विकासन्युज

सिटिजन्स बैंकका ग्राहकलाई काभ्या हस्पिटलमा २५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काभ्या हस्पिटलबीच समझदारी भएको छ । बैंक र जनकपुरधाम, धनुषा स्थित काभ्या हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले काभ्या हस्पिटलका सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

नेपालीलाई चीन जान भिसा निःशुल्क भएको छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढाउने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढ्दै गरेको बताएका हुन् । उनले आफू परराष्ट्र मन्त्रालयमा आएसँगै बन्द रहेका चीन सँगका १४ वटा परम्परागत व्यापारिक नाकाहरु खुला भएको बताए । त्यस्तै नेपालीहरु चीन जान भिसा निःशुल्क भएको पनि उनले उल्लेख गरे । उनले भने – ‘कोभिड अगाडीदेखि नै बन्द रहेका १४ वटा परम्परागत व्यापारिक नाकाहरु खुला भए । त्यस्तै नेपालीहरुलाई चीन जान भिसा निःशुल्क भएको छ । अरुपनि थुप्रै कामहरु भएको छ । अरु देशहरुसँग पनि अब हाम्रो आर्थिक विकास केन्द्रित कुटनीति अगाडी बढ्दैछ ।’ उनले आफूले परराष्ट्र मन्त्रीको रुपमा गर्नुपर्ने कामहरु अगाडी बढाइरहेको बताए ।

नेप्से परिसूचकमा दोहोरो अकंको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अकको गिरावट देखिएको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २२.१४ अकंले घटेर २१०९.३४ को बिन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड १० लाख ४४ हजार चार सय ८५ कित्ता सेयर ७० हजार पाँच सय ८६ पटक खरिदबिक्री हुँदा चार अर्ब ४४ करोड १५ लाख ३८ हजार चार सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कूल बजार पुँजीकरण ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह ३.३७ र म्युचुअल फन्ड ०.२१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह २.१९ र जलविद्युत् समूह १.६२ प्रतिशतले घटेको छ । कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ करोड ६६ लाख १३ हजार आठ सय ३३ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने रिडी पावर कम्पनी लिमिटेडको चार लाख २६ हजार आठ सय ९६ कित्ता सेयर किनबेच भएको छ ।

अरनिको राजमार्ग : साँगा-धुलिखेल सडक विस्तार तीव्र

  काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्म तीव्र रुपमा सडक विस्तारको काम भइरहेको बताइएको छ । तीन वर्षमा सम्पन्न गर्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेल सडक विस्तार गर्न छुट्टाछुट्टै दुईवटा ठेक्का लागेको थियो । सोही ठेक्का अनुसार वि.सं २०७९ फागुन १६ गतेदेखि साँगाबाट सडक विस्तार सुरु भएको हो । सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक-धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न लागिएको हो । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार सडक विस्तार तीब्र रुपमा भइरहेको छ । प्रारम्भिक चरणमा सूर्यविनायकदेखि धुलिखेलसम्म सडक छेउमा पर्खाल निर्माण भइरहेको छ । उनले सडक विस्तार अन्तर्गत बनेपा बजार क्षेत्रमा सडक चौडा बनाउन काम सुरु गरिएको जानकारी दिए । यसअघि धुलिखेलदेखि बनेपा तथा साँगादेखि बनेपासम्म सडक चौडा बनाउन पर्खाल तथा कल्भर्ट निर्माण भइरहेको थियो । दासले भने, ‘हाल कामले निरन्तरता पाएको छ, कुनै समस्या तथा रुकावट छैन ।’ अब मनसुन सुरु हुने भएकाले खोला तथा बाढीले प्रभावित बनाउन सक्ने चुनौती रहेको उनले बताए । उनका अनुसार यसअघि सडक मापदण्डमा परेका खानेपानी आयोजनाका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भई सहमति अनुसार काम भइरहेको छ । आयोजनाको सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिका अनुसार साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म ४.६ किलोमिटर सडकको केन्द्रविन्दूबाट दायाँबायाँ २५ गज अर्थात् २२ दशमलब ८६ मिटर कायम हुनेछ । विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५/२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । सडक विभागका अनुसार कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लगाइएको थियो । दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड सात दशमलव पाँच किमी छ । उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण वर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । सूर्यविनायकदेखि धुलिखेलसम्म विभिन्न स्थानमा निर्माण गर्नुपर्ने पुलका लागि छुटै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर)मा केही परिवर्तन भएको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरको तीन वटा पुल, जगाति र महादेवखोला पेट्रोलपम्प नजिक निर्माण गरिने छ । पुल निर्माण गर्न प्रतिमिटर रु १५ लाख लागत अनुमान गरिएको हो । अनुमानित लागत रु ९० करोड रहेको कार्यालयले जनाएको छ । हाल कोटेश्वरबाट लामा दूरीका सवारी दैनिक यही सडक भएर एक हजारभन्दा बढी छुट्ने गरेका छन् । काभ्रेपलाञ्चोकको पूर्वी-दक्षिणी क्षेत्र बिपी राजमार्ग हुँदै सवारी काठमाडौँ-पूर्वी तराई जान्छन् भने उत्तरी नाका तातोपानी पुग्न यही सडक प्रयोग हुन्छ । केही महिनाअघि चीनसँगको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भएपछि राजमार्गमा सवारी चाप बढेको हो । रासस

