विकासन्युज

सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’

काठमाडौं । ‘राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा)मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ । अनि हामी गरिब नभए को हुन्छ त ?’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिले ट्विटर) मा गरेको पोस्टको पहिलो अंश हो यो । विश्वव्यापी तथ्यांक राख्ने संस्था ुवल्र्ड स्टाटिस्टिक्सुले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची सार्वजनिक गरेको छ । जसमा वर्षभरि ३५ दिन सार्वजनिक बिदासहित नेपाल पहिलो स्थानमा छ । एक्समा सार्वजनिक यही सूचीको लिंक सेयर गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । भट्टराईले अगाडि लेखेका छन्, ‘गम्भीर बनौं ! काम नगरी दिगो रूपले कोही धनी हुन सक्दैन भन्ने बुझौं ! सानासाना सुधार त जसले जतिबेला गरे पनि हुन्छ नि !’ वल्र्ड स्टाटिस्टिक्सको तथ्यांकअनुसार सार्वजनिक बिदा दिने देशहरूमा दोस्रो नम्बरमा म्यानमार ३२ दिन, तेस्रोमा इरान २६ दिन, चौथोमा श्रीलंका २५ दिन र पाँचौँमा बंगलादेश र इजिप्ट २२/२२ दिन छन् । दक्षिण एसियाका अन्य देशमा भारत २१ दिन सार्वजनिक विदासहित आठौं स्थानमा रहँदा पाकिस्तान १६ दिनसहित १६ औं स्थानमा छ । विश्वको पहिलो र दोस्रो ठुलो अर्थतन्त्र भएका मुलुकहरू क्रमशः संयुक्त राज्य अमेरिका र चीनले वर्षभरि समान ११ दिन सार्वजनिक बिदा दिने गरेका छन् । यस्तै एसियाका धनी राष्ट्रहरू जापानले १६ दिन र दक्षिण कोरियाले १४ दिन सार्वजनिक बिदा दिने गरेका छन् । ४८ देशमध्ये वर्षभरि सबैभन्दा कम सार्वजनिक बिदा दिने देश मेक्सिको छ । उसले वर्षमा आठ दिनमात्रै सार्वजनिक बिदा दिन्छ । बेलायतले पनि वर्षमा आठ देखि १० दिनसम्म सार्वजनिक बिदा दिने गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्राइम बैंकले काठमाडौंसहित विभिन्न जिल्लामा ५ वटा कित्ता घरजग्गा बेच्दै

काठमाडौं । प्राइम कमर्सियल बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैर बैंकिङ््ग सम्पत्तिहरु घरजग्गा बिक्री गर्ने भएको हो । बैंकको नाममा मालपोत कार्यालय डिल्ली बजार काठमाडौंमा दर्ता कायम काठमाडौं महानगरपालिका १८ स्थित कित्ता नम्बर १५२३ को ०–११–०–० क्षेत्रफल भएको जग्गा र जग्गाले चर्चेको संरचना बिक्रीमा राखेको हो । यस्तै, मालपोत कार्यालय बेलौरी कञ्चनपुरमा दर्ता कायम पुनर्वास नगरपालिका १ स्थित कित्ता नम्बर ११८४, ११८५, ११८८ र ११८९ को क्रमशः ५९०, १२०५, ८०० र ३९२० वर्गमिटर क्षेत्रफलमा रहेका घरजग्गा बिक्री गर्ने बैंकले जनाएको छ । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

शिव श्री हाइड्रोले हकप्रद निष्कासन गर्ने, पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । शिव श्री हाइड्रोपावरले असोज २५ गते वार्षिक साधारण सभा बोलाएको छ । असोज २ गते बसेको सञ्चालक समितिको बैठकले बसुन्धरा काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीको सभाले शतप्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले शतप्रतिशत हकप्रद सेयर विक्री गर्न लागेको हो । साथै, सभाले कम्पनीको ठेगाना परिवर्तन गर्ने विषय पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

आईपीओ नबिकेपछि सोनापुर मिनरल्सले थप्यो आवेदन दिने समय

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा लगानीकर्ताले आवेदन नदिएपछि समय थप गरिएको छ । असोज १४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताको ४ दिनको अवधिमा पूर्ण आवेदन नदिएपछि असोज २८ गतेसम्म समय थप गरिएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा स्थानीयले खरिद नगरेको सेयरसहित ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कर्मचारीलाई भने प्रतिकित्ता २२५ रुपैयाँमा ६ लाख ८ हजार २८४ कित्ता सेयर सुरक्षित राखिएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

मल्टीपर्पस फाइनान्सले डेढ लाख कित्ता सेयर बिक्री गर्दै, मूल्य १०० रूपैयाँ मात्र

काठमाडौं । मल्टीपर्पस फाइनान्सले असोज २९ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत साउन भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात् १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जसमध्ये बिक्री नभएको संस्थापक समूह तर्फको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूह तर्फको ६० हजार ६५० कित्ता गरी कूल १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले कात्तिक १३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

पौने ४ लाख कित्ता किन्न मिल्ने भिजन लुम्बिनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ १९ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आज असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँ दरका १९ लाख १२ हजार ५ सय कित्ता सेयर आयोजना क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो । सो सेयरमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको १, २, ३, ४ र पोखरा महानगरपालिका १९ का स्थानीयले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम स्थानीयले ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ ।

मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ बिक्री गर्ने, १ हजार कित्तासम्म खरिद गर्न मिल्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १ लाख २३ हजार ८१६.५ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्री गर्ने लघुवित्तले जनाएको छ । लघुवित्तको एफपीओमा लगानीकर्ताले छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने छन् । लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् लघुवित्तको सेयरमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

१ सय रुपैयाँमा अपि पावरको १२ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । अपि पावर कम्पनीले आज असोज १७ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले झण्डै १२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले गत साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.४० कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको १ः०.४० को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको ११ लाख ९४ हजार ९३४ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले असोज २४ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।