देशभर ९८ प्रतिशत रोपाइँ सकियो
काठमाडौं । यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्ष साउनसम्म करिब ९० प्रतिशत मात्र रोपाइँ भएकामा चालु आर्थिक वर्षको साउनसम्म आठ प्रतिशतले बढेर रोपाइँ सम्पन्न भएको हो । यस वर्ष देशभर राम्रो वर्षा भएकाले पनि रोपाइँ पनि देशभर राम्रोसँग भएको जनाइएको छ । धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा शत प्रतिशत धान रोपाइँ गरिएको छ भने कोशी प्रदेशमा अन्य प्रदेशभन्दा कम ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्यांक छ । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत तथा मधेस प्रदेशमा सबैभन्दा कम ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा धान र चामल गरी २१ अर्ब ३४ करोडको आयात गरिएकामा आर्थिक वर्ष २०७९/८० मा ३५ अर्ब ९० करोडको आयात गरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा करिब रु १३ अर्बले आयात घटेको अभिलेख मन्त्रालयसँग छ । यस वर्ष करिब छ प्रतिशतले धानको उत्पादन वृद्धि हुने अनुमान गरिएकाले आयात थप घट्ने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए।
साढे ६ करोड खर्चेर बन्यो बौदिकाली गाउँपालिकाको भवन
नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को बौदिकाली गाउँपालिकाले करिब साढे ६ करोड लागतमा प्रशासकीय भवन निर्माण गरेको छ । पालिकाले बौदिकाली-२ डेढगाउँमा ६ करोड ३४ लाखको लागतमा तीन तले प्रशासकीय भवन निर्माण गरेको हो । आफ्नै प्रशासकीय भवन नहुँदा भाडामा बस्दै आएको पालिका यसैसाता नयाँ भवनमा सर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले बताए । ‘पालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरू नयाँ प्रशासकीय भवनबाट प्रदान गरिनेछ,’ उनले भने, ‘२८ कोठा रहेको भवनमा एउटा आवाससहित कृषि, पशु, पूर्वाधार, स्वास्थ्य, शिक्षा, पञ्जीकरण एवम् पालिकाको सम्पूर्ण शाखा रहनेछन् ।’ भाडाको घरबाट सेवा प्रवाह गर्दा कठिन भइरहेको अवस्थामा आफ्नै भवन निर्माण भएपछि सबै सेवा सहजरूपमा प्रवाह गर्न सकिने उनको भनाइ छ । विसं २०७९ वैशाखमा सम्झौता भएर कामाख्या बिएम जेभी नुवाकोटले निर्माण गरेको भवन म्याद अगावै सकेको गाउँपालिकाका सबइन्जिनियर विजय कँडेलले जानकारी दिए । करिब चार सय ७० वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रशासकीय भवनको सबै काम सकिएको जनाउँदै उनले विद्युत् जडान गर्नमात्रै बाँकी भएको बताए । विद्युत जडान गरेपछि भवनमा सर्ने तयारी गरिएको भए पनि निर्माण कम्पनीलाई एक करोड ५६ लाख रकम तिर्न बाँकी रहेको कँडेलले जानकारी दिए । पालिकाको प्रशासकीय भवन अपाङ्गतामैत्री हुनेगरी निर्माण गरिएको उनको भनाइ छ । ‘पालिकामा सबै प्रकारका सेवाग्राही सेवा लिन आउनुपर्ने हुन्छ,’ उनले भने, ‘प्रायः सार्वजनिक कार्यालय अपाङ्गतामैत्री नभइरहेको अवस्थामा हामीले निर्माण गरेको नयाँ भवन अपाङ्गतामैत्री छ, सबै सेवाग्राहीले सहजरुपमा सेवा प्राप्त गर्न सक्नुहुनेछ ।’ भवनमा विद्युत प्रवाह सहज बनाउन एक सय ५० केभीएको ट्रान्सफर्मरसमेत जडान गरिएको उनको भनाइ छ ।
भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा आकर्षित
