विकासन्युज

दुर्गमका जिल्लामा सुपथ मूल्यसँगै अत्यावश्यक बस्तुहरु पुर्याउन निर्देशन

काठमाडौं । संसदीय समितिले दुर्गमका जिल्लामा सुपथ मूल्यका पसलसँगै अत्यावश्यक बस्तुहरु पुर्याउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले देशका दुर्गम र हिमाली जिल्लाहरुमा सुपथ मूल्यका पसलहरु सञ्चालन गर्न उद्यदोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । हाल विभिन्न ४८ स्थानमा सञ्चालन भएका सुपथ मुल्य पसलसँगै देशका दुर्गम र हिमाली जिल्लाहरु सहित विभिन्न स्थानहरुमा समेत थप गरी त्यस्ता पसलहरुबाट जनतालाई सहज रुपमा चाडपर्वका समयमा किनमेल गर्न पाउने बातावरण बनाउन मन्त्रालयलाई निर्देशन दिईएको समितिका सभापति अब्दुल खांनले जानकारी दिए । उनका अनुसार आजको बैठकले सुपथ मूल्यका पसलसँगै कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा नुन, चिनी, चामल लगायतका अत्यावश्यक वस्तुहरुको पर्याप्त व्यवस्था गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तैगरी समितिले नजिकिँदै गरेका चाडपर्वको समयमा अत्यावश्यक पर्ने मसला जन्य बस्तुहरु (जीरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायत) र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धि, मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानूनी भण्डारण, जस्ता अनियमित गतिविधि हुन सक्ने तर्फ ध्यान दिदैं उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरु सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन समेत मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै, बुधबारको बैठकमा सुपारी निकासीका सम्बन्धमा समेत छलफल भएको थियो ।

यस वर्षको भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७ र १८ गते खुवाइने

काठमाडौं ।  सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाखमा महिनामा गर्ने गरिएको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधी करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी

भारत । भारतको मध्यप्रदेशस्थित एक सरकारी शारीरिक शिक्षा संस्थानका एक सयभन्दा बढी विद्यार्थीलाई विषाक्त खानाका कारण बिरामी भएर अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । मध्यप्रदेशको राजधानी भोपालबाट करिब चार सय ३२ किलोमिटर टाढा ग्वालियरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा उक्त घटना भएको हो । वाकवाकी लाग्ने, पेट दुख्ने र वान्ता भएको गुनासो गरेपछि १८ देखि २५ वर्ष उमेर समूहका ती विद्यार्थीलाई मङ्गलबार तत्काल सरकारी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका सुपरिटेन्डेन्टका अनुसार गम्भीर अवस्थामा रहेका एक विद्यार्थीलाई भेन्टिलेटरमा राखिएको छ भने अन्यको अवस्था स्थिर रहेको छ । प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको बताइएको छ । रासस

सामुदायिक विद्यालयमा महिनावारी आराम कक्ष निर्माण

जुम्ला । जुम्लाका सामुदायिक विद्यालयहरूमा नमूनाको रुपमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष स्थापना गरेको त्यहाँका परियोजना संयोजक हेमराज भट्टले जानकारी दिए । विद्यालयमा बालिका महिनावारी हुँदा पेट दुखेमा वा असजिलो भएमा सो कक्षमा आराम गर्न मिल्ने बताइएको छ । बालिकालाई महिनावारी भएको समयमा सजिलो होस् भन्ने उद्देश्यले उक्त कक्ष निर्माण गरिएको उनको भनाइ थियो । कनकासुन्दरी गाउँपालिकाको लुड्कुस्थित कनकासुन्दरी माध्यामिक विद्यालय, सिंजा गाउँपालिकाको मावि चुलेल गाउँस्थित महादेव मावि गुठी, हिमा गाउँपालिकाको मष्ठामाडूस्थित अन्नपूर्ण माध्यामिक विद्यालय, महावैपाथलखोलास्थित भानु माध्यामिक विद्यालयमा उक्त आराम कक्ष निर्माण गरिएका हुन् । यसैगरी कालिकोट जिल्लाको नरहरी नाथ गाउँपालिका–३ स्थित नन्दादेवी माध्यामिक विद्यालय र रुपादेवी आधारभुत विद्यालयसमेतमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । उक्त कक्ष निमार्ण भएपछि छात्राहरूलाई महिनावारी कक्षमा सेनीटरप्याड बदल्नेदेखी आराम गर्न सहज भएको सिंजा गाउँपालिका–२ का वडाध्यक्ष तीर्थ वडुले बताए । यो कार्यक्रम प्रभावकारी भएपछि ती विद्यालयको आराम कक्षका लागि आवश्यक सामग्री खरिदका लागि उक्त संस्थाले रकम उपलब्ध गराएको छ । रासस

