विकासन्युज

आर्थिक शिथिलता चिर्ने गरी आगामी वर्षको बजेट ल्याउनुपर्छ : स्वर्णिम वाग्ले

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् । आइतबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएका हुन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा पार्टीको पूर्ण समर्थन रहेको  रास्वपाले सम्हालेका मन्त्रालयमा समेटिएको नीति तथा कार्यक्रमलाई बजेटले ठोस रूपमा सम्बोधन गर्ने समेत उल्लेख गरे । उनले आर्थिक शिथिलता चिर्दै दिगो रोजगार मुलुक वृद्धिको जग बसाल्ने, राजस्व बढाउने, खर्च व्यवस्थान गर्न र सामाजिक रूपान्तरणकारी बजेट ल्याउन आग्रह गरे । उनले कांग्रेसले संसदमा गरिरहेको अवरोधलाई ‘औचित्यहिन’ भन्दै खेद प्रकट गरे । कांग्रेसले बिपी कोइरालाले ६५ वर्ष पहिला स्थापित गरेको मानकलाई आज यो अवस्थामा पुर्‍याउँदै लज्जास्पद र औचित्यहिन विरोध गरेको बताए । उनले  कांग्रेसले सहकारीको विषयलाई उठाएर समाधानभन्दा पनि संसदको ओझ,गरिमा असान्दर्भिक बनाउने काम गरेकाे आरोप लगाए ।

ठूला होटल खुलेसँगै विदेशी पर्यटक बढे

चितवन । ठूला होटल खुलेसँगै जिल्लाका पर्यटकीयस्थलमा विदेशी पर्यटकको संख्या बढेको  छ । चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल बन्द भएपछि विदेशी पर्यटक आउने संख्या घटेको थियो । भर्खरै सञ्चालनमा आएका ठूला होटलले निकुञ्जभित्रकै अनुभूति हुने गरी पर्यटकलाई सेवा दिन थालेका छन् । निकुञ्जभित्र प्रकृतिसँग रम्न पर्यटकले त्यही अनुसारको ठाउँ रोज्ने गर्दथे । निकुञ्जभित्रका सात वटा होटल बन्द भएपछि त्यस्ता पर्यटक अफ्रिका, भारत, बङ्गलादेशलगायतका देश जान थालेका थिए । निकुञ्ज स्थापना हुनुअघि खुलेको टाइगर टप्स होटलसमेत बन्द छ । पछिल्लो समय सौराहा नजिकै खैरहनीको हर्नरीमा होटल सिद्धार्थ भिलासा वनबास सञ्चालनमा आएको छ । होटल प्रवेश गर्दा निकुञ्जभित्रकै झल्को दिने गरी निर्माण गरिएको छ । होटलका महाप्रबन्धक प्रकाश न्यौपानेले निकुञ्जभित्रको अनुभूति दिलाउने भएकाले खर्चिला विदेशी पर्यटक आएको बताए । उनको भनाइमा दुई रातका लागि एक जना पर्यटकले सजिलै दुई सय ५० अमेरिकी डलर तिर्ने गरेका छन् । होटलमा आउने पर्यटकमध्ये आधाभन्दा बढी विदेशी छन् । अमेरिका, जर्मन, क्यानडा, अष्ट्रेलिया, चीन, भारतलगायतका देशबाट पर्यटक आउने गरेको उनले जानकारी दिए । वरिपरी जंगलले घेरिएको रिसोर्टभित्र रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । तीन बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्टमा ४० भन्दा बढी प्रजातिका रुखबिरुवा छन् । होटल वरिपरि मध्यवर्ती सामुदायिक वन क्षेत्र भएकाले होटलको रेष्टुराँबाट गैँडा, मृग लगायतका जंगली जनावर चर्दै गरेको देख्न पाइन्छ । ४५ करोड रुपैयाँ भन्दा बढी लगानीमा खुलेको यो होटल गएको दसैँ देखि सञ्चालनमा आएको हो । यहाँ एक जोडी नेपालीले एक रात बस्न १० हजार रुपैयाँ तिर्नु पर्दछ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी सुविधासम्पन्न होटल नहुँदा अन्य देश जान थालेका पर्यटक पुनः  यहाँ आउने क्रम बढेको बताउँछन् । भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले ठूला होटल खुलेसँगै खर्चिला पर्यटक आउन थालेको बताए । चौधरी गुप्रको मेघौली सेराइ, बाराइ, सोल्टीलगायतका सुविधा सम्पन्न होटल खुलेपछि खर्चिला पर्यटक आउन थालेको उनको भनाइ छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । होटल व्यवसायीले स्वदेश तथा विदेशमा भरतपुर भ्रमण वर्षको व्यापक प्रचार गरिरहेका छन् ।

