गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ स्टे’
म्याग्दी । पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली । पाखामा फुलेका रंगी बिरंगी फुल । तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट । वरपर देखिने थुम्का, थुम्की । चरनमा रमाइरहेका गाईभैसी, भेडाबाख्रा र घोडाका बथान । गाईबस्तुको घाँटीमा झुण्डीएका घाडोको एकनाशको आवाज । शीतल हावापानी । एकान्त वातावरण । छिन छिनमा फेरिरहने मौसम । घाम, पानी र बादलको लुकामारी । बिहानीपख सुर्योदय, साँझमा सुयास्त, पृष्ठभूमिमा लहरै रहेका सिस्ने देखि मनास्लु सम्मका हिमालहरुको मनमोहक दृष्य । बादल हट्दा देखिने निलो आकाश । समुन्द्रि सतहदेखि चार हजार १० मिटरको उचाइमा रहेको पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा पुग्दा कुनै चित्रकारले मेहनत गरेर बनाएको क्यानभास अवलोकन गरेझै आभास हुन्छ । काठमाडौका आशिस सिलवालले गर्पाछेडामा रहेका गोठालाहरुको जीवनशैली नियाल्दै प्रकृतिको सुन्दरतामा तीन दिन बिताए । ‘लोप हुँदै गएको घुम्ती गोठ र पशुपालन गर्ने परम्परागत चलनको अध्ययन गर्ने अवसर पाइयो,’ उनले भने ‘जता फर्केर हेरेपनि देखिने मनमोहक दृष्यले समय बितेको पत्तै भएन् ।’ यहाँबाट सिस्ने, पुथा, गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । ढोरपाटन शिकार आरक्षको पहाडी भूगोलको मनमोहक दृष्यका साथै बुकीको चरनमा रमाइरहेका भेडा, बाख्रा, घोडा, गाईभैसीका बथानहरु थप आकर्षण हुन् । शान्त वातावरण र चिसो हावापानीमा रमाउन पाइने गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट आएका रमेश क्षेत्रीले बताए। बादल, घाम र पानीको लुकामारीसँगै पाखाभरी रंगीबिरंगी फुलेका बुकीमा रमाउन पाउँदा उमंगको अनुभूति हुने उनले सुनाए। ढोरपाटनको पाखाथरदेखि तीन घण्टा उकालो हिडेपछि पुगिने गर्पाछेडा पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका र डोल्पाको सदुरमुकाम जाने परम्परागत पैदलमार्गमा पर्दछ । किसानहरुले बर्खा याममा पोषिलो घाँस खुवाउन गर्पाछेडा, टिकाडाडा, रासबन, दहखर्कमा घरपालुवा पशुचौपायाको गोठ लगेका छन् । पाहुनाका लागि ‘गोठ स्टे’ गर्पाछेडामा पुग्ने पाहुनाहरुका लागि ‘गोठस्टे’ सञ्चालन गरिएको छ । होटल र होमस्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठस्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरुलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ । ‘ब्लु सिप गोठ स्टे’का सञ्चालक सन्देश थापाले पाहुनाहरुलाई घुम्ती टहरा र गोठमा खाजा, खाना खुवाउने र बास बस्ने व्यवस्था मिलाएको बताए । ‘नाउर र झारलको बथान अवलोकन गर्न सकिने भएकाले गर्पाछेडाको ‘गोठ स्टे’लाई ब्लु सीप नामाकरण गरिएको हो,’ उनले भने ‘जंगली जनावर, पंक्षी, पहाडी भूगोल, वनजंगल, हिमाल, सुर्योदय र सुर्यास्तको मनमोहक दृष्यका साथै गोठालाहरुको जीवनशैली र दैनिकी अवलोकन गर्न पाउने यहाँको आकर्षण हो ।’ गाईभैसीको दूध, दहि, मोही, घ्यु, भेडा, बाख्राको मासु, निगालोको टुसा, रातो च्याउको तरकारी, ढिडो, आटो पकाएर पाहुनालाई खुवाउने गरेको थापाले बताए। छुट्टै बस्नेहरुका लागि टेन्ट पनि राखिएको छ । बर्खामा बुकीमा गोठ लगेको समयमा मात्र त्यहाँ गोठ स्टे सञ्चालन हुन्छ । चिसो बढेपछि गोठ वेसीतर्फ झर्छन । प्रतिव्यक्ति दुई हजार शूल्कमा २ छाक खाना, २ छाक खाजा र सुत्न पाइन्छ । शुक्रबार, शनिबार र बिदाका दिन १४÷१५ जनासम्म पाहुना आउने गोठ स्टे अन्य दिन पनि खाली हुदैन् । गोठ स्टेमा २० जनाको क्षमता छ । ढोरपाटन पर्यटन विकास संस्थाका सचिव जीवनकुमार पुनले गर्पाछेडामा खानेपानी, सार्वजनिक शौचालय र सञ्चार सुविधाका लागि स्थानीय तह, शिकार आरक्ष र प्रदेश सरकारसँग पहल गरिएको बताए । ढोरपाटन आउने पर्यटकको बसाई लम्बाउने गर्पाछेडा, किटिनी डाडा, जलजलालाई नयाँ गन्तव्यको रुपमा विकास गरेको उनले बताए।
आठ वर्षको अवधिमा चितुवाको आक्रमणबाट १४ बालबालिकाले ज्यान गुमाए
डुम्रे । पछिल्लो समय जिल्लामा मानव वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुबाट मानिसका बालबालिकालाई जोगाउन समस्या हुँदै गएको हो । विगत आठ वर्षयता जिल्लामा १४ बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालयले जनाएको छ । गत असार १२ गते आफ्नै बारीमा घाँस काट्दै गोका म्याग्दे गाउँपालिका–२ का मानबहादुर गर्जा मगरलाई चितुवाले आक्रमण गरी ज्यान लिएको वन कार्यालयका सहायक डिभिजन वन अधिकृत नवीन विश्वकर्माले जानकारी दिए। पछिल्लो आठ वर्षको तथ्यांकअनुसार जिल्लामा चितुवाको मानवमाथिको आक्रमण वृद्धि हुँदै छ । विसं २०७९ भदौमा व्यास नगरपालिका–११ राति डिल्लीमाया गुरुङ र शंकर गुरुङलाई घरको डिढीमा चितुवाले आक्रमण गरी घाइते बनाएकामा छोरा शंकरको ज्यान गयो । सोही वर्षको कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ का चन्द्रबहादुर घर्तीको छोरी डिना चेपाङलाई घरको आँगनमा खेलिरहेको बेला आत्रलमण गरी ज्यान गएको विश्वकर्माले जानकारी दिए। सोही वर्षको कात्तिक १५ गते व्यास–१२ छिर्कनका चित्रबहादुर कुँवर थापाको नाति सात वर्षीय अभिनव कुँवर, जेठ २९ गते बन्दीपुर–१ का भिमलाल गरौजा पिढीँमा सुतिरहेको अवस्थामा चितुवाको आक्रमणबाट घाइते भएका थिए। घाइते गरौजाको उपचारको क्रममा मृत्यु भएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माले बताए । साथै २०७८ असोजमा बन्दीपुर–५ बाहुनभञ्ज्याङका आठ वर्षीया बालिका सुप्रिती थापाको चितुवाको आक्रमणबाट ज्यान गएको थियो । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार विसं २०७७ साउनमा शुक्लागण्डकी नगरपालिका–२ का नारन राना, २०७६ माघमा बन्दीपुर–४ का ११ वर्षीय ईसाक परियार, सोही वर्षको पुसमा आँबुखैरेनी गाउँपालिका–१ का आठ वर्षीय पुजन सिञ्जाली र शुक्लागण्डकी–३ का एक वर्ष नौ महिनाका बालक रविन नेपालीको चितुवाको आक्रमणबाट ज्यान गएको थियो । सहायक डिभिजन वन अधिकृत विश्वकर्माका अनुसार २०७६ कात्तिकमा भानु नगरपालिका–२ का ऋतिक रोका, असोजमा भानु–१ का कुशल बानियाँ, जेठमा भानु–२ का आठ वर्षीया बालिका पुष्पा