भक्तपुर क्यान्सर अस्पतालमा ‘मोबाइल एप’ सुरु
काठमाडौं । मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले सहजै रूपमा अनलाइनबाट अपोइन्टमेन्ट लिएर अस्पतालका सेवाहरू लिन सकिने मिदासले जनाएको छ । यस एपमार्फत स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले निःशुल्क अस्पतालको टिकट बुक गरी आफ्नो बीमा प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ । मिदासले विभिन्न अस्पतालका ओपीडी सेवाका लागि डाइनामिक क्यूआर भुक्तानीको विकास पनि गरेको छ । घरबाटै अनलाइन मेडिकल अपोइन्टमेन्ट लिन सकिने व्यवस्था भएकोले अस्पतालसम्म पुगेर लामो लाइनमा बस्नु पर्ने झन्झटबाट मुक्त बनाएको मिदासले जनाएको छ ।
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
काठमाडौं । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ । त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उल्र्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ । रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिए । बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् । बाढीबाट क्षति भएसँगै नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ । बाढीले प्रभावित बस्तीभन्दा केही तल रहेको पक्की पुलमा क्षति पुर्याएको छ । प्रभावित स्थान थ्री पास जाने मार्गमा रहेको पर्यटकीय क्षेत्र हो । त्यसक्षेत्रमा चौंरीपालन र होटल व्यवसाय हुँदै आएको छ । राष्ट्रियसभा सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले प्रभावित क्षेत्र नाम्चेबाट करिब सात किलोमिटरको दूरीमा ‘थ्री पास’ मार्गमा रहको बस्ती भएको जानकारी दिए ।
हुम्लामा आजदेखि एनटी फाइबर सेवा सुरू, ७७ जिल्लामा पुग्यो उच्च गतिको इन्टरनेट
काठमाडौं । हुम्लाको सिमीकोटबाट आजदेखि उच्च गतिको इन्टरनेट सेवा (फाइबर टू द होम–एफटिटिएच) प्रविधिबाट टेलिफोन तथा इन्टरनेटसहितको ‘एनटी फाइबर’ सेवा प्रारम्भ भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित कार्यक्रममा भर्चुअल माध्यमबाट सो सेवा शुभारम्भ गरेका हुन् । योसँगै नेपालका ७७ वटा जिल्लामा एफटिटिएचमार्फत इन्टरनेट सेवाको पहुँच पुगेको छ । भौगोलिक तथा पूर्वाधार विकासका हिसाबले दुर्गम मानिएको कर्णाली प्रदेशका १० दुर्गम जिल्लामध्ये हुम्लामा मात्रै एफटिटिएच सेवा सञ्चालन हुन बाँकी थियो । मन्त्री गुरुङले एफटिटिएचमार्फत इन्टरनेटको प्रारम्भसँगै देशलाई डिजिटलाइज बनाउने सरकारको उद्देश्यमा सघाउ पुगेको बताए । उनले आफू मन्त्री भएपछि सय दिनभित्र सम्पन्न गर्नुपर्ने कार्यसूचीअन्तर्गत हुम्लामा दु्रतगतिको इन्टरनेट सेवा प्रवाह गर्ने कार्य पूरा भएको जानकारी गराए। ‘मन्त्रालयको कार्यसूचीअनुसार हुम्लामा एफटिटिएच पुर्याउने लक्ष्य पूरा भएको छ । जनस्तरबाट बोल्दाबोल्दै फोन नसुनिने गुनासो आएपछि टावर राखेर सञ्चार अवरोध हटाउन मन्त्रालयले कार्ययोजना अघि सार्न थालेको हो । अब नेपालका ७७ जिल्लामा एफटिटिएचको पहुँच पुगेको छ,’ मन्त्री गुरुङले भने । मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको सबैभन्दा दुर्गम जिल्लामा दु्रतगतिको इन्टरनेट सेवा प्रवाह हुनुले डिजिटल विकासको राम्रो सङ्केत गरेको बताए । उनले यसको पहुँचलाई चुस्त र सहज बनाउन नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई सुझावसमेत दिए । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले थुप्रै चुनौतीको सामना गर्दै हुम्ला जस्तो भौगोलिक रूपले दुर्गम क्षेत्रमा टेलिकमले दु्रतगतिको इन्टरनेट सेवा प्रवाह गर्न सक्नु सरकारको महत्वपूर्ण उपलब्धि रहेको बताईन् । कार्यक्रममा भर्चुअल माध्यममार्फत टेलिकमका कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक उमेश साह, प्रादेशिक कार्यालय सुर्खेत प्रमुख सुस्मा गौतमलगायतले हुम्लामा इन्टरनेटको अवस्था र प्रगतिबारे जानकारी दिईन् । एफटिटिएच पहुँच पुगेसँगै हुम्लावासीले खुसी व्यक्त गरेको समेत उनी वेभ कन्फ्रेन्समा बताइन् ।