काठमाडौंका यी स्थानमा ५ दिन बिजुली नआउने

काठमाडौं । आजदेखि काठमाडौंका केही ठाउँमा पाँच दिनसम्म दैनिक चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि जेठ १८ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागिएको जनाएको छ । साँखु, चौमती, केएमसी, कालीमाटी, किर्तिपुर रोपवे र मुलपानी फिडरबाट आपूर्ति हुने विद्युत लाइन आजदेखि जेठ १८ गतेसम्म अवरुद्ध हुनेछ । विद्युत वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।

अवरोधका बीच नीति तथा कार्यक्रम पारित, विपक्षीलाई ‘पेलेरै’ १५ गते बजेट भाषण

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा विपक्षी नाराबाजी र अवरोधका बीच सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम १३ दिनपछि पारित भएको हो । बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । तर, नाराबाजीकै बीच नीति तथा कार्यक्रममा छलफल गरेर पारित गरिएको हो । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेको छ । तर, सत्ता पक्षले पेलेरै भएपनि मर्यादापालकको सहायतामा अगाडि बढिरहेको छ । बैठकमा अर्थमन्त्री पुनलाई रोष्टममा पुर्याउन पनि मर्यादापालक र सत्ता पक्षकै सांसदहरूले सहयोग गरे । उनी चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेस गर्न रोष्टममा जाँदा विपक्षी दलका सांसदले उनलाई घेरेका थिए । तर, मर्यादापाल र सत्ता पक्षकै सांसदले उनलाई रोष्टममा पुग्न सहयोग गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको छ । त्यसअघि दिउँसो १ बजे संघीय संसदको बैठकमा बजेट प्रस्तुत हुने छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने अभ्यास छ । सोही अनुसार सभामुख देवराज घिमिरेले मंगलबारका लागि बैठक बोलाएका छन् । मंगलबार दिउँसो १ बजे बजेट प्रस्तुत हुनेछ । सभामुख घिमिरेले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने जानकारी आजको बैठकलाई गराइसकेका छन् । काँग्रेसको निरन्तर अवरोधले सरकारले अध्यादेशबाट बजेट सार्वजनिक गर्छ कि भन्ने अड्कलवाजी पनि धेरैले गरेका थिए । तर, सरकारले सदनबाटै बजेट ल्याउने तयारी गरेको हो । बजेटमा विपक्षीले विरोध गरे पनि अवरोधकै बीच बजेट सार्वजनिक गर्ने तयारी सरकारको छ । उसो त आइतबारको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले बजेट सार्वजनिक हुने दिन संसद बैठकमा अवरोध नहुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफू राजनीतिक सहमति जुटाउन लागिपरेको बताउँदै मंगलबारसम्म यो अवरो हट्ने उनको भनाइ छ ।

सोमबारसम्म संसद्को गत्यावरोध अन्त्यका लागि सहमति हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गत्यावरोध अन्त्यका लागि बैठक सुचारु गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका छन् । प्रधानमन्त्री दाहालले भने, ‘मैले बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर उहाँसँग भेट गरी सहमतिको प्रयास गरेको छु । आज नभए भोलिसम्म बजेट संसद्बाटै ल्याउने गरी सहमति र समझदारी बन्ने विश्वास छ ।’ कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समिति गठनको मागका गर्दै आएको छ ।

