१२ वर्ष कतार बसेका ओमराज शर्मा डेढ करोडको लगानीमा कुखुरापालन गर्दै
गलकोट । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । छ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाएका उनले तीन हजार चल्ला थप्ने तयारी गरेका छन् । एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा ल्याइएको फार्म कालिमाटीको ४३ रोपनी जग्गामा फैलिएको छ । फार्ममा गाई र बाख्रा पनि पालिएको छ । उनले यसरी काम थालेको पाँच वर्ष भयो । सामूहिक रूपमा थालिएको फार्म पछिल्लो तीन वर्षदेखि शर्माले एक्लै सञ्चालन गर्दै आएका छन् । ‘कुखुरापालन व्यवसाय निकै जोखिपूर्ण हुन्छ, छ महिनासम्म हुर्काएका कुखुराले फूल पार्न थालेपछि आम्दानी हुन्छ, त्यो समयसम्म लगानीमात्र गर्ने हो, बजार अस्थिर छ, अण्डाको मूल्यमा उतारचढाव हुन्छ, तर हिम्मत हारिएन अहिले फार्मलाई जिल्लाकै ठूलो अण्डा उत्पादन गर्ने फार्मका रूपमा चिनाउन सफल भएको छु’, उद्यमी शर्माले भने । उनको फार्ममा प्रत्यक्ष रूपमा चारजनाले रोजगारी पाएका छन् । अहिले दैनिक तीन हजार अण्डा बागलुङमा खपत भइरहेको छ । तीन हजार कुखुरा हुर्काएर अण्डा दिने बनाउन २५ लाख रुपैयाँ लाग्ने बताउँदै उद्यमी शर्माले व्यावसायिक रूपमा गाई र बाख्रा पाल्ने योजना सुनाए । रासस
होटलको व्यवसायमा उछाल, नाफा दोब्बर बढ्यो
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा होटल तथा पर्यटन क्षेत्रको नाफा साढे १८ प्रतिशत बढेको छ । पूँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूको गत वर्ष खुद नाफा औसत १८.६७ प्रतिशत बढेर १ अर्ब ४९ करोड १७ लाख रपैयाँ आर्जन गरेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा होटलहरूले १ अर्ब २५ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेका थिए । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियण्टेल होटल्स, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन र सिटी होटल सूचीकृत छन् । जसमध्ये सिटी होटलले नोक्सानी बेहोरेको छ भने ओरियण्टेल होटल्सको नाफा घटेको देखिन्छ । चन्द्रागिरी हिल्सको नाफा शतप्रतिशत बढेको छ । यस्तै गत वर्ष यी होटल कम्पनीहरूको कुल आम्दानी १७.४० प्रतिशत बढेर ६ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ९५ करोड ७ लाख रुपैयाँ कुल आम्दानी गरेका थिए । चन्द्रागिरी हिल्स चन्द्रागिरी हिल्सको गत वर्ष खुद नाफा ९९.३९ प्रतिशत बढेर २२ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । जबकी अघिल्लो वर्ष यस कम्पनीको खुद नाफा ११ करोड २० लाख रुपैयाँ मात्रै थियो । बाह्य तथा आन्तरिक पर्यटकहरूको आवागमनमा उल्लेख्य सुधार भएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार गत वर्ष पर्यटकहरू ६.८८ प्रतिशत बढेर ७ लाख ६८ हजार २७० आवगमन भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा करिब ७ लाख १८ हजार ८४४ पर्यटकहरूको आवागमन भएको कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालन आम्दानी ९.४९ प्रतिशत बढेर १ अर्ब १ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९१ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको कुल आम्दानी ८.८० प्रतिशत बढेर ८७ करोड ३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्ष २३ करोड ७८ लाख रुपैयाँ कुल खर्च गरेको यस कम्पनीले गत वर्ष २९.३७ प्रतिशत बढेर ३० करोड ७७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष १० करोड ७७ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको यस कम्पनीले गत वर्ष ११ करोड ६६ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ भने जगेडा कोष ७ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ७.२६ रुपैयाँ बढेर १४.५६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.३६ गुणा रहेको छ । कालिञ्चोक दर्शन कालिञ्चोक दर्शनको खुद नाफा ७.७५ प्रतिशत बढेर २ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्ममा कम्पनीको आम्दानी २३.