अधिकारी, २०७५ मङ्सिरमा भानु–२ का १० वर्षीय अमृत गुरुङ, कात्तिकमा भानु–४ का चार वर्षीया रञ्जिता लम्साल र २०७४ फागुनमा भानु–२ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाले ज्यान लिएको थियो । विसं २०७९ असारमा बन्दीपुर–१ प्युघरका प्रेमबहादुर बगाले मगरको पाँच वर्षीय छोरा सुप्रिम थापा चिुतवाको आक्रमणबाट घाइते भएका थिए । विश्वकर्माले जिल्लामा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्न थालेको बताए। उनले भने, ‘करिब आठ वर्षयत चितुवाको आक्रमणबाट मात्रै १४ बालबालिकाले ज्यान गुमाएको डिभिजन वनको तथ्यांकमा उल्लेख छ । भालु, बाँदरको आक्रमण पनि बढ्दै गएको छ ।’ सहायक डिभिजन वन अधिकृत विश्वकर्माका अनुसार २०८० जेठ ४ मा व्यास–८ का गोरे विकले भालुलाई धपाउने क्रममा आक्रमणमा परी घाइते भएका थिए । भालु, बाँदर र चितुवाको आक्रमणबाट १७ जना घाइते भएका घाइते भएका डिभिजन वन कार्यालयले जनाएको छ । ‘कानुनी रुपमा मानवसँगै हरेक प्राणीको बाँच्न पाउने अधिकार हुन्छ । वन्यजन्तुको बासस्थान र आहाराको अभावले मानवमाथिको आक्रमण बढ्दै गएको हो’, उनले भने । वन्यजन्तुका लागि वनजङ्गलमा पर्याप्त आहार नहुनु र बासस्थानको नजिक मानव बस्ती बस्दै जानुले मानव वन्यजन्तुको द्वन्द्व बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माको बुझाइ छ । यसको न्यूनीकरणका लागि डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन, कवुलियती वन, राष्ट्रिय वनका सरोकार भएकासँग वन्यजन्तुलाई आवश्यक आहार संरक्षण तथा वृक्षारोपण गर्न प्रोत्साहन गरिरहेको उनले बताए । चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई एक्लै नछाड्न र घर वरपर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ । ‘विगतमा चितुवाको आक्रमण अत्यधिक भएको समयमा क्यामरा ट्रयापिङमार्फत अवलोकन गरिएको थियो । उक्त समयमा भानुका जङ्गलमा चितुवा बाहेक अन्य वन्यजन्तु देखिएका थिएनन् । आहार, बासस्थान र पानीको खोजीमा मानव बस्ती पसेपछि मानवमाथि आक्रमण गर्न थालेका हुन्’, सहायक डिभिजन वन अधिकृत विश्वकर्माले भने । विगतको तुलनामा अहिले मानव वन्यजन्तुको द्वन्द्वमा कमी आएको उनले जानकारी दिए । वनजङ्गल नजिक बस्ती उचित नहुने भन्दै अव्यवस्थित मानव बस्ती बढ्नाले वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माले बताए। यसको न्यूनीकरणका लागि मानव सचेत हुनुपर्नेमा उनले जोड दिए । ‘वन्यजन्तुको आहार, पानी, बासस्थानको व्यवस्था र संरक्षणका विषयमा मानव सचेत भई वन्यजन्तुको आहारलाई मानवले उपयोग नगर्ने हो भने समस्या समाधान हुँदै जानेछ’, उनले भने । रासस
चीनको युवा बेरोजगारी दर बढ्यो