काठमाडौंको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने

काठमाडौं । बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सार्ने विषयमा गृहकार्य भइरहेको बताएका छन् । ‘संस्कृतिको उत्थान, इतिहासको संरक्षण र नागरिकको स्वाभिमान स् सुशासन, सेवा र विकासमार्फत वडा निर्माण हाम्रो अभियान’ नाराका साथ नगरपालिका वडा नं १० ले आइतबार बिहान आयोजना गरेको ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रममा उनले मेलम्ची आयोजना मात्रले यहाँको खानेपानीको समस्या समाधान गर्न नसकिने महसुस गरी काठमाडौं उपत्यका नगरप्रमुख मञ्चले  सो परियोजनाबारे गृहकार्य गर्नुपर्ने कुरा उठाएको जानकारी दिए । उनले आफ्नो नगरपालिकालगायत अन्य तहका लागि पनि खानेपानीको माग आपूर्ति गर्नका निम्ति  मुहानपोखरीमा बाँध बाँध्न सम्भाव्यता अध्ययन गर्ने सोच राखिएको बताए । उनले नगरपालिकाले अब आर्थिक–मानवीय विकासमा जोड दिने तथा सुशासन सुनिश्चित गर्न विभिन्न उपकरण प्रयोग गरिने जानकारी पनि दिए । वडावासीले उठाएका प्रश्न र जिज्ञासाबारे वडाध्यक्ष नवराज भट्टराईले आव २०७२/०७३ को स्थानीय जग्गासम्बन्धी प्रतिवेदन अध्ययन गरी नगरपालिकाले आफ्ना सरकारी जग्गा संरक्षण गर्न घेराबेरालगायत काम गर्ने र मिचिएका जमिन खोजी गर्ने जानकारी दिए । उनका अनुसार हाल नगरपालिकास्तरमा जग्गा संरक्षण समिति बनेको र अब वडास्तरमा उपसमितिहरू खडा गरिने छ । नगरपालिकाका प्रवक्ता भट्टराईले नगरका फोहर सङ्कलन र व्यवस्थापन गर्न विभिन्न कम्पनीबीच प्रतिस्पर्धा गराई योग्यलाई जिम्मेवारी दिइएको, विद्युतीय चुल्होको प्रयोग बढाउन प्रेरणा दिने हिसाबले वडाकै बजेट खर्च गरी अनुदानमा साङ्केतिक रूपमा ९२ वटा इन्डक्सन चुलो वितरण गरिएको र कपन बहुमुखी क्याम्पसलाई भविष्यमा विश्वविद्यालयकै स्वरूप दिनेगरी हाल आफैँले पूर्णरूपले सञ्चालन गर्न थालिएको जानकारी पनि दिए । उनका अनुसार राष्ट्रिय परिचयपत्र अब एक दुई दिनमै वितरण गरिने छ । कार्यक्रममा अघिल्लो वर्ष सम्पन्न भएका आयोजना तथा विकासनिर्माण गतिविधि तथा सुशासन र सेवा विषयमा वडावासीको प्रतिक्रिया तथा आगामी आव २०८१/०८२ का लागि नीति, योजना र बजेट कार्यक्रमसम्बन्धमा सुझाव सङ्कलन गरिनाका साथै नगर अस्पताल, ह्यान्डबल ग्राउन्ड निर्माण र व्यवस्थापन, वडाको प्रशासनिक भवन शिलान्यास तथा अन्य विकास गतिविधि समेटिएको छ मिनेटको वृत्तचित्र प्रदर्शन  गरिएको थियो । रासस

नेपाल पुनर्बीमाको सीईओ बने थापा, ‘बलियो प्रणालीको विकास गर्छु’

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले थापालाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पुनर्बीमा कम्पनीको उम्मेदवार छनौट तथा सिफारिस समितिले सर्टलिष्टमा परेका पाँच जनाको अन्तर्वार्ता लिइसकेपछि बोर्डले थापालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सर्टलिष्टमा थापासहित दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की परेका थिए । कम्पनीले व्यावसायिक कार्यजोजना प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि सर्टलिष्टमा परेकाहरूलाई हिजो शनिबार बोलाएको थियो । अध्यापन र प्रशासनमा दख्खल थापा यसअघि अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत थिए भने त्यसअघि राष्ट्रिय बीमा संस्थानमा कामु प्रशासकसम्म भएका थिए । नेपाल पुनर्बीमा कम्पनी ठूलो कम्पनी भएकाले यसको सञ्चालन प्रणालीलाई प्रभावकारी बनाउने र जनशक्ति परिचालन प्रभावकारी बनाउनमा आफ्नो भूमिका केन्द्रित हुने थापाले बताए । ‘कम्पनीको व्यवस्थापकीय नेतृत्व गर्नु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हो, प्रभावकारी व्यस्थापनका लागि जनशक्तिको परिचालन सही ढंगले हुनुपर्छ,’ थापाले विकासन्युजसँग भने, ‘यसका लागि व्यवस्थापन समूहलाई प्रोत्साहित गर्नुपर्छ, संस्था सञ्चालनका लागि बलियो प्रणालीको विकास गर्नुपर्छ, मेरो पहिलो प्रयास त्यसैमा केन्द्रित हुन्छ ।’

सरकारले सहकारी ठगलाई जोगाउने षड्यन्त्र गरिरहेको छ : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रश्ताव राख्दै अध्यक्ष केसीले सरकारले सहकारी ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई जोगाउने षड्यन्त्र गरिरहेको बताएका हुन् । उनले सरकारले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गरेको बताए । सरकारको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगर्ने पनि जानकारी दिए । उनले भने, ‘सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारणले सत्ताधारीको जुन दुर्दशा छ, यसको राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ । र यो नीति, कार्यक्रमलाई समर्थन गर्दैन । विरोध गर्छ ।’ उनले सत्ताधारीको दुर्दशा रहेको टिप्पणी गर्दै त्यसको पनि राष्ट्रिय जनमोर्चाले विरोध गर्ने बताए ।