विकासन्युज

१० प्रतिशत ब्याजमा सिटिजन्स बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं । सिटिजन्स बैंकले आज असोज १७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो । सर्वसाधारणलाई बिक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

न्यूरोडको खिचापोखरीमा नयाँ भवन बनाउँदै हिमालयन बैंक, अध्यक्ष श्रेष्ठले गरे शिलान्यास

काठमाडौं । हिमालयन बैंकले न्यूरोडको खिचापोखरीस्थित नयाँ भवन निर्माणको लागि शिलान्यास गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरी, न्यूरोड स्थित बंैककै जग्गामा गत असोज १२ गते भवन निर्माणको लागि शिलान्यास गरेको हो । बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका थिए । उक्त विशेष समारोहमा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो । उक्त समारोहमा बैंकका अध्यक्ष श्रेष्ठले बैंकले देशका विभिन्न प्रमुख शहरहरु जस्तै इटहरी, विरगंज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको बताउँदै काठमाडौको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराए । त्यस्तै, बैंकले भरतपुर र नेपालगंजमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरि ग्राहकहरुलाई सेवा प्रदान गर्ने योजना रहेको बताए । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले भवन निर्माण पश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकहरुलाई विशेष तथा परिष्कृत बैंकिङ्ग सेवा-सुबिधा प्रदान गर्ने उद्देश्य राखेको बताए । यसबाट बैंकका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने उनको विश्वास छ । हाल बैंकले देशभरि रहेका १७६ शाखा, २६८ एटीएम, २० विस्तारित काउन्टर तथा १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कडा कारवाही हुने, यस्ता छन् सरकारका निर्णयहरु

फाइल फोटो काठमाडौं । सरकारले चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्ने भएको छ । असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । आसन्न चाडपर्वहरुको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुहरुको कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यबृद्धि, कालोबजारी र अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन वस्तु विक्री वितरण गर्नेजस्ता अनुचित कार्यहरु नगर्न नगराउन सम्पूर्ण उद्योगी, व्यवसायीहरुलाई सरकारले ध्यानाकर्षण गराएको छ । सरकारले  बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्ति, फर्मलाई कानुनबमोजिम कडा कारबाहीका लागि कोही कसैसँग सूचना भएमा हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा सूचना दिन समेत आम उपभोक्तामा अनुरोध गरेको छ । त्यस्तै, उपभोग्य वस्तुको विक्री वितरणसँग सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रहरुलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने, अस्वभाविक मूल्यबृद्धि र कालोबजारी नियन्त्रण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक नाफाखोरी गर्ने र अस्वभाविक रुपमा मूल्य बृद्धि गरी कालोबजोरीमा संलग्न हुने जोकोहीलाई प्रचलित कानुनबमोजिम कडा कारवाही गर्ने र सोको प्रतिवेदन सर्वसाधारण सबैको जानकारी लागि सम्बन्धित निकायबाट दैनिक रुपमा सम्प्रेषित गर्न नेपाल सरकारको निर्देशन छ । सोमबारको बैठकले विशेष अदालत नियमावली, २०८० स्वीकृत गर्ने, निर्माणजन्य सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० संघीय संसदमा पेश गर्न स्वीकृति दिने, सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०८० संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ । त्यस्तै, विशेष प्रस्ताव अन्तर्गत विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउने सन्दर्भमा सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्ताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभीमान वा राष्ट्रिय हित वा संघीय एकाईबिचको सुसम्बन्धमा प्रतिकूल असर हुने गरी वा वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न नगराउनुहुन एवं विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुसम्बन्धमा खलल पुग्ने गतिबिधि नगर्न नगराउन समेत सरकारले आग्रह गरेको छ । साथै, सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहिन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पुर्याउने, जातीय भेदभाव, छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढावा दिने वा प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएका कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री प्रकाशन वा प्रसारणजस्ता कार्य नगर्न नगराउन सरकारको आग्रह छ ।

भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा सात जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जानकारी दिए । उनले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताउए । पाण्डेका अनुसार भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ र घाइतेको अवस्था समान्य रहेको छ । ‘बझाङ सदरमुकाम र आसपासमा केही घर चर्किएको र अन्य कतिपय घर भत्किएको जानकारी आएको छ, विस्तृत विवरण आउन बाँकी छ,’ उनले भने । सदरमुकाम चैनपुरमा मोबाइल ग्यालरीको पसल सञ्चालनमा रहेको एकघर, निर्वाचन कार्यालयको भवनसहित कतिपय सरकारी तथा व्यक्तिगत घर चर्किएका छन् । बझाङ मष्टा गाउँपालिका १ नम्बर वडा कार्यालय भवन भत्किएको छ । भूकम्पको झड्का महसुस भएपछि बझाङ जिल्ला अस्पताल भवनको बाहिर राखेर बिरामीलाई उपचार सेवा दिइएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बैतडीमा विद्यालयबाट घरतर्फ गइरहेका एक व्यक्तिमाथि ढुङ्गा खसेको र वन क्षेत्रमा घाँस काटिरहेको अवस्थामा गएको पहिरोका कारण अर्का एक व्यक्ति घाइते भएको जानकारी दिए । उनले भने, ‘घाइतेको अवस्था समान्य छ, मानवीय थप क्षति भएको जानकारी आइसकेको छैन ।’ प्रहरी नायब महानिरीक्षक बोहराले अछामको एक वडा कार्यालयको भवन भत्किएको जानकारी आएको बताए । डोटीमा पनि केही घर चर्किएका छन् । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । त्यसपछि पनि पटकपटक परकम्प गएको छ । धनगढीमा पनि भूकम्पको धक्का महसुस भएपछि घर तथा कार्यालयभित्र बसेका धेरै मानिस घर बाहिर निक्किएका थिए । धनगढी उपमहानगरपालिकाको स्थानीय आपत्कालीन सञ्चालन केन्द्रले सूचना सार्वजनिक गर्दै भूकम्पको थप परकम्प आउनसक्ने भएकाले नागरिकलाई सुरक्षित रहन सचेत गराएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रले चैनपुर केन्द्रविन्दु भएर छ दशमलव तीन र तलकोट केन्द्रविन्दु भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ । रासस

आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छिन् । मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले आम माफी नभइ कैद कट्टा मात्रै गरेको बताएकी हुन् । उनले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ आफूहरुले नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन् । उनले कैद कट्टा गरेर छुटाउनु र आम माफी दिनु फरक भएको बताइन् । ‘आम माफी एउटा छुट्टै कुरा हो । अदालतबाट दोषी ठहर भएकालाई पनि आम माफी दिने भन्ने कुरा छ । र अहिलेको उसमा आम माफ नै दिइएको छैन । किनभने यो त कैद कट्टा गरिएको हो । कैद कट्टा गरेर छुटाइएको हो । हामीले क्याबिनेट बैठक बस्दा पनि त्यो भनेको छैन । अपराधीलाई राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौँ । कारागारमा गइसकेपछि आफूले भोग्नु कानूनअनुसार भोग्नुपर्छ । यस पटक कसैलाई आममाफी दिइएको छैन । नबुझेको हो । कैद कट्टा हो ।’ उनले भनिन् । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले हत्या, बलात्कार लागुऔषध लगायतमा आम माफी दिनु गलत भएको बताए । उनले पहिला यी कुरामा नदिने गरिएपनि अहिले विकृति आएको बताए । ‘यो गलत परम्परा हो । पहिला मैले थाहा पाउँदा तीन, चार वटा कुरा हत्या, बलात्कार लागुऔषधमा माफी दिइँदैन थियो । अहिले जुनसुकैलाई पनि माफी दिने परम्परा भएको छ, त्यसमा राष्ट्रपतिलाई पनि मुस्ने गरिएको छ, उहाँले त हस्ताक्षर गर्ने मात्रै हो । हाम्रो नेतृत्व गरेकाहरु चुकेका हुन् । भ्रष्टाचारबिहीन समाज र सुशासन भन्नेकुरा नारामा मात्रै सिमति छ ।’ उनले भने । नेता केसीले भ्रष्टाचारबिहीन समाज र सुशासन भन्नेकुरा नारामा मात्रै सीमित बनेको बताए ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका विभागीय प्रमुखहरुले स्ववियु सभापतिलाई सुम्पिए जिम्मेवारी

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका ६ वटा विभागीय प्रमुखले संयुक्त रुपमा पत्र लेखी विभागहरु सञ्चालनको जिम्मेवारी स्ववियु सभापतिलाई सुम्पिएको जानकारी गराएका छन् । मंगलबार विभागका प्रमुखहरुले क्याम्पसको नाममा संयुक्त पत्र लेखेर पुल्चोक, थापाथली र पूर्वाञ्चल क्याम्पसका स्ववियु सभापतिहरुले ‘अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने जिम्मा भर्खर निर्वाचित स्ववियुले लिने’ भन्ने विषय उल्लेख गरिएको विज्ञप्तिमा समर्थन जनाउँदै विभाग सञ्चालन गर्ने जिम्मेवारी सुम्पिएको जनाएका छन् । विभागका प्रमुखहरुले पुल्चोक, थापाथली र पूर्वाञ्चल क्याम्पसका स्ववियुका सभापतिहरुले असोज १२ गते जारी गरेको संयुक्त विज्ञप्तिमा आह्वान गरिएको विषयको गाम्भिर्यलाई महसुस गरी विभागका सम्पूर्ण जिम्मेवारी सुम्पिएको पत्रमा उल्लेख गरेका छन् । साथै सो निर्णयमा प्राध्यापक संघ र कर्मचारी संघको समेत समर्थन रहेको पत्रमा उल्लेख गरिएको छ । पत्रमा स्ववियुलाई एक ढंगले कटाक्ष प्रहार गर्दै ‘अहिलेको शुल्क समायोजनको परिप्रेक्षमा इ.अ.स. बाहिरका विद्यार्थी नेताहरुका साथसाथै निजी शिक्षामा लगानी गरेका ठूला–ठूला मिडिया र व्यापारिक संस्थाहरुको समेत स्वार्थ मिसिइंदै जाँदा ओझेलमा परेको’ उल्लेख गरिएको छ । साथै पत्रमा महत्वपूर्ण मुद्दा भनेको आगामी सेमेस्टर सञ्चालन गर्नु रहेको र त्यसको लागि चाहिने विकेन्द्रिकरणको नियम/कार्यविधि, आर्थिक स्रोतको सुनिश्चितता एवम थप आवश्यक शिक्षक तथा कर्मचारीहरुको समेत व्यवस्था गरी कक्षा तालिक समयमै बनाई गुणस्तर वृद्धिका साथ कक्षा सञ्चालन भएको आफूहरुले हेर्न चाहेको उल्लेख गरिएको छ । विभागका प्रमुखहरुले पत्र क्याम्पस सहित त्रिभुवन विश्वविद्यालयका उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थानका डिन र पुल्चोक, थापाथली र पूर्वाञ्चल क्याम्पसका स्ववियु सभापतिहरुलाई बोधार्थको रुपमा समेत दिएका छन् ।

यसवर्षको बडा दशैं कात्तिक ७ गते, उत्तम साइत कति बजे ?

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ । गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादशैं सुरु हुँदैछ । कात्तिक पहिलो साता बडादसैँको मुख्य दिनअर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ । रासस

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

एजेन्सी । परमाणु र अणुभित्र इलेक्ट्रोनको अन्वेषण गर्ने उपकरणहरूको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली–स्विडिश एनी एलहुइलियरलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । पदार्थमा इलेक्ट्रोन गतिशीलताको अनुसन्धानका लागि प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गर्ने प्रयोगात्मक विधिहरूका लागि उनीहरूलाई सम्मान गरिएको जुरीले बताएको छ । एटोसेकेन्ड यति छोटो हुन्छ कि एक सेकेन्डमा त्यति नै सेकेन्ड हुन्छ जति ब्रह्माण्डको उत्पत्तिपछि भएको थियो । जुरीका अनुसार पुरस्कृत वैज्ञानिकहरूले प्रकाशको अत्यन्त सानो पल्सहरू बनाउने तरिकाको प्रदर्शन गरेका छन् जसबाट इलेक्ट्रोन सञ्चालन हुने वा ऊर्जा परिवर्तन हुने तीव्र प्रक्रियाहरू नाप्न प्रयोग गरिन्छ । ‘पुरस्कृतहरूको योगदानले अत्यन्त तीव्रताका कारण पहिला पालना गर्न असम्भव प्रक्रियाहरूको अनुसन्धानलाई सक्षम बनाएको छ’, जुरीले भनेको छ । अगोस्टिनी अमेरिकामा ओहायो स्टेट युनिभर्सिटीमा प्रोफेसर हुन् भने क्राउज जर्मनमा म्याक्स प्लान्क इन्स्टिच्युटका निर्देशक हुन् । त्यसैगरी स्विडेनको लुन्ड विश्वविद्यालयकी प्रोफेसर एलहुइलियर सन् १९०१ पछि भौतिकशास्त्रमा नोबेल पुरस्कार जित्ने पाँचौँ महिला हुन् ।