काठमाडौं । भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छिन् । मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले आम माफी नभइ कैद कट्टा मात्रै गरेको बताएकी हुन् ।
उनले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ आफूहरुले नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन् । उनले कैद कट्टा गरेर छुटाउनु र आम माफी दिनु फरक भएको बताइन् ।
‘आम माफी एउटा छुट्टै कुरा हो । अदालतबाट दोषी ठहर भएकालाई पनि आम माफी दिने भन्ने कुरा छ । र अहिलेको उसमा आम माफ नै दिइएको छैन । किनभने यो त कैद कट्टा गरिएको हो । कैद कट्टा गरेर छुटाइएको हो । हामीले क्याबिनेट बैठक बस्दा पनि त्यो भनेको छैन । अपराधीलाई राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौँ । कारागारमा गइसकेपछि आफूले भोग्नु कानूनअनुसार भोग्नुपर्छ । यस पटक कसैलाई आममाफी दिइएको छैन । नबुझेको हो । कैद कट्टा हो ।’ उनले भनिन् ।
नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले हत्या, बलात्कार लागुऔषध लगायतमा आम माफी दिनु गलत भएको बताए । उनले पहिला यी कुरामा नदिने गरिएपनि अहिले विकृति आएको बताए ।
‘यो गलत परम्परा हो । पहिला मैले थाहा पाउँदा तीन, चार वटा कुरा हत्या, बलात्कार लागुऔषधमा माफी दिइँदैन थियो । अहिले जुनसुकैलाई पनि माफी दिने परम्परा भएको छ, त्यसमा राष्ट्रपतिलाई पनि मुस्ने गरिएको छ, उहाँले त हस्ताक्षर गर्ने मात्रै हो । हाम्रो नेतृत्व गरेकाहरु चुकेका हुन् । भ्रष्टाचारबिहीन समाज र सुशासन भन्नेकुरा नारामा मात्रै सिमति छ ।’ उनले भने ।
नेता केसीले भ्रष्टाचारबिहीन समाज र सुशासन भन्नेकुरा नारामा मात्रै सीमित बनेको बताए ।