किसानको छोरा हुँ, मेरो रगतमा किसानको जिन छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपन्क्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिएका हुन् । सो मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुुदानमा रहेको छ । किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको थियो । प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने खालका खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुुक्त जग्गामा सामूूहिक खेती प्रणालीमा जान सुुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गरे । प्रधानमन्त्री ओलीले माछापालन, दूध उत्पादन, सुन्तला, काजुु, ल्याङ र मसलालगायत उपयुक्त खेतीका लागि कहाँ कहाँ के के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन निर्देशन दिए । ‘म कृषि विज्ञ होइन । किसानको छोरा हुँ । सानो हुँदा खेती गरिन्थ्यो, ठूलो भएपछि भ्याइएन तर मेरो रगतमा किसानको जिन छ । म बोट बिरुवालाई माया गर्छु । मलाई बोट बिरुवाले माया गर्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले बोट बिरुवालाई माया गरेका उनीहरु खुुसी भएर धेरै फल दिन्छन् ।’ उनले पशुुपन्क्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी तीन वर्षभित्र खोरेत रोग उन्मूलन गर्न, कालोबजारी रोक्न, अनुुदानको निरन्तरताभन्दा पनि लाभग्राहीले तिर्ने परिपाटीमा जान पनि सुुझाव दिए ।
लघु बीमकको रिपोर्ट : नाफामा ट्रष्ट अगाडि, लगानीमा क्रेष्ट आक्रामक
काठमाडौं ।गत आर्थिक वर्ष २०८०/०८१ लघु बीमा कम्पनीहरूले ३ कराेड बढी खुद नाफा आर्जन गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका ७ लघु बीमा कम्पनीहरुले गत आवमा ३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै ट्रष्ट माइक्रो इन्स्योरेन्सले खुद नाफा आर्जन गरेको छ । ट्रष्टले १ करोड ९ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्दा लिबर्टी माइक्रो लाइफले ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । क्रेष्ट माइक्रो लाइफले ४० लाख र नेपाल माइक्रोले २९ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा लघु बीमा कम्पनीहरुको बीमा कोषमा २० करोड ७६ लाख ५८ हजार रुपैयाँ रहेको छ । बीमा कोषमा सबैभन्दा धेरै नेपाल माइक्रोको रहेको छ । नेपाल माइक्रोको बीमा कोषमा ५ करोड ८५ लाख रुपैयाँ छ भने क्रेष्ट माइक्रो लाइफको ४ करोड ७१ लाख रुपैयाँ जीवन बीमा कोषमा रहेको तथ्यांकले देखाउँछ । यस्तै, प्रोटेक्टिभ माइक्रोको ३ करोड १६ लाख र ट्रष्ट माइक्रोको २ करोड ४४ लाख रुपैयाँ बीमा कोषमा रहेको छ । बीमाशुल्क संकलनमा भने सबैभन्दा अगाडि नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । नेपाल माइक्रोले १० करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा क्रेष्ट माइक्रो लाइफले ९ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रोटेक्टिभ माइक्रोले ९ करोड ४२ हजार र स्टार माइक्रोले ६ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेकाे छ । कम्पनीहरुले गर्ने लगानीमा भने क्रेष्ट माइक्रो अगाडि रहेको छ । लगानीमा आक्रामक बनेको क्रेष्टले ५४ करोड ३० लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । यस्तै, स्टार माइक्रोले ५३ करोड ५५ लाख, गार्डियन माइक्रोले ५२ करोड ७ लाख र लिबर्टीले ५१ करोड ७२ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । कम्पनीहरुले अघिकांश लगानी भने बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरेका छन् ।
नेशनल लाईफले गर्यो भवनको वास्तु पूजा
