सानिमा बैंकका ग्राहकलाई दराजसंग सामान किन्दा २० प्रतिशत छुट
काठमाडौं । सानिमा बैंकको दराजसंग विशेष छुट दिने सहकार्य भएको छ । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् १,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना आश्विन १७ देखि ३० गतेसम्म १४ दिनका लागि लागू हुनेछ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई गुरु ट्राभल्समा छुट
काठमाडौं । सिटिजन्स बैंक र गुरु ट्राभल्सबीच समझदारी भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्ग, काठमाडौं स्थित गुरु ट्राभल्सबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले गुरु ट्राभल्स मार्फत विभिन्न अन्र्तराष्ट्रिय भ्रमण प्याकेजहरु लिदा १० हजारसम्मको छुट पाउनेछन् । यसका साथै गुरु ट्राभल्सको सिफारिसमा डलर/ट्राभल्स कार्ड बनाउन आउने ग्राहकहरूलाई बैंकले कार्ड जारी शुल्कमा आकर्षक छुट दिने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
नेशनल सोलारले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं । नेशनल सोलार पावर कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरका ७ लाख २४ हजार कित्ताभन्दा बढी साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको हो । उक्त आईपीओ निष्काशन गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । साथै, एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गतको संस्थागत परामर्श सेवा दिने भएको छ । जसको लागि दुई संस्थाबीच सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । नेशनल सोलार पावर कम्पनी सौर्य उर्जा मार्फत उर्जा क्षेत्रमा क्रान्ती ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । हाल उक्त कम्पनीले नवलपरासी जिल्लाको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्षदेखि सञ्चालन गरिरहेको छ । साथै, कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना संचालन गर्नको लागि आवश्यक सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पुर्याएको छ ।
पहिले दुर्व्यसनीको अखडा, अहिले बन्यो ड्रागन फ्रुटको बगैँचा
पोखरा । पोखरा महानगरपालिका–११ सेती नदीको किनारास्थित रामघाट केही वर्षअघिसम्म गाँजा, चरेसजन्य लागुऔषधको प्रयोग गर्ने दुर्व्यसनीहरूको अखडा जस्तै थियो । नजिकै रहेको गण्डकी अस्पतालबाट बेवारिसे शिशुहरूको शव पनि फाल्ने गरिन्थ्यो । लागुऔषध र फोहोरले कुरुप बनेको उक्त स्थान यतिबेला ड्रागन फ्रुटको बगैँचामा परिणत भएको छ । पुनः समाज पोखराको व्यवस्थापनमा उक्त क्षेत्रमा तीन वर्षअघिदेखि सुरु गरिएको ड्रागन फ्रुट खेतीले यस क्षेत्रको पहिचान नै बदलिदिएको छ भने त्यहाँ उत्पादित ड्रागन फ्रुट बजारमा समेत पुगेको छ । ‘तीन वर्षअघि यहाँ ड्रागन फ्रुटको खेती गर्न सकिन्छ भन्ने विषय धेरैलाई पत्याउर लाग्दैनथ्यो’, समाजका संस्थापक एवम् ड्रागन फ्रुट खेतीका संयोजक राजकुुमारी गर्वुुजा पुनले भने, ‘बगैँचामा लटरम्म फल्न थालेको ड्रागनले यतिबेला सबैलाई खुसी बनाएको छ ।’ उनका अनुसार तीन वर्ष अघिसम्म यो स्थान गाँजा, चरेसजन्य लागुऔषधमा फसेकाहरूको अखडा जस्तै थियो । त्यस्तो स्थानमा समाजका सदस्यको अथक प्रयाससँगै अहिले ड्रागन फ्रुटको सुन्दर बगैँचा बन्दा आफूहरु निकै खुसी बनेको उनको भनाइ छ । विसं २०७७ बाट सुरु भएको ड्रागन फ्रुट १६ महिनादेखि फल्न थालेको बताउँदै उनले उत्पादित फलको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको जानकारी दिए । पूर्णरुपमा प्राङ्गारिक मलको प्रयोग गरी उत्पादन गरिएको रातो ड्रागन फ्रुटको बजारमा माग राम्रो रहेको उनको भनाइ छ । ‘गरे के हुँदैन भन्ने सन्देश ड्रागन खेतीका माध्यमबाट दिन खोजेका हौँ’, उनले भने, ‘यदि कोही कसैले तालिम लिन खोज्छन् भने पनि हामी निःशुल्क रुपमा तालिम दिन पनि तयार छौँ ।’ सुरुमा कुनै तालिम बिना नै युुट्युुव हेरेकै आधारमा आफूहरूले ड्रागन फ्रुटको खेती थालेको पुन समाजका कोषाध्यक्ष शेरबहादुर पुनले जानकारी गराए । अघिल्लो वर्षमा करिब तीन लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको समाजले यसवर्ष झन्डै रु १० लाखको बिक्री गर्ने लक्ष्य राखेको उनले बताए । ड्रागन फ्रुट खेतीका लागि सुुरुमा ४३ जनाबाट प्रतिव्यक्ति एक लाखका दरले ४३ लाखकै बीउ पुँजीबाट थालिएको बताउँदै उनले हालसम्म करिब ३७ लाख खर्च भएको जानकारी दिए। उनका अनुसार बगैँचामा पाँच सयवटा पिल्लरमा दुुई हजार ड्रागन फ्रुटका बिरुवा रोपिएका छन् । प्रत्येक पिल्लर रु आठ सय ५० मा खरिद गरी व्यवस्थापन गरिएको हो भने भियतनामी ड्रागन फ्रुटका बिरुवा चितवनको गङ्गा श्री बहुउद्देश्यीय फार्मबाट किनेर ल्याइएको हो । समाजले फार्मबाटै प्रतिकेजी रु सात सयमा ड्रागन फ्रुट बिक्री गर्दै आएको समाजका सदस्य खमबहादुुर पुर्जाले जानकारी दिए । ‘हामीले बजार मूल्यभन्दा केही सहुलियतमा ड्रागन फ्रुट बिक्री गरेका छौँ’, उनले भने, ‘विषादीरहित प्राङ्गारिक मलको प्रयोग गरेर फलाइएको हुँदा यो अन्यभन्दा बढी गुणस्तरको भएको हाम्रो दाबी छ ।’ समाजले ड्रागन फ्रुटको बिरुवा पनि बिक्री गर्दै आएको जानकारी दिँदै उनले प्रतिबिरुवा दुई सयमा बिक्री गरिएको बताए । बगैँचाको घाँस व्यवस्थापनसँगै बिरुवाका लागि आवश्यक मलका लागि छवटा पाडा खरिद गरी पालिएको र बगैँचाको नियमित रेखदेख गर्न एक जनालाई प्रत्यक्ष रोजगारी समेत दिइएको समाजले जनाएको छ । स्वास्थ्यका दृष्टिले बहुुपोषणयुक्त ड्रागन फ्रुट बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैका लागि उपयुक्त फल मानिन्छ । समाजको सक्रियतामा गरिएको ड्रन फ्रुट खेती अन्य सबै समाज र समुदायका लागि पनि प्रेरक भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । हाम्रा हरेक समाज एवम् समुदाय उत्पादनसँग जोडिन सके त्यसले आत्मनिर्भरतासँगै रोजगारी सिर्जना गर्ने उनको भनाइ छ। उत्पादन गर्न सके बजारको समस्या नरहेको बताउँदै प्रमुख कडरियाले समाजको सक्रियता प्रशंसनीय रहेको बताए । यो फल दक्षिण अमेरिकाको मेक्सिकोमा फल्ने सिउँडी प्रजातिको रैथाने फल हो । यसको बोट सिउँडीको जस्तै हुन्छ । एसियामा पहिलोपटक भियतनामले भित्र्याएको यो फल थाइल्यान्ड, मलेसिया र इन्डोनेसिया हुँदै पछिल्लो समयमा नेपालीको पनि आकर्षण बन्दै गएको छ । ‘हाइलोसेरुस अन्डटुस’ वैज्ञानिक नाम रहेको यसलाई मुन लभर्स, रात कि रानी, रातकी घण्टी, क्यान्डेलेराआदि नामले पनि चिनिन्छ । नेपालमा पहिलोपटक २०५७ सालमा भित्रिएको मानिने यो फलको पछिल्ला वर्षमा ठाउँठाउँमा व्यासायिक खेती थालिएको छ । बहुऔषधीय गुण रहने यो फल मधुमेह, बाथरोग, क्यान्सर, पेटको समस्या लगायतमा उपयोगी हुने प्रमाणित भइसकेको छ । प्रमुख मात्रामा एन्टिअक्सिडेन्ट, ओमेगा, भिटामिन सी, फलाम र प्रशस्त मात्रामा पानी पाइने यस फलमा छालालाई चाहिने तत्व पाइनाका साथै प्रशस्त फाइबर हुने भएकाले पाचन प्रणालीलाई समेत यसले चुस्तदुरुस्त बनाउनुु यसको विशिष्टता हो । यसमा क्यालसियम पाइने भएकाले दाँत र हड्डी बलियो बनाउँछ । त्यस्तै डेङ्गु, सुगर, मुटुआदि रोगीका साथै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवतीका लागि उपयोगी हुन्छ । उच्च रक्तचाप र कोलेस्ट्रोरको सन्तुलनका साथै कब्जियत, मोटोपन, क्यान्सरआदिमा यो उपयोगी हुन्छ । नेपालका धेरै स्थानमा यसको खेती गर्न सकिने र यसबाट सर्वसाधारणलाई आयआर्जनसँग जोड्ने पर्याप्त सम्भावना रहेको महाशाखा प्रमुख कडरियाको भनाइ छ । ड्रागनका लागि दक्षिणी मोहडायुक्त, घमाइलो स्थान आवश्यक हुन्छ । यसको बिरुवा एक वा एक वर्षभन्दा बढी उमेरको बिरुवाबाट काटेर निकाल्न सकिन्छ । एकपटक उत्पादन सुरु गरिसकेपछि करिब २५ वर्षसम्म यसको उत्पादन निरन्तर लिन सकिने उनले बताए । रासस
गठबन्धन सरकार चरम अनुत्तरदायी र गैर जिम्मेवार भयो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैर जिम्मेवार भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार स्वेच्छाचारी, विकास विरोधी रहेको उल्लेख गरे । अहिले विकासका कामलाई ठप्प पारिएको बताउँदै उनले काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताए । ‘यी सरकारहरु चरम अनुत्तरदायी, गैर जिम्मेवार छ । स्वेच्छाचारी देखिएका छन्, विकास बिरोधी देखिएका छन् । विकासका कामलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरु रोकिएका छन् । काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन । भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको छ । उनीहरुले ऋण तिर्न सकेका छैनन् । दिनुपर्नेलाई आफूले सामान लिएकाहरुलाई, लगाएका कामहरुमा भुक्तानी दिन सकिएको छैन ।’ उनले भने । अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको भनाई राखे ।
नेपालगन्जमा अनिश्चितकालका लागि कर्फ्यु
नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । सार्वजनिक सम्पत्ति तोडफोड, ढुङ्गामुढा प्रहारलगायतका गतिविधि भएको तथा सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एव शान्ति भङ्ग हुने स्थिती देखिएको भन्दै नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए । जिल्लाको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु आदेश जारी भएको हो । उक्त चार किल्ला सीमाभित्र कसैले भेला हुन सभा समारोह गर्न, जुलुस तथा र्याली गर्न र हिँडडुल गर्न समेत नपाइने गरी निषेधाज्ञा जारी भएको प्रजिअ आर्चायले जानकारी दिए । ओमकार परिवार र हिन्दु समाजलगायतका सङ्घ, संस्थाले आज नै नेपालगञ्जमा सदभाव र्याली निकालेका थिए । सो आदेशको उल्लङ्घन भए कानूनअनुसार कारवाही हुने स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।
माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिवद्धता
मलेखु । माछामा खानै नमिल्ने रङ्ग मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटल व्यवसायीले अखाद्य रङ्गको प्रयोग हटाउन थालेका छन् । गजुरी गाउँपालिका–२स्थित मलेखुको मजुवा बजारका होटल तथा माछा पसलेहरुले अब आइन्दा माछा तथा अन्य खानामा रङ्गको प्रयोग नगर्ने सामुहिक प्रतिवद्धता जनाएका हुन् । ‘कालो देखिएको रङ्ग प्रयोग नगरिएको फ्रेस माछा हो’, व्यवसायी जीवन अधिकारीले भने–’रङ्ग दलेर रातो आकर्षक बनाइएका कहिकतै देख्नुभयो भने पनि नखानुहोला । किनकी त्यसमा पकाएर खानै नमिल्ने अखाद्य वस्तुको मिसावट हुनसक्छ ।’ त्यस्ता आकर्षक बनाएर राखिएका माछामा अखाद्य वस्तु मिसावट हुने पुष्टी भएपछि स्थानीय होटल व्यवसायी र माछा व्यवसायीले अबदेखि त्यस्ता रङ्गको प्रयोग ठप्पै पार्ने अभियान थालिसकेका छन् । अनुगमनकारी निकायहरुलाई नै साक्षी राखेर व्यवसायीहरुले अज्ञानताका कारण माछा राम्रो देखाउन रङ्गको प्रयोग गरेको र त्यसले मानव स्वास्थ्यमा पर्ने असर थाहा भएपछि आफूहरुले सचेत भएर रङ्गको प्रयोग हटाउने अभियान थालिएको उनको भनाइ थियो । मजुवा बजारमा ४५ वटा माछा बिक्री गर्ने होटल तथा पसल छन् । सबै व्यवसायीहरुले रङ्ग हटाउने सामूहिक निर्णय नै गरेका छन् । मूल्यमा पनि एकरुपता कायम गर्ने र अटेर गरी राज्यले तोकेको मापदण्ड विपरित रङ्ग प्रयोग तथा अन्य काम गर्नेहरुलाई व्यवसायीहरु आफैले पनि कारबाही प्रकृया अगाडि बढाउने निर्णय गरेका छन् । माछा व्यवसायीले सामूहिक प्रतिवद्धता गरेर सधैंका लागि रङ्गको प्रयोग हटाउने निर्णय गरेसँगै नियामक निकाय पनि सकारात्मक बनेको छ । व्यवसायीहरुले बुझाएको प्रतिवद्धतापत्र बुझ्दै जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले व्यवसायीहरुले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको पाइए आगामी दिनमा कानूनअनुसार कडा कारबाही गरिने बताए । ‘रङ्ग दलेर आकर्षक बनाउने चलन नआउँदै पनि मलेखुको माछा वर्षौदेखि देशभर प्रख्यात थियो । सबैले मिठो मानेर खान्थे । रङ्ग मिसाएर रातो बनाउन थालेपछि पनि स्वाद फेरिएको थिएन’, होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण सिलवालले भन्नुभयोे–‘वर्षौदेखि प्रख्यात रहेको मलेखुको माछामा राम्रो