उनले आफ्नो भूमिका ओजपूर्ण बनाउन प्रयत्नशील रहेको कुराकानीका क्रममा बताइन् । “मेरो राजनीतिक पृष्ठभूमि छैन । तर मभित्र समाजमा कुनै पनि हिसाबले योगदान पुर्याउनुपर्छ भन्ने सोच पहिल्यैदेखि थियो । अब विधायिकाको जिम्मेवारी प्राप्त गरेसँगै मलाई अल्मलिने न समय छ न छुट,” उनले भनिन् । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको सदस्यसमेत रहेकी डाँगीले समितिको बैठक नियमितरूपमा बस्न नसक्दा विधेयकमाथिको छलफलले तीव्रता पाउन नसकेको गुनासो गरिन् । “धेरै बजेट खर्च हुने र धेरै मन्त्रालय सम्बन्धित हुने समिति पूर्वाधार विकास समिति हो । तर समितिको सभापति चयन हुनुभएको एक महिना बित्दा पनि कुनै विधेयकमाथि दफावार छलफल सुरुआत हुनसकेको छैन”, उनले भनिन्, “यस समितिअन्तर्गतका सम्बन्धित सातवटा विधेयकमध्ये कुनैमा पनि छलफल सुरु भएको छैन । मैले समिति सचिवालयमा लिखितरूपमा ‘एजेण्डा’ पेस गर्दा पनि चासो व्यक्त भएन ।” यस्तै उनले समितिमार्फत नै विधेयकलाई राम्रोसँग छलफल गरेर लग्नुपर्नेमा जोेड दिइन् । सदनमा युवा सांसदको प्रतिनिधित्व कम नै छ । ऊर्जाशील युवा सांसदको प्रतिनिधित्व गरिरहनुभएकी उनले भनिन्, “मलाई लाग्दथ्यो, राजनीतिक नेतृत्वले सबै कुरा गर्न सक्छन्, इच्छाशक्तिको अभाव हो । तर एक–दुई जनाले मात्र चाहेर हुने कुरा होइन रहेछ । बहुमतले चाहेको खण्डमा मात्र सबै सम्भव हुने रहेछ ।” उनका अनुसार सदनलाई सरकारले ‘बिजनेस’ नदिने र सांसदहरूले सकारात्मक दबाब सिर्जना गर्न नसक्दा पनि सदन क्रियाशील नदेखिएको हो । “हामी कति पुराना कानुनमा चलिरहेका छौँ तर सरकारले ‘बिजनेस’ दिँदैन । स्वयं हामीले घच्घच्याउन सकेनाँै । त्यसमा सिङ्गो सदनसँगै म पनि सांसदको रूपमा चुकेको हुँ कि जस्तो लाग्छ ”, उनले भनिन् । संसदीय अभ्यासको अनुभव सुनाउने क्रममा उनले सदनमा हुने