सुरु भयो सेरेस थ्रीको डेलिभरी
काठमाडौं । सेरेसले नेपालमा सेरेस थ्रीको औपचारिक डेलिभरी सुरु गरेको छ । नाडा अटो शोमा उत्कृष्ट शुभारम्भ र प्रदर्शनपश्चात् सेरेस थ्रीले नेपाली बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गर्दै पहिलो छनोटको ईभीको रूपमा आफ्नो स्थिति बलियो बनाएको छ। आफ्नो पर्यावरणमैत्री डिजाइन, बलियो निर्माण गुणस्तर र प्रभावशाली दायराको साथ सेरेस थ्रीले दिगो यातायातको क्षेत्रमा महत्त्वपूर्ण छलाङ प्रदान गरेको छ। सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत गतिमा विकसित अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ। यसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता समेत देखाएको छ। हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रति सेरेसको समर्पणलाई थप प्रकाश पार्दछ।
संघीयता कार्यान्वयनका लागि मधेश प्रदेशले संघीय सरकार विरुद्ध आन्दोलन गर्ने
काठमाडौं । संघीयताको विषयसँग जोडिएका केही मुख्य सवालहरुको कार्यान्वयनलाई लिएर मधेश प्रदेश सरकारले आजदेखि संघीय सरकार विरुद्ध आन्दोलन गर्ने भएको छ । बुधबार दिउसो पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताएका छन् । प्रहरी समायोजन, निजामती कर्मचारी लगायतका प्रदेश सरकारको अधिकारको विषयमा प्रदेश सरकारले संघीय सरकारलाई अन्तिम पटक आन्दोलनमा उत्रने चेतावनी दिएको हो । अधिकारका निम्ति आन्दोलनमा उत्रने निर्णय प्रदेश सरकारले सर्वदलीय बैठकमार्फत गरेको हो । मधेस प्रदेशमा सोमबार बसेको सर्वदलीय बैठकले प्रदेश सरकारका अधिकार हस्तान्तरण नगरिए माइतिघर मण्डलाम धर्ना दिएर आन्दोलन शुरु गर्ने निर्णय गरेको छ । सर्वदलीय रुपमा नै भोलि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर माग राख्ने कार्यक्रम रहेको छ । प्रहरी समायोजन, निजामती कर्मचारी सम्बन्धी व्यवस्था, गुठीको जग्गा र वन क्षेत्रको जग्गा प्रदेश मातहतमा ल्याउने लगायतका विषयरु १५ दिनभित्र पूरा गर्नेगरी संघीय सरकारलाई अल्टिमेटम दिन लागिएको मधेश सरकारका सञ्चारमन्त्री मोहम्मद समिमले बताए । संघीय सरकार र संसदको कछुवा गतिको हिँडाइका कारण संविधान बमोजिमका थुप्रै ऐन कानूनहरु बन्न सकेका छैनन् । जसले गर्दा अहिले पनि राज्यमा संघीय सरकार मात्रै हाबी भइरहेको छ र प्रदेश र स्थानीय सरकारले पूर्ण रुपमा संविधान बमोजिम आफूलाई क्रियाशील बनाउन सकेका छैनन् ।
ज्योति विकास बैंकले गर्यो भूकम्प पीडितका लागि ५ लाख आर्थिक सहयोग
काठमाडौं । ज्योति विकास बैंकले भूकम्प पीडितका लागि ५ लाख सहयोग गरेको छ । कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई गत शुक्रबार गएको भूकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पीडितहरुलाई आर्थिक सहयोग गरेको हो । बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा ५ लाख आर्थिक सहयोग गरेको जनाएको छ । उक्त रकम बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्र बहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो । बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको जनाएको छ ।
कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड हस्तान्तरण
कर्णाली । कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई रु दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ । प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई रु २५/२५ लाख, कुशेमा गाउँपालिकालाई रु २० लाख, छेडागाड नगरपालिकालाई रु १० लाख, जुनीचाँदे गाउँपालिकालाई रु १० लाख र शिवालय गाउँपालिकालाई रु पाँच लाख हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । त्यसैगरी रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई रु २५/२५ लाख, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई रु २०/२० लाख, मुसिकोट नगरपालिकालाई रु १० लाख र बाँफीकोट गाउँपालिकालाई रु पाँच लाख रकम हस्तान्तरण गरिएको प्रवक्ता जिसीले बताए । उनका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई रु १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई रु पाँच–पाँच लाख हस्तान्तरण गरिएको छ । भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताए । यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो ।
यी हुन् सिद्धार्थ बैंकका ३३ ठूला सेयरधनी, कसको स्वामित्व कति ?
