आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु : रवि लामिछाने
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए । ‘आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो,’ उनले भने, ‘त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रूपमा हेरेको छु ।’ सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए । उनले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए । ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको उनको भनाइ थियो । ‘मैले त्यहाँ हेरेर, जानेर र बुझेरै काम गरेको थिएँ । छोडेर गएको डेढ वर्षपछि विभिन्न अनुसन्धानबाट जानकारी आएपछि मात्र थाहा भएको कुरा हो । त्यतिखेर थाहा भएको कुरा होइन । त्यतिखेरै आएको भए त्यतिखेरै थाहा हुन्थ्यो । कतिपय कुरा जतिखेर उजागर हुन्छ त्यतिखेरै हेरिन्छ,’ सभापति लामिछानेले भने, ‘उजागर नहुँदा त्यसबारेमा थाहा नहुनु स्वभाविक हो ।’ सभापति लामिछानेले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले लगाएको आरोपबारे समयले बताउँदै जाने उल्लेख गरे ।
जनतामा छाएको निराशालाई अन्त्य गर्न जरुरी छ : मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् । शनिबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न कर्मचारीले जिम्मेवार ढंगले कार्यसम्पादन गर्नुपर्छ भने । ‘ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको अधिकतम सदुपयोग गरेर मुलुकले राखेको आर्थिक विकासको लक्ष्य प्राप्ति पूरा गर्न सकिन्छ, यसका लागि कार्यक्षेत्रमा खटिने कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ,’ उनले भने । मन्त्री खड्काले मन्त्रालयभित्र एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुने प्रक्रिया स्वभाविक भएकाले आफ्नो दायित्व निर्वाह गर्नेगरी नतिजामुखी काम गर्नुपर्ने बताए । उनले भने, ‘जनतामा छाएको निराशालाई चिर्न जरुरी छ ।’ उनले विगतमा भएका पूर्वाधार निर्माणलाई पूरा गर्ने काममा जुट्नुपर्ने बेला आएको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने गरी कर्मचारीले काम गर्नुपर्ने बताए । उनले आयोजनाको टेण्डर प्रक्रियालाई चाँडो टुङ्याएर अगाडि बढे तोकेभन्दा चाँडो काम सम्पन्न हुने उल्लेख गरे । ऊर्जासचिव गोपालप्रसाद सिग्देलले विद्युत् उत्पादन हुनसक्ने सिँचाइका आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नतर्फ लाग्नुपर्ने बताए । उनले स्थानीय सरकार र प्रदेश सरकारबाट नदी दोहन हुने तर संरक्षण नहुँदा ठूलो विपद्का घटना घटेको बताए । जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले बजेटको सुनिश्चितता भएमा समयमा नै आयोजना सम्पन्न हुने बताए । उनले किसानको खेतमा पानी नपुगे लक्ष्य हासिल नहुने भएकाले लक्ष्य प्राप्तिका लागि काम गर्नुपर्ने बताए । उनले राष्ट्रिय गौरवका आयोजनालाई आफ्नो प्रगति विवरण १५÷१५ दिनमा बुझाउन निर्देशन दिए । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले उत्पादकत्व बढाउनका लागि राष्ट्रिय गौरवका आयोजनालाई तीव्र गतिमा सम्पन्न गर्नुपर्ने बताए । उनले आयोजना निर्माणमा देखिएका समस्या समाधानमा विभागले काम गर्ने उल्लेख गरे ।
एनआरएनए अमेरिकाले बनायो नागरिकता आयोग
टेक्सास । गैरआवासीय नेपाली संघ अमेरिकाले नागरिकता आयोग २०२४ गठन गरेको छ । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनको पक्षमा पैरवी गर्न संघका अध्यक्ष डा. अर्जुन बञ्जाडेको अध्यक्षतामा नागरिकता आयोग गरिएको प्रवक्ता राजन पन्तले बताए । गैरआवासीय नेपाली संघ अमेरिकाद्वारा गठन गरिएको नागरिकता आयोगका सदस्यमा क्रमशः डा. अम्बिका अधिकारी, पूर्ण अधिकारी, डा. रुद्र अर्याल, दिक्षा बस्नेत, हरिबोल भण्डारी, आनन्द विष्ट, खगेन्द्र जीसी, रतन झा, गौरीराज जोशी, डा श्याम कार्की, प्रल्हाद केसी, तिलक केसी, डा. विष्णुमाया परियार, डा दामोदर पौडेल, डा केशव पौडेल, डा. आमोद पोखरेल, शिव राई, सुनील साह, डा. पुरु श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, तारा सिग्देल, बुद्धी सुवेदी, मोहन थापा, सञ्जय थापा, रविना थापा, सुमन तिम्सिना तथा सदस्य सचिवमा गोपेन्द्र भट्टराई रहेको संघले जनाएको छ । नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरे पनि आवश्यक ऐन कानून निर्माण नगर्दा गैरआवासीय नेपालीहरुले नेपाल सरकारका सेवा लिनका लागि निकै झन्झट व्यहोर्नुपरिरहेको छ । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र आवश्यक ऐन कानुन निर्माणका लागि रचनात्मक दबाव र वकालत गर्न आवश्यक देखिएकाले नागरिकता आयोग गठन गरिएको प्रवक्ता पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्दै गैरआवासीय नेपालीहरूले विगत लामो समयदेखि नेपाली नागरिकताको निरन्तरता खोजिरहेका छन् । लामो समयदेखिको दबाबका कारण नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भए पनि आवश्यक ऐन कानुन निर्माण हुन नसक्दा गैरआवासीय नेपाली नागरिकता पूर्णरूपमा कार्यान्वयनमा आउन सकिरहेको छैन । एनआरएनए गैरआवासीय नेपालीहरुको प्रतिनिधिमूलक संस्था भएकाले गैरआवासीय नेपाली नागरिकताका लागि पूर्ण कार्यान्वयनको पक्षमा वकालत गर्ने निर्णय गरिएको गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. बञ्जाडेले बताए ।
इच्छाकामनाको स्याङ्दी खोलामा झोलुंगे पुल निर्माण
भरतपुर । चितवनको स्याङ्दी खोलामा झोलुंगे पुल निर्माण भएको छ । इच्छाकामना गाउँपालिका-७ स्थित सिमलढाप र बाघखोर जोड्ने स्याङ्दी खोलामा झोलुंगे पुल निर्माण गरिएको हो । पुलको शुक्रबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरे । सो अवसरमा उनले पुल निर्माणपछि बर्खाको समयमा बाढीका कारण आवतजावत गर्न नपाउने अवस्थाको अन्त्य भएको बताए । ‘पुल निर्माणपछि यहाँका नागरिक अब निकै लाभान्वित हुनेछन्,’ उनले भने, ‘धेरै वर्षअघि निर्माण हुनुपर्ने पुल हाम्रो कार्याकालमा निर्माण भएको छ ।’ उनले पुल निर्माणपछि वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा आवतजावत गर्नका लागि यहाँका बासिन्दालाई सहज हुने बताए । अध्यक्ष गुरुङले समयमै पुल निर्माण सम्पन्न गर्न खटिने उपभोक्ता समिति र स्थानीयलाई धन्यवाद दिए । पालिकाले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको भन्दै उनले यस वर्ष पनि सबै योजना समयमै निर्माण सम्पन्न गरिने बताए । उनले गाउँघरमा भएका विकास निर्माणका काममा अनुगमन र खबरदारी गरिरहन स्थानीयलाई अनुरोध गरे । पुल निर्माणपछि सिमलढाप, पिपलटार, बाघखोर, लोसे, स्याङ्दी, सुन्दरबस्ती र गर्दासका नागरिक लाभान्वित भएका छन् । एक सय २० मिटर लामो पुल गाउँपालिका र पीटीएपी बागमती प्रदेशको लगानीमा निर्माण भएको हो । पुल निर्माणका लागि एक करोड ६ लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । उनका अनुसार पुल निर्माणमा श्रमदानसहित उपभोक्ता समितिको ५५ लाख रुपैयाँ लागत परेको छ । प्राविधिक र निर्माण सामग्री गाउँपालिकाले उपभोक्ता समितिलाई उपलब्ध गराएको बस्नेतले बताए । विसं २०८० माघ ११ गते निर्माण सम्झौता भएर २०८१ असार मसान्तभित्र निर्धारित समयमै पुल निर्माण सम्पन्न भएको उनले जानकारी दिए । बर्खाको समय र केही प्राविधिक कारणले उद्घाटनमा ढिलाइ भएको उनले बताए । यसवर्ष पनि स्याङ्दी खोलाको संरक्षणका लागि बजेट विनियोजन भएको बस्नेतले जानकारी दिए । यस क्षेत्रमा आदिवासी गुरुङ, तामाङ लगायतका समुदायको बाहुल्यता छ । गाउँपालिकाको समथर भूभाग भएको वडा भएका कारण पनि यहाँ आएर बसोबास गर्नेक्रम बढ्दो छ । गाउँपालिका उपाध्यक्ष माया सिलवालले पुलको भरपुर सदुपयोग र संरक्षणका लागि नियमित निगरानी गरिराख्न स्थानीयलाई अनुरोध गरे । उनले निर्वाचनका क्रममा जनतासँग गरेका बाचा क्रमशः पूरा हुने चरणमा रहेको भन्दै नागरिकका आवश्यकताका आधारमा काम गरिरहेको बताए । गाउँपालिकामा पहिलोपटक सस्पेन्डेड पुल निर्माण गरिएको पालिकाका सबइञ्जिनियर भरत गुरुङले जानकारी दिए । उनले पुलको नियमित मर्मत र रेखदेखका लागि हेरालु राखिने बताए । पुल निर्माण भएपछि स्थानिय बासिन्दा खुसी भएका छन् । दैनिक खोला तरेर स्कुल जाने गरेका सन्देश चेपाङ पुल निर्माण भएपछि उत्साहित भएको बताए । उनले बर्खाको समयमा पुल नहुँदा धेरैपटक स्कुल जान नपाएको भन्दै अब भने नियमित स्कुल जान पाइने हुँदा पढाइमा सहजता हुने बताए ।
एक महिनामा साढे ३ अर्बको स्मार्टफोन आयात
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना नेपालले कुल १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा १ खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार गत साउनमा नेपालले १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको मात्रै निर्यात गरेको हो । विभागका अनुसार गत आर्थिक वर्षको सोहि अवधिको तुलना चालु आवको पहिलो महिनामा आयात ०.६७ प्रतिशतले घटेको छ भने निर्यात ९.