विकासन्युज

ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा

काठमाडौं । ग्लोबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा भएको छ । फण्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई करसहित ५ प्रतिशत अर्थात ५ करोड १२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज १५ गते बसेको ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिको बैठकले गरेको हो । त्यस्तै, यो योजनाको इकाईधनी दर्ता किताब अर्थात बुक क्लोज सम्बन्धी सूचना भने पछि प्रकाशित गरिने क्यापिटलले जानकारी गराएको छ ।

नेपालमा भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं । नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ । सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्राडा श्रीराम शर्माले जानकारी दिए । सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायतका देशबाट विज्ञको सहभागिता रहने उनको भनाइ छ । यही असोज १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषय बारेमा छलफल हुने छ । मुख्य गरी यस सम्मेलनले नीति निर्माणका सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् डा शर्माको भनाइ छ । उहाँका अनुसार प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालकै रहने छ । नेपालमा चट्याङ्सम्बन्धी सूचना प्रणालीहरु छैनन् भने रोकथामका लागि खास काम पनि हुन सकेको छैन । अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो उच्च जोखिममा पर्ने उनले बताए । रासस

सरकार आफ्नो दल र नेताभन्दा जनताप्रति उत्तरदायी हुनुपर्छ : सांसद पन्त

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तले सरकार जनताप्रति भन्दा आफ्नो दल र नेता, कार्यकर्ताप्रति बढी उत्तरदायी हुँदा जनअपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गरेका छन् । उनले भने, ‘सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ ।’ कैलाली क्षेत्र नं ५ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले कुरा गर्दै सरकार र राजनीतिक दलका नेतामात्र होइन, सबै सांसद जनताका हकहित तथा मुलुक समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन् । सांसद पन्तले मुलुकका पछिल्ला भ्रष्टाचारका प्रकरण र अनियमितताका विषयमा सत्य, तथ्य छानविन गरी त्यसमा संलग्न दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दल एकजुट हुनुपर्ने बताएका छन् । गठबन्धन संस्कृतिका कारण जनताको भन्दा पनि पार्टीको जस्तो सरकार देखिएको र प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्दै उनले सरकारले यसमा तदारुकताका साथ काम गर्नुपर्ने सुझाव दिए । ‘यसो गर्न सकेमात्र जनतामा दल र नेता, कार्यकर्ताप्रति सकारात्मक सन्देश प्रवाह हुन्छ’, उनले भने । सरकार जनताप्रति उत्तरदायी नभएर आफ्नो दल र नेता, कार्यकर्ताप्रति बढी उत्तरदायी हुँदा सदनमा उठेका विषय कार्यान्वयन गर्न मन्त्रीहरू मौन देखिने र समाधानमा खासै पहल नहुने गरेको उनको भनाइ थियो । सांसद पन्तले संसद्को सांसद विकास कोषलाई कार्यान्वयनमा सर्वाेच्च अदालतले रोक लगाएको विषयप्रति असन्तुष्टि जनाउँदै यसले विधायिकी अधिकार कुण्ठित भएको टिप्पणी गरे । ‘यो राज्यको शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलनको सिद्धान्तविपरीत छ’, उनले भने, ‘यसबाट जनताको प्रतिनिधिका अधिकार नै कुण्ठित भएका छन् ।’ सांसदको पहिलो काम कानुन निर्माण भएको र त्यसबाहेक जनताको अपेक्षाअनुसार विकासका लागि पनि केही गर्नुपर्ने उनको भनाइ थियो । विसं २०१२ मा कैलालीमा जन्मिएका उनले २०३० सालदेखि नै नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेको र पछि कांग्रेसको सक्रिय राजनीतिमा लागेका हुन् । राजनीतिक परिवारमै हुर्किएका उनी विसं २०३१ मा राजनीतिमा लागेकै अवस्थामा जेल परेका र उनले जेलमै रहँदा ‘हाइस्कुल’पास गरेको स्मरण गरे । तत्कालीन समयमा कांग्रेसका हालका सभापति शेरबहादुर देउवासँग भेट हुने गरेको उनले बताए । विसं २०३६ मा भूमिगत अवस्थामा रहेकै बेला उनी जनमत सङ्ग्रहमा सक्रिय भएको र पछि विद्यार्थी आन्दोनको नेतृत्व गरेका थिए । सांसद पन्त जनमत सङ्ग्रहपछि कांग्रेसका संस्थापक नेता विपी कोइरालाको रोहवरमा नेविसङ्घ कैलालीको संस्थापक अध्यक्ष भएका थिए । नेता पन्त विसं २०४६ को आन्दोलनमा जेल नगई भूमिगत भएर खासगरी गाउँतिर आन्दोलनमा सक्रिय भएका थिए । यसपछिमा निरन्तर पार्टीको राजनीतिमा लागेर पनि कुनै पदको भूमिका नपाएका उनी कांग्रेस विभाजन हुँदा जिल्ला सदस्य भएका थिए । प्रतिगमनविरुद्धको आन्दोलन, पार्टी थालेको अनसन २०६२÷६३ सालको आन्दोलनमा सक्रिय भएका उनी विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेश सदस्य निर्वाचनमा पहिलोपटक पार्टीको टिकट पाई कैलाली–५ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी पार्टीमा हाल महाधिवेशन प्रतिनिधि हुन् । संसद्ले आवश्यकताअनुसार ‘बिजनेश’ नपाएको र जनअपेक्षाअनुसार कानुन बन्न नसकेको भन्ने सन्दर्भमा सांसद पन्तले सरकारले अपेक्षाअनुसार बिजनेश दिन नसकेको विषय यथार्थ हो भने । ‘सदन शून्य र विशेष समयमा बढी केन्द्रित भएको देखिन्छ’, उनले भने । हाल विभिन्न दल सम्मिलित गठबन्धनको सरकार भएको र विपक्षी दलहरूले पनि विभिन्न समयमा सदन चल्न नदिएका कारण अपेक्षाअनुसार कानुन बन्न नसकेको उनको जिकिर छ । साथै उनले सदनमा र संसदीय समितिमा जनजीविका र समसामयिक विषयमा भने पर्याप्त आवाज उठ्दै आएको उल्लेख गरे । सदनमा सांसदको प्रस्तुतिका सन्दर्भमा सांसद पन्तले जनताका प्रतिनिधिको सर्वाेच्च थलो सङ्घीय संसद्मा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गरे । तर सदनमा बोलेका विषयमा अर्काे दललाई मन नपर्ने बित्तिकै हटाउन माग गर्ने विषय राम्रो नभएको टिप्प्णी गर्दै उनले यसले वाक स्वतन्त्रता कुण्ठित हुने बताए । कुन कुरामा आपत्ति प्रकट गर्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ छ । ‘सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिधि हात छ, त्यो गर्नुपर्छ’, सांसद पन्तले भने । विसं २०४६ पछिको राजनीतिक परिवर्तन हेर्दा जनताको जीवनस्तरमा परिवर्तन नआएको जनाउँदै उनले यसमा सुधारको खाँचो औँल्याए । पहिले नेपालले खाद्यान्न निर्यात गर्ने गरेको अनुभव सुनाउँदै उनले अहिले परनिर्भरता बढेको प्रति चिन्ता व्यक्त गरे । सबै मिलेर मुलुक समृद्धिमा लाग्नुपर्ने उनको भनाइ थियो । रासस

मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै, गाउँ गाउँमा ठगहरु सक्रिय