भोजपुर । भोजपुरका किसान व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन् । मनग्य आम्दानी हुने भएपछि किसान औषधीजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन् । जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ । यहाँको आमचोक गाउँपालिका २ मा सात कृषक मिलेर व्यावसायिक रूपमा लोठसल्लाको खेती थालेका छन् । बसाइँसराइका कारण बाँझिदै गएको जमिनको सदुपयोग गर्ने लक्ष्यले करिव तीन सय रोपनी जमिनमा लोठसल्लाको व्यावसायिक खेती विस्तार गरेको कृषक सन्तोष चौलागाइँले बताए । हालसम्म १८ हजार बिरुवा रोप्ने काम सम्पन्न भएको उनले जानकारी दिए। भावी दिनमा यसलाई थप विस्तार गर्ने उद्देश्य रहेको उनको भनाइ छ । ‘सात जना कृषक मिलेर व्यावसायिक रुपमा तीन सय रोपनी जमिनमा लोठसल्ला खेती गरिरहेका छौँ’ उनले भने ,’हालसम्म १८ हजार बिरुवा विस्तार गरिसकेका छौँ । सुरुमा आफ्नै लगानीमा थालेको काममा राज्यको तर्फबाट पनि केही सहयोग पाउँदा खुसी लागेको छ ।’ किसानलाई जडीबुटी पकेट क्षेत्र निर्धारण गरेर आवश्यक सहयोग गर्दै आएको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए । भोजपुरमा लोठसल्ला, सतुवा, चिराईतोलगायत जडीबुटीको राम्रो सम्भावना रहेकोले यसको विस्तारमा जोड दिएको उनको भनाइ छ । ‘भोजपुरमा जडीबुटीको निकै राम्रो सम्भावाना छ’ उनले भने,’यहाँको सम्भावनाको पहिचान गरेर लोठसल्ला, सतुवा, चिराईतोको व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै आएका छौँ ।’ आमचोक क्षेत्रमा किसानहरुले उदाहरणीय रुपमा लोठसल्लाको खेती गरिरहेको कार्यालयको भनाइ छ । किसानले स्वतस्फूर्त थालेको काममा केही प्रोत्साहन गर्ने लक्ष्यले गत आर्थिक वर्षमा बिरुवा खरिदको लागि चार लाख पाँच हजार सहयोग गरेको वन कार्यालयका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । यहाँका किसानले थालेको लोठसल्ला खेती नमूनायोग्य रहेको उनको भनाइ छ । विशेष गरेर जिल्लामा भूगोल अनुसारको जडीबुटी खेतीमा जोड दिइएको कार्यालयको भनाइ छ । जैविक विविधतासँगै क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा यसको पात तथा डाँठको प्रयोग हुने विज्ञहरुको भनाइ छ । यसको पातलाई चियाको रुपमासमेत प्रयोग गर्न सकिने वन कार्यालयको जनाएको छ । लोठसल्ला खेतीको लागि भोजपुरको आमचोक गाउँपालिका, टेम्केमैयुङ १ तिम्मा, वडा नं ५ खावा, वडा नं ९ लेखर्क तथा जिल्लाको माथिल्लो क्षेत्रमा बढी सम्भावना रहेको डिभिजन वन कार्यालयका सहायक बन अधिकृत खुद्रुस मियाले बताए । लोठसल्ला खेतीको लागि समुन्द्री सतहबाट दुई हजारदेखी तीन हजार पाँच सय मिटरसम्मको उचाइ उपयुक्त हुने उनको भनाइ छ । लोठसल्ला बहुउपयोगी औषधीजन्य गुण भएको वनस्पति रहेकोले यसको खेती विस्तारमा जोड दिन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले बताए । किसानले जिल्लामा लोठसल्ला खेतीको लागि गरिरहेको काम नमूनायोग्य रहेको उनको भनाइ छ । यस्ता खालका कार्यक्रमले बाँझो तथा खाली जमिनको सदुपयोगसँगै किसानलाई आयआर्जनमा जोड्न टेवा पुग्ने प्रमुख थुलुङले बताए । ‘मैले पनि आमचोकमा भईरहेको लोठसल्ला खेतीको स्थलगत अनुगमन गरे’ प्रमुख थुलुङले भने,’किसानहरुले खेती विस्तारको लागि गरिरहेको काम उदाहरणीय छ । यसले बाँझो जमिनको सदुपयोगसँगै उनीहरूलाई आयआर्जनमा जोड्न टेवा पुग्ने देखिन्छ ।’
