आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक
बागलुङ । प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ । एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी यहाँका किसानले जङ्गलमा सङ्कलन गरेको बाँकोको गुन्द्रुक ‘लेबलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन् । छुँदै चिलाउने वनस्पतिलाई सहरका भान्सामा पुर्याउने अभियान यहाँका किसानले थालेका हुन् । समूहमा आबद्ध किसानले जङ्गलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण गर्न थालेको तीन वर्ष भयो । बाँकोले गाउँसहर जोडेको छ भने दुःख गर्नसक्ने किसानलाई आम्दानीसँग जोड्न थालेको छ । पहिलो वर्ष गाउँघरका लागि मात्रै गुन्द्रुक उत्पादन गरेकामा गत वर्ष जैमिनी नगरपालिकाले ‘लेबलिङ’ र ‘प्याकेजिङ’को तालिम दिएपछि किसानले यस वर्षदेखि आफैँले लगानीबाट लेबलिङ र प्याकेजिङ गरेर बाँको बजारमा ल्याएका छन् । ‘किसानको उत्पादन व्यवसायिक रुपमा जारमा जाँदा त्यसको मूल्यलगायत धेरै कुरामा सहज हुन्छ, अघिल्लो वर्ष नगरले सहयोग गरेपछि अहिले किसानले आफ्नै लगानीमा बजार ल्याएका छन्’, कृषि प्राविधिक रवीन्द्र शर्माले भने, ‘बाँकोबाट राम्रो आम्दानी हुन्छ ।’ यहाँ उत्पादित बाँको स्थानीय बजारका साथै पोखरा, काठमाडौँलगायत सहरमा माग हुन थालेको उनले भने । छन्त्याल कृषक समूहमा आबद्ध दमेकका एक सय ४३ किसानको सामूहिक प्रयासमा बाँकोको बजारीकरण थालिएको समूहका अध्यक्ष देवप्रकाश छन्त्यालले बताए । उनका अनुसार अन्य सागबाट भन्दा बाँकोको सागबाट बनेको गुन्द्रुक स्वादिलो र पोषिलो हुने भएकाले किसानले जङ्गली बाँकोको गुन्द्रुक बनाउँदै आएका हुन् । ‘नजिकको जङ्गल वर्षमा दुई पटक १५/१५ दिनका लागि मात्रै बाँको टिप्नका लागि खुल्छ, जसले धेरै टिप्नुहुन्छ उहाँले धेरै आम्दानी गर्नुहुन्छ’, छन्त्यालले भने, ‘समूहमा आबद्ध किसानले टिपेको बाँको समूहले नगदमा खरिद गरेर प्रशोधन, लेबलिङ, प्याकेजिङ गर्छन् र बजार पठाउँछन् ।’ उनका अनुसार विदेशमा रहेका नेपालीले समेत बाँकोको गुन्द्रुकको माग गर्ने गरेका छन् । उच्च पहाडी क्षेत्रमा गुन्द्रुक बनाउन प्रयोग गरिने जङ्गली वनस्पति बाँको अब व्यावसायिक किसानको रोजाइमा पर्न थालेको छन्त्यालले भने । सहरिया भान्छामा बाँकोको गुन्द्रुक पाक्न थालेको उनको भनाइ थियो । ‘दमेकका झन्डै पाँच सय घरमा बाँको भित्रिने गरे पनि कसैले व्यावसायिक बनाएका थिएनन् । यस वर्ष पाँच सय किलो बाँको बजार पठाउने समूहको योजना छ’, अध्यक्ष छन्त्यालले भने, ‘समूहले एक सय ग्रामका प्याकेट तयार गरेको छ ।’ एक प्याकेटको मूल्य तीन सय रुपैयाँ कायम गरिएको उनले जानकारी दिए । गत वर्षभन्दा प्रति एक सय ग्राममा ५० रुपैयाँ मूल्य कम गरिएको उनले बताए । ‘जेठ/असारमा जङ्गलभरि पाइने बाँको असोजसम्म घरभित्र ल्याइसक्नुपर्छ । असोजसम्म टिप्न नभ्याइएमा बाँको यत्तिकै हराएर जान्छ । सावधानीपूर्वक नटिप्ने हो भने बाँकोको काँचो पातले शरीर चिलाउने समस्या हुन्छ’, छन्त्यालले भने, ‘यहाँका किसानले बाँकोका पात र काण्ड टिपेर परम्परागत शैलीबाट थिचेर एक महिनासम्म प्लास्टिकको ड्रममा राखेपछि मात्रै बाँकोको गुन्द्रुक तयार हुन्छ ।’ रासस
टिंकरमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन
काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । असोज १६ गतेदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत् फोन गर्न सक्ने भएका छन् । चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भिस्याट प्रविधिमार्फत् टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्याएको थियो । पहिले सो क्षेत्रमा भिस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिंकर क्षेत्रमा रहेका करिब पाँच सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्नेछन् । यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरू समेत यसबाट लाभान्वित हुने कम्पनीले बताएको छ । करिब ३ हजार ७ सय मिटरको उचाइमा अवस्थित टिंकर भारत सहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दुरीमा अवस्थित छ। त्यहाँबाट करिब ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ । नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरूमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याएको हो ।
आममाफीविरूद्ध अनशन सुरू गरेकी भारती अस्पतालमा
काठमाडौं । रिगलको आममाफीविरूद्ध अनशन सुरू गरेकी भारती अस्पतालमा लगिएको छ। बाँकेका योगराज ढकाल (रिगल) लाई आममाफी दिने सरकारको निर्णयविरूद्ध आमरण अनशन बसेकी भारती मानन्धरलाई अस्पतालमा लगिएको हो। सर्वोच्च अदालतमा पुगेकी भारती बुधबार दिउँसो बेहोश भएपछि वीर अस्पताल लगिएको हो । उनले बुधबार माइतीघर मण्डलमा आफ्ना श्रीमान चेतन मानन्धरका हत्या गर्ने रिगललाई जेल चलान गर्नुपर्ने माग गर्दै अनशन सुरू गरेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको दिनमा सरकारको सिफारिसमा रिगललाई आममाफी दिँदै रिहा गरेको थियो । भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो। सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष ०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सिफारिस गरेको थियो । रिगललाई आममाफी दिइएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधि सभा बैठकमै प्रश्न उठाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति पौडेललाई भेटेर आममाफीबारे तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि रिगललाई सरकारले आममाफी सिफारिस गरेकोमा गत असोज ४ देखि ८ गतेसम्म सानेपामा चलेको केन्द्रीय समिति बैठकबाट विरोध गरेका थिए ।
नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी गरेको विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरुमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ । स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले सद्भावको सहरका रुपमा रहेको नेपालगञ्जको गरिमालाई कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, आम नागरिकले आफ्ना क्षेत्रबाट शान्ति स्थापनामा योगदान पुर्याउनसमेत आग्रह गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले रासससँग कुरा गर्दै सबै पक्षसँग संवादका लागि प्रक्रिया थालिएको तर बैठक बस्ने समय भने निश्चित नभएको जानकारी दिए । उनले निषेधाज्ञामा कडाइ गरिएको उल्लेख गर्दै भारतबाट जमुनाह नाका हुँदै नेपाल आउने नागरिकलाई गन्तव्यसम्म पुर्याउन थालिएको जानकारी दिए । प्रहरी चौकी जमुनाहाका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले अहिलेसम्म एक हजार पाँच सय नेपालीलाई गन्तव्यमा पुर्याइएको जानकारी दिए । उनले भारतको सिम्ला, कालापहाड, दिल्ली लगायतका ठाउँबाट दशैं मनाउन घर फर्केका नागरिकलाई राँझाचोकसम्म पुर्याइएको र त्यहाँबाट नागरिकहरु गन्तव्यमा पुगिरहेका पनि बताए । रासस
निजी शैक्षिक संस्थालाई गैरनाफामूलक बनाउनु पर्ने रास्वपाको प्रस्ताव, बोर्डिङमा पनि लाइसेन्सको प्राबधान
काठमाडौं । संसदमा प्रस्तुत भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ माथि राष्ट्रिय स्वतन्त्र पार्टीले संशोधन प्रस्ताव हाल्ने तयारी गरेको छ । रास्वपाकी सांसद तथा पार्टी शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठले विधेयकको पुर्नलेखनको माग सहित पार्टीको तर्फबाट संशोधन प्रस्ताव हाल्ने तयारी गरिरहेको बताएकी हुन् । नेतृ श्रेष्ठकाअनुसार शिक्षा क्षेत्रलाई मुख्य रुपमा राजनीतिकरण र व्यापारीकरण हुनबाट जोगाउन रास्वपाले संशोधन प्रस्ताव हाल्ने तयारी गरेको छ । ठूला राजनीतिक दलहरुले शिक्षकहरुलाई दलीयकरण गर्ने र निजी शैक्षिक क्षेत्रलाई नाफामूलक बनाउन उद्दत भइरहेको अवस्थामा रास्वपाले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न संविधानकै आडमा प्रगतिशील अडानका साथ संशोधन प्रस्ताव राख्ने तयारी गरेको देखिन्छ । शिक्षा क्षेत्रलाई १० वर्षमा गैरनाफामूलक बनाउने गरी निजी शैक्षिक संस्थाहरुलाई गुठी संरचनामा लैजाने प्रस्ताव रास्वपाले गर्न खोजेको छ । ‘अहिलेकै अवस्थामा राज्यले सम्पूर्ण शैक्षिक क्षेत्रलाई गैरनाफामूलक बनाउने विषय नधान्न सक्छ, हामीले आदर्शका कुरा नगरेर व्यवहारिक कुरा गर्नुपर्छ’, उनले भनिन्, ‘हामीले शिक्षा क्षेत्रको व्यापारिकण रोक्न सेड्युल नै बनाएर अगाडि बढ्नुपर्छ ।’ साथै उनले गैरनाफामूलक रुपमा अगाडि बढ्दा गुठी भौचर वा अन्य कुन मोडालिटीमा लैजाने भन्ने विषयमा भने अध्ययन गर्न आवश्यक भएको बताइन् । सरकारले संसदमा प्रस्तुत गरेको शिक्षा विधेयकमा शिक्षकहरुको महासंघलाई स्वीकार गरिएको छ, तर शिक्षकहरुको दलीय आबद्धतालाई भने अस्वीकार गरिएको छ । सोही विषयलाई शिक्षकहरुले आन्दोलनको एउटा मुख्य एजेन्डा बनाएको थियो र ट्रेड युनियनको अधिकार सुरक्षित गर्ने विषयमा सम्झौता समेत गरेको छ । तर, रास्वपाले शिक्षा क्षेत्रमा गरिने राजनीतिकरणलाई भने पूर्ण रुपमा अस्वीकार गर्ने बताएको छ । नेतृ श्रेष्ठका अनुसार रास्वपाले गुणस्तरीय शिक्षाको विषयलाई मुख्य प्राथमिकताका साथ लिएको छ । त्यसैले बालविकास कक्षादेखि शिक्षकहरुको योग्यताको विषयमा आफ्नो नयाँ प्रस्ताव अगाडि सार्ने तयारी गरेको छ । ‘शिक्षकहरुले बिएड नै गर्नुपर्छ भन्ने मान्यता भन्दापनि ए ग्रेड तहका विद्यार्थीहरुलाई शिक्षक पेशामा आउने वातावरण बनाउनुपर्छ’, नेतृ श्रेष्ठले भनिन्, ‘लाइसेन्सको प्रावधान पनि अपडेट गर्नुपर्छ, लाइसेन्स एकपटक मात्रै दिने होइन, बरु तीन-तीन महिनामा मूल्यांकन हुनुपर्छ, निजी र सार्वजनिक दुवै क्षेत्रमा शिक्षकको लाइसेन्स हुनै पर्छ ।’ गुणस्तरको सन्दर्भमा शिक्षा पनि विषयगत भन्दा प्रयोगात्मक वा व्यवहारिक हुनुपर्छ भन्नेमा उनको जोड छ । ‘शिक्षा भनेको कन्टेन्ट वेस नभएर कम्पिटेन्सी बेस हुनुपर्छ’, उनी भन्छिन् । विद्यालयको पाठ्यक्रम बनाउने निकाय पनि पदेन हुने अभ्यास गरिएकोमा असहमति जनाउँदै उनले अध्ययन र अनुसन्धानको आधारमा नियुक्ति हुने व्यवस्था आवश्यक भएको बताइन् । नेतृ श्रेष्ठका अनुसार संशोधन प्रस्तावको विषयमा पार्टीले अवधारणा तयार गरिसकेको र त्यसलाई लिखित रुपमा अन्तिम रुप दिन मात्रै बाँकी छ । रास्वपाले संसदमा ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा प्रस्तुत गर्ने विधेयकमा मुलतः दलीय संगठनमा आबद्ध शिक्षक र व्यवसायिक शैक्षिक क्षेत्रको नेतृत्व गरिरहेको निजी क्षेत्रले विमति राख्ने सम्भावना देखिन्छ ।
गोरखामा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण
गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न सुरु गरेको छ । सो कार्यालयले मङ्गलबार भीमसेन थापा गाउँपालिका–१, मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरी जिल्लामा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । उमेर पुगेर पनि नागरिकता बनाउन नपाएका बानियाँलाई आमाको नामबाट वंशजका आधारमा प्रदान गर्ने गरी गृह मन्त्रालयले गरेको परिपत्रअनुसार नागरिकता प्रदान गरिएको हो । नेपाल सरकारबाट नेपाल नागरिकता ९तेस्रो संशोधन० नियमावली, २०८० जारी भएपछि कार्यालयबाट आमाको नामबाट पनि नागरिकता वितरण गर्न सुरु गरिएको प्रजिअ भुसालको भनाइ छ । नयाँ नियमावलीको व्यवस्थाअनुसार १६ वर्ष उमेर पुगेका र बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था रहेको उनले बताए । आमाको नामबाट नागरिकता पाउन निवेदक र निवदेकका आमाले बुबाको पहिचान नभएको स्वघोषणासहित जन्मदर्ता, आमाको नेपाली नागरिकता, आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, वडा कार्यालयकोे सिफारीससहित प्रशासनमा निवेदन दिनुपर्नेछ । त्यस्तै वडाध्यक्ष वा वडाध्यक्षले तोकेका जनप्रतिनिधि र निवेदकसँग सम्बन्धित दुईजनाले प्रशासनमा आएर सनाखत गरेपछि नागरिकता प्रदान गरिने उनले बताए । यसअघि बाबुको नागरिकता अनिवार्य रहेकामा नियमावली संशोधन भएपछि बाबुको पहिचान नभएका व्यक्तिलाई पनि आमाका नामबाट नेपाली नागरिकता वितरण गर्न सुरु गरिएको हो । रासस
पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरण प्रणालीमा प्रक्रिया नै पूरा नगरी बिक्री वितरण गर्ने गरेको पाइएको जनाएको छ । गत साउन पहिलो सातादेखि महानगरपालिकाले खानेपानीको नियमित रुपमा गरेको अनुगमनका क्रममा यस्ता किसिमका त्रुटि फेला परेको जनाएको हो । महानगरको कृषि तथा पशुपक्षी विभागका प्रमुख डा अवधेश झाका अनुसार अहिले पिउने पानीमा नै ठूलो समस्या रहेको छ, जहाँ मिसावट र अखाद्य कम भेटिए पनि प्रक्रिया नै पूरा नगरी बिक्री वितरण हुनु समस्या हो । पानी वितरण प्रक्रिया अव्यावहारिक र कानुन विपरीत रहेको जनाउँदै डा झाले नियमित अनुगमन गरेर कारबाहीको दायरामा ल्याउने बताए । उनले भने, ‘यसमा उपभोक्ताले पनि ध्यान दिन आवश्यक छ, कस्तो जारको पानी खाँदैछौँ त्यस विषयमा ध्यान दिनुपर्छ, बाहिरीरुपमा कुच्चिएको, पुरानो र बिल बिनाका जारको पानी किन्नु हुँदैन ।’ त्यसैगरी जारको बिर्कोमा भएको संस्थाको नाम र लेबलमा भएको संस्थाको नाम एकै हुनुपर्छ, लेबल नराखिएको जारको पानी प्रयोग नै नगर्न उनले उपभोक्तालाई आग्रह गरेका छन् । माथि उल्लिखितभन्दा फरक जार बिक्री वितरण गरेको पाइए महानगरको कृषि विभागमा जानकारी दिन पनि प्रमुख झाले आग्रह गरेका छन् । हाल काठमाडौं महानगरपालिकाभित्र पानी वितरण गर्ने एक सय ८० संस्था रहेका छन् । विभागले अहिले महानगरका ३२ वटै वडामा पानीको अनुगमन गरिरहेको छ । महानगरले चालु आर्थिक वर्षमा पानीसँगै दूध र तेलको पनि गहिरिएर अनुगमन गर्ने जनाएको छ । कार्यालय, होटल, रेष्टुरेन्ट एवं घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन नियमित रुपमा भइरहेको महानगरले जनाएको छ । महानगरले पिउने पानीका लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घर लगायतका बारेमा अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कामपाले नियम विपरीत सञ्चालन भएको माता वैष्णवदेवी फुड एन्ड वेभरेज कम्पनीका जार नष्ट गरेको छ । माता वैष्णवदेवी फुड एन्ड वेभरेज कम्पनीले महानगरको कार्यालयसहित अन्य स्थानमा पानी सप्लाइ गर्दै आएको थियो । महानगरले पानीको गुणस्तरसँगै पानी राख्ने जारको बाहिरी अवस्थाको बारेमा जानकारी लिएर नियम विपरीतलाई कारबाही र जार नष्टसमेत गर्दै आएको छ ।
‘कर्फ्यू’ का कारण सीमामा अलपत्र परेका दुई हजार नेपालीलाई गन्तव्यतर्फ पठाइँदै
बाँके । नेपालगञ्जमा लागेको ‘कर्फ्यू’का कारण नेपाल-भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ । कर्फ्यूका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताए । उनका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् । यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन थालिएको हो । जमुनाहादेखि राँझासम्म पहिलो चरणमा करिब पाँच सय नेपाली पठाइएको प्रहरीले जनाएको छ । भारतबाट फर्केका नेपालीमध्ये रातीदेखि नाकामा अलपत्र परेका छन् । दशैं नजिकिँदै गर्दा भारतमा कामका लागि गएका नेपाली फर्किने क्रम बढ्न थालेको छ । भारतको सिमला, दिल्ली, पञ्जाबलगायतका क्षेत्रमा नेपाली कामका लागि जाने गर्दछन् । कर्फ्यूपछि नेपालगञ्ज बजार बिहानैदेखि शान्त रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कपर्यू जारी गरेको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार बुधबार बिहानसम्म कर्फ्यू उल्लङ्घनका घटना भएका छैनन् । यद्यपि केही व्यक्तिहरु बिहानको हिँडाइ (मर्निङवाक) मा निस्किएको देखिएको थियो । प्रहरीका अनुसार त्यस्ता व्यक्तिहरुलाई सम्झाइबुझाइ घर पठाइएको छ । कर्फ्यू उल्लङ्घन नगर्नका लागि प्रहरीले माइकिङ गरिरहेको छ । रासस