डिएभी विद्यालयमा बुद्धको जीवन र दर्शनमा आधारित गीतिनाटक मञ्चन

काठमाडौ । डिएभी सुशील केडिया विश्व भारती विद्यालयले शुक्रबार भगवान गौतम बुद्धको जीवन र दर्शनमा आधारित रहेको गीतिनाटक एक भव्य समारोह बीच प्रदर्शन गरेको छ । विद्यालयको बुद्ध सभागृहमा प्रदर्शन भएको उक्त गीतिनाटकमा कक्षा १ देखि १२ सम्मका १५० बढी विद्यार्थीहरूले अभिनय गरेका थिए । करिव ३ घण्टा लगातार प्रदर्शन भएको गीतिनाटकमा विद्यार्थीहरूले गौतमबुद्ध जन्मिनु पूर्वको परिदृश्य, राजश्री बाल्यकाल, शिक्षा–दिक्षा, गृहस्थ जीवन, गृहत्याग, जीवनको चिन्तन र दुःख मुक्ति मार्गको खोजी र बुद्धत्व प्राप्तिका साथै विभिन्न समयमा उनले सामना गरेका कठिन परिस्थितिलाई प्रस्तुत गरेका थिए । नाट्यकलाकार विद्यार्थीहरुलाई हौँसला र प्रोत्साहन गर्न सिद्धिमंगल विहार, ललितपुरका प्रमुख भिक्षु विमलो, डिएभी विद्यालयका अध्यक्ष अनिल केडिया, त्रिभुवन विश्वविद्यालय बौद्धशिक्षा केन्द्रीय विभागकी प्रमुख डा. चन्द्रकला घिमिरे, त्रिविका सह–प्राध्यापक त्रिरत्न मानन्धर र योगविशेषज्ञ डा. राजेन्द्र न्यौपाने उपस्थित रहेको थिए । नाटक प्रदर्शन पूर्व भिक्षु विमलोले गीति नाटकको सफलताको शुभकामना दिँदै वर्तमान समयमा बुद्ध शासनको लहर चलेको बताए । उनले डिएभी विद्यालयका अध्यक्ष अनिल केडिया स्वंयम बुद्ध मार्गि भएको र उनले भविष्यका कर्णधार बालबालीकाहरुका लागी परियत्ति, योग र ध्यानका कक्षाहरु निरन्तर रुपमा सञ्चालन गरिरहेको देख्दा आफू निकै हर्षित भएको बताए । सोही अवसरमा उहाँले बुद्ध शिक्षाको विभिन्न आयामहरूलाई संक्षेपमा चर्चा गरेका थिए । उक्त गीतिनाटक डिएभी विद्यालयले आयोजना गर्ने ‘एक आध्यात्मिक सन्ध्याको’ अंश रहेको विद्यालयले जनाएको छ । बुद्ध जीवनको गीति नाटकको लेखन, स्टेजको सजावट, अभिनय र प्रस्तुती, गीत संगीतको संयोजन लगायत सम्पूृर्ण विषयवस्तुको मुख्य निर्देशकको भूमिकामा विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी राव रहेका थिए । करिब एक हप्ताको तयारीमै यस स्तरको नाटक मञ्चन हुनुमा विद्यार्थी भाइबहिनीहरूको मिहिनेत र लगाव संगसंगै सम्पूर्ण शिक्षक र कर्मचारीहरुको उल्लेख्य भुमिका रहेको विद्यालयले जनाएको छ । यसअघि अध्यक्ष अनिल केडियाले विश्व शान्ति बिहार बानेश्वरका भिक्षुलाई निमन्त्रणा गर्दै विद्यालयमा धम्म देशना र संघदान कार्यक्रमको आयोजना गरेका थिए । बुद्ध जयन्तिको अवसरमा विद्यालयले कक्षा नर्सरी देखि १२ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई ‘बुद्ध र शान्ति’ विषयक चित्रकला प्रतिस्पर्धामा सहभागी गराएको थियो । विद्यालयले प्रत्येक शनिबार आयोजना गरिरहेको एक दिवशीय विपश्यना ध्यान समेत बुद्ध जयन्तीको दिन संञ्चालन गरिएको थियो । यस विपश्यना ध्यान कक्षा १० दिनको ध्यान कक्षा पुरा गरेका सबैको लागी खुला रहेको विद्यालयले जनाएको छ ।

तनहुँ हाइड्रोपावरले जडान गर्यो बाढीको पूर्व सूचना दिने साइरन

दमौली ।  जिल्लामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले बाढीको पूर्व सूचना दिन साइरन जडान गरेको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माण भइरहेको जलविद्युत् आयोजनाले बाढीका कारण नदीको बहावमा हुने वृद्धि र बाँधको गेट खोलेको पूर्वसूचना दिन १५ स्थानमा साइरन जडान गरेको हो । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत बाँध निर्माणस्थल भन्दा तल्लो तटीय क्षेत्रमा पर्ने होक्सेटारबाट घुमाउने क्षेत्रका समुदायलाई पूर्व सूचना दिन साइरन जडान गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनले भने, ‘सेती नदीमा निर्माण हुने १४० मिटर अग्लो बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउन सक्ने उतारचढावका विषयमा अग्रिम सूचना दिन साइरन जडानका लागि ठाउँ छनोट गरिएको थियो ।’ आयोजनाले केही दिनअघि मात्रै व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको छतमा साइरन जडान गरेको थियो । आयोजनाको विशेष अनुरोधमा क्याम्पसको छतमा साइरन जडान गर्न ठाउँ उपलब्ध गराइएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । साइरन जडान पश्चात् व्यास–१, ३ र १३ को सेती नदी वरपरका बासिन्दालाई साइरन बज्दाको समय नदीभित्र वा नदी किनारबाट टाढा बस्न र किनार नजिक नजानका सचेत बनाउने उनले बताए । हड्खलेले भने, ‘समुदाय, आयोजना र क्याम्पसबीचको सहकार्यबाट साइरन जडान गरिएको हो । यो समुदायमा एउटा उदाहरणीय काम पनि हो ।’ बाँधमा जम्मा भएको पानीलाई प्राविधिक कारणले एकैचोटी छाड्नुपर्दा नदीमा अकस्मात आउन सक्ने बाढीबाट मानवीय क्षति नहोस् भन्नका साइरन जडान गरिएको आयोजना कार्यालयले जनाएको छ । नदीमा नुहाउने, लुगा धुने, माछा मार्ने र पौडी खेल्नेलगायत काम गरिरहेका सर्वसाधारणलाई साइरनले पूर्वसूचित गर्ने आयोजनाका प्रमुख भण्डारीले बताए । तनहुँ जलविद्युत् आयोजनाको कामलाई तीन वटा ठेक्का लगाएर अगाडि बढाइएको छ । चरण–१ अन्तर्गतको बाँध निर्माण सोङ्दा कालिका जेभीले गरिरहेको छ । यसको ३२.५ प्रतिशत प्रगति भएको हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । चरण–२ अन्तर्गतको विद्युत्गृह निर्माण सिनो हाइड्रोले गरिरहेको छ । यसको प्रगति ५५ प्रतिशत पुगेको छ । साथै चरण–३ अन्तरगतको प्रसारण लाइन निर्माण केइसी इन्टरनेशनल लिमिटेडले भारतले गरिरहेकामा यसको ७३.५ प्रतिशत प्रगति भएको जनाइएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने जनाइएको छ । यसका लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकाररनेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