बाढीपछि नाम्चेभन्दा माथिको आवतजावत ठप्प
सोलुखुम्बु । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००/१०० मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ । सगरमाथा पदमार्गमा पर्ने एकमात्र पदमार्ग भोटेकोसीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको उनको भनाइ छ । थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोसी हुँदै दूधकोसी नदीमा मिसिएको छ । बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको स्थानीय ल्हाक्पा नुरु शेर्पाले बताए । उनले भने, ‘थामे यतिबेला तनावग्रस्त अवस्थामा छ, यहाँ बत्ती छैन फोन लाग्दैन, टिभी केही छैन सबै बाढीले बगायो, स्थानीयको ज्यानबाहेक सबै बाढीले बगायो, यहाँ असाध्यै गाह्रो छ । पर्यटकीय गाउँ सबै बगायो, देख्दै विरक्ता लाग्दो छ ।’ बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धारगरी आर्मीक्याम पछाडिको घरमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच घरपरिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोशी आसपासका क्षेत्र कटान गर्दा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पाकी मोटरेबल पुलमा सवारी सञ्चालन गर्न नमिल्नेगरी क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ । यसैबीच रक्षामन्त्री मानवीर राईसहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट पहिरोग्रस्त थामे गाउँ पुगेको छ । शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले बगाएको थामे गाउँको स्थलगत निरीक्षणका लागि काठमाडौँबाट रक्षामन्त्री राईसहित विपद् व्यवस्थापन समितिको टोली थामे पुगेको हो । निरीक्षण टोलीमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, नेपाली सेनाका कर्णेल, जिल्लाका सांसदलगायत रहेका छन् ।
अध्ययनका लागि क्यानडा जाने विद्यार्थीलाई दूतावासले दियो यस्ता सुझाव
काठमाडौं । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलार्य सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पु¥याएर तयारी गर्न अनुरोध गरेको छ । विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययनगरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ । आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त खोजीगरी बुझेर आउँदा कम समस्या व्यहोर्नुपर्ने उल्लेख गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भरगरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ । अध्ययनका लागि क्यानडा आउनु अघि पूर्वक्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू, पूर्वविद्यार्थी, विद्यार्थीका सोसल मिडिया नेटवर्क, सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली सङ्घलगायत नेपाली डायस्पोराका सङ्घसंस्थासँग आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका सम्भावना आदिबारे पर्याप्तमात्रामा बुझी जानकारी लिएर आउँदा सहज हुने दूतावासको सुझाव छ ।
बैंकिङबाट बिदा भए बज्राचार्य, भेट्रान बैंकरको ५२ वर्षे अनुभवको कहानी
