प्रधानमन्त्रीले मंगलबार इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग मंगलबार संयुक्त भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री शाहले मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ । यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।
६० जिल्लामा सरकारी कुरियर सेवा विस्तार
काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्यसहित सरकारी कुरियर सेवाको विस्तारलाई तीव्र बनाएको छ । राहदानी, सवारी चालक अनुमति पत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायतका सरकारी कागजात घरमै पुर्याउने व्यवस्था विस्तार गर्दै सरकारले परम्परागत सेवा प्रणालीलाई प्रविधिमैत्री र सहज बनाउँदै लगेको हो । हुलाक सेवा विभागका अनुसार हालसम्म यो सेवा देशका ६० जिल्लामा विस्तार भइसकेको छ । विभागले सरकारी कार्यालयबाट प्रवाह हुने सेवामा नागरिकको प्रत्यक्ष पहुँच बढाउने तथा अनावश्यक झन्झट कम गर्ने उद्देश्यले सेवा प्रणालीलाई क्रमशः डिजिटल माध्यमसँग जोड्दै लगेको जनाएको छ । विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले सरकारी सेवा वितरण प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउन स्थानीय तहसम्म संयन्त्र परिचालन गरिएको बताइन्। ‘नागरिकले सामान्य सरकारी कागजातका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्थालाई अन्त्य गर्ने लक्ष्यका साथ सेवा विस्तार गरिरहेका छौं । सीमित स्रोतसाधनका बाबजुद पनि यो क्रमश: सबै जिल्लामा सुरु हुँदै गएको छ,’ उनले भनिन् । विभागका अनुसार हालसम्म २९ हजार ७५८ वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ । तीमध्ये एक हजार ७६३ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा राहदानी आवेदन दिनेक्रममै सेवाग्राहीको ठेगाना संकलन गर्न थालिएकाले वितरण प्रक्रिया थप व्यवस्थित भएको विभागले जनाएको छ । यातायात क्षेत्रको सेवा वितरणलाई पनि डिजिटल र सहज बनाउने प्रयासअन्तर्गत चार लाख ७५ हजार ९०८ वटा सवारी चालक अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म पुर्याइएको छ । तीमध्ये ६७२ वटा लाइसेन्स सेवाग्राहीको घरमै वितरण गरिएको विभागले जनाएको छ । सरकारी सेवा वितरण प्रणालीलाई एकीकृत र बहुआयामिक बनाउने प्रयासस्वरूप विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसँग पनि सहकार्य विस्तार गरेको छ । हालसम्म २६० वटा शैक्षिक प्रमाणपत्र वितरण गरिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा ५३९ वटा प्रयोगशाला नमूना ढुवानी गरिएको छ । सुर्खेत, बाँके र काठमाडौंबाट प्रयोगशाला नमूना ढुवानी सेवा सुरु गरिएको विभागले जनाएको छ । नेपाल टेलिकमसँग सहकार्य गरी सिमकार्ड घरमै पुर्याउने सेवा सुरु गर्ने तयारी भइरहेको छ । त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु भइसकेको छ भने नेपाल खुला विश्वविद्यालयसँग शैक्षिक प्रमाणपत्र ढुवानीबारे छलफल भइरहेको विभागले जनाएको छ । विभागले सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन विभिन्न सरकारी निकायसँग प्रणाली एकीकरणको काम पनि अघि बढाएको छ । राहदानी विभागसँग प्रणाली अन्तरआवद्धता गर्न अध्ययन समिति गठन गरिएको छ भने महालेखा नियन्त्रक कार्यालयसँग प्रणाली एकीकरणका लागि पहल भइरहेको छ । पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम (पिट्स) मा पोस्टल कोड स्तरोन्नति गर्ने कार्य पनि अघि बढाइएको विभागले जनाएको छ । अन्तर्राष्ट्रिय कुरियर सेवातर्फ पनि विस्तारको तयारी भइरहेको छ । हवाई सेवा प्रदायक कम्पनीहरूसँग समन्वय गरी थप देशसम्म हुलाक पहुँच विस्तार गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।