बेइजिङ । चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको आधिकारिक तथ्यांकले देखाएको छ जुन यस वर्षकै सबैभन्दा उच्च हो । राष्ट्रिय तथ्याङ् विभागको तथ्यांक अनुसार १६-२४ वर्ष उमेर समूहका मानिसहरूको बेरोजगारी दर जुन महिनामा १३.२ प्रतिशत रहेको थियो । युवाहरूमा बढ्दो बेरोजगारी विश्वको अर्थतन्त्रले सामना गरिरहेको अवरोधहरू मध्ये एउटा हो । एनबीएसले सार्वजनिक गरेको तथ्यांक अनुसार देशमा २५/२९ वर्ष उमेरका युवामा बेरोजगारी दर अघिल्लो महिना ६.४ प्रतिशतबाट बढेर जुलाईमा ६.५ प्रतिशत पुगेको छ । यसै सन्दर्भमा राष्ट्रपति सी जिनपिङले मे महिनामा बढ्दो युवा बेरोजगारीको अवस्थालाई ‘शीर्ष प्राथमिकता’ राखेर अगाडि बढ्नुपर्ने बताएका छन् । जुन महिनामा ११.८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेसँगै रोजगार बजारमा अझै प्रतिस्पर्धा बढेको छ ।
साउनमा बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा रु ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख बराबर राजस्व उठेको हो । चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत बराबर हो । एक महिनामा चालुतर्फ १२ अर्ब ३८ करोड २२ लाख अर्थात् वार्षिक लक्ष्यको एक दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ आठ अर्ब ५५ करोड ४८ लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४३ प्रतिशत बराबर छ । त्यस्तै, पुँजीगततर्फ वार्षिक लक्ष्यको पाँच दशमलव २५ प्रतिशत अर्थात् १९ अर्ब २७ करोड छ लाख बराबर खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य छ । कर राजस्व रु १२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व रु एक खर्ब ३५ अर्ब र वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख बराबर उठाउने लक्ष्य छ । चालु आर्थिक वर्षको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन । साउन महिनाको कुल संकलित राजस्वमध्ये कर राजस्व रु ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व १७ अर्ब ३३ करोड छ ।
अलैँची र सुन्तला उत्पादन बढाउन सुपर जोन कार्यक्रम
सङ्खुवासभा । कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले छ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ । सङ्खुवासभा र भोजपुर दुई जिल्ला समेटेर अलैँची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाइ कार्यान्वयन गरिएको हो । उक्त परियोजनाअन्तर्गत सङ्खुवासभाका १० र भोजपुरका छ स्थानीय तहमा कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए । अलैँची सुपर जोनतर्फ २३ सय १३ हेक्टरमा र सुन्तला सुपर जोनतर्फ छ सय ८७ हेक्टरमा कार्यक्रम लागू गरिएको उनले बताए। सुपर जोन क्षेत्रमा अलैँची र सुन्तला उत्पादन बढाउन यो वर्ष सिँचाइ पूर्वाधार र सुधारिएको आधुनिक अलैँची भट्टी निर्माण कार्यक्रम राखिएको परियोजना एकाइ प्रमुख गुरुङले उल्लेख गरे । परियोजनाका लागि चालु आर्थिक वर्षमा पूँजीगततर्फ २० लाख र चालुतर्फ चार करोड ४७ हजार बजेट विनियोजन गरिएको उनले जानकारी दिए । परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले चालु आवमा सिँचाइ पूर्वाधार, सुधारिएको आधुनिक भट्टी निर्माण र जडान कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको एकाइ प्रमुख गुरुङले बताए । सिँचाइ पूर्वाधार निर्माण गर्न ७० लाख, सुधारिएको आधुनिक भट्टी निर्माण र जडानमा ४६ लाख, अलैँची बाली प्राथमिक प्रशोधन उद्योग स्थापना गर्न २५ लाख, सुन्तलाको भण्डारण गर्न मिनी चिस्यान केन्द्र स्थापना कार्यक्रमका लागि रु २१ लाख र सुन्तला बालीको क्षेत्र विस्तारमा रु २१ लाख विनियोजन गरिएको उनले जानकारी दिए। चालु आवमा अन्य २४ कार्यक्रमसमेत पारित भएका छन् । अलैँची सुपर जोन कार्यक्रम सङ्खुवासभाका १० स्थानीय तहअन्तर्गत ३२ वडा र भोजपुरका छ स्थानीय तहअन्तर्गत ३० वडामा सञ्चालन गरिएको मा छ । प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन एकाइले अलैँची, सुन्तला, धान, मकै, गँहु, आलु, सागसब्जी र माछालगायत कृषि क्षेत्रमा किसानलाई सहयोग पुर्याउँदै आएको छ ।
उद्योगमन्त्रीले गरे हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन
मकवानपुर । उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न संघीय सरकारले गृहकार्य गरिरहेको बताएका छन् । हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका बारेमा संघीय सरकारलाई अवगत रहेको बताए। उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिँदै उनले संघीय सरकारले चरणबद्ध रुपमा गृहकार्य गरिरहेको बताए । हेसिउली उद्योग व्यवस्थापन समितिले पनि उद्योगमा अनावश्यक खर्च कटौती गरी उद्योगको प्रतिइकाई लागत न्यूनीकरण गरी प्रतिस्पर्धात्मक बजारमा उपस्थित हुनुपर्ने मन्त्री भण्डारीले जोड दिए । समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगका पुराना प्रविधिका मेशिनरी हटाएर नयाँ प्रविधिका मेशिन जडान गरी आफ्नो उत्पादनलाई उपभोक्तामा लैजानुपर्ने बताए । अध्यक्ष भण्डारीले हेटौंडा सिमेन्ट उद्योगको उत्पादनको साख उपभोक्ता माझ कायमै रहेकाले उद्योगलाई कुनै पनि हालतमा निरन्तर सञ्चालनमा ल्याउन सरकारको सहयोगको अपेक्षा रहेको बताए। उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले हेटौंडा सिमेन्ट उद्योग चरम आर्थिक संकटका कारण पटकपटक बन्द गर्नुपरिरहेको बताउँदै उत्पादनलाई थप वृद्धि गर्न पुराना प्रविधिका मेशिनबाट काम लिन नसकिने अवस्था रहेकाले नयाँ प्रविधिका मेशिन जडान गर्न सरकारले सहयोग गर्नुपर्ने मन्त्री भण्डारीसमक्ष माग गरे । मन्त्री भण्डारीले आजै हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेटौंडा कपडा उद्योगको पनि वर्तमान अवस्थाका बारेमा निरीक्षण गरेका छन् । कपडा उद्योग सञ्चालनको ‘मोडालिटि’बारे सरकारले गृहकार्य गरिरहेको जानकारी दिंदै मन्त्री उनले कपडा उद्योग सञ्चालनमा आउँदा एक हजार युवाले रोजगार पाउने बताए । हेटौंडा उपमहानगरपालिका–१४ मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको पनि मन्त्री भण्डारीले आज नै अवलोकन गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका कारण मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गर्न वन मन्त्रालयले अवरोध गरिरहेको छ । मन्त्री भण्डारीले वन मन्त्रालयसँग समन्वय गरी छिट्टै मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य अघि बढाउने जानकारी