२ लाख विद्यार्थीको फर्जी विवरण भेटिएपछि शिक्षा मन्त्रालयद्वारा छानबिन समिति गठन

काठमाडौं । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) मा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ ।

प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो । 

सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न आज बिहिबार मन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको छ । 

मन्त्रालयका खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य रहेका छन् भने विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्य-सचिवको जिम्मेवारी दिइएको छ ।

अनौपचारिक अध्ययनअनुसार इ-एमआईएस प्रणालीमा २ लाखभन्दा बढी विद्यार्थीका विवरणहरू दोहोरिएका छन् । यसरी प्रणालीमा देखिएको दोहोरो प्रविष्टिका आधारमा राज्य कोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोषाक, पाठ्यापुस्तक तथा अन्य सेवा-सुविधाको दुरुपयोग भएको हुन सक्ने भन्दै मन्त्रालयले छानबिन अघि बढाएको शिक्षा तथा खेलकुद मन्त्रीले बताए ।

‘हामीले यस विषयलाई गम्भीरताका साथ हेरेका छौं । यसरी दोहोरो विवरण भरेर रकम दुरुपयोग भइरहेको देखिन्छ। अब यसबारे थप छानबिन गरेर दोषीलाई कारबाही हुन्छ,’ मन्त्री पोखरेलले भने । 

गठित समितिले इ-एमआईएस प्रणालीमा यति ठूलो संख्यामा विवरण दोहोरिनुको प्राविधिक कमजोरी वा नियतवश गरिएको बद्मासीबारे विस्तृत अध्ययन गर्नेछ । 

गलत तथ्याङ्क पेश गरेर राज्य कोषको दुरुपयोग गर्ने विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिलाई हदैसम्मको कारबाहीका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने स्पष्ट कार्यादेश समितिलाई दिइएको छ ।

प्रणालीमा रहेका दोहोरो र फर्जी विवरणहरू हटाएर इ-एमआईएसलाई पूर्ण रूपमा पारदर्शी, सुरक्षित र वास्तविक तथ्याङ्कमा आधारित बनाउन मन्त्रालयले यो कदम चालेको बताएको छ ।

Share News