दैनिक १ करोड भुक्तानी गर्दै डीडीसी, बक्यौता पनि तिरिँदै
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड किसानलाई भुक्तानी भइरहेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोड बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको छ । एक महिनाको रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी छ । डिडीसीको हाल दैनिक करिब १करोडको कारोबार भइरहेको छ । सो रकम दैनिक रुपमा किसानलाई भुक्तानी भइरहेको हो । बाँकी रहेको रकम करिब ४६ करोड दुई महिनामा भुक्तानी हुनेछ । दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताइन् । दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
ड्युटीकै क्रममा बेहोस भएका प्रहरी खत्रीको मृत्यु
काठमाडौं । कालीकोटमा ड्युटीकै क्रममा एक प्रहरीको मृत्यु भएको छ । सोमबार कालीकोट खल्लागार्ड प्रहरी चौकीमा कार्यरत ४८ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) लिला बहादुर खत्रीको मृत्यु भएको हो । ड्युटीमै रहेका खत्रीलाई अचानक छाती दुखेपछि बेहोस भएका र तत्काल उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले मृत्त घोषणा गरेको कालीकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गणेश ज्ञवालीले जानकारी दिए । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर- २ स्थायी घर भएका खत्रीको इलाका प्रहरी चौकी पचालझरनामा दरबन्दी रहेको थियो । तिलगुफा नगरपालिकाको खल्लागार्ड प्रहरी चौकीमा उनलाई खटाइएको थियो ।
सिक्री लुट्दै हिँड्ने र किन्नेसहित दुई जना पक्राउ
काठमाडौं । महिलाले लगाएको सुनको सिक्री लुट्दै हिँड्ने र खरिद गर्नेसहित दुई जना पक्राउ परेका छन् । सिक्री लुट्ने ४६ वर्षीय रामकुमार तामाङ र लुटेको सुन खरिद गर्ने सुन पसल सञ्चालक ६३ वर्षीय किशोर थापा पक्राउ परेका हुन् । तामाङले गत २४ गते चावहिलको आकाशे पुलमा महिलाले लगाएको सुनको सिक्री लुटेका थिए । त्यसैगरी उनले शनिवार साँझ बसुन्धाराको कल्कीनारायण मन्दिर दर्शन गर्न आएकी महिलाको सुनको सिक्री लुटेका थिए । परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शनिबार थापालाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नियन्त्रणमा लिएको हो । उनी ललितपुर उपमहानगरपालिका १ का बासिन्दा हुन् । लुटेको सुनसहित उनलाई प्रहरीले चावहिलबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ ।
मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज (सोमबार) अपरान्ह ४ बजे सुरु भएको हो। बैठकले विभिन्न निर्णयहरू गर्ने बुझिएको छ ।
अन्तरिक्षमा एक वर्ष बसाउने परीक्षणसहित चीनको शेनझोउ–२३ उडान