काठमाडौं । नेपाली बैंकिङ क्षेत्रबाट एउटा अनुभवी र कुशल बैंकर बिदा भएका छन् । बैंकिङ क्षेत्रमा ५२ वर्ष लामो अनुभव हासिल गरेका बैंकर रत्नराज बज्राचार्य ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा अवकास भएसँगै उनी बैंकिङ क्षेत्रबाट पनि बाहिरिएका हुन् । उमेरको उत्तरार्धसम्म पनि बैंकिङमा सक्रिय उनले अब बैंकिङमा पुनः प्रवेश नगर्ने योजना बनाइएका छन् । नेपाल राष्ट्र बैंकमा पनि महत्वपूर्ण २० वर्ष काम गरेका बज्राचार्यको अनुभव, कार्यकुशलता र दक्षता सबै बैंकरका लागि अनुशरणयोग्य छ । कृृषि विकास बैंकको लेखापाल पदबाट बैंकिङ करिअर सुरु गरेका उनले केही महिना सो बैंकमा काम गरेर वि.सं २०२९ भदौ १ गतेबाट राष्ट्र बैंकमा सहायक तहको काम सुरु गरे । तलब थियो २४३ रुपैयाँ । उनी विस्तारै बढुवा हुँदै गए । उनले कामसँगै एमकमको पढाइ पनि सके । चार्टर्ड एकाउन्टेन्टको पढाइ पनि पास गरे । उनी २० वर्ष राष्ट्र बैंकमा काम गरेर बिदा भए । त्यो बीचमा उनले कन्सल्टेन्सी पनि स्थापना गरेर काम गरे । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको नेतृत्व पनि गरे । त्यहाँ पनि उनले सफल नेतृत्व गर्दै अन्यलाई अवसर दिए । २० वर्ष केन्द्रीय बैंकमा काम गरेका रत्नराजले केही समय आफ्नै कन्सल्टेन्सी चलाए । केन्द्रीय बैंकमा रहेर प्रभावकारी भूमिका निर्वाह गरेका उनी त्यसपछि निजी क्षेत्रको बैंकिङमा प्रवेश गरे । राष्ट्र बैंक छोडेको साढे एक दशकपछि उनी निजी क्षेत्रको तत्कालीन एनसीसी बैंकको सीईओ बने । ‘म एनसीसीमा जानुअघि राष्ट्र बैंकले टेकओभर गर्ने हल्ला थियो, म गएपछि बैंकभित्रको सबै समस्या हल गरें, कसैको दबाब र प्रभावमा नरहेर बैंकलाई एउटा लयमा ल्याएँ, राष्ट्र बैंक पनि कामबाट सन्तुष्ट भयो, लगानीकर्ता र सेवाग्राही पनि खुसी भए,’ उनले विगतको अनुभव सुनाउँदै भने । विभिन्न बैंकमा ४ पटक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिए । सबैमा ४ वर्षको कार्यकाल पूरा गर्नु, बैंकलाई थप उचाईमा पुर्याउनु, सञ्चालक समिति, कर्मचारी ग्राहक सबैलाई खुशी बनाउनु तर सोही संस्थामा कार्यकाल थप्न नमान्नु उनले छोडेको ट्रेन सेट हो । एनसीसी बैंकको सफल उडानपछि उनी ग्लोबल आइएमई बैंकमा नेतृत्व सम्हाल्न पुगे । त्यतिखेर राष्ट्र बैंकले मर्जरको नीति अघि सारेको थियो । उनै रत्नराजको रणनीति र योजनाले ग्लोबल आइएमई बैंक मर्जर तथा प्राप्तिमा आक्रामक बन्यो । ग्लोबलमा चार वर्षका कार्यकाल सकिएपछि उनी तत्कालीन सनराइज बैंकको सीईओ बने । सनराइजलाई पनि उनले एउटा उचाइ दिए । ‘म सनराइज बैंकको सीईओ बनेर जाँदा बैंकले खासै राम्रो बिजनेस गर्न सकेको थिएन, त्यो बेला बैंक हायर पर्चेज, निर्माण क्षेत्रमा केन्द्रित थियो, पछि विस्तारै बिजनेस बैंकिङ सुरु ग¥यौं, भूकम्पको प्रभाव रहेको बेला बैंकमा बिजनेस थिएन, त्यस्तो अवस्थामा पनि मैले सनराइजलाई बजारमा एक महत्वपूर्ण बैंकका रूपमा अगाडि बढाएँ, बजारमा सनराइज बैंकको हिस्सा बढ्दै गयो,’ उनले सनराइज बैंकमा हुँदाको काम स्मरण गरे । सनराइज बैंकमा पनि एक किसिमको सफलता हासिल गरेपछि उनी पुनः ग्लोबल आइएमई बैंकको नेतृत्व गरे । उनकै नेतृत्वमा ग्लोबल आइएमई बैंकले तत्कालीन बैंक अफ काठमाण्डूसँग मर्जर गर्न सफल भयो । अहिले ग्लोबल आइएमई बैंक