जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कम्तीमा छ फिट उचाई र चार फिड चौडा स्थायी सूचना पाटी राख्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उक्त पाटीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा (३) मा व्यवस्था भएअनुसार हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने व्यवस्थासँगै दफा १५ मा व्यवस्था भएको कसुर र सजायको व्यवस्थाबारे जानकारी उल्लेख गर्नुपर्नेछ । उनले स्वास्थ्यकर्मीको सुरक्षामा अवारोध पुर्याउने र हातपात गर्नेमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताए। उपचारमा लापरबाही भएको शङ्का लागेमा सम्बन्धित संस्थाको प्रमुख वा जिल्ला प्रशासन कार्यालय वा नेपाल मेडिकल काउन्सिल तथा मन्त्रालयमा निवदेन दिन सकिने जारी सूचनामा बताइएको छ । ऐनअनुसार स्वास्थ्य संस्थामा आगजनी गरे दुईदेखि पाँच वर्षसम्म कैद वा दुई लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ । स्वास्थ्य संस्थामा तोडफोड, वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याएमा र स्वास्थ्यकर्मी/कर्मचारीलाई कुटपिट वा शारीरिकरुपमा चोट पुर्याए तीन वर्षसम्म कैद वा तीन लाख जरीवाना वा दुवै सजाय हुनसक्छ । यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गर्ने, उपचारका लागि आएका वा उपचाररत बिरामीलाई बाधा पुर्याए र स्वास्थ्यकर्मी वा कर्मचारीलाई हातपात गरे एक वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । रासस
दुई बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वीराजमार्ग खुल्यो
मलेखु । ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनाइएको पृथ्वी राजमार्ग खुलेको छ । पढ्न गएका सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा आज बिहान ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएपछि क्षतिपूर्तिको माग राख्दै विद्यार्थी, आफन्त तथा स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नंको ट्रकको ठक्करबाट बागेश्वरी माविमा कक्षा ८ मा अध्यनरत दुई बालकको मृत्यु भएपछि सडक अवरुद्ध गर्ने विद्यार्थी, स्थानीयवासी तथा मृतकका आफन्त र प्रहरीबीच छलफल गरी राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताए। विद्यालयले विद्यार्थीका लागि बसको व्यवस्था गर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउने सहमतिमा राजमार्ग सञ्चालन गरिएको हो । ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जन प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस
नेपाल क्लियरिङ हाउसमा १६ जनालाई रोजगारीको अवसर
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाल क्लियरिङ हाउसले कर्मचारी माग गरेको छ । नेपाल क्लियरिङ हाउसले १६ जना कर्मचारी माग गरेको हो । कम्पनीले एनालिष्ट, सिनियर एनालिष्ट–कार्ड स्विचका लागि २ जना, पेमेन्ट सिस्टम एनालिष्टमा ४ जना, डेभोप्स इन्जिनियरमा १, टेक्निकल एनालिष्टमा १, जुनियर डेभलपर/डेभलपर जाभामा ३, बिजनेश एनालिष्टमा १, जुनियर डाटाबेस एडमिनिष्ट्रेटरमा १, एक्सक्युटिभ– रिस्क एण्ड कम्प्लाएन्समा १ र फेलोसिप–इन्फ्रान्सट्रक्चर एण्ड टेक्नोलोजी, अप्रेशन्स सपोर्टमा ३ जना कर्मचारी माग गरेको हो । कम्पनीले सम्बन्धीत क्षेत्रमा ज्ञान भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित कार्तिक १ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सानिमा बैंकले ल्यायो मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक अफर
काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना ल्याएको छ । सानिमा बैंक र फोनपेको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त सम्म लागू हुने छ । यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम २०० रुपैयाँ, विजुलीको बिर्ल तिर्दा २ प्रतिशत वा अधिकतम २५ रुपैयाँ र इन्टर्नेटको बिर्ल तिर्दा २ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्मको क्यासब्याकको व्यवस्था गरेको छ । मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको जनाएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल
चितवन । भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको छ । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउन लागेको हो । महानगरपालिकाले अन्तरराष्ट्रिय गैरआवासीय नेपाली सङ्घका प्रवक्ता सोम सापकोटालाई भ्रमण वर्ष अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजक बनाएर विश्वभर रहेका नेपालीहरुलाई भ्रमण वर्षमा आमन्त्रण गरिँदै छ । सापकोटाका अनुसार सामाजिक सञ्जालमार्फत ५४ देशका नेपालीहरुलाई एउटा ग्रुपमा समेटिएको छ । क्रमशः थप देश र व्यक्ति जोडिने क्रम जारी छ । त्यहाँ रहेका चितवनवासी र नेपालीहरुलाई भ्रमण वर्षमा नेपाल आउन आग्रह गरिएको छ । यससँगै काम गर्ने साथीहरुलाई भरतपुर ल्याउन ‘एक जना साथी भरतपुर ल्याउँ’ अभियान थालिएको छ । आफू काम गर्ने संस्थाका प्रमुख वा अन्य व्यक्तिहरुलाई समेत निम्तो दिएर भ्रमण वर्षमा यहाँ ल्याउन आग्रह गरिएको सापकोटाले बताए। उनीहरुमार्फत नै स्थानीय सरकारसँगै विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर पर्यटकलाई भरतपुर भ्रमण गर्न पठाउन आग्रह गरिएको छ । नेपालीहरुले सञ्चालन गरेका होटल, रेष्टुरेन्ट, पसलहरुमा भ्रमण वर्षका पोष्टर राख्न, भ्रमण वर्षसम्बन्धी तयार गरिएका डिजिटल सामग्री प्रसारण गर्न आग्रह गरिएको छ । यसैगरी राजदूतावासहरुमा भ्रमण वर्षसम्बन्धी पोष्टर, पम्प्लेट जस्ता सामग्री राखिँदै छ । सम्बन्धित देशका गैरआवासीय नेपाली सङ्घका अध्यक्षहरुलाई सल्लाहकार बनाएर भ्रमण वर्षमा अधिकतम पर्यटक भरतपुर भित्र्याउने योजना बनाइएको छ । गैरआवासीय नेपाली सङ्घको सम्मेलनको पूर्वसन्ध्यामा अक्टोबर १४ तारेखमा भरतपुरमा अन्तरराष्ट्रिय समन्वय समिति चितवन समाजको सम्मेलन हुँदैछ । यसले विदेशमा रहेका नेपालीहरुलाई भ्रमण वर्षमा यहाँ आमन्त्रण गर्न र योजना बनाउन सहज हुने भएको छ । विश्वमा एक सय १२ भन्दा बढी देशमा नेपाली रहेका छन् । महानगर प्रमुख रेनु दाहालले अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत विदेशमा रहेका भरतपुरवासी, चितवनवासी र समग्र नेपालीलाई भ्रमण वर्षमा निम्तो दिन लागिएको बताइन् । यसैगरी कूटनीतिक नियोग र गैरआवासीय नेपाली सङ्घमार्फत विश्वभर भ्रमण वर्षको प्रचारको काम गर्ने तयारीमा रहेको उनले जानकारी दिइन् । आफूहरु विदेश भ्रमणमा जाँदा भेटिएका त्यहाँका अधिकारीहरुलाई मौखिक रुपमा निम्तो दिने काम भइरहेको उनले जानकारी दिइन् । आन्तरिक र बाह्य पर्यटकलाई आमन्त्रणसँगै पर्यटकको बसाइँ लम्ब्याउन महानगरपालिकाले नयाँ गन्तव्यको खोजीसँगै तयारी तीव्र रुपमा अघि बढाएको छ । यहाँ आउने पर्यटकका लागि पहिलो रोजाइ चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका दुर्लभ वन्यजन्तु हुन् । आएका पर्यटकलाई बाघ देखाउनका लागि महानगरपालिकाको देवनगरमा खुल्ला खोर बनाइँदै छ । दाहालले भनिन्, ‘भरतपुर आएका पर्यटकले बाघ नहेरी फर्किन नपरोस् भनेर काम अघि बढाएका छौं ।’ ऐतिहासिक महत्व बोकेको दियालो बङ्गला खुल्ला गर्ने अन्तिम तयारीमा महानगर जुटेको छ । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भ्रमण वर्षको तयारी तिव्र गतिमा अघि बढेको बताए । स्वदेशी र विदेशी पर्यटक उल्लेख्य रुपमा आउनेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ । महानगरभित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुलाई व्यवस्थित गर्ने र नयाँ गन्तव्यको खोजीमा महानगर जुटेको उनले बताए । भ्रमण वर्षमा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिने अपेक्षा गरिएको छ । अधिकारीले नेपाल भित्रिने पर्यटकमध्ये धेरै भरतपुर ल्याउने गरी तयारी भइरहेको बताए । यसका लागि नेपालमा पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरुसँग समन्वय गर्ने काम भइरहेको छ । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । कोभिडपछि थला परेको यहाँको पर्यटकीय गतिविधिलाई भ्रमण वर्षले टेवा पुग्ने अपेक्षा गरिएको छ । महानगरपालिकाले विभिन्न समिति निर्माण गरेर भ्रमण वर्षका गतिविधि अघि बढाएको छ । भरतपुरमा मेघौली, पटिहानी, जगतपुर, देवनगरलगायत मुख्य सहरी क्षेत्रमा पर्यटकीय होटल रहेका छन् । यहाँ सूर्योदयका लागि चौकीडाँडादेखि सूर्यास्तका लागि गोलाघाटसम्म पर्यटकीय गन्तव्य रहेका छन् । राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगरको राप्तीतर्फको भाग निकुञ्जसँग जोडिएको छ । त्यसका कारण पर्या पर्यटनका हिसाबले यसलाई देशकै महत्वपूर्ण ठाउँका रुपमा लिन थालिएको छ । रासस
तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । आगामी २४ घण्टाका लागि गण्डकी, लुम्बिनी, कोशी र बागमती क्षेत्रबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढीपहिरो, भूक्षय तथा चट्याङ्गको सम्भावना रहेकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली रहेको महाशाखाले उल्लेख गरेको छ । साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरी जनाएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी, मधेश र बागमती प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उक्त बुलेटिनमा जनाइएको छ । त्यस्तै असोज १८ गते (बिहीबार) कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले सूचनामा प्रकाशित गरेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । असोज १९ गते (शुक्रबार) कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सोही राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।
बैंकिङ क्षेत्रले गुमाउँदैछ भेट्रान बैंकर, एक वर्षको अवधिमा आधा दर्जनले छाडे जागिर
काठमाडौं । एक वर्षको अवधिमा नेपाली बैंकिङ क्षेत्रबाट लामो समय काम गरेका अनुभवी बैंकरहरु बाहिरिएका छन् । तल्लो तहबाट बैंकिङ्ग करिअर सुरु गर्दै वर्षौंसम्म बैंकिङ क्षेत्रमै बिताएर बैंकको नेतृत्व नै गरेका अधिकांश प्रमुख कार्यकारी अधिकृतहरु यस वर्ष बैंकिङबाट बाहिरिरिएका छन् । कतिपय बैंकरहरु उमेरहदका कारण बैंकबाट बाहिरिए, कतिपय मर्जरको चपेटामा परे भने कतिपयलाई बैंक सञ्चालक समितिले दोहोर्याउन नचाहेर बैंकबाट अलग भएका हुन् । पछिल्लो एक वर्षको अवधिमा आधा दर्जन अनुभवी बैंकरहरु बैंकिङ क्षेत्रबाट बाहिरिएका हुन् । अनुभवी बैंकरहरु धमाधम बैंकिङ क्षेत्रबाट बाहिरिनु यो क्षेत्रको विकास र विस्तारमा पक्कै पनि प्रभाव पार्छ । हामीले एक वर्षको अवधिमा बैंकिङबाट बाहिरिएका बैंकरको विषयमा सामग्री तयार पारेका छौं । नारायण दास मानन्धर नेपाली बैंकिङ क्षेत्रमा नारायण दास मानन्धरको योगदान, भूमिका र सक्रियता महत्वपूर्ण छ । ८० वर्षको उमेरसम्म बैंकिङमा सक्रिय भएर काम गरेका मानन्धर गत साउनमा प्राइम कमर्सियल बैंकबाट विदा भए । बैंकिङ्ग क्षेत्रमा साढे ५ दशक काम गरेका उनले उमेरको उत्तराद्र्धमा बैंक छाडे । प्राइम बैंकको स्थापना कालदेखि सीईओ रहेका मानन्धर २०२५ सालमा बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । मानन्धरले ५५ वर्षसम्म बैंकमा काम गरेर ८० वर्षको उमेरसम्म सक्रिय सीईओका रुपमा आफुलाई चिनाए । मानन्धरले विश्व खाद्य संगठनमा २ बर्ष, धान चामल निर्यात कम्पनीमा ४ बर्ष, राष्ट्रिय चामल कारखानामा २ बर्ष र भुमि सुधार कार्यालयमा २ बर्ष काम गरेका थिए । कृषि विकास बैंकको स्थापनाकालमा ११ वर्ष काम गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैकमा ५ बर्ष, लुम्विनी बैकमा २ बर्ष, नेपाल बंगलादेश बैकमा १ बर्ष र प्राइम बैंकमा १६ वर्ष सीईओको भूमिमा रहेर काम गरे । मानन्धरले एमकमसम्मको अध्ययन पुरा गरेका छन् । नेपाली बैंकिङ उद्योगमा उनको योगदान सधैं स्मरणयोग्य रहनेछ । कृष्णबहादुर अधिकारी नेपालको जेठो बैंकका रुपमा सञ्चालन हुँदै आएको नेपाल बैंकबाट सीईओका रुपमा काम गर्दै आएका कृष्णबहादुर अधिकारी सोमबार (असोज १५ गते) बैंकबाट विदा भए । वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नदोहोर्याएपछि उनी बैंकबाट बाहिरिन बाध्य भएका हुन् । नेपाल बैंकमा विभिन्न जिम्मेवारीमा रही दुई दशक बढी कार्य अनुभव हासिल गरेका अधिकारीले एमबिए र ईएमबिएसम्मको अध्ययन पुरा गरेका छन् । सीईओ अधिकारीको कार्यकालमा नेपाल बैंक अधिकांश सूचकमा अब्बल रह्यो । उनी सीईओ हुनुअघि लाभांश नपाएका सेयरधनीले उनी सीईओ बनेपछि लाभांश पाए । बैंकका कर्मचारीको सेवा सुविधा पनि उनी सीईओ बनेपछि नै थपिए । कर्मचारी र सेयरधनीका लागि अधिकारीको कार्यकाल नेपाल बैंकका लागि सम्झन लायक हुनेछ । सुमन शर्मा बैंकिङ क्षेत्रमा साढे ३ दशकको अनुभव भएका सुमन शर्मा एक कुशल बैंकर रुपमा परिचित छन् । तत्कालीन सनराइज बैंकको सीईओ भएर काम गरेका उनले सनराइज लक्ष्मीसँग मर्ज भएपछि बैंकबाट बाहिरिए । लक्ष्मी सनराइज बैंकको डीसीईओ बनाउने बैंक सञ्चालकको प्रस्तावलाई अस्वीकार गर्दै उनले गत असारमा बैंक छाडेका थिए । वि.सं. २०७७ माघमा साविक सनराइज बैंकको सीईओमा नियुक्त भएका शर्मा मर्जपछि बाहिरिएका हुन् । उनी त्यसअघि माछापुच्छ्रे बैंकमा २१ महिना सीईओ भएर सनराइज प्रवेश गरेका थिए । सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् । सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए स्नात्तकोत्तर हासिल गरेका शर्मा अर्थशास्त्र र एमबिए ईन फाईनान्समा स्वर्ण पदक विजेता समेत हुन् । नेपाल फर्केपछि शर्माले एनएमबी बैंकमा १० वर्ष, माछापुच्छे बैंकमा ३ वर्ष र ग्लोबल आईएमई बैंकमा ६ महिना काम गरेका थिए । अनिलकुमार उपाध्याय कृषि विकास बैंकमा ४ वर्षे सीईओको कार्यकाल सकिएपछि अनिलकुमार उपाध्याय गत पुस १० गते बैंकबाट बाहिरिए । वि.सं. २०७५ पुस १० गते बैंकको सीईओका रुपमा नियुक्त भएका उनी दोस्रो कार्यकालका लागि नदोहोरिएपछि बैंकबाट बाहिरिनु परेको हो । वि.