दिए। हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापक संगीता कुँवर, हेसिउली व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले मयुरधाप औद्योगिक क्षेत्रको हालसम्मको प्रगतिका बारेमा जानकारी गराएका थिए । आजै मन्त्री भण्डारीले मकवानपुर उद्योग वाणिज्य सङ्घमा उद्योगी तथा व्यवसायीसँग वर्तमान समसामयिक समस्याका बारेमा छलफल गरेका छन् । उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि नगरपालिकाका विभिन्न शीर्षकका करका दर एक सय ५३ प्रतिशतसम्म बढाएर उद्योगी व्यवसायीलाई दुःख दिएको सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले मन्त्री भण्डारीसमक्ष गुनासो राखे ।
भारतले रुससँग किन्यो पौने ३ अर्ब डलरको कच्चा तेल
काठमाडौं । भारत आफ्नो कच्चा तेलको आवश्यकता परिपूर्तिका लागि आयातमा निर्भर छ । उसले आफ्नो आवश्यकताको ८० प्रतिशत आयात गर्छ । कच्चा तेल खरिद गर्ने हिसाबले भारत तेस्रो ठूलो देश हो। भारतले सबैभन्दा बढी तेल रुसबाट खरिद गरेको छ । विश्वको तेस्रो ठूलो तेल उपभोक्ता तथा आयातकर्ता भारतले जुलाईमा रुसबाट २ अर्ब ८० करोड अमेरिकी डलरको कच्चा तेल खरिद गरेको छ । रुसबाट तेल आयात गर्नेमा भारत चीनपछि दोस्रो स्थानमा छ । एक रिपोर्टका अनुसार रुसमा भारत कच्चा तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ताको रूपमा उभिएको छ। यो तेल रिफाइनरीहरूमा पेट्रोल, डिजेल जस्ता इन्धनमा परिणत हुन्छ । फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेपछि केही युरोपेली देशहरूले रुसबाट खरिद नगरेपछि रुसी तेल छुटमा उपलब्ध भएको थियो। युक्रेन युद्धअघि रुसबाट कच्चा तेल आयात कुल आयातित तेलको एक प्रतिशतभन्दा कम थियो। यो अहिले भारतको कुल तेल खरिदको करिब ४० प्रतिशत हो। सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए) ले एक प्रतिवेदनमा चीनले रुसको कच्चा तेल निर्यातको ४७ प्रतिशत, भारत ३७ प्रतिशत, युरोपेली संघ ७ प्रतिशत र टर्कीले ६ प्रतिशत खरिद गरेको उल्लेख छ । तेल मात्र होइन, चीन र भारतले रुसबाट कोइला पनि किनेका छन् । प्रतिवेदन अनुसार ५ डिसेम्बर २०२२ देखि जुलाई २०२४ को अन्त्यसम्म चीनले रुसको कुल कोइला निर्यातको ४५ प्रतिशत किनेको छ । त्यसपछि भारत १८ प्रतिशत, टर्की १० प्रतिशत, दक्षिण कोरिया १० प्रतिशत र ताइवानले ५ प्रतिशतले खरिद गरेका छन् । एजेन्सी
पातीचौर-लप्सीबोट सडक अवरुद्ध, स्थानीयलाई सास्ती
पर्वत । प्रसिद्ध पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने सडक विगत एक महिनाअघिदेखि अवरुद्ध बनेको छ । जिल्लाको मोदी गाउँपालिकाका देउपुर, देउराली र भुकताङ्ले गरी तीन वडालाई मध्यपहाडी लोकमार्गसँगसंग जोड्ने पातीचौर– लप्सीबोट सडक अझै खुल्न नसकेको हो । गत असार २६ गतेको भिषण वर्षाका कारण सडक खण्डअन्तर्गत मोदीको वडा नं २ कोरूङ्गामा गएको ठूलो पहिरो पन्छ्याउन नसक्दा उक्त क्षेत्रका बासिन्दा सास्ती खेप्न बाध्य भएका छन् । झण्डै दुई किलोमिटर पक्की सडक पहिरोले पुरिनुका साथै संरचनासमेत भत्किएको स्थानीय भूमिराज