६३ प्रतिशतले घटेको छ । गत साउन महिनामा नेपालले भारतसँग मात्र ७० अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ । चालु आवको पहिलो महिना भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको आयात हुँदा ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको निर्यात भएको हो । नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुकसँग यस अवधिको व्यापार घाटा २४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबर छ । गत साउनमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा १५ करोड ७६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको हो । कतार, युक्रेन, अस्ट्रेलिया, बहराईन, मलेसियालगायतका मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ । चालु आवको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरुमध्ये १३ मुलुकसँग भने व्यापार नाफा छ । सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग १८ करोड ३४ लाख ६६ हजार बराबर व्यापार नाफा देखिएको हो । अफगानिस्तान, बेल्जियम, रुस, मौसिरसलगायत मुलुकसँग व्यापार नाफा देखिएको छ । नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन् । गत एक महिनामा मात्र नेपालले ६ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, ५ अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र ४ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । त्यस्तै, साउनमा ३ अर्ब ४६ करोड ६३ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालले बढी निर्यात गरेका वस्तुहरूमा भने कार्पेट, चिया, स्टील, धागोलगायत छन् । गत साउनमा नेपालले १ अर्ब ११ करोड ७५ लाख बराबरको कार्पेट निर्यात गरेको छ ।
हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु, ५ हजार बढीलाई संक्रमण
काठमाडौं । बर्खायाम लागेसँगै डेंगी र हैजा रोगको संक्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी रोगको संक्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी रोगको संक्रमण देखिएको बताए । ७५ जिल्लामा ५ हजार १ सय १९ जनामा डेंगी रोगको संक्रमणा देखिएको छ । यसवर्ष हालसम्म तीन जना डेंगी रोगको संक्रमणको कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ । काठमाडौं जिल्लामा ४ सय २१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा डेंगी संक्रमण देखिएको छ । वर्षाको बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको संक्रमण बढेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तगा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेंगी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ६७ जना पुगेका छन् । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले ललितपुर, काठमाडौं, प्यूठान, मकवानपुर र कैलाली हैजाका बिरामी भेटिएको बताए । उनका अनुसार ललितपुरमा ४७ काठमाडौँमा नौ, कैलालीमा आठ, प्यूठान दुई, मकवानपुर एक जनामा हैजा पुष्टि भएको छ । हैजा अति संक्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।
तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतीय मन्त्री खड्से काठमाडौंमा
काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आइपुगेकी छन् । शुक्रबार मर्स्याङ्दी नदीमा दुर्घटना भएको बस दुर्घटनाका घाइतेहरू भेट्न उनी काठमाडौं आएकी हुन् । अहिले उनी घाइतेहरू उपचाररत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छिन् । उनी घाइतेहरूलाई भेटेर मृतकका शव लिएर फर्किनेछिन् । मन्त्री खड्सेलाई प्रधानमन्त्री नरेन्द्र मोदीले घाइतेहरूको अवस्था बुझ्न र मृतकहरूको शव लिन भनेर पठाएका हुन् । यसअघि हिजो पोखराबाट काठमाडौं आउने क्रममा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा बस दुर्घटना भएको थियो । त्यहाँ सवारमध्ये २७ जना भारतीय नागरिकको मृत्यु भइसकेको छ ।
विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैन : मन्त्री भट्टराई
भरतपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन् । शनिबार बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन् । ‘विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो,’ उनले भनिन्, ‘हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।’ विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको उल्लेख गर्दै उनले भनिन्, ‘गुण्डागर्दी र अपराधिकरण चरित्र हो । त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो । यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुनु हुँदैन ।’ मन्त्री भट्टराई नवलपुरमा हुने कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी हुन् ।