देखाउनकै लागि हानिकारक रङ्ग मिसावट गरेको खबरले देश विदेशमा समेत मलेखुकै नाम बदनाम भएकोप्रति व्यवसायी दुखित बनेका छन्’, उनले भने । माछाका थरीथरी परिकार पकाएर चाख्दा चाख्दै उपभोक्ताभन्दा जोखिममा व्यवसायी नै परिरहेको थाहा पाएपछि ती व्यसायीले रङ्ग नमिसाउने साहिक प्रतिवद्धता गरे पनि पेट्रोलपम्प क्षेत्रका व्यवसायीले भने सामूहिक प्रतिवद्धता गर्न सकेका छैनन् । फुर्केखोला क्षेत्रका व्यवसायीले झनै अटेर गरिरहेको उपभोक्ताहरुको गुनासो छ । अखाद्य वस्तुको मिसावट चटक्कै छोडेर सफा र मिसावटरहित माछा बिक्री वितरण गर्न सके मलेखुको माछा बजार पहिलेजस्तै प्रख्यात बन्नेछ र व्यवसायले पनि पुरानै गति लिनेछ । रासस
आयात प्रतिबन्धमा फुकुवा र खुकुलो मौद्रिक नीतिका कारण आर्थिक वृद्धि ४ प्रतिशत पुग्ने
काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनले हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारणले आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । मंगलबार सार्वजनिक भएको ‘नेपाल विकास अपडेटः निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापना’ ले वर्ष २०२५ सम्ममा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अनुमान पनि गरेको छ । तर पनि अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्यका कारण हुनसक्ने मूल्यवृद्धि र उच्च मुद्रास्फितिका कारण बढ्दै जाने नीतिगत दर, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुनसक्ने ढिलासुस्ती लगायतका जोखिमहरू पनि विद्यमान रहेकोतर्फ प्रतिवेदनले ध्यानाकर्षण गराएको छ । प्रतिवेदनले नेपालको बाह्य प्रतिस्पर्धात्मकता बढाउन सहयोगी हुनसक्ने विभिन्न पक्षहरूको पनि खोजी गरेको छ । वर्ष २०२३ मा राष्ट्रको कुल गार्हस्थ्य उत्पादनको ६.९ प्रतिशत मात्रै कूल निर्यात रहेको थियो जुन दक्षिण एसियाका मध्यम आय भएका देशहरूको औसतको एक तिहाइ मात्रै हो । विश्लेषणले नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अभिमूल्यन लगायत कारक रहेको उल्लेख गरेको छ । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ । ‘चुनौतिहरूका बावजुद नेपालले आफ्नो दीर्घकालीन आर्थिक पुनरूत्थानलाई आकार दिन आफ्नो हरित, उत्थानशील तथा समावेशी विकास नीतिको कार्यान्वयनतर्फको कदम जारी राखेको छ,’ नेपाल, श्रीलंका तथा माल्दिभ्सका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले भनेका छन्, “मूल्य र गुणस्तर दुवैका हिसाबले नेपालको पुनरूत्थान र निर्यात बजारमा थप प्रतिस्पर्धात्मक बन्नका लागि मुख्य प्रेरक शक्ति भनेको नै बाह्य प्रतिस्पर्धात्मकतामा सुधार हो । त्यसका लागि घरेलु उत्पादन बढाउन सहयोग हुने सुधारका काम र नेपालका व्यापार साझेदारहरूसँगको मुद्रास्फिति अन्तर घटाउने प्रयास लगायतमा विशेष जोड दिनुपर्ने हुन्छ ।” नेपाल विकास प्रतिवेदन आजै सार्वजनिक भएको ‘दक्षिण एसिया विकास अपडेट: टुवार्ड फास्टर, क्लिनर ग्रोथ’ को एक हिस्सा हो