सरकार पेलेरै जान्छ भने चुनौती सामना गर्न कांग्रेस तयार छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले संसदमा कांग्रेसले उठाएको सहकारीको एजेण्डामा पेलेर जान खोजे कांग्रेस सहेर नबस्ने चेतावनी दिएका छन् । गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिटौलाले सरकारको पेलेर जान चाहने प्रवृतिको विरोध गरे । उनले कांग्रेस आफ्नो मागमा नडगमगाउने भन्दै सरकारले प्रतिपक्षको आवाज नसुने जस्तोसुकै चुनौतीको सामना गर्न कांग्रेस तयार रहेको टिप्पणी गरे । सरकारले जनताको हितमा काम गर्नुपर्छ । जुन मैले सांकेतिक रुपमा भनेको छु, संविधानले जनतालाई दिएको हकहरुलाई प्रचलनमा ल्याउनुपर्छ,’ उनले भने, ‘प्रतिपक्षले जनताको आवाज निरन्तर उठाउनुपर्छ। प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिध्दियो, सरकारले जनहितमा काम गरेन सरकार सिध्दियो ।’ कांग्रेससहित प्रतिपक्षी दलहरुले सदनमा जनताको आवाज बुलन्द गरेको बताउँदै उनले सरकारले यसलाई गम्भीरतापूर्वक लिन ढिलाई गरेको बताए । ‘प्रतिपक्षले संसदमा जनताको आवाज बुलन्द गरेको छ । यसलाई सरकारले छिटै गम्भीरतापूर्वक लिन ढिलाई गरेको छ । सरकार यसमा पेलेरै जान खोज्छ भने हामी त्यो चुनौतीको सामना गर्न तयार छौं,’ उनले भने । सरकारले सहकारी प्रकरणमा पेलेर जान खोजे कांग्रेसले नसहने भन्दै कडा रुपमा नेता सिटैलाले भने, ‘सरकार यही ढंगले जाने सोचमा छ भने कांग्रेस त्यसको लागी तयार छ । कांग्रेस सहेर बस्न सक्दैन । हामीले आफूमाथि अन्याय भएर होइन जनतामाथि अन्याय भएर कुरा उठाएको हो ।’ कांग्रेसको राष्ट्र निर्माणमा सबैलाई साथ लिएर हिँड्ने कल्चर भएको उल्लेख गर्दै नयाँ पुरानालाई लिएर कांग्रेस देश हाँक्न सक्षम भएको सिटौलाले धारणा राखे ।

सीमा नाकाको हेल्थ डेस्कका २७ जना कर्मचारी ६ महिनादेखि तलबबिहीन

महेन्द्रनगर । नेपाल-भारत सीमा नाकामा खटिएका २७ जना कर्मचारीले विगत छ महिनादेखि तलब पाएका छैनन् । सुदूरपश्चिम प्रदेशका पाँच वटा सीमा नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कार्यरत कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलबबापतको बजेट उपलब्ध नगराएको हो । कोरोना कहरपछि कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र टीकापुरस्थित खग्रौला नाका, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट स्वदेश फर्किनेको स्वास्थ्य परीक्षण गरिँदै आएको छ । पछिल्लो छ महिनायता नाकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘किट’समेत उपलब्ध नभएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका व्यक्ति हेमराज जोशीले बताए । ‘यो वर्ष बजेट कम आएकाले कर्मचारीले तलब नपाएका हुन्’, उनले भने, ‘माथि मन्त्रालयले संशोधन गरेर भए पनि बजेट पठाउने भनेको छ ।’ त्यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना परीक्षणका लागि किट माग गरेको लामो समय बितिसक्दा पनि उपलब्ध हुन नसकेको जोशीले बताए । ‘किट प्रदेश र सङ्घ दुवैबाट आउने पर्ने हो, लिखित पत्राचारसमेत गरेका छौँ’, जोशीले भने, ‘केही समयअघि निर्देशनालयले दुई हजार किट खरिद गरेर त्रिनगर भन्सारको डेस्कमा पठाएकोमा एक हजार प्रयोग भइसकेको छ ।’ उनले किट अभावकै कारण नाकामा कोरोना परीक्षणको काम प्रभावित भएको जानकारी दिए । सीमानाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कोरोना परीक्षणका साथै एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गुलगायतका रोगको नमुना जाँच हुने गरेको छ । त्यसबाहेक नाकामा प्राथमिक स्वास्थ्य सेवाका साथै सीमामा पर्ने स्वास्थ्य समस्याबारे सचेतना गराउँदै आएको छ । रासस