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको छ । वास्तु पुजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित वरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो । सो समारोहमा अध्यक्षले कम्पनीको यो भवन लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको र यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गरिने योजना रहेको बताए । पुजामा सहभागि वरिष्ठ अभिकर्ताहरुले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भवन निर्माणबाट यस क्षेत्रको बीमा व्यवसाय प्रवद्र्धन हुनेमा आफुहरु विश्वस्त रहेको बताएका थिए । ७२ अर्ब भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतीमा भवन निर्माण गरेको हो ।
ब्याज घट्दा लघुवित्तहरूको नाफामा अस्वाभाविक वृद्धि, अझै ३ लघुवित्त नोक्सानी बेहोर्दै
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा लघुवित्त वित्तीय संस्थाहरूले साढे ७ अर्ब रुपैयाँ मात्रै नाफा गरेका छन् । सार्वजनिक तथ्यांक अनुसार गत असारसम्म ५१ वटा लघुवित्त संस्थाहरूले ७ अर्ब ५९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष ८४.१८ प्रतिशत अर्थात् ३ अर्ब ४७ करोड २४ लाख रुपैयाँ बढी नाफा गरेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्त संस्थाहरूले ४ अर्ब १२ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेका थिए । गत वर्ष सबैभन्दा धेरै नाफा छिमेक लघुवित्तले गरेको छ । यस लघुवित्तको नाफा अघिल्लो वर्षको तुलनामा घटेको भएपनि गत वर्ष १ अर्ब ९ लाख रुपैयाँ आर्जन गरेको हाे । अघिल्लो वर्ष यस लघुवित्तले १ अर्ब ६ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्ष केही लघुवित्तको नाफा अस्वभाविक वृद्धि भएको देखिन्छ । गत वर्ष आशा लघुवित्तको नाफा ४० हजार ५ सय प्रतिशत वृद्धि भएर ६ करोड ८९ हजार रुपैयाँ आर्जन गरेको छ । जबकी अघिल्लो वर्ष यस लघुवित्तले १ लाख ४८ हजार रुपैयाँ मात्रै नाफा गरेको तथ्यांक छ । लघुवित्त संस्थाको मौज्दात, आम्दानी र तरलतामा परिवर्तनहरू भएको आशा लघुवित्तको व्यवस्थापकीय विश्लेषणमा उल्लेख छ । समिक्षा अवधिमा बाह्य क्षेत्रबाट लघुवित्त संस्थाप्रतिको विरोध जस्ता कारणले असुली प्रक्रियामा समस्या उत्पन्न भई कर्जा नोक्सानी व्यवस्थामा वृद्धि भएको जनाएको छ । अन्य बैंक वित्तीय संस्थाबाट लिइने बाह्य कर्जाको ब्याजदर घट्ने क्रम जारी भएकोले खर्च कटौती, तरलतामा टेवा पुगेको लघुवित्तको भनाइ छ । गुराँस लघुवित्तको १ हजार ७५५.७२ प्रतिशत बढेर २ करोड ५९ लाख रुपैयाँ, सम्पदा लघुवित्तको १ हजार ४४९.११ प्रतिशत बढेर ८ करोड ६० लाख रुपैयाँ, नेरुडे मिर्मिरे लघुवित्तको ६७२ प्रतिशत बढेर ४४ करोड ७० लाख रुपैयाँ, इन्फिनीटी लघुवित्तको ६०१.९३ प्रतिशत बढेर ६ करोड ५२ लाख रुपैयाँ, मातृभूमि लघुवित्तको ५८७.६२ प्रतिशत बढेर ७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । महिला लघुवित्तको ५३१ प्रतिशत बढेर ९ करोड ४ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्स लघुवित्तको ३६२.५९ प्रतिशत बढेर २१ करोड ९५ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको ३३१.९० प्रतिशत बढेर ५८ करोड १६ लाख रुपैयाँ, फरवार्ड लघुवित्तको ३०८.७२ प्रतिशत बढेर ३२ करोड १३ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको १९७.९९ प्रतिशत ५० करोड ६४ लाख रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको १७०.६६ प्रतिशत बढेर ९ करोड ८६ लाख रुपैयाँ नाफा गरेका हुन् । स्वाभिमान लघुवित्तको १४८.४१ प्रतिशत घटेर २ करोड २७ लाख रुपैयाँ, कालिका लघुवित्तको १३४ प्रतिशत बढेर ६ करोड ३१ लाख रुपैयाँ, स्वाबलम्बन लघुवित्तको १ सय प्रतिशत बढेर ५३ करोड ८२ लाख रुपैयाँ, सपोर्ट लघुवित्तको ७५ प्रतिशत बढेर २ करोड ३८ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तको ७३.७४ प्रतिशत बढेर १३ करोड २५ लाख रुपैयाँ, मिथिला लघुवित्तको ६०.८४ प्रतिशत बढेर ४ करोड ७५ लाख रुपैयाँ नाफा गरेका हुन् । नेशनल माइकोफाइनान्स लघुवित्तको ५७.८८ प्रतिशत बढेर ३४ करोड ९ लाख रुपैयाँ, महुली लघुवित्तको ५६.४६ प्रतिशत बढेर ६ करोड ९१ लाख रुपैयाँ, स्वस्तिक लघुवित्तको ४७ प्रतिशत बढेर ५१ लाख ४० हजार रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ४६.