सं. २०४३ जेठ १ गतेदेखि कृषि विकास बैंकमा लेखा अधिकृतबाट बैंकिङ्ग करियर सुरु गरेका उपाध्याय सो बैंकको विभिन्न पदमा रही काम गरेका थिए । उनले बैंकमा शाखा प्रमुख, विभागीय प्रमुख, कायमुकायम मुख्य निर्देशक, उपमहाप्रबन्धक हुँदै बैंकको सीईओ बनेका थिए । उपाध्यायको स्नातकोत्तरसम्मको शैक्षिक योग्यता रहेका छ । करिब ४ दशक लामो बैंकिङ्ग अनुभव हासिल गरेका उपाध्याय नेपाल बैंकर्स संघको अध्यक्ष समेत भएर काम गरेका थिए । श्रवणलाल मास्के साविक बैंक अफ काठमाण्डूमा सीईओ भएर काम गरिसकेका श्रवणलाल मास्के ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि वरिष्ठ डीसीईओ बनेका थिए । तर, ग्लोबल आइएमई बैंकमा प्रवेश गरेको ७ महिनामै उनी बैंकबाट विदा भए । स्वास्थ्य समस्या देखाउँदै बैंकबाट बाहिरिएका मास्केले बैंकिङ्ग क्षेत्रमा साढे ३ दशकको अनुभव छ । मास्केले नबिल बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले नबिल बैंकमा २१ वर्ष, लुम्बिनी बैंकमा १० वर्ष र बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक)मा ७ वर्ष काम गरेर बैंकिङ्गबाट बाहिरिएका हुन् । मास्केले बिकमसम्मको अध्ययन पुरा गरेका छन् । सुनिल पोखरेल सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि सीईओ सुनिल पोखरेल नेपाली बैंकिङ्ग क्षेत्रबाटै बाहिरिए । हाल पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंकको सीईओ भएर काम गरिरहेका पोखरेलले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन् । २० वर्ष तत्कालिन ग्रिण्डलेज (स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरेका उनले एनआईसी एसिया बैंकमा करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि काम गरेको अनुभव उनीसँग छ । पोखरेलसँग ३० वर्ष बढीको बैंकिङ्ग अनुभव छ । म्यानमारको युनाइटेड अमरा बैंक र एजीडी बैंकमा काम गरेका उनलाई धेरैले विदेशी बैंकिङ्ग सम्बन्धि राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा चिन्छन् । सिभिल बैंक हिमालयनमा गाभिएपछि उनलाई हिमालयन बैंकमा डीसीईओ बनाउने सम्झौता भएपनि उनले डीसीईओ बन्न अस्वीकार गरे । पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्री पूराना बैंकर बाहिरिनु र नयाँ प्रवेश गर्नु ‘बगेको खोलाको संज्ञा’ दिन्छन् । उनले नयाँ पुस्ता बैंकिङको नेतृत्व लिएर पुराना बैंकर बाहिरिनु स्वभाविक भएको तर्क दिन्छन् । ‘यसलाई म एउटा चक्रका रुपमा लिन्छु, कुनै पनि क्षेत्र ‘पानीको पोखरी भन्दा पनि बगेको खोला’ जस्तै हुनु पर्छ, अनुभवी व्यक्तिको अनुपस्थितिले केही प्रभाव पारे पनि ठूलो असर गर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने । पूर्व बैंकर अनलराज भट्टराई पनि यसलाई सकारात्मक रुपमा लिन्छन् । बैंकिङमा सीईओसँगै तल्लो तहका कर्मचारीहरु पनि अनुभवी हुने भएकोले त्यसले कुनै नकारात्मक प्रभाव नपर्ने उनको भनाइ छ । ‘बैंकिङ क्षेत्रमा सेकेण्ड म्यान पनि हुन्छ, बैंकको संरचना बलियो हुन्छ, तल्लो तहमा पनि अनुभवी बैैंकरण् हुन्छन्, सधैं सोही सीईओ बस्नु पर्छ भन्ने हुँदैन, पुराना बाहिरिँदा नयाँले अवसर पाउँछन्,’ उनले भने । कुनैबेला बैंकको संख्या बढी हुँदा धेरै अनुभव नभएकोले पनि छिट्टै बढुवा पाएको तर अहिले त्यस्तो अवस्था नभएको उनको भनाइ छ । ‘कुनै बेला छोटो समयमै उच्च तहमा पुग्ने अवस्था थियो, अहिले त्यस्तो अवस्था नभएकोले दोस्रो तेस्रो तहका कर्मचारी पनि अनुभवी नै हुन्छन्,’ उनले थपे, पुराना बैंकर बाहिरिए पनि उहाँहरुले बाहिरबाट सहयोग गरिरहेका हुन्छन्, उहाँहरुको अनुभव अन्य क्षेत्रमा पनि प्रयोग हुन्छ, जसको सकारात्मक प्रभाव देशको अर्थतन्त्रमै पुर्याउँछ ।’
नेपाल रिको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ४.७५ प्रतिशत अर्थात ५८ लाख १० हजार ४३७ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।