तनहुँको अत्रौलीमा भारी वर्षा, सतर्क रहन आग्रह

दमौली । तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीमा भारी वर्षा भएको छ । मङ्गलबारदेखि निरन्तर परेको वर्षाका कारण पछिल्लो २४ घण्टामा अत्रौलीमा अत्यधिक वर्षा भएको हो । जल तथा मौसमविज्ञ विभाग बाढी पूर्वानुमान महाशाखाले यस ठाउँमा अत्यधिक वर्षा भएपछि सतर्क रहन आग्रह गरेको छ । वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आसपासका सर्वसाधारणलाई आग्रह गरिएको छ । उक्त ठाउँमा पछिल्लो २४ घण्टाको अवधिमा १४७.८ मिलिलिटर वर्षा भएको छ । यो खतराको तह मानिन्छ । विभागले आज तनहुँको बन्दीपुरस्थित मस्र्याङ्दी, दमौलीस्थित सेती नदीमा उल्लेख्य पानीको बहाव बढ्ने जनाएको छ ।

विज्ञानका उत्कृष्ट विद्यार्थीलाई चिनियाँ अनुदान प्रदान

काठमाडौं । काठमाडौं सेन्टर फर रिर्सच एन्ड एजुकेसन (केसिआरई) ले चाइनिज एकेडमी अफ साइन्सेसको सहयोगमा त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र जल तथा मौसम विज्ञान केन्द्रीय विभाग तथा सम्बन्धित क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तहका १३ उत्कृष्ट विद्यार्थीलाई शैक्षिक अनुदान पुरस्कार दिएको छ । वार्षिक रुपमा उपलब्ध हुने उक्त शैक्षिक अनुदानको राशि जनही ८० हजार रुपैयाँ रहेको छ । त्रिभुवन विश्वविद्यालय र चाइनिज एकेडमी अफ साइन्सेसबीच सन् २०१४ मा सहमति भई उक्त राशिको अनुदान केन्द्रीय विभागलगायत क्याम्पसमा अध्ययन गर्ने त्रिविका विद्यार्थीले प्राप्त गरिरहेका छन् । हालसम्म एक सय ३० विद्यार्थीले सो अनुदान पुरस्कार प्राप्त गरिसकेका छन् । कीर्तिपुरमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले उत्कृष्ट शोधार्थी विद्यार्थीलाई सो अनुदान प्रदान गर्दै विज्ञानका उत्कृष्ट वैज्ञानिक विद्यार्थीले विश्वविद्यालयको गरिमा बढाउने र भविष्यमा थप उत्कृष्ट कार्य गर्ने अपेक्षा व्यक्त गरे ।विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्राडा विनिल अर्यालले चाइनिज एकेडमी अफ साइन्सेस विश्वकै उत्कृष्ट वैज्ञानिक निर्माण गर्ने संस्था रहेको र नेपालमा विज्ञान शिक्षाको विकास तथा गुणस्तरका लागि सहयोग गर्दै आइरहेको बताए । जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्राडा दीपक अर्यालले आर्थिक प्रोत्साहनका अन्य स्रोतमार्फत विद्यार्थीलाई अनुसन्धानमा उत्प्रेरित गर्नुपर्ने बताए । रासस