काठमाडौं । चीनले आफ्नो अन्तरिक्ष महत्त्वाकांक्षालाई नयाँ चरणमा पुर्याउने प्रयासस्वरूप आइतबार राति शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । तीन अन्तरिक्ष यात्री बोकेको यो मिसनमा एक जना सदस्यलाई अन्तरिक्ष स्टेशनमा पूरा एक वर्ष बसाउने योजना समावेश गरिएको छ । यसलाई लामो अवधिको मानव अन्तरिक्ष बसाइसम्बन्धी महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ । शेनझोउ–२३ अन्तरिक्ष यान उत्तरपश्चिम चीनस्थित जियुकुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाइएको हो । चीनले सन् २०३० भित्र पहिलोपटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्यतर्फ तयारी तीव्र बनाइरहेका बेला यो प्रक्षेपणलाई विशेष महत्त्वका साथ हेरिएको छ । यस मिसनमा कमान्डर झु याङ्झु, झाङ झियुआन र लाइ का–यिङ सहभागी छन् । चिनियाँ अधिकारीहरूले लाइलाई उनको नामलाई म्यान्डारिन भाषामा उच्चारणअनुसार रूपान्तरण गरेर ‘ली जियायिङ’ नामले पनि चिनाउने गरेका छन् । हङकङमा जन्मिएका तथा त्यहीँ हुर्किएका लाइले कम्प्युटर फरेन्सिक विषयमा विद्यावारिधि हासिल गरेका छन् । उनलाई अन्तरिक्ष मिसनमा सहभागी हुने सहर पृष्ठभूमिबाट आएका पहिलो चिनियाँ अन्तरिक्ष यात्रीका रूपमा पनि प्रस्तुत गरिएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार शेनझोउ–२३ को टोलीले अन्तरिक्षमा दर्जनौँ वैज्ञानिक तथा प्रयोगात्मक परियोजनाहरू सञ्चालन गर्ने तयारी गरेको छ । यो टोलीले हाल २०० दिनभन्दा बढी समयदेखि टियाङ्गोङ अन्तरिक्ष स्टेशनमा कार्यरत शेनझोउ–२१ का चालक दलसँग कक्षामा भेट गर्ने तथा कार्य हस्तान्तरण प्रक्रिया पूरा गर्ने अपेक्षा गरिएको छ । यस मिसनको सबैभन्दा उल्लेखनीय पक्ष भनेको तीन सदस्यीय टोलीमध्ये एक अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष स्टेशनमा लगातार एक वर्ष राख्ने योजना हो । यो बसाइ सफल भएमा त्यसलाई अन्तरिक्षमा मानवको सबैभन्दा लामो एकल प्रवासमध्ये एक मानिनेछ । सरकारी सञ्चारमाध्यमका अनुसार यस प्रयोगको उद्देश्य लामो अवधिको अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूलन क्षमता, सहनशीलता तथा कार्यसम्पादन सीमाबारे विस्तृत अध्ययन गर्नु हो । पछिल्ला वर्षहरूमा चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्र रूपमा विस्तार गर्दै आएको छ । टियाङ्गोङ अन्तरिक्ष स्टेशनलाई केन्द्रमा राखेर चिनियाँ अन्तरिक्ष यात्रीहरूले लगातार नयाँ मिसनहरू सञ्चालन गरिरहेका छन् । यो अन्तरिक्ष स्टेशन चीनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अमेरिकी प्रतिबन्धका कारण प्रभावकारी रूपमा बाहिरिएपछि आफ्नै पहलमा विकास गरेको संरचना हो । विश्व अन्तरिक्ष प्रतिस्पर्धामा अमेरिकालाई चीनको प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले पनि सन् २०२८ सम्ममा पुनः चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य अघि सारेको छ । यसले अन्तरिक्ष क्षेत्रमा दुई शक्तिबीचको प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ । चीनको अन्तरिक्ष स्टेशन टियाङ्गोङले पहिलोपटक सन् २०२१ मा चिनियाँ चालक दललाई स्वागत गरेको थियो । त्यसयता यो चीनको मानव अन्तरिक्ष अभियानको मुख्य आधार बनेको छ । टियाङ्गोङको अर्थ ‘स्वर्गीय महल’ भन्ने हुन्छ । गत वर्ष शेनझोउ कार्यक्रममा आपतकालीन उद्धार मिसनसमेत सञ्चालन गरिएको थियो । ‘दिव्य पोत’ भन्ने अर्थ दिने यस कार्यक्रमअन्तर्गत क्षतिग्रस्त अन्तरिक्ष यानका कारण अन्तरिक्ष स्टेशनमा अड्किएका अन्तरिक्ष यात्रीहरूको टोलीलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काइएको थियो । शेनझोउ–२३ को प्रक्षेपणसँगै चीनले अब दीर्घकालीन अन्तरिक्ष बसाइ, वैज्ञानिक अनुसन्धान र चन्द्र अभियानतर्फ आफ्नो रणनीतिक तयारीलाई अझ अगाडि बढाएको सङ्केत दिएको छ । रासस