२२ प्रतिशत बढेर ८ करोड ५४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी २२.३२ प्रतिशत बढेर ८ करोड १५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा १०.३८ प्रतिशत बढेर ४ करोड २५ लाख रुपैयाँ र वित्तीय खर्च २१.७३ प्रतिशत बढेर १ करोड ८३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५९ करोड ६३ लाख रुपैयाँ र जगेडा कोष ३२.७४ प्रतिशत बढेर ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ३२ पैसा बढेर ४.४७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १००.७५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २५८.३८ गुणा छ । ओरियण्टल होटल ओरियण्टल होटलको खुद नाफा २३.९२ प्रतिशत घटेर १२ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ६.३४ प्रतिशत बढेर १ अर्ब १५ करोड ५६ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा होटलको कुल आम्दानी ०.४३ प्रतिशत बढेर १ अर्ब २१ करोड ६२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २१ करोड १० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्ष ८९ करोड ७७ लाख रुपैयाँ कुल खर्च रहेको यस होटलको गत वर्ष ८.१४ प्रतिशत बढेर ९७ करोड ८ लाख रुपैयाँ गरेको छ । कम्पनीको सञ्चालन मुनाफा २१.६७ प्रतिशत घटेर २४ करोड ५४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ७४ करोड ५९ लाख रुपैयाँ रहेको छ । नाफासँगै होटलको प्रतिसेयर आम्दानी ३.४२ रुपैयाँ घटेर १०.८४ रुपैयाँमा झरेको छ । होटलको प्रतिसेयर नेटवर्थ ३४३.४२ रुपैयाँ रहेको छ । तारागाउँ रिजेन्सी तारागाउँ रिजेन्सीको गत वर्ष नाफा २८.१७ प्रतिशत बढेर ५१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म कम्पनीको कुल आम्दानी १ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५७ करोड १८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ३४ करोड १० लाख रुपैयाँबाट बढेर १ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । सुधारोन्मुख राजनीतिक तथा पर्यटकीय आगमन वृद्धिका साथै पर्यटक क्षेत्रमा पनि तारे होटलहरूको संख्यामा भएको वृद्धिले व्यवसायिक प्रतिस्पर्धा सिर्जना भएको देखिन्छ । तर, यस होटलले व्यवसायिक प्रतिस्पर्धामा अब्बल बनाएको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ छ भने जगेडा कोष ९१ करोड ४६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१.४३ रुपैयाँबाट बढेर २६.४१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४६.६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३०.५५ गुणा रहेको छ । सिटि होटल अघिल्लो आर्थिक वर्ष २७ करोड २२ लाख रुपैयाँ नोक्सानी बेहोरेको सिटि होटलले गत वर्ष घटाएर २० करोड ४७ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । गत वर्ष होटलको सञ्चालन आम्दानी ६.५७ प्रतिशत बढेर ५० करोड ४२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ३१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा होटलको कुल आम्दानी १४.२५ प्रतिशत बढेर ५८ करोड २३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ९७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्ष ३६ करोड ७० लाख रुपैयाँ कुल खर्च गरेको यस होटलको गत वर्ष २.८१ प्रतिशत बढेर ३७ करोड ७४ लाख रुपैयाँ गरेको छ । यसअवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६७ करोड रुपैयाँ छ भने अन्य इक्विटी ९ करोड ९ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.२३ रुपैयाँ २३ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९४५६ रुपैयाँ रहेको छ । सोल्टी होटल सोल्टी होटलको गत वर्ष खुद नाफा ८.३० प्रतिशत बढेर ६० करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष २ अर्ब २५ करोड ४६ लाख रुपैयाँ कुल आम्दानी गरेको यस होटलले गत वर्ष २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ गरेको छ । होटलले गत वर्ष १ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । अघिल्लो वर्ष ८६ लाख ६० हजार रुपैयाँ वित्तीय लागत रहेको यस होटलको गत वर्ष घटेर ३४ करोड १४ लाख रुपैयाँमा सीमित गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ९२ करोड ८९ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङ्ग तथा जगेडा १ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग तथा जगेडा १ अर्ब २२ करोड १६ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँबाट बढेर ६.४७ रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २५.४३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६८.३१ गुणा छ ।
