विकासन्युज

अस्पताल जोड्ने सडक असहज : सेवाग्राहीलाई समस्या

मुस्ताङ । जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने सडक असहज हुँदा सेवाग्राहीलाई असुविधा पुगेको छ ।      कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले सडक स्तरोन्नति गर्ने क्रममा साबिकको सडकलाई ग्रेड डाउन गरिदिएपछि यहाँको प्रदेश अस्पताल आवतजावत गर्न कठिनाइ भएको हो ।       अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले सडक अवरोधका कारण एम्बुलेन्स तथा अन्य हलुका सवारीसाधन सञ्चालन हुन नसकेको जानकारी दिए । अस्पताल जोड्ने सडकको तीन वटा विकल्प प्रस्तुत गरिएको भए पनि हालसम्म समाधान निस्कन सकेको छैन ।      पहिलो विकल्प मुख्य राजमार्ग सडक उकासेर अस्पताल सडक सहज बनाउने, दोस्रो विकल्प आयोजनाको योजनाअनुसार व्यक्तिको घर अगाडिबाट अस्पतालको सडक लैजाने र तेस्रो विकल्प हाल प्रयोग भइरहेको सडकलाई फराकिलो बनाएर सडक सहज बनाउने विकल्प प्रस्तुत गरिएका थिए ।      सडक सञ्चालन गर्ने तीन विकल्पमध्ये कुनै पनि विकल्प कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश अस्पताल जाने सडकको विषयमा स्थानीय प्रशासन, गाउँपालिका र अस्पताल व्यवस्थापन समितिलगायत सरोकारवालाहरुको पटक/पटक वार्ता र संवाद भए पनि कुनै सहमति हुन नसकेको प्रदेश अस्पतालले जनाएको छ ।    

हाम्रो कार्यव्यस्तता धेरै छ, त्यसैले प्रधानमन्त्रीको भ्रमण नभएको हो : पोखरेल

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र  शाहको भारतसहितका वैदेशिक भ्रमणहरू उपयुक्त समयमा हुने बताएका छन् । सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेपश्चात पत्रकारहरूसँगको प्रतिक्रियाको क्रममा प्रवक्ता पोखरेलले यस्तो बताएका हुन् ।  उनले भने, ‘प्रधानमन्त्रीज्यूको भारत जाने वा अन्य कुनै पनि देश जाने समय जतिखेर आउँछ, त्यतिबेला भ्रमण हुन्छ ।’ प्रवक्ता पोखरेलले पहिलो १०० दिनको कार्यव्यस्तता एकदमै धेरै भएकाले प्रधानमन्त्रीको भ्रमण नभएको पनि बताए । ‘अहिले हाम्रो पहिलो १०० दिनको कार्यव्यस्तता एकदमै धेरै छ । सुरुमा हामी सबै काममा अलि बढी केन्द्रित छौं । त्यसैले अहिले प्रधानमन्त्रीज्यूको भ्रमण नभएको हो,’ उनले भने । सिंहदरबार प्रवेशमा कडाइ गरिएको भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पोखरेलले यसलाई ‘व्यवस्थित गर्ने प्रक्रिया’ रहेको जानकारी दिए । उनले भने, ‘सिंहदरबार भित्रको आवतजावतलाई थप व्यवस्थित र सहजीकरण गर्नका लागि कार्यविधि बनाइएको हो । सर्वसाधारण र कर्मचारी सबैका लागि सहज बनाउन खोजिएको हो ।’

कजारियाको ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, मिस नेपालसँग डिनरको अवसर

काठमाडौं । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले ‘डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ नामक विशेष उपभोक्ता अभियान सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस अभियानमार्फत मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका ग्राहक जोडीहरूले वर्तमान मिस नेपाल विजेतासँग डिनर गर्ने अवसर पाउनेछन् । यसलाई उपभोक्तामाझ फरक जीवनशैली अनुभव प्रदान गर्ने योजनाका रूपमा प्रस्तुत गरिएको छ । अभियानमा सहभागी हुन ग्राहकले एकैपटक न्यूनतम १,००० वर्गफिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ। यो योजना मिस नेपालको क्षेत्रीय अडिसनसँग जोडिएको छ र नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा लागू हुनेछ । अभियानबारे जानकारी दिँदै कम्पनीका प्रवक्ताले मिस नेपालसँगको सहकार्यले आधुनिकता र भव्यतालाई प्रतिनिधित्व गर्ने उल्लेख गरे । उनले ग्राहकप्रतिको कृतज्ञता स्वरूप अविस्मरणीय अनुभव प्रदान गर्न खोजिएको बताए । यो अभियान २०८३ जेठ १० देखि २५ गतेसम्म सञ्चालन हुनेछ । अफर अभियान अवधिभित्र गरिएको एकल खरिद बिलमा मात्र लागू हुने कम्पनीले जनाएको छ । थप जानकारीका लागि ग्राहकहरूले नजिकैको कजारिया शोरुम वा कम्पनीका आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन सक्नेछन् ।

सहकारीको बचत दुरुपयोगसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं सरकारले सहकारीको बचत दुरुपयोगसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।  सोमबार ९आज० बसेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठित ‘सहकारीमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो।

धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ८३/८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३ हजार ६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३ हजार ८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो । 

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशक बने मुकेश

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

चीन जाँदै गरेका गुरुङ ४३ हजार अमेरिकन डलरसहित पक्राउ

काठमाडौं । चीन जान लागेका एक नेपाली ४३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् । आइतबार काठमाडौंबाट टिमुरे जाँदै गरेको बा प्र ०१००६ ख ९५१५ नम्बरको यात्रुबाहक बसबाट ३७ वर्षीय सुशील गुरुङ पक्राउ परेका हुन् । उनको साथबाट १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा, १० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा अमेरिकी डलर फेला परेको थियो ।  अमेरिकन डलर लिएर गुरुङ चीन लागेका थिए । उनी गाइडको रूपमा समेत काम गर्ने गरेको अनुसन्धानबाट खुलेका रसुवा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु शाहले जानकारी दिए । रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावती बजारस्थित पासाङ ल्हामु सडक खण्डमा प्रहरीले नियमित सवारी साधनहरू चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् । धादिङको गंगाजमुना गाउँपालिक–५ का ३७ वर्षीय गुरुङलाई आजै बिहान राजश्व अनुसन्धानको कार्यालयमा बुझाइसकेको शाहले जानकारी दिए ।