काठमाडौं । सिद्धार्थ बैंकमा विभिन्न ३३ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ३३ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा सबैभन्दा ठूलो सेयरधनी प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनीको ३.२३ प्रतिशत अर्थात् ४५ करोड ५३ लाख २३ हजार ८ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत अर्थात् ४१ करोड ५७ लाख ३२ हजार रुपैयाँ, रतनलाल कोडियाको २.४८ प्रतिशत अर्थात् ३४ करोड ९७ लाख ७० हजार रुपैयाँ, सविता केडियाको १.९२ प्रतिशत अर्थात् २७ करोड १२ लाख ९ हजार रुपैयाँ, चिरंजीलाल अग्रवालको १.८१ प्रतिशत अर्थात् २५ करोड ५१ लाख ३० हजार रुपैयाँ र पवन कुमार अग्रवालको १.७६ प्रतिशत अर्थात् २४ करोड ८४ लाख ९ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, सुवोध तोदीको १.५५ प्रतिशत अर्थात् २१ करोड ८३ लाख ६९ हजार रुपैयाँ, अशोक कुमार बाहेटीको १.४९ प्रतिशत अर्थात् २० करोड ९४ लाख ६८ हजार रुपैयाँ, नरपत सिंह जैनको १.४५ प्रतिशत अर्थात् २० करोड ५० लाख ६ हजार रुपैयाँ, दिनानथ केडियाको १.४१ प्रतिशत अर्थात् १९ करोड ८१ लख ५९ हजार रुपैयाँ, आदित्य केडियाको १.३९ प्रतिशत अर्थात् १९ करोड ६० लाख २४ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, महावीर इन्भेष्टमेन्ट प्रा.लि.को १.३७ प्रतिशत अर्थात् १९ करोड २७ लाख ९९ हजार रुपैयाँ, तुसार तोदीको १.२८ प्रतिशत अर्थात् १८ करोड १ लाख ७१ हजार रुपैयाँ, सुरेश कुमार रुंङगटाको १.२१ प्रतिशत अर्थात् १७ करोड ३ लाख ९२ हजार रुपैयाँ,.मदन लाल केडियाको १.०८ प्रतिशत अर्थात् १५ करोड २३ लाख रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, विरेन्द्र कुमार शाहको ०.९९ प्रतिशत अर्थात् १३ करोड ९१ लख ५५ हजार रुपैयाँ, पूनम चन्द अग्रवालको ०.९७ प्रतिशत अर्थात् १३ करोड ६४ लाख ५५ हजार रुपैयाँ, विनोद कुमार अग्रवालको ०.९४ प्रतिशत अर्थात् १३ करोड १७ लाख ५३ हजार रुपैयाँ, राजेश कुमार केडियाको ०.८८ प्रतिशत अर्थात् १२ करोड ३७ लाख ६४ हजार रुपैयाँ, भरत कुमार तोदीको ०.८७ प्रतिशत अर्थात् १२ करोड ३० लाख १६ हजार रुपैयाँ र राज कुमार टिब्रेवालाको ०.८१ प्रतिशत अर्थात् ११ करोड ३६ लाख ६४ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, विनय कुमार शाहको ०.७७ प्रतिशत अर्थात् १० करोड ८१ लख ५३ हजार रुपैयाँ, राजेन्द्र कुमार अग्रवालको ०.७६ प्रतिशत अर्थात् १० करोड ७१ लख १३ हजार रुपैयाँ, श्याम कुमार अग्रवालको ०.७५ प्रतिशत अर्थात् १० करोड ५३ लाख १६ हजार रुपैयाँ, सुरेश कुमार केडियाको ०.७२ प्रतिशत अर्थात् १० करोड १२ लाख ३० हजार रुपैयाँ, केशरी चन्द कुचेरियाको ०.६७ प्रतिशत अर्थात् ९ करोड ५० लाख १२ हजार रुपैयाँ, विमल कुमार केडियाको ०.६६ प्रतिशत अर्थात् ९ करोड २६ लाख ३५ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, शशि कला अग्रवालको ०.६३ प्रतिशत अर्थात् ८ करोड ९२ लाख ९८ हजार रुपैयाँ, मनिष जैनको ०.६३ प्रतिशत अर्थात् ८ करोड ८९ लाख ९७ हजार रुपैयाँ, जगदिश कुमार अग्रवालको ०.६१ प्रतिशत अर्थात् ८ करोड ६४ लाख ५१ हजार रुपैयाँ, शम्भु कुमार कन्दोइको ०.५९ प्रतिशत अर्थात् ८ करोड ३२ लाख ८८ हजार रुपैयाँ, कबिन्द्र बहादुर श्रेष्ठको ०.