नबिल बैंकले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डाहरू
काठमाडौं । नबिल बैंकले विशेष साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले भदौ १७ गते बिहान ११ बजे जुममार्फत् भर्चुअल रूपमा विशेष साधारण सभा डाकेको हो । बैंकको सभाले प्रतिसेयर १०० रुपैयाँका दरले ५ अर्ब रूपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै बैंकको अधिकृत पुँजी २८ अर्ब रुपेयाँ रहेकोमा अग्राधिकार सेयर जारी गरेपश्चात् अधिकृत पूँजी रू. ३३ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्ने, जारी तथा चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ रहेकोमा अग्राधिकार सेयर जारी गरेपश्चात् जारी तथा चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र र नियमावलीमा रहेका व्यवस्थामा आवश्यक संशोधन प्रस्ताव बैंकको सभाले पारित गर्नेछ ।
डिजिटल भुक्तानीमा भ्याट फिर्ता, ठूला करदातालाई बीजक अनुगमन प्रणालीमा आवद्ध गरिने
काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्ने छन् । यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्यांकनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने, भन्सार महसुल नियमावाली २०८१ तर्जुमा गर्ने, गत आर्थिक वर्षमा विधि सम्मत रुपमा सिर्जित दायित्व एकिन गरी भुक्तानी गर्ने छन् । कार्ययोजनामा उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता दिने कार्य प्रारम्भ गर्ने, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्ने उल्लेख छ । सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने कार्यविधि, २०८१ तयार पारी लागू गर्ने, बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयबाट भएको स्रोत सहमति, विषयगत मन्त्रालय÷ निकायले लगाएको ठेक्का र तिर्नुपर्ने बाँकी दायित्वको विवरण एकिन गर्ने छन् । वार्षिक २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने थप २०० करदाताको कारोबारलाई केन्द्रीय बीजक अनुगमन प्रणालीमा आवद्ध गर्ने, तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु गर्ने लगायत छन् । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले कार्ययोजनाको कार्यान्वयनले नीतिगत, कानुनी र सेवा प्रवाहमा सुधार हुनुका साथै स्रोत तथा खर्च व्यवस्थापन, वैदेशिक सहायता परिचालन लगायतमा थप उपलब्धि हासिल गर्न सहयोग पुग्ने बताए ।
नेपाल राष्ट्र बैंकले माग्यो धेरै संख्यामा कर्मचारी, १२ पासालाई पनि अवसर
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि आवेदन खुलाएको छ । राष्ट्र बैंकले विभिन्न पदका लागि ५२ जना कर्मचरी माग गरेको हो । जसमध्ये प्रशासन तर्फ ३४ जना सहायक निर्देशको लागि राष्ट्र बैंकले आवेदन खुलाएको हो । यसका साथै सहायक प्रशासनका लागि १३ र सूचना प्रविधि तर्फ ५ जना सहायक पदका लागि आवेदन माग गरेको हो । राष्ट्र बैंकका अनुसा सहायक निर्देशकका लागि अर्थशास्त्र, व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर पास गरेको हुनुपर्ने छ । यसैगरी सहायकका लागि १२ पास गरेको हुनु गरेको पर्नेछ । सहायक सूचना प्रविधिका लागि कम्प्युटर इन्जिनियरिङ्ग, कम्प्युटर साईन्स इन्जिनियरिङ्ग, हार्डवेयर इन्जिनियरिङ्ग वा इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ्ग विषयमा ३ वर्षे डिप्लोमा पास गरेको हुनुपर्ने छ । इच्छुकले भदौ २० गतेसम्म अनलाईनबा आवेदन दिन सक्ने जनाइएको छ । दोब्बोर दस्तुर तिरेर भदौ २७ गतेसम्म आवेदन दिने मौका रहने राष्ट्र बैंकले जनाएको छ । https://www.nrb.org.np/contents/uploads/2024/08/external-vacancy-2081.pdf?fbclid=IwY2xjawErvjtleHRuA2FlbQIxMAABHdag7wOoGfFyPTtFT0mHZ_jLIpaC3trBd8fM7uO7AL_A7XD09FFy5pFXuw_aem_wKkOV0y81DfCq-E5VbKFwA