जसले यस क्षेत्रको वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान गरेको छ । यो दर अन्य कुनै पनि विकासशील क्षेत्रको तुलनामा उच्च हो तर सोही क्षेत्रको महामारी पूर्वको रफ्तार र विकास लक्ष्यहरू हासिल गर्न आवश्यकभन्दा भने कम हो । क्षेत्रीय वृद्धिका सम्भावनाहरू नाजुक वित्तीय अवस्थासहित अन्य नकारात्मक जोखिमहरूका कारण पनि खुम्चिन्छन् । दक्षिण एसियाका देशहरूको राष्ट्रिय ऋण वर्ष २०२२ मा कूल गार्हस्थ्य उत्पादनको औसत ८६ प्रतिशत रहेको थियो, जसका कारण देशहरू टाट पल्टिने, ऋणको लागत बढ्ने र निजी क्षेत्रप्रतिको भरोसा घट्नेजस्ता जोखिमहरू बढ्ने गर्छ । चीनको धिमा हुँदै गएको आर्थिक वृद्धि र जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपत्तीले पनि यस क्षेत्र प्रभावित हुने सम्भावना उत्तिकै रहेकाे विश्व बैंकले जनाएकाे छ । आर्थिक चुनौतिबाट सिर्जित सीमितता कारण सरकारहरूले ऊर्जा क्षेत्रमा जारी संक्रमणकाललाई पूर्ण आत्मसाथ गर्नेगरी आफ्ना अर्थतन्त्रलाई सघाउन सकेका छैनन् । विकासशील देशहरूको लागि थप भारका रूपमा लिइने गरेको भए पनि विभिन्न संस्थाहरूलाई अझै लगानी थप्न, वायु प्रदूषण घटाउन र इन्धन आयातप्रतिको निर्भरता कम गर्नतर्फ परिचालन गर्न सकिएमा ऊर्जा संक्रमणकालले भविष्यको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको अवसर दिनेछ । उपलब्ध सीमित वित्तीय विकल्पका बावजुद देशहरूले संस्थाहरुलाई बजारमा आधारित नियमन, सूचना अभियान, वित्तीय पहुँच र भरपर्दो विद्युत ग्रिडहरूमार्फत अझै ऊर्जा-निपुण प्रविधिहरू अपनाउन प्रेरित गर्न सक्द्छन् । ‘दक्षिण एसियाको ऊर्जा उत्पादनको प्रचुरता विश्वव्यापी औसतभन्दा दोब्बर रहेको भए पनि यो क्षेत्र थप उन्नत ऊर्जा-निपुण प्रविधिहरूको अनुकुलनमा पछि परेको छ,’ विश्व बैंक दक्षिण एसिया क्षेत्रका प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओह्नसोर्ज भन्छिन्, ‘द्रुत गतिमा भइरहेको विश्वव्यापी ऊर्जा परिवर्तनकालको सन्दर्भमा ऊर्जाको निपुणतामा सुधार दक्षिण एसियाको लागि आर्थिक र वातावरणीय दुवै लक्ष्यहरूतर्फ प्रगतिको लागि अवसर बनेर आउन सक्छ ।’ ऊर्जा परिवर्तनले दक्षिण एसियाको श्रम बजारमा पनि उल्लेख्य प्रभाव पार्न सक्छ । यो क्षेत्रका दसमध्ये एक श्रमिक अत्याधिक प्रदूषित क्षेत्रहरूमा कार्यरत छन् । यस्ता रोजगारीका क्षेत्रहरू श्रम बजारमा भइरहेको परिवर्तनका कारण थप संकटमा पर्ने अदक्ष र अनौपचारिक कामदारहरूमा बढी केन्द्रीत छन् । ऊर्जा क्षेत्रको परिवर्तनले नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न र ह्रासोन्मुख उद्योगमा फसेका श्रमिकहरूलाई त्यहाँबाट निकाल्न पनि सघाउन सक्छ । प्रतिवेदनले उच्च गुणस्तरका शैक्षिक र तालिम अवसरहरू, वित्तीय साधनहरू र बजारसँगको पहुँच, श्रमिकहरूको आवागमन सहजीकरण र सामाजिक सुरक्षा सञ्जालहरूको सबलीकरण गर्नेजस्ता नीतिहरूमार्फत त्यस्ता श्रमिकहरूको सुरक्षा गर्ने लगायतका सुझावहरू पनि दिएको छ ।