५९ प्रतिशत अर्थात् ८ करोड २९ लाख ६३ हजार रुपैयाँ र सरोज शर्माको ०.५१ प्रतिशत अर्थात् ७ करोड २५ लाख ४८ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । गत असारसम्म बैंकमा ६९ हजार १५१ सेयरधनीहरुको सेयर स्वामित्व रहेको छ । जसमध्ये संस्थापकतर्फ संस्थागत ८ र ब्यक्तिगत २७० गरी २७८ रहेका छन् । यस्तै, सर्वसाधारणतर्फ ३८७ संस्थागत र ६८ हजार ४८६ ब्यक्तिगत गरी ६८ हजार ८७३ सर्वसाधारण सेयरधनी रहेका छन् । बैंकमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक समूह र ४९ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण समूहको रहेको छ ।
अढाइ अर्ब लगानीमा चिनी मिल सञ्चालनमा आउँदै, किसान उखु खेतीतर्फ आकर्षित
काठमाडौं । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीमा आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखु खेती विस्तारमा लागेका हुन् । कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखु खेती सुरु गरेको बताए । “मिल सञ्चालकसँग समन्वय भएर नै उखु खेती सुरु गरेका छौँ”, उनले भने, “मिल सञ्चालन भयो भने किसानका लागि ठूलो अवसर सिर्जना हुने विश्वास छ ।” प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले २०८१ सालमा चिनी मिल सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको बताएका छन् । “केही भागमा उखु खेती सुरु गरेका छौँ भने केही किसानलाई पनि उखु खेतीका लागि आग्रह गरेका छौँ”, प्रबन्ध निर्देशक ओलीले भने, “उखु उत्पादन हुँदै गर्दा आवश्यक उपकरण जडानको काम पनि सँगसँगै गर्ने गरी काम थालेका छौँ ।” कम्पनीले २० बिघा जग्गा खरिद गरेर काम थालेको छ । मिल सञ्चालन गर्न २ अर्ब रुपैयाँदेखि अढाइ अर्ब खर्च लाग्ने अनुमान कम्पनीको छ । मिल पूर्णरुपमा सञ्चालन गर्नका लागि पाँचदेखि ६ हजार बिघा क्षेत्रफलमा उखु खेती आवश्यक पर्ने निर्देशक ओली बताउँछन् । मिल सञ्चालनमा आए ५ सय बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् भने हजारौँ अप्रत्यक्ष रोजगारीमा जोडिने अपेक्षा गरिएको छ । कम्पनीले प्राविधिक बाहिरबाट ल्याउने भएपनि अन्य कर्मचारी स्थानीयलाई प्राथमिकतामा राख्ने बताएको छ । बाढी र डुबानका कारण अन्य खेतीको उत्पादन राम्रो नहुँदा चिन्तित किसान चिनी मिलले खेती बाँझो नहुने भन्दै आशावादी बनेका छन् । “बलौटे माटोमा उत्पादन केही हुँदैन । वर्षातको समयमा बाढीले लगाएको बर्खेबाली पनि नष्ट गर्छ”, राजापुर नगरपालिका–८ का धर्मचन्द्र चौधरीले भने, “चिनी मिल सञ्चालन भयो भने हामीलाई धेरै राम्रो हुनेछ । म मात्रै नभई यसक्षेत्रका किसानलाई पनि ठूलो अवसरको रुपमा चिनी मिल बन्ने छ ।” अर्का किसान सुरेन्द्र चौधरीले राजापुरमा चिनी मिल सञ्चालन हुँदा बर्दियाका किसानलाई मात्रै नभई छिमेकी पालिकाले पनि ठूलो लाभ लिनसक्ने बताए । मिल सञ्चालन हुँदा उत्पादन नहुने कुनै पनि जग्गा खाली नरहने उनको विश्वास छ । “अहिले कैयौँ जग्गा प्रयोगमा छैन । बर्षातको समयमा बाढी र डुबान, हिउँदमा सिँचाइको समस्याले किसान उत्साहित भएर खेतीमा अग्रसर हुन सकेका छैनन्”, सुरेन्द्र चौधरी भन्छन्, “चिनी मिल बर्दियाका लागि ठूलो अवसर हो । यसबाट किसानलाई मात्रै नभई अन्य नागरिकलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा हुनेछ ।” राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले चिनी मिल राजापुर क्षेत्रका लागि ठूलो सम्भावना बोकेको उद्योग बन्ने विश्वास व्यक्त गरे । उनले रोजगारीका अवसरदेखि किसानको सम्भावनालाई चिनी मिलले पूरा गर्ने बताए । “स्थानीय सरकारको प्राथमिकता भनेकै रोजगारीका अवसर सिर्जना गर्नु र स्थानीय उत्पादनलाई मजबुत बनाउनु नै हो । नगरपालिकाले सबै संयन्त्रसँग समन्वय र सहकार्य गर्दै पनि आएको छ”, नगर प्रमुख थारुले भने, “स्थानीय सरकारले खेल्नुपर्ने भूमिकामा हामी सधैँ सकारात्मक र सहयोगी भावनाका साथ अगाडि बढेका छौँ । त्यसैको उपज चिनी मिल सञ्चालनमा आउनु पनि हुनेछ ।” उनले राजापुर नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउनका लागि यस्तै दुई चारवटा अन्य उद्योग सञ्चालनमा ल्याउन जरुरी रहेको बताए “चिनी मिल सञ्चालनमा आयो भने सयौँले प्रत्यक्ष रोजगारी पाउने छन् भने हजारौँले अप्रत्यक्ष रोजगारीमा जोडिने छन्”, नगर प्रमुख थारुले भने, “यसरी दुईतीन अरु उद्योग सञ्चालनमा आउन सक्यो भने यसक्षेत्रका सबैले रोजगारी पाउने छन् । स्थानीय उत्पादनले बजार पाउने छ । अनि समृद्धि नगरपालिका बनाउन कुनै समस्या छैन ।” टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चिनी मिल सञ्चालकसँग समन्वय गरेर किसानले उखु खेती सुरु गरेको बताए । “उहाँहरुकै आग्रहमा किसानले उखु खेती सुरु गर्नुभएको छ । गुड मिल सञ्चालन गर्दै आएको मैले पनि थप उखु खेती विस्तार गरेको छु”, वडाध्यक्ष ठकुल्लाले भने, “बर्दियामा मिल सञ्चालन भए पनि त्यसले टीकापुरलगायतका छिमेकी पालिकालाई समेत मद्दत मिल्ने छ ।” रासस
जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने
काठमाडौं । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रेलमार्ग निर्माण हुन लागेको छ । रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली आगामी मङ्सिर १५ गतेभित्र भित्र्याउन विभागले आग्रह गरेको छ । विभागले भङ्गहा (विजलपुरा)–बर्दिबास रेलमार्ग उपखण्ड एवं पूर्वपश्चिम विद्युतीय रेलमार्ग खण्डमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणको काम अन्तिम चरणमा रहेको र सो खण्डमा रेलमार्गको निर्माण कार्य सुरु हुन लागेकाले अधिग्रहण गरिएको जग्गामा लगाइएको बालीनाली भित्र्याउन आग्रह गरेको हो । मङ्सिर १५ गतेपछि बालीनाली लगाएमा किसानलाई त्यसको क्षतिपूर्ति नदिने विभागले जनाएको छ । भारतको जयनगरबाट महोत्तरीको बर्दिबासम्म रेल सञ्चालन गर्न तीन चरणमा काम भइरहेको छ । पहिलो चरणमा जयनगरबाट कुर्थासम्म तथा दोस्रो चरणमा कुर्थाबाट भङ्गहासम्म निर्माण पूरा भई रेल सेवा सञ्चालनमा आइसकेको छ । तेस्रो चरणमा भङ्गहाबाट बर्दिबाससम्म मार्ग निर्माण हुन लागेको हो ।
घलेम्दी हाइड्रोले मंसिर १० गतेदेखि २ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने
काठमाडौं । घलेम्दी हाइड्रोले मंसिर १० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः२ अर्थात् २ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले चुक्ता पूँजी ५५ करोड रुपैयाँको १ अर्ब १० करोड रुपैयाँ अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले पुस १ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।