७९ प्रतिशत बढेर १४ करोड १६ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ४३.६६ प्रतिशत बढेर ५८ करोड २२ लाख रुपैयाँ, आरएसडीसी लघुवित्तको ३६.४६ प्रतिशत बढेर १४ करोड ६६ लाख रुपैयाँ, युनिक नेपाल लघुवित्तको २२.८८ प्रतिशत बढेर ४ करोड ७९ लाख रुपैयाँ र साना किसान लघुवित्तको २२.७८ प्रतिशत बढेर ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । सामुदायिक लघुवित्त, एनएमबि लघुवित्त र धौलागिरी लघुवित्त नोक्सानीमा छन् । सामुदायिक लघुवित्तको २ करोड ६८ लाख रुपैयाँ, एनएमबि लघुवित्तको ५ करोड ३३ लाख रुपैयाँ र धौलागिरी लघुवित्तको २ करोड ८४ लाख रुपैयाँ नोक्सानी बेहोरेका छन् । यी लघुवित्त अघिल्लो वर्ष पनि नोक्सानीमा थिए । गत वर्ष खराब कर्जा असुलि नहुँदा आम्दानीमा प्रभाव पारेकाले नाफा ऋणातमक हुन पुगेको लघुवित्तकर्मीहरू बताउँछन् । अघिल्लो वर्ष नोक्सानी बेहोरेका विभिन्न १० वटा लघुवित्तको नाफा धनात्मक भएको छ । जसमध्ये मानुषी लघुवित्तको १ करोड ९१ लाख रुपैयाँ, नाडेप लघुवित्तको १३ करोड १ लाख रुपैयाँ, ग्रामीण विकास लघुवित्तको १४ करोड ७३ लाख रुपैयाँ, गणपति लघुवित्तको २ करोड ९९ लाख रुपैयाँ, उन्नति सहकार्य लघुवित्तको १ करोड ४५ लाख रुपैयाँ, आरम्भ चौतारी लघुवित्तको ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा धनात्मक छ । यस्तै श्रृजनशील लघुवित्तले ३ करोड ४९ लाख रुपैयाँ, लक्ष्मी लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ, विन नेपाल लघुवित्तले १ करोड १३ लाख रुपैयाँ र जनउत्थान सामुदायिक लघुवित्तले १ करोड २१ लाख रुपैयाँ नाफा धनात्मक छ ।
साफ यू-२० च्याम्पियनसिप फुटबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा हुने
काठमाडौं । भदौ २ गते देखि सुरु हुने साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले गर्ने भएको छ । हालै एएफसी च्यालेन्ज लिग छनोटको चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच खेलको प्रत्यक्ष प्रसारण गरेको एक्सन स्पोर्टस् एचडी च्यानलले साफ यू–२० च्याम्पियनसिपका खेलहरु पनि प्रत्यक्ष प्रसारण गर्ने भएको हो । आइतबारदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका २० वर्षमुनिका युवाहरुको फुटबल प्रतियोगिता (साफ यू–२० च्याम्पियनसिप) मा नेपाली टोलीको चाहना उपाधि जित्ने हुनेछ । उमेर समूहको प्रतिस्पर्धा भए पनि नेपाली टोलीमा राष्ट्रिय टिमबाट र घरेलु लिगहरुमा खेलेको अनुभवी खेलाडी रहनु बलियो पक्ष रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन् । कप्तान कुशल देउवासँगै गोलकिपर जियारथ शेख, डिफेण्डर सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, मिडफिल्डर निनसाङ लिम्बु, अविनाश स्याङ्तान, लक्षु थापा, फरवार्ड हरिशराज भट्ट, अनिल बम्जन, समिर तामाङ र निराजन धामीले गत वर्ष साफ यु–१९ च्यामपियन समेत खेलेका थिए । कुशल, निराजन, अश्विन, हरिशले गत वर्ष नेपाल सुपर लिग पनि खेलेका थिए । फरवार्ड समिर तामाङले गत चैतमा विश्वकप छनोट अन्तर्गत बहराइनविरुद्धको खेलमा नेपालको सिनियर टोलीबाट डेब्यु गरेका थिए । समिरको सिनियर टिमको अनुभव काम लाग्ने कुशलले बताए । ‘त्यो हाम्रो लागि एडभान्टेज हुन्छ । एक्सपोजर पाएका खेलाडीहरु छन् र टिम कम्पोज्ड बनेको छ’, कुशलले भने । दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा छन् भने साविक विजेता भारत, भुटान र माल्दिभ्स समूह बी मा छन् । नेपालले १८ अगष्टमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले समूहको दोस्रो खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगिताका खेलहरु संयुक्त रुपमा दशरथ रंगशाला र सातदोबाटोको एन्फा टेक्निकल सेन्टर मैदानमा हुने कम्पनीले बताएको छ । । नेपाली टोली जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, बिक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लक्षु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी ।