नेपालमा विदेशी लगानीकर्ताले स्वचालित मार्गबाट ५० करोड बराबर लगानी गर्न सक्ने
काठमाडौं । नेपालमा विदेशी लगानीकर्ताले कुल पुँजी ५० करोड सम्म लगानी गर्न पाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी नेपाल सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा तोकेको हो । विदेशी लगानीकर्ताहरुले स्वचालित मार्गबाट कुन–कुन क्षेत्रमा लगानी गर्न पाउने भन्ने विषयमा पनि राजपत्रमा प्रकाशित गरिएको छ । सूचनाअनुसार विदेशी लगानीकर्ताहरुले स्वचालित मार्गबाट उर्जामूलक उद्योग क्षेत्र, कृषि तथा वन पैदावार क्षेत्र, पूर्वाधार क्षेत्र, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित उद्योग, सेवामूलक उद्योग र उत्पादनमूलक उद्योगमा लगानी गर्न सक्नेछन् । साथै, तोकिएका व्यवसायिक तथा औद्योगिक क्षेत्रको पनि कुन मुख्य क्षेत्रमा लगानी गर्न पाउने भनेर राजपत्रको सूचनामा तोकिएको छ । [pdf id=439956]
कालीगण्डकी करिडोर अवरुद्ध
नवलपरासी । अबिरल वर्षासँगै खसेको पहिराको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिराको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । बुलिङटार गाउँपालिका–१ रातबीसेमा खसेको पहिराको कारण गए रातिदेखि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो । पानी परिरहेकाले तत्काल पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गर्न कठिन रहेको उनको भनाइ छ । कालीगण्डकी करिडोर पहिराको कारण अवरुद्ध भएसँगै यस खण्ड भएर चल्ने सवारीसाधन सञ्चालन हुनसकेका छनैन् । यस खण्ड हुँदै गैँडाकोटबाट नवलपुरको बुलिङटार, बौदीकाली, पाल्पाको रामपुर, तनहुँ, पोखरा, स्याङ्जालगायत स्थानका लागि सवारीसाधन सञ्चालन हुने गर्दछन् । निरन्तरको झरीले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडकमा समेत विभिन्न स्थानमा क्षति पुर्याएकाले सवारी आवागमन कठिन बनेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । पहिराले मालढुङ्गा–बेनी सडक अवरुद्ध म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिराले सडक अवरुद्ध बनेको हो । पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिए । यस क्षेत्रमा अहिले पनि ठूलो वर्षा भइरहेको छ । पहिरो खस्नसमेत रोकिएको छैन । वर्षा रोकिएलगत्तै सडक खुलाउनका लागि डोजर र सुरक्षाकर्मी परिचालन गरिने उनले बताए । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीबाट छुटेका सवारीसाधन मिलनचोकमा थन्किएका छन् भने अन्यत्रबाट आएका सवारीसाधन लस्तीबजारमा रोकिएका छन् । केही साना सवारीसाधन भने बागलुङतर्फबाट वैकिल्पक मार्गको प्रयोग गरी गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ । रासस
यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी, मधेस र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बन्दीपुर केबलकार र नेपाल एसबिआई मर्चेण्टबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता
काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज एक कार्यक्रमका बीच सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजमको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग मार्फत हुने जनाइएको छ ।
मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको निधन
धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको निधन भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए । घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ । रासस
कतार एयरको जहाज ‘ओभरसुट’
काठमाडौँ, १७ असोज स् कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो । विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ”, विमानस्थलका एक उच्च अधिकारीले भन्नुभयो । यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए
काठमाडौं । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ । बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन् । प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले १६ वटा शाखा कार्यालयका स्थिर सम्पत्ति बेच्दै
काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयमा रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरुको स्थिर सम्पत्ति बिक्री गर्ने भएको हो । विभिन्न स्थानहरुमा दोहोरीएका शाखा कार्यालयहरुमध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिईएको हुँदा नदोहारीएका १६ वटा कार्यालयहरुको सम्पत्ति बिक्री गरिने भएको हो । बैंकले उक्त शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु यथास्थितिमा बिक्री गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ संस्थाले ७ दिनभित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । साबिक बैंक अफ काठमाण्डूका भलुबाङ्ग दाङ्ग, टिकापुर कैलाली, तुलसीपुर दाङ्ग, न्यूरोड काठमाडौं, धरान सुनसरी, घोराही दाङ्ग, कालिकानगर रुपन्देही र बिर्तामोड झापा शाखा कार्यालयमा रहेका स्थिर सम्पत्ति बिक्री गरिने भएको हो । यस्तै, ग्लोबल आइएमई बैंकका साविक शाखा कार्यालयहरु तुल्सीपुर दाङ्ग, खैरेनी रुपन्देही, टिकापुर कैलाली, न्यूरोड काठमाडौं, तिनकुने काठमाडौं, चाबहिल काठमाडौं, सुदूरपश्चिम प्रदेश कार्यालय कैलाली र बिर्तामोड झापा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्री गरिने भएको हो ।