निक्षेप, कर्जा, पुँजी, जगेडा कोष, ग्राहक, शाखा संख्या, सरकारलाई बढी राजस्व दाखिला गर्ने लगायत सूचकमा नम्बर वान बनेको छ । ग्लोबल आइएमई बैंकमा पनि कार्यकाल सकाएर उनी शुक्रबारबाट बैंकबाट बाहिरिएका छन् । उनको यो बहिर्गमन ग्लोबल आइएमई बैंकबाट मात्रै होइन बैंकिङ क्षेत्रबाट नै हो । सम्भवतः उनी अब बैंकिङ क्षेत्रमा पुनः फर्किने छैनन् । यसअघि विकासन्युजको बिएन पोडकाष्टमा उनले अब ग्लोबल बैंक नै आफ्नो जीवनको अन्तिम जागिर भएको बताएका थिए । बैंकिङ क्षेत्रमा उनले पाँच दशक लामो अनुभव मात्रै हाँसिल गरेका छैनन् । उनले हजारौं शिष्यहरू जन्माएका छन् । आफूमा भएको ज्ञान अनभुव, सिप र कार्यकुशलता सिकाएका छन् । एउटा असल व्यवस्थापकको छवि उनले बैंकिङ क्षेत्रमा छोडेका छन् । उनी भन्छन्, ‘व्यक्तिको इमानदारिता नै उसको सम्पत्ति हो, व्यवस्थापकले सही ढंगले कम्युनिकेसन गर्न सक्नुपर्छ, एउटा व्यवस्थापकमा आत्मविश्वास पनि चाहिन्छ ।’ ‘बोल्ड डिसिजन’ गर्न रुचाउने बज्राचार्य व्यवस्थापकसँग क्विक डिसिजन पावर हुनु पर्ने धारणा राख्छन् । ‘कुनै विषय डिसिजनका लागि तपाईंको टेबलमा आयो भने त्यसलाई भोलि हेर्छु भनेर पर्खिनु हुँदैन, भोलि नयाँ कुरा आउला, कसैले केही भन्ला भनेर धेरैले कामलाई पेन्डिङ राख्छन् । तर, त्यस्तो गर्नु हुँदैन,’ उनी भन्छन्, ‘आजको काम आजै गर्नुपर्छ ।’ उनले अहिलेसम्म जुन संस्थामा काम गरे, पुरा कार्यकाल गरे । बैंकिङमा एउटा ठाउँमा रहेको सीईओ अर्को बैंकमा राम्रो अवसर पाउने बित्तिकै बिचमै काम छोडेको अभ्यास प्रयाप्त भेटिन्छन् । तर, रत्नराजले त्यस्तो कहिल्यै गरेनन् । जति संस्थामा काम गरे, मिठो छाप छोडे । नेतृत्व गरेको बैंकलाई पनि एउटा उचाइमा पुर्याए । उनले दुई पटक नेतृत्व गरेको ग्लोबल आइएमई बैंकलाई पनि देशकै ठूलो बैंकका रुपमा स्थापित गरेर बाहिरिए ।
प्रिमियममा सेयर निष्कासन गरेका ४ सिमेन्ट कम्पनी : दुई नोक्सानमा, दुईको नाफा घट्यो
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म ४ वटा कम्पनीलाई प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेकै कारण पनि यी कम्पनीहरू निकै चर्चामा थिए । तर, गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण हेर्दा यी ४ कम्पनीकाे वित्तीय अवस्था भने कमजोर बन्दै गएको देखिन्छ । नेप्सेमा सूचीकृत शिवम् सिमेन्ट, घोराही सिमेन्ट, सर्वोत्तम सिमेन्ट र सोनापुर मिनरल्स आयल कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका छन् । वित्तीय विवरणअनुसार घोराही सिमेन्ट र सोनापुर मिनरल्स नोक्सानमा छन् भने सर्वोत्तम र शिवम्काे अघिल्लो आवको सोही अवधिको तुलनामा नाफा घटेकाे छ । सरकारले बजेटमार्फत करिब आधा दशकदेखि गरेको प्रयास स्वरूप ४ उत्पादनमूलक कम्पनी पब्लिक कम्पनी बनेका थिए । नेपाली सेयर बजारमा उत्पादनमूलक कम्पनीलाई प्रवेश गराउन भन्दै सरकारले उक्त निर्णय गरेको थियो । नोक्सानमा घोराही र सोनापुर मिनरल्स गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म घोराही सिमेन्ट १ अर्ब २१ करोड ८८ लाख ८४ हजार रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरणले देखाउँछ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ६ करोड ३१ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । घोराही सिमेन्टको प्रतिसेयर आम्दानी २६.