प्रिमियममा सानिमा रिलायन्स र सिटिजनबीच टक्कर, नेपाल लाइफको दोब्बर वृद्धि

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीले गत भदौसम्ममा २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ संकलन गरेका छन् । जुन गत वर्षको तुलनामा ११.८५ प्रतिशतले बढी हो । कम्पनीहरुले २०७९ भदौसम्ममा २६ अर्ब ४ करोड ३३ लाख रुपैयाँ संकलन गरेका थिए । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधि अर्थात एक वर्षको अवधिमा जीवन बीमा क्षेत्रबाट ३ अर्ब ८ करोड ६५ लाख रुपैयाँ बढी प्रिमियम संकलन भएको छ । सञ्चालित १४ कम्पनीमध्ये सबैभन्दा बढी प्रिमियम नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । कम्पनीले २०८० भदौसम्ममा ८ अर्ब एक करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशतले बढी हो । र, बढी प्रिमियम संकलन गर्नेको दोश्रो स्थानमा रहेका राष्ट्रिय बीमा संस्थानको तुलनामा दुई गुणा बढी हो । राष्ट्रिय बीमा संस्थान बिजनेसमा आक्रामक देखिएको छ । २०७९ भदौमा ८३ करोड ८८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको संस्थानले २०८० भदौसम्ममा ३ अर्ब ५६ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जुन प्रतिशतको आधारमा ३२५.३९ प्रतिशतले बढी हो । यता सानिमा रिलायन्स र सिटिजन लाइफ इन्स्योरेन्सबीच बीमाशुल्कमा कडा प्रतिस्पर्धा देखिएको छ । दुई कम्पनी मर्जभएर बनेको सानिमा रिलायन्सले एक अर्ब एक करोड ५९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सिटिजन लाइफले मर्ज बिनै एक अर्ब एक करोड १० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । प्रतिशतको आधारमा भने सानिमा रिलायन्सको बिजनेस १२.५५ प्रतिशतले बढेको छ भने सिटिजन लाइफको बिजनेस गत वर्षको तुलनामा ५.०५ प्रतिशतले खस्किएको छ । सर्वाधिक प्रिमियम संकलन गर्नेको सूचीमा भने यी दुई कम्पनी क्रमशः आठौं र नवौं स्थानमा छन् । संकलित प्रिमियमको आधारमा हिमालयन र नेशनल लाइफबीच पनि प्रतिस्पर्धा देखिएको छ । तीन कम्पनी मर्ज भइ बनेको हिमालयनले २ अर्ब ९५ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गर्दा मर्जरमा नगएको नेशनल लाइफले २ अर्ब ९० करोड ७७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सूचीको आधारमा हेर्ने हो भने हिमालयन लाइफ सर्वाधिक प्रिमियम संकलन गर्नेको तेश्रो स्थानमा छ भने नेशनल लाइफ चौथो स्थानमा देखिन्छ । समीक्षा अवधिमा अधिकांश कम्पनीको बिजनेस बढेको छ भने केही कम्पनीको खस्किएको छ । गत वर्षको तुलनामा बिजनेस खस्किएको सूचीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), नेशनल लाइफ, सूर्यज्योति, सिटिजन, मेट र सन नेपाल लाइफ रहेका छन् । यी कम्पनीको बिजनेस अधिकतम १० प्रतिशतसम्मले घटेको छ । यीमध्ये पनि सन नेपाल लाइफले सबैभन्दा कम बीमाशुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले ६३ करोड ७४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । सञ्चालनमा रहेका १४ कम्पनीमध्ये ९ कम्पनीले एक अर्ब बढी प्रिमियम संकलन गरेर अर्बको क्लबमा प्रवेश गरेका छन् भने बाँकी ५ कम्पनी करोडको क्लबमा सीमित छन् । करोडको क्लबमा हुनेमा मेट लाइफ, प्रभु महालक्ष्मी, आइएमई, रिलायबल नेपाल र सन नेपाल लाइफ रहेका छन् ।

भूकम्प अपडेट : बाजुरामा दुई घाइते, नौ घर पूर्ण क्षति

बाजुरा ।  मङ्गलबार बझाङको तलकोटमा ५ दशमलव ३ म्याग्नेच्युड र चैनपुर केन्द्रविन्दु बनाएर आएको ६ दशमलव ३ म्याग्नेच्युडको भूकम्पमा परी बाजुरामा दुईजना घाइते हुनाका साथै नौ घर पूर्ण रुपमा क्षती भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका–९ का प्रलोप डिजी र खप्तड छेडेदह गाउँपालिका–४ घर भई हाल बडीमालिका नगरपालिका–८ मा बस्दै आएका १३ वर्षीय सुन्दर सार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते भएका डिजी घर अगाडिको आँगनमा खेल्दै गरेको बेला घरको छतबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेको छ भने सार्की विद्यालय सञ्चालन भइरहेका बेला भूकम्प आएपछि आत्तिएर दौडिने क्रममा विद्यालयको सिँढीमा लडेर बायाँ हातको हड्डी चर्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार घाइते भएका दुवै बालकको जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । भूकम्पका कारण जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा छ घर र बूढीगङ्गा नगरपालिकामा तीन घर पूर्ण रुपमा क्षति भएको प्रहरी निरीक्षक भण्डारीले बताए । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकीलाई भूकम्पबाट क्षतिको विवरण सङ्कलनका लागि खटाएअनुसार प्रहरी टोलीले दिएको जानकारीअनुसार खप्तड छेडेदहमा ६ र बूढीगङ्गा नगरपालिकामा तीन घर पूर्ण रुपमा क्षति भएको बताए । उनका अनुसार भूकम्पका कारण १३ निजी घर र पाँच सरकारी भवन आंशिक रुपमा क्षति भएका छन् । भूकम्पबाट भएको थप क्षतिको विवरण सङ्कलन र स्थलगत अनुगमनका लागि जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल भूकम्पबाट प्रभावित क्षेत्रको अनुगमनमा जानसभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पबाट जिल्लाका बूढीगङ्गा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिका प्रभावित बनेका छन् । भूकम्पले दर्जनौँ घर चर्किएर जोखिम हुनुका साथै फेरी भूकम्प आउने डरले खप्तड छेडेदह र बूढीगङ्गा नगरपलिकाका स्थानीय रातभर जाग्राम बसेका हुन् । रासस