विद्यार्थीलाई १५ करोडको छात्रवृत्ति दिँदै नेपाल इन्जिनियरिङ कलेज
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ करोड बढीको छात्रवृत्ति छुट्याएको बताइएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ करोड बढीको छात्रवृत्ति प्रदान गरिएको जानकारी दिइयो । चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समितिका अध्यक्ष जीवन खत्रीले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई १५ देखि १८ करोड रुपैयाँसम्म छात्रवृत्ति दिने गरेको जानकारी दिए । ‘पैसा नभएपनि इन्जिनियरिङ पढ्न भनेर नेपाल इन्जिनियरिङ कलेजमा आएका जेहेन्दार विद्यार्थीले पढ्न पाउँछन् ।’ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्तिहरू प्रदान गर्दै आएको बताउँदै अध्यक्ष खत्रीले भने । साथै, उनले योग्य विद्यार्थीहरू पैसाका अभावका कारणले नेपाल इन्जिनियरिङ कलेजमा पढ्न पाउँदैन भने त्यो विद्यार्थीलाई चाँगुनारायण नगरपालिकाले पढाउन जिम्मा लिने बताए विद्यार्थीहरूबाट उठेको शुल्क कलेज र विद्यार्थीकै वृत्ति विकासमा खर्च गर्ने भएकाले अन्य कलेजहरूको तुलनामा कम रहेको बताए । ‘यो कतै भागवण्डा हुँदैन, कसैलाई जाँदैन, यो राज्यको सम्पत्ति हो । तपाई हाम्रो सम्पत्ति हो ।’ अध्यक्ष खत्रीले स्वदेशमै गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्था हुँदाहुँदै लाखौं खर्च गरेर सानै उमेरका विदेशिनु गलत रहेको जिकीर गर्दै भने,‘प्लस टु पास हुने वित्तिकै विदेश जानु भन्दा पनि दक्ष भएर सीप सिकेर विश्वको जुनसुकै बजारमा प्रतिष्पर्धा गर्न सक्ने गरि जानुपर्छ ।’ कलेजले उत्पादन गरेका जनशक्ति विश्वमै प्रतिष्पर्धा गर्न सक्ने दाबी गरे। पोखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिसँगै कलेजले स्थानीय तह (वडा, नगरपालिका) छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्तिसमेत दिने अध्यक्ष खत्रीले जानकारी दिए । कलेजमा विद्यार्थी पढाउन चाँगुनारायण नगरपालिकाले समेत बजेट व्यवस्थापन गर्ने गरेको उनको भनाइ छ । उनले कलेजबाट अध्ययन गरेका विद्यार्थीहरू विश्वका धेरै ठूल्ठूला कम्पनी र कार्यालयहरूमा कार्यरत रहेको समेत दाबी गरे । नेपाल इन्जिनियरिङ कलेज स्थापनाकाल देखि नै सामुदायिक कलेजका रूपमा सञ्चालनमा रहेको पनि जनाए । कलेजका प्राचार्य सह प्राध्यापक दुर्गाप्रसाद भण्डारीले तत्कालिन चाँगुनारायण गाविसले कलेज सञ्चालनका लागि १७६ रोपनी जग्गा भोगचलनका लागि उपलब्ध गराएकोले कलेज चलाउन भाडा तिर्नुपर्ने अवस्था नरहेको र कलेज गैरनाफामुलक भएकोले पनि विद्यार्थीहरूलाई बढी छात्रवृत्ति दिइएको, शुल्क कम गरिएको बताए । पुल्चोक भन्दा प्राइम कलेज भएको भन्दै उनले कम शुल्क लिएर पनि कलेजले क्वालिटी एजुकेशन दिइरहेको दाबी गरे । ‘विद्यार्थीलाई चाहिने वातावरण, पूर्वाधार, ल्याब, अत्याधुनिक पुस्तकालय, पाठ्यक्रम र पाठ्यक्रममा नभएका सीप सिक्ने विषयहरू पनि हामीले दिएका छौं । पुल्चोक कलेजको विकल्पको रूपमा कलेज स्थापना भएको हो’, प्राचार्य भण्डारीले बताए । विश्वब्यापी रूपमा दक्ष जनशक्ति उत्पादन गर्न सोही अनुसार कलेजमा पाठ्यक्रमहरू रहेको, १२३ जना फुल टाइम फ्याकल्टी व्यवस्थापन गरिएको, अधिकतम प्रयोगात्मक शिक्षण विधि अपनाइने गरिएको प्राचार्य भण्डारीको जिकीर छ । सो क्रममा १२ पास गरेलगत्तै विद्यार्थीहरू विदेशिनु चिन्ताको विषय भएको भन्दै नेपालमै प्राविधिक शिक्षा अन्तर्राष्ट्रियस्तरको भइरहेका बेला पनि विद्यार्थीहरू उच्च शिक्षाका नाममा विदेशिनु सुखद नभएको उनको भनाइ छ । ‘विदेश पढ्न जानु गलत होइन । तर, अभिभावकको रेखदेख र संरक्षणमा हुर्किएको, हातमा कुनै सीप नभएको र आफ्नो भविष्यबारे ठीक ढंगले सोच्न सक्ने क्षमताको विकास भइसकेको हुँदैन,’ उनले भने, ‘त्यसमाथि नेपालीको आर्थिक अवस्थाका कारण सबै विदेश जाने विद्यार्थीहरू अभिभावककै खर्चमा पढ्न सक्दैनन् ।’ कलेजका सहायक प्राध्यापक यमकृष्ण पौडेलले पोखरा विश्वविद्यालयले केही समय अगाडि मात्रै पाठ्यक्रमहरू समय सापेक्ष संशोधन गरिसकेको बताउँदै कलेजले क्वालिटी एजुकेशनमा कुनै सम्झौता नगरेको बताए । ‘इन्जिनियरिङ विधाका सबै पाठ्यक्रमहरू विश्वव्यापी एकरुपता हुन्छ,’ उनले भने, ‘नेपालमै इन्जिनियरिङ गरेका विद्यार्थीहरू विश्वका धेरै देशहरूमा प्रतिष्ठित कम्पनी र क्षेत्रमा सफलतापूर्वक अगाडि बढिरहेको प्रशस्त उदाहरण छन् ।’ उनका अनुसार इन्जिनियरिङ विधाका विभिन्न विषयमा दशौं हजार दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । चाँगुनारायण नगरपालिका, भक्तपुरमा रहेको उक्त इन्जिनियरिङ कलेजमा हाल स्नातक तथा स्नातकोत्तर तहका विषयहरूमा अध्ययनरअध्यापन हुँदै आएको छ । कलेजले स्नातक तहतर्फ छ वटा विषय र स्नातकोत्तर तहतर्फ चारवटा विषय अध्ययन अध्यापन गराउँदै आएको छ । स्नातक तहमा सिभिल इन्जिनियरिङ (१४४ सिट), सिभिल एण्ड रुलर इन्जिनियरिङ (४८ सिट), कम्प्युटर इन्जिनियरिङ (९६ सिट), इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ ९४८सिट०, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा (४८ सिट), सिभिल फर डिप्लोमा होल्डर्स (४८ सिट) कलेजसँग छ । भने, बी. आर्किटेक्टमा ४८ सिट रहेको छ ।
२० करोड खर्चेर बन्यो म्याग्दीमा ८ वटा झोलुंगे पुल
म्याग्दी । आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुंगे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् । झोलुंगे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, गण्डकी प्रदेश सरकार, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा ती पुल निर्माण भएका हुन् । झोलुंगे पुल निर्माणका लागि सामुदायिक परिचालन र प्राविधिक सहयोग गर्दै आएको स्थानीय साझेदारी संस्था मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले २० करोडभन्दा बढीको लागतमा ती पुल निर्माण सकिएका र निर्माण भएका बताइन् । मालिका गाउँपालिका–६ को म्याग्दीखोलामा एक सय १४ मिटर, मङ्गला गाउँपालिका–५ पिपलबोटको म्याग्दीखोलामा ७३ मिटर, धवलागिरि गाउँपालिका–७ को म्याग्दीखोलामा एक सय एक मिटर, धवलागिरि–४ खोलाखर्कमा एक सय १२ मिटर, अन्नपूर्ण गाउँपालिकाको दोबिल्ला खोलामा ६० मिटर र ठूलोखोलामा ६४ मिटर लामो पुल निर्माण भएको हो । यसैगरी, गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले निर्माण गरेको कालीगण्डकी खोलामाथि भुरुङ तातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जाने एक सय २६ मिटर लामो झोलुंगे पुल निर्माण भएको हो । बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित म्याग्दीखोलामा निर्माणाधीन ४६ मिटर लामो पुलको ८५ प्रतिशत, रघुगङ्गा गाउँपालिका–८ को लामो खोसेरा खोलाको ३२ मिटर लामो पुलको ६५ प्रतिशत र मालिका–४ मा ७० मिटर लामो कुमालघारे खोला पुलको ३० प्रतिशत निर्माण सकिएको छ ।
भेरी करिडोर-राप्ती लोकमार्ग अवरुद्ध
काँक्रेविहार । भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोले विद्युत्का पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को बीचमा पर्ने पितिबाङ खोलामा गए रातिको वर्षाका कारण बहाव बढ्दा राप्ती लोकमार्ग अवरुद्ध भएको छ । बाटोमा केही समस्या नभएको र पानीको सतह घट्नेबित्तिकै राजमार्ग सञ्चालन छ । राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि दाङ जाने तथा त्यताबाट आउने सवारीसाधान तथा सदरमुकाम मुसिकोट आउने साना–ठूला सवारीसाधन पितिवाङ खोलामा रोकिएका छन् । यसैबीच, रुकुमपश्चिम खण्डमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । चौरजहारी मुसिकोट खण्डअन्तर्गत सानीभेरी गाउँपालिकाको चाइनाबगर र गिठागोटमा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पोखरलले जानकारी दिए ।