शर्माले जानकारी दिए। यो सडक खण्डअन्तर्गत जरुवा, पानी खोल्सा, कोरूङ्गा लगायतका स्थान पहिरोले पुरिएको छन् भने कतै बाढीले सडक नै बगाएको उनले बताए । एक महिनाभन्दा बढी समय भइसक्दा पनि सो सडक खुलाउने कुनै प्रयास हुन सकेको छैन । सडक सञ्चालनका लागि गाउँपालिकाले समेत बेवास्ता गरेको स्थानीयको गुनासो छ । लामो समय सडक अवरुद्ध हुँदा यात्रुलाई निकै सास्ती हुनुका साथै अत्यावश्यक सामान ढुवानीमा समस्या भएको वडा नं १ भुकताङ्लेका वडाध्यक्ष टेकबहादुर गुरुङले बताए । सडककै कारण भुकताङ्ले र लप्सीवोटमा सञ्चालित दुई दर्जन बढी घरबास ९होमस्टे०समेत सुनसान बनेका छन् । यहाँबाट हम्पाल, मोहोरेडाँडा, नागी, लगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटकलाई समेत समस्या भएको उनको भनाइ छ । उक्त क्षेत्रमा सञ्चालन हुने दर्जनौं सवारी साधन महिनादिनदेखि कोरुङ्गामा थन्किएका छन् । त्यहाँबाट झण्डै दुई किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता स्थानीयको छ । सडक अवरुद्ध हुँदा सवारी साधनको अभावमा बिरामीलाई समयमै स्वास्थ्य संस्थामा पुर्याउनसमेत नसकिएको स्थानीय सन्तोष तिमिल्सिनाले बताए । उनका अनुसार गाउँमा एम्बुलेन्स जाने अवस्था छैन । सिकिस्त बिरामी, गर्भवती र सुत्केरीलाई डोकोमा बोकेर अस्पताल लैजानुपरेको तिमिल्सिनाले बताए । दैनिक कार्यालय तथा विद्यालय जाने कर्मचारी र शिक्षकले पनि उस्तै सास्ती व्यहोरेका छन् । आफ्ना सवारी साधन पातिचौरमा थन्क्याएर उकालो हिँड्नुपरेको उनीहरुको गुनासो छ । पहिरोले क्षतिग्रस्त भएको सडक तत्काल सञ्चालन गर्न कठिन भएको वडा नं २ का वडाध्यक्ष बेलबहादुर कार्कीले बताए । अध्यक्ष कार्कीका अनुसार वैकल्पिक मार्गको रूपमा बेतेनी–गौडा–राहाले सडक स्तरोन्नति गरी सञ्चालनमा ल्याउने प्रयास थालिएको छ । उक्त वैकल्पिक सडक निकै चिप्लो र हिलो भएका कारण सवारी साधन सञ्चालनमा समस्या आउने सवारी चालकहरुले बताएका छन् । ‘वैकल्पिक सडकबाट सवारी साधन लिएर आउँछन्, तर सडक पार गर्न निकै कठिन हुने गरेको छ, कति त फर्किएर जान्छन्,’ स्थानीय मिठु चापागाईंले भने । स्थानीय राजेश गिरीले करिब डेढ किलोमिटरको सडक दुई चार ठाउँमा सामान्य मर्मत गरी नियमित गाडी चल्नसक्ने अवस्था हुँदाहुँदै पनि बेवास्ता गरिएको गुनासो गरे । वैकल्पिक मार्गलाई पक्की सडकका रूपमा स्तरोन्नति गर्नसके बर्खाको समयमा यात्रुले सास्ती झेल्न नपर्ने उनले बताए। थोरै लगानीमा धेरै काम दिने छोटो दुरीको सडक निर्माणमा स्थानीय, प्रदेश र केन्द्र सरकारले लगानी गर्नुपर्ने उनहरुको माग छ । कमजोर भूधरातलका कारण उक्त सडकमा वर्षेनी समस्या आउने गरेको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताए । अवरुद्ध सडक खुलाउनका लागि तत्काल प्रयास गरिने उनको भनाइ छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत विगत पाँच वर्षअघि कालोपत्र गरिएको उक्त सडक खण्ड वर्षेनी आउने पहिरोका कारण जीर्ण बनेको छ । उक्त कार्यालयसँगको परामर्शमा सडक मर्मत थालिने अध्यक्ष शर्माले बताए ।