काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन पुगेका छन् । प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर पुगेका हुन् ।प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । उनीहरूबीचको सो वार्तामा द्घिपक्षीय हित र चासोका साथै नेपाल–चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै प्रधानमन्त्री दाहाल आज आइतबार चीनको राजधानी सहर बेइजिङ जाने कार्यक्रम छ । उनी आइतबार बिहान ११ः१० बजे आइपुग्ने कार्यक्रम रहेको छ ।
बेइजिङमा आइतबार हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका छन् ।
उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ । उक्त सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवद्र्धनका विषयमा आवश्यक छलफल हुनेछ ।
आइतबार नै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।
त्यस्तै सोमबार प्रधानमन्त्री दाहालले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्ने छन् । त्यस्तै सोमबार नै प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षी चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । सोही दिन नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
उक्त द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिने कार्यक्रम रहेको छ ।
त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने छन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्कने कार्यक्रम छ ।