जनताका मुद्दा बाहिरका तथ्यहीन आरोप–प्रत्यारोपले सफल संसदीय अभ्यासबारे नै प्रश्न उठ्नु चिन्ताजनक भएको बताइन् । लामो समय राजनीति र संसदीय अभ्यासको अनुभव प्राप्त जनप्रतिनिधिले समेत संसदीय मर्यादाविपरीत बोलेको देख्दा सांसद डाँगीलाई आश्चर्य लाग्ने गरेको छ । “कति कुरा देखाउनका लागि मात्र हँुदोरहेछ । उहाँहरू सदन बाहिर मिलेजस्तो गर्नुहुन्छ तर जनतालाई देखाउन आरोप–प्रत्यारोप गर्ने गरेको देख्छु”, उनले भनिन्, “नियमावलीमा के बोल्न हुन्छ÷हुँदैन भन्ने स्पष्ट लेखिएको छ । अझ अनौठो लाग्ने कुरा नियमावली लेख्दा छलफलमा बस्नुभएका सांसदहरू नै सदनमा संसदीय मर्यादाविपरीत बोल्नुहुन्छ ।” उनले पार्टीले ‘ह्वीप’ जारी गर्दा सांसदको स्वतन्त्र भूमिका खुम्चिने कुरामा सहमत हुँदै भनिन्, “हाम्रो पार्टीमा हुँदैन म भन्दिनँ तर अन्य राजनीतिक पार्टीको तुलनामा हामी धेरै हदसँग स्वतन्त्र छौँ । पार्टीभन्दा पहिले सांसद जनप्रतिनिधि हो, जनताप्रति बढी उत्तरदायी हुनुपर्छ भन्ने सोचलाई कार्यान्वयन गर्न सकेमात्र पनि संसद्को भूमिका अझ बढी प्रभावकारी हुने थियो ।” उनले जनतामा मत माग्दा दिएको आश्वासनलाई पूरा गर्न सके जनप्रतिनिधि आफ्नो भूमिकामा धेरै हदसम्म सफल हुने बताइन् । “तर एउटा नमीठो सत्य के हो भने आफ्नो मुख्य भूमिका, कानुन निर्माणभन्दा विकास निर्माणको आश्वासन बाँडेर मत माग्ने र त्यही पूरा गर्नमा अल्झियौँ । सांसदको भूमिकाबारे सांसद आफँै सचेत हुनुपर्छ भन्ने जनतालाई पनि यसबारे जानकारी हुनुपर्छ”, उनले भनिन् । उनले जनताको मुद्दा सदनमा प्रस्तुत गर्न एथेष्ट समय नपाएको बताइन् । “पछिल्लो समय दोस्रो अधिवेशनमा बोल्न पर्याप्त समय दिइँदैन । जनताका धेरै मुद्दा हुन्छन्, सदन दुई घण्टा सञ्चालन हुँदा हाम्रो पार्टीले आठ मिनेट पाउँछ, त्यो आठ मिनेटमा कति कुरा राख्ने ?”