६८ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २०७.९३ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ४३५ रुपैयाँमा सेयर निष्कासन गरेको थियो । त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयल चौथो त्रैमाससम्ममा ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ६२ लाख रुपैयाँ नाफा गरेको थियो । सोनापुरको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६३.२४ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम जोडेर प्रतिकित्ता २२५ रुपैयाँमा सेयर निष्कासन गरेको थियो । शिवम् र सर्वोत्तम सिमेन्टको नाफा घट्यो गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा शिवम् सिमेन्टको नाफा अघिल्लो आवको तुलानामा घटेको छ । कम्पनीको नाफा घटेर २५ करोड २ लाख २२ हजार रुपैयाँ छ । शिवम्ले अघिल्लो आवको सोही अवधिमा ५९ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ भने नेटवर्थ १८९.०२ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम जोडेर ३०० रुपैयाँमा सेयर निष्कासन गरेको थियो । त्यस्तै, असार मसान्तसम्म सर्वोत्तम सिमेन्टले १७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २१ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३.७५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम जोडेर प्रतिकित्ता ३६१.९१ रुपैयाँमा सेयर निष्कासन गरेको थियो ।
चार जिल्लामा १ अर्बकाे ८५ योजना सम्पन्न, दमकको भ्यु टावर निर्माणमा मात्रै डेढ अर्ब खर्च
भद्रपुर । सघन सहरी तथा भवन निर्माण आयोजना झापाको गत आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित १ अर्ब १८ करोड १६ लाखमध्ये ९९ करोड ६७ लाख १९ हजार रुपैयाँ खर्च भएको छ । आयोजनाको ८४.३५ प्रतिशत वित्तिय प्रगति र ९५ प्रतिशत भौतिक प्रगति भएको लेखा अधिकृत रामबाबु रिजालले जानकारी दिए । उनका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापा कार्यक्षेत्र रहेको आयोजनाका एक सय नौमध्ये ८५ वटा योजना सम्पन्न भएका छन् । ‘आयोजनाअन्तर्गत सघन सहरी विकास कार्यक्रम, भवन निर्माण संहिता, नयाँ सहर आयोजना, एकीकृत बस्ती विकास, एकीकृत स्वास्थ्य पूर्वाधार, कारागार व्यवस्थान विभाग, संघीय सहरी विकास, एकीकृत कार्यमूलक योजना र आवास व्यवस्था कार्यक्रमगरी नौ वटा योजना सञ्चालनमा छन्,’ उनले भने । भवन निर्माण संहिताअन्तर्गत गत आवमा दमकको भ्यूटावर एक अर्ब ४५ करोड ७४ लाख रुपैयाँमा सम्पन्न भएको छ । एकीकृत स्वास्थ्य पूर्वाधारअन्तर्गत गत आवमा नै पाँचथरको फिदिममा लुङरुपा आयुर्वेद औषधालय दुई करोड २४ लाख रुपैयाँको लागतमा सम्पन्न भएको छ । यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत ७ दशमलव ९ किलोमिटर सडक कालोपत्र, चार किमी ढलान, १० किमी ग्राभेल र १० किमी नाला निर्माण सम्पन्न भएको छ । त्यस्तै, आयआर्जन हुने पूवाधार निर्माणमा पशुपतिनगर बसपार्क, कन्याम उद्यानमा पर्खाल, महावीर उद्यान, पपोहाँग लावती स्मृतिपार्क, अन्तु पोखरी, कृषिउपज संकलन केन्द्रलगायत योजना निर्माणाधीन रहेका लेखा अधिकृत रिजालले जानकारी दिए ।