काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भू-भाग नजिक रहेको छ। यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै, पहाडी भू-भागका धेरै तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
पहाडी तथा तराईका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । कर्णालीका पहाडी तथा सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा पनि यस्तै मौसम रहनेछ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अद्यावधिक गरी जानकारी लिन पनि अनुरोध गरेको छ ।