राँझा । केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।  मानव बेचबिखनविरुद्ध नेपालगन्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाले भने, ‘कुनै समय गाउँ–गाउँमा गएर अशिक्षित महिला अथवा किशोरीलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटना निकै सुनिन्थे । अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ ।’  उनका अनुसार मानव बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । अहिले नयाँ प्रविधि र सामाजिक सञ्जालको प्रयोगले सहरकै शिक्षित महिला पनि जोखिममा छन् मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग तीव्ररुपमा बढिरहेको छ । विशेषगरी किशोरावस्थाका युवती टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन् । पछिल्लो समय धेरै प्रयोगमा आएको सामाजिक सञ्जाल टिकटकबाट सम्बन्ध विस्तार गरी महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन् । टिकटकको माध्यमबाट चिनजान र कुराकानी भई घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालले बताए । माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका किशोरीलाई उद्धारसमेत गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो । सामाजिक सञ्जाल टिकटकको माध्यमबाट चिनजान भई भारत जान लागेका छ जनालाई माइती नेपालका कर्मचारीले  जमुनाहनाकामा रोकेर परिवारलाई बुझाए । पछिल्लो छ महिनामा टिकटकको माध्यमबाट चिनजान भएकै आधारमा घर छाडेका १२ युवती बेचबिखनको जोखिममा परेको जनाउँदै परिवारले खोजतलासका लागि माइती नेपालको नेपालगन्जस्थित कार्यालयमा निवेदन दिएका छन् । ‘सामाजिक सञ्जालमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिम देखा पर्न थालेका छन् । अझ अहिले बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ’, बेचबिखनमा आएको परिवर्तित शैलीबारे संयोजक कोइरालाले भने, ‘सामाजिक सञ्जालको दायरा फैलिएको छ । फेसबुक, ह्वाट्स एपपछि अहिले मानव बेचबिखनमा टिकटकको प्रयोग तीव्ररूपमा बढिरहेको छ । यसले अशिक्षित र गाउँका महिलामात्रै होइन, शिक्षित र सहरिया महिला पनि जोखिममा छन् ।’ राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको पाइएको उनको भनाइ छ । दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिलामात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् । ग्रामीण क्षेत्रका अधिकांश महिलाले फेसबुकभन्दा इमो बढी चलाउने गरेका छन् । ‘फेसबुक र म्यासेन्जरभन्दा इमोमार्फत कुराकानी गर्न सहज हुन्छ, जोखिममा रहेर उद्धार गरिएका धैरै महिलाले इमोमार्फत सम्पर्क भएको बताउने गरेका छन्’, उनले भने, ‘दलालले इमोमार्फत महिलालाई ललाइफकाइ गर्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ ।’ मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमोलगायतका कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ । यसले मानव बेचबिखन तथा ओसारपसारलाई अझै बढी सहज बनाउँदै भनेको समय र स्थानमा बोलाएर भेट्न सजिलो भएको छ । छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । संयोजक कोइराला अहिले मोबाइल फोन, फेसबुक मानव बेचबिखन तथा ओसारपसारको गतिलो माध्यमका रूपमा प्रयोग भएको बताए । मानव बेचबिखन तथा ओसारपसारमा प्रयोग भएको नयाँ शैलीले रोकथाम अभियान चुनौतीपूर्ण बन्दै गएको मानव बेचबिखनविरुद्ध काम गरिरहेका सङ्घसंस्थाका प्रतिनिधिको भनाइ छ । मानव दलालहरूले अपनाउने फरक–फरक शैलीले जोखिम बढ्दै गएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक निर्मल सुवेदीले बताए । ‘वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपुगेका कारण श्रमशोषण, यौनशोषण हुने काममा लगाउने गरेका धेरै घटना छन्’, उनले भने, ‘सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथीसँग कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिम देखापर्न थालेको छन् ।’ उनका अनुसार आफू जोखिममा पर्दैछु भन्ने थाहा भए पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरूलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको छ । मानव बेचबिखनका घटना प्रत्येक वर्ष बढ्दै गएका छन् । बढ्दो बिलासिताप्रतिको आकर्षण, सञ्चार प्रविधिको दुरुपयोग र असुरक्षित बसाइँसराइका कारण मध्यम वर्गका व्यक्ति बेचबिखनमा पर्ने गरेको पाइएको छ । राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको शक्ति समूहकी क्षेत्रीय अधिकृत निर्मला पौडेलले बताए । उनले मानव बेचबिखनविरुद्ध कुनै एक व्यक्ति वा संस्थाले मात्र प्रयास गरेर नहुने भएकाले समाज, प्रहरी प्रशासनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । मानव बेचविखनविरुद्धको जिल्लास्तरीय समितिका संयोजक एवं बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले सङ्घसंस्था मुख्य नाकामा केन्द्रित हुँदा ग्रामीण नाकाबाट मानव बेचबिखनको जोखिम बढेको बताउनुभयो । उहाँले मानव बेचबिखनविरुद्ध कार्यरत सङ्घसंस्थालाई स्थानीय तह र ग्रामीण नाकासम्म गतिविधि र निगरानी बढाउन आग्रह गर्दै आएको उल्लेख गरे । रासस

