‘पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छ’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् ।

अभियानको शुभारम्भ कार्यक्रममा उनले विगत ३५ वर्षमा केही भएन भन्नेहरुलाईलाई उक्त चुनौती दिएका हुन् । उनले मनोगत ढङ्गले आरोप लगाएर मात्रै नहुने बताए। तथ्यले पुष्टी भएमा केही गर्न नसकेको स्वीकार गर्न आफूहरु तयार रहेको उनको भनाई छ । उनले २०४७ सालपछि वामपन्थी तथा कम्युनिष्ट पार्टीका नेतृत्वले सरकारमा रहँदा गरेका कामको विवरण सार्वजनिक गर्ने पनि बताए ।

विभिन्न समयमा आफूहरू सरकारको नेतृत्वमा पुगेको र संघ, प्रदेश तथा स्थानीय तहमा पार्टीका नेता–कार्यकर्ताले जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले ती जिम्मेवारीका क्रममा भएका कामको विवरण जनतामाझ ल्याउने बताए ।

उनले भने, ‘एउटा भाष्य के छ भने यी पुराना पार्टीहरूले केही पनि गरेनन् । यी पुराना नेताहरूले केही पनि गरेनन् । देशमा केही पनि भएन । त्यो भाष्य कति सही हो कति गलत हो रु यो मनोगत ढङ्गले आरोप लगाएर हुँदैन । तथ्यगत रूपमा त्यसलाई पुष्टि गर्नुपर्ने हुन्छ । तथ्य र प्रमाणले पुष्टि गर्छ भने त्यसलाई स्वीकार गर्न तयार हुनुपर्छ । तथ्यले त्यसलाई खण्डन गर्छ भने त्यसलाई अस्वीकार गर्न पनि तयार हुनुपर्छ । विभिन्न समयहरूमा सरकारमा हामीले पनि जिम्मेवारी सम्हालेका हौँ । पार्टीको नेतृत्व गरेर विभिन्न निकायलाई सञ्चालन गर्ने जिम्मेवारी पनि पार्टीका नेताहरूले कार्यकर्ताहरूले सम्हाल्नुभएको पनि छ । यी सबै कुराहरूको सन्दर्भमा गरिएका कामहरूको पनि हामी विवरण तपाईँहरूको बीचमा पनि ल्याउने छौँ ।’

उनले विगतमा भएका कामको चर्चा नगर्ने र उपलब्धिको जस नदिई अपजस मात्रै पुराना दलमाथि थोपर्ने प्रवृत्ति रहेको आरोप लगाए। जोखिमपूर्ण कामको शुरुवात र देशका समस्या सम्बोधन गर्न भएका प्रयासको समेत उचित चर्चा नभएको उनको गुनासो छ ।

उनले वर्तमान दुई तिहाइ बहुमतको सरकारले जनताका समस्या सम्बोधन गर्न नसकेको आरोप लगाए । जनअपेक्षा पूरा गर्ने तथा लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने अपेक्षा गरिएपनि उक्त कार्य हुन नसकेको उनको भनाई छ । पछिल्लो समय सरकारले गरेको विभिन्न घटनाक्रमले आफूहरूलाई चुप लागेर बस्न नसक्ने अवस्था सिर्जना गरेको बताए। जनताका गुनासा, आलोचना, अपेक्षा र आकाक्षा बुझ्न पार्टीले जनतामाझ केन्द्रित अभियान सञ्चालन गर्न लागेको उनले बताए । अभियानअन्तर्गत पार्टीका नेता–कार्यकर्तालाई राजधानी र सदरमुकाममा सीमित नराखी गाउँ, वडा, टोल र बस्तीस्तरसम्म परिचालन गरिने उनको भनाई छ ।

उनले भने, ‘दुई तिहाइको सरकार छ । यसले त जिम्मेवार ढङ्गले मुलुक चलाउनेछ। जनताका पिरमार्काहरूको सम्बोधन गर्नेछ । जनताका इच्छा–आकाक्षाहरूलाई पूरा गर्नेछ । देशको स्वाभिमानको रक्षा गर्नेछ । लोकतन्त्रको रक्षा गर्नेछ । गणतन्त्रलाई जोगाउनेछ, अझै सुदृढ गर्नेछ । तर अनेकौँ खालका कुराहरू देखिरहँदा, सुनिरहँदा स्वभाविक रूपमा हामी तमासे भएर बस्न सक्दैनौँ ।’

उनले पुराना राजनितिक पार्टीहरुले विगतका गल्ती कमजोरीहरुलाई आत्मसमिक्षा गर्दै अगाडी बढ्न आवश्यक रहेको पनि बताए। 

Share News