इनड्राइभको ‘अरोरा भेन्चर्स’ घोषणा, महिला उद्यमीलाई लगानी र नेटवर्कसँग जोड्ने
काठमाडौं । इनड्राइभले महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले ‘अरोरा भेन्चर्स’ नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ । कम्पनीका अनुसार महिला संस्थापकहरूले लगानी जुटाउने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो । यो घोषणा चिलीको स्यान्टियागोमा सम्पन्न ‘अरोरा टेक अवार्ड २०२६’को समापनसँगै गरिएको हो । यस वर्षको अवार्डमा उदीयमान बजारबाट ३ हजार ४ सय आवेदन परेका थिए, जसमध्ये उत्कृष्ट १० महिला संस्थापक छनोट भएका छन् । सन् २०२१ मा भने उक्त अवार्डमा ११६ आवेदन मात्र परेको थियो । ‘अरोरा भेन्चर्स’ प्रारम्भिक चरणका महिला नेतृत्व भएका स्टार्टअपहरूलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम हो । कम्पनीले ‘अरोरा टेक अवार्ड’बाट पछिल्लो पाँच वर्षमा संकलन गरिएको तथ्यांक तथा अनुसन्धानका आधारमा यो कार्यक्रम तयार गरिएको जनाएको छ । अध्ययनअनुसार मध्यपूर्व, अफ्रिका, ल्याटिन अमेरिका तथा उदीयमान एशियाली बजारमा महिला नेतृत्व भएका व्यवसायहरूले अझै पनि पारम्परिक भेन्चर क्यापिटलबाट पर्याप्त अवसर नपाइरहेको निष्कर्ष निकालिएको छ । १२७ देशका ९ सयभन्दा बढी महिला संस्थापक सहभागी अध्ययनले लगानी जुटाउने क्रममा महिला उद्यमीहरूले अझ धेरै प्रमाण र उपलब्धि प्रस्तुत गर्नुपर्ने अवस्था रहेको तथा उनीहरूको क्षमतामाथि शंका गर्ने प्रवृत्ति अझै कायम रहेको देखाएको छ । अरोरा भेन्चर्सले प्रि–सिड तथा सिड चरणका स्टार्टअपमा १ लाख ८० हजारदेखि २ लाख ५० हजार अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य राखेको छ । उच्च सम्भावना भएका स्टार्टअपहरूलाई प्रारम्भिक चरणमै पहिचान गरी लगानी गरिने कम्पनीले जनाएको छ । अरोरा भेन्चर्सकी प्रमुख इजाबेला घास्सेमी–स्मिथले महिला संस्थापकहरूलाई भेन्चर क्यापिटल क्षेत्रमा पर्याप्त अवसर नपुगेकाले यस्तो पहल आवश्यक भएको बताइन् । इनड्राइभका चीफ ग्रोथ बिजनेसेस अफिसर एन्ड्रिज स्मिटले कम्पनीले सुरुवाती चरणमा भोगेको संघर्ष अहिले महिला उद्यमीहरूले पनि सामना गरिरहेको उल्लेख गरे । उनले ‘अरोरा भेन्चर्स’लाई परोपकार मात्र नभई आफ्नै अनुभवबाट सिकिएको विश्वासको निरन्तरता भएको बताए । कम्पनीका अनुसार सन् २०२६ को पाइलट कार्यक्रममार्फत प्रारम्भिक लगानी पोर्टफोलियो निर्माण गरिनेछ । भविष्यमा औपचारिक फण्ड संरचना विकास गर्ने तयारी पनि अघि बढाइनेछ । नेपालजस्ता उदीयमान डिजिटल बजारका लागि यस प्रकारका कार्यक्रमले महिला उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । विशेषगरी प्रविधि क्षेत्रमा कार्यरत नेपाली महिला उद्यमीहरूले अन्तर्राष्ट्रिय लगानीकर्ता र नेटवर्कसँग जोडिने अवसर पाउने विश्वास गरिएको छ ।