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्ने

काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज ७ गते आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् । बैंकले २५ औं वार्षिक साधारण सभा असोज १८ गते पोखरामा बिहान ११ बजे बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । त्यसैगरी, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

प्रधानमन्त्रीको चीन भ्रमण : नेपाल–चीन बिजनेस समिटलाई आज सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन पुगेका छन् । प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । उनीहरूबीचको सो वार्तामा द्घिपक्षीय हित र चासोका साथै नेपाल–चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै प्रधानमन्त्री दाहाल आज आइतबार चीनको राजधानी सहर बेइजिङ जाने कार्यक्रम छ । उनी आइतबार बिहान ११ः१० बजे आइपुग्ने कार्यक्रम रहेको छ । बेइजिङमा आइतबार हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका छन् । उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ । उक्त सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवद्र्धनका विषयमा आवश्यक छलफल हुनेछ । आइतबार नै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ । त्यस्तै सोमबार प्रधानमन्त्री दाहालले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्ने छन् । त्यस्तै सोमबार नै प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षी चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । सोही दिन नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ । उक्त द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम रहेको छ । उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने छन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्कने कार्यक्रम छ ।

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका ३ सय र स्थानीय प्रजातिका २ सय गरी ५ सय स्याउका बिरुवा छन् । उनले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गरे । तर यसपटक भने उहाँको स्याउ बगान रित्तै छ । गत चैत र वैशाखमा परेको असिनाका कारण उनको स्याउ बगानको उत्पादनमा कमी आएको छ । उनले विसं २०४८ देखि परम्परागत तरिकाले स्याउखेती गर्दै आएका छन् । उनको मसगाउँमा रहेको १५ रोपनी जग्गामा स्याउखेती छ । दुई वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको स्याउ गत वर्ष राम्रो उत्पादन दिएको भए पनि यस वर्ष उत्पादनमा कमी आएको बताए । “गत वर्ष १५ क्विन्टल स्याउ बिक्री गरेको थिए, यस वर्ष २० देखि २५ क्विन्टल बिक्री गर्ने लक्ष्य थियो”, किसान बुढाथोकीले भने, “चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आयो, ढोरपाटन र निसेलढोर क्षेत्रमा पहिलोपटक असिना परेको थियो ।” असिनाका कारण ढोरपाटन र निसेल्ढोर क्षेत्रका स्याउ किसान अहिले निराश भएको अगुवा स्याउ किसान बुढाथोकीले बताए । परम्परगात स्याउखेती सफल नहुँदा निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए । उनले आफ्नो व्यक्तिगतरूपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने लक्ष्य रखेका छन् । उनले यस वर्ष २ सय इटालियन प्रजातिका बिरुवा थप गरेका छन् । “ढोरपाटन स्याउ ब्लकको अध्यक्षसमेत भएँ, अहिले सामूहमा काम गरेका छौँ, ढोरपाटन र निसेलढोका स्याउ किसानको नेतृत्व म आफँै गरिरहेको छु, परम्परागत स्याउ भएन”, उनले भने, “इटालियन प्रजातिको स्याउ फस्टाएको छ तर यस वर्ष भने स्याउ उत्पादनमा निकै कमी आयो असिनाले स्याउका फूल झार्दा उत्पादन न्यून भएको हो ।” ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसान व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन् । कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षात् कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाएको थियो । तर कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएको आधुनिक प्रजातिको स्याउको बिरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो । स्याउको परीक्षण सफल भएपछि अहिले पुनः नयाँ बिरुवा थप भइरहेको छ । सो क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौँ भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ । ढोरपाटन उपत्यका, सेन्तुङ, श्यालपाखे र निसेलढोर, मसलगायतको स्थानमा परम्पराकालदेखि नै फ्याट्टफुट्ट स्याउखेती हुने गरे पनि त्यसले व्यावसायिकता पाउन थिएन । ढोरपाटन–९ ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले समेत १८१ वटा बिरुवामा केही बिरुवामा गत वर्षदेखि स्याउ फल्न थालेको बताउँदै यस वर्ष भने असिनाका कारण स्याउ निकै कम फलेको बताए । यहाँका स्थानीय परम्परागत स्याउखेती छाडेर इटालियन प्रजातिको स्याउखेती लगाउन अग्रसर भए पनि यसपटक ढोरपाटन क्षेत्रको स्याउ उत्पादनमा भारी गिरावट आएको किसान रामबहादुरले बताए । ढोरपाटन क्षेत्रमा दुई सयभन्दा बढी किसानले परम्परागत र एक दर्जन किसानले व्यावसायिक स्याउखेती गर्दै आएका छन् । रासस

तेश्रो बिवाहका लागि उखुबारीमा ९ महिने शिशुलाई बाँधेर आमा फरार भएपछि……

महेन्द्रनगर । आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ ? तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको बोटमा बाधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला ? आफैले जन्म दिएकी आमा कति निर्दयी बन्न सकिन होला ? ९ महिने दुधे शिशु छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी एक महिला कञ्चनपुरको बेलडाडी गाउँ पालिकाबाट पक्राउ परेकी छिन । शुक्रबार बिहानै ९ महिने शिशुलाई बेलौरी नगरपालिका ७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर परपुरुषसंग भाग्न लागेकी महिला पक्राउ परेकी हुन । पुनर्वास नगरपालिका २ अमरैया माईती घरमै बस्दै आएकी सर्मिला चौधरी पक्राउ परेकी छन् । चौधरीले आफैले जन्माएकी छोरीलाई उखुबारीमा एक हात बाधेर छोडेको आरोपमा पक्राउ परेकी हुन् । शर्मिलाले यस अघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी बिबाह गरेकी थिइन । केही समय बिबाहित जीवन राम्रो चले पनि पछि अजयलाई छोडेर उनले बैलौरीकै सुन्दर चौधरीसंग भागी विवाह गरेकी थिईन । सर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो, भन्ने पहिचान नभएपछि श्रीमान सुन्दर्वचौधरीसंग विवाद भएपछि बेलडाँडी ३ वैवाहका प्रेम डगौरासंग भाग्न लागेकी सर्मिला शनिबार पक्राउ परेकी हुन । शिशुका कारण श्रीमानसंग रातदिन झै झगडा किचलो हुन थालेपछि समाजिक सञ्जाल फेसबुक मार्फत वैवाहका प्रेम डगौरासंग भागेर विवाह गर्न लागेकी महिलालाई प्रहरीले सनिवार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बच्चालाई उखुबारीमा छाडेर फरार हुने सर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाईएको बताए । ‘९ महिने शिशुलाई उखुबारीमा अलपत्र छाडेर भाग्ने आमा सर्मिलालाई प्रहरीले पक्राउ गरिसकेको छ, ‘प्रहरी प्रवक्ता डाँगीले भने, ‘ईप्रका बेलौरीमा सर्मिलामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’ यो समाचार राजधानी दैनिकमा छ ।

अर्थतन्त्रलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ : बाणिज्यमन्त्री गोहर

काठमाडौं । पाकिस्तान सरकारले राष्ट्रिय अर्थतन्त्रलाई नियन्त्रणमा ल्याउन सम्भावित सबै स्रोतसाधनको प्रयोग गरिरहेको बताइएको छ । पाकिस्तानका कार्यवाहक वाणिज्यमन्त्री गोहर एजाजले आफ्नो देशले दिगो वृद्धि र विकाससँगै राष्ट्रिय अर्थतन्त्रलाई नियन्त्रणमा ल्याउन हरसम्भव उपायहरूको खोजी भइरहेको बताएका हुन् । पाकिस्तानले ९० दिनको समयावधिभित्र निर्यातमा विविधता ल्याई बहुमूल्य विदेशी मुद्रा आर्जन गर्न र ८० अर्ब अमेरिकी डलरको निर्यातको लक्ष्य हासिल गर्न उत्पादित वस्तुहरूको निर्यातमा थप वृद्धि गर्न आवश्यक रहेको उनले बताए । उनले भने, “निर्यात वृद्धिले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्छ । सरकार निर्यातको मात्रा बढाउन प्रतिबद्ध छ र यस सम्बन्धमा विभिन्न उपायहरू अपनाइँदैछ ।” पाकिस्तानको निर्यातको ठूलो हिस्सा टेक्सटाइल र कृषि उत्पादनहरू हो । यसले देशको अर्थव्यवस्थाको मेरुदण्डको रूपमा काम गर्दछ । उद्योगी व्यवसायीलाई निर्यात बढाउन सहयोग पुर्याउन सरकारले विद्युत्मा विशेष अनुदान दिँदै आएको छ भने विद्युतको आपूर्ति व्यवस्थाका लागि नयाँ नीतिलाई आगामी महिनाहरूमा थप सावधानीका साथ अघि बढाउने बताएको छ । मुलुकको विकासमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले अवरोध हटाउन र अर्थतन्त्रलाई उकास्न स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि उपयुक्त वातावरण सिर्जना गर्न हरसम्भव प्रयास भइरहेको बताए । पाकिस्तानी रुपैयाँमा निरन्तर दबाबको बारेमा कुरा गर्दै एजाजले स्थानीय मुद्राले विगत दुई हप्तामा अमेरिकी डलरसँग तुलनामा कारोबारमा सुधार प्राप्त गरिरहेको दावी गरे । सरकारले हालै कृत्रिम अभाव सिर्जना गरेको भन्दै मुद्रा तस्करहरूविरुद्ध कारबाही सुरु गरेको छ । एजेन्सी