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी खुला

चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराहा क्षेत्रमा जीप सवारी खुला गरिएको र क्रमशः भत्किएका सडक मर्मत गरेर अन्य स्थानबाट पनि खुला गरिने जानकारी दिए । निकुञ्जभित्रको सडक मर्मतसँगै कसरा, मेघौली, अमलटारी, कुजौली र माडीबाट प्रवेश गर्ने जीपका लागि अनुमति दिइने उनले बताए । गत साल कसराबाट १६, मेघोलीबाट नौ, अमलटारीबाट पाँच, कुजौलीबाट दुई र माडीबाट एउटा जीपले अनुमति पाएका थिए । वर्षात्सँगै निकुञ्जभित्रको सडक भत्किने र खाल्डाखुल्डी हुने, खोल्सामा ‘कल्भटर्’ भत्किने भएकाले गत असार १६ गतेबाट जीप सफारी बन्द गरिएको थियो । सूचना अधिकारी तिवारीले चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइ निकुञ्जमा जीप सफारी हुने गरेको बताए । यसका अतिरिक्त मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी, निकुञ्जमा पैदलयात्रा, राप्ती नदीमा डुङ्गा सयरलगायतका पर्यटकीय गतिविधि यहाँ हुने गर्दछन् । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ पर्यटकको रोजाइमा पर्दछन् । रासस

मेडिकल सञ्चालकद्वय गरौजा र चौधरीलाई जनही एक लाख जरिवाना

दमौली । अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन् । तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य र दलबहादुर केसीको इजलासले पक्राउ परेका दुवै जनालाई जनही एक लाख जरिवानाको फैसला सुनाएको थियो । व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी धरौटी रकम बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले सञ्चालकद्वय गरौजा र चौधरीलाई गत बिहीबार पक्राउ गरी उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको थियो । प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई इन्जेक्सनमार्फत उपचार गराएको र मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएको आफैँ औषधि सिफारिस गरेको, डेङ्गु सङ्क्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिव्योटिक्सको माध्यमबाट उपचार गराएको आरोप लगाइएको छ । रासस

तोलामा १३ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएकोमा मंगलबार प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ ।

नदीजन्य पदार्थको अवैधउत्खनन गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना

कञ्चनपुर । नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुङ्गा, माटो, बालुवा अवैध उत्खनन गर्ने र बिक्री वितरण गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने भएको हो । नगरपालिका क्षेत्रभित्रका खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने सबै प्रकारका ढुवानीका साधनलाई नगगरपालिकाले जरिवाना गर्ने जनाएको छ । ‘नगरपालिका क्षेत्र भएर बग्ने वनहरा, बन्द, मछेली र मोहन नदीबाट नदीजन्य पदार्थ सङ्कलन तथा उत्खनन गर्ने कार्यका लागि तीनपटक सार्वजनिक सूचना जारी गरिएकामा तोकिएको म्यादभित्र बोलपत्र पेस भएका छैनन’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले भने, ‘त्यही भएर नदीजन्य पदार्थ उत्खनन र बिक्री वितरणमा रोक लगाइएको छ ।’ उनका अनुसार ठेक्का बन्दोबस्तको काम गर्न केही समय अझै लाग्ने भएकाले कार्यपालिकाको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरणमा रोक लगाइएको छ । नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन, सङ्कलन र बिक्री वितरणमा रोक लगाए पनि निर्वाधरूपमा ओसारपसारको काम भने भइरहेको छ । मछेली, वनहरालगायतका नदीबाट लुकीचोरी नदीजन्य पदार्थको ओसारपसारको कार्य भइरहेको स्थानीय बासिन्दाको भनाइ छ। रासस