कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल जाने
पोर्चुगल । पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल जाने भएको छ । कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा दिन दूतावासको टोली यही अगष्ट २९ मा पोर्चुगल जान लागेको दूतावासले जनाएको छ । प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई लिस्बनबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए । पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी हाल देखा परेको समस्यालाई मध्यनजर गरी परराष्ट्र मन्त्रालयसँगको समन्वयमा टोली पठाउने तयारी गरिएको राजदूत भट्टराईले बताए । टोलीले कन्सुलर विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र ९प्रहरी रिपोर्ट०, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्तालगायतका कागजात प्रमाणीकरणका साथै अन्य कन्सुलर सेवा प्रदान गर्ने उनले बताए । राजदूत भट्टराईका अनुसार घुम्ती सेवाका लागि दूतावासका दुई जना कर्मचारी पोर्चुगल आउने तय भएको छ भने टोलीले करिब एक सातासम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने बताइएको छ । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको लिस्बनस्थित कार्यालयबाट प्रवाह गरिने घुम्ती सेवा सेप्टेम्बर ३ तारिखसम्म सञ्चालन हुने दूतावासले जनाएको छ । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको समन्वय र सहजीकरणमा घुम्ती सेवा सञ्चालन गर्न लागिएको हो । टोली आउने भएपछि यहाँको आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड) का लागि बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरु बढी लाभान्वित हुने भएका छन् । दुई साताअघि मात्रै राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले राजधानी लिस्बनमा राहदानी सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गरी तीन हजार आठ सयभन्दा बढी नेपालीलाई राहदानी सेवा दिएको थियो ।
मौरी जोनले चितवनका कृषक उत्साहित
नारायणगढ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरले चितवनलाई मौरी जोनका रुपमा विकास गरेसँगै यहाँका मौरीपालक किसान थप उत्साहित भएका छन् । जोन कार्यक्रममार्फत किसानलाई मौरीको घार, मह काढ्ने मेसिन, मैन बाक्सालगायतका सामग्री प्रदान हुँदा किसानलाई ऊर्जा थप्ने काम भएको छ । खैरहनी नगरपालिका–४ की सरस्वती गिरी विगत पाँच वर्षदेखि मौरीपालन पेसामा छन् । उनले ५० वटा घारबाट मौरीपालन सुरु गरेकी थिइन् । ‘व्यवसायकै क्रममा चरनमा लैजाने क्रममा मौरीलाई विष प्रयोग गरी मारियो, कुनै समय ९० वटा घार बनाएकी थिएँ तर अहिले २५ वटामा सीमित छ,’ उनले भनिन्, ‘घार अझै थप गर्ने योजनामा छु ।’ उनले मौरी जोन कार्यक्रमले आफूमा उत्साह थपेको बताइन् । भरतपुर महानगरपालिका–११ का दामोदर देवकोटा विगत १२ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका छन् । उनी मौरी जोनमा जोडिएपछि थप उत्साह मिलेको बताउँछन् । उनले भने, ‘पहिला एक सय घार मौरी थिए, अहिले यो बढाएर एक सय ३५ घार पुर्याएको छु ।’ मौरी जोनमा जोडिएका कृषकलाई हरेक वर्ष कुनै न कुनै कार्यक्रम जोड्ने हुँदा आफूहरूमा उत्साह थपिएको देवकोटाले बताए । स्थानीयस्तरमा उत्पादित महको मूल्य र भारतबाट आयातित महको मूल्यमा अन्तर रहेकाले बजारीकरणमा केही समस्या देखिए पनि प्राविधिक विषयमा जोन कार्यक्रमको सहयोगले सहज भएको उनको भनाइ छ । बजारमा यहाँको उत्पादन उधारोमा पठाउनुपर्ने बाध्यता रहेको देवकोटाले बताए । जोन कार्यक्रममा जिल्लाका एक सय २७ जना कृषक सहभागी छन् । जिल्लामा आर्थिक वर्ष २०७५÷७६ वटा मौरी जोनको कार्यक्रम सुरु भएको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुंगानाले भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाका किसान यो कार्यक्रममा जोडिएको बताए । ढुंगानाका अनुसार जोन कार्यक्रमको सुरुआती समयमा जिल्लामा ६ हजार तीन सय ५० मौरीका घार रहेकामा अहिले यो सङ्ख्या बढेर ११ हजार नौ सय पुगेको छ । जिल्लाबाट वार्षिक चार सय ४७ मेट्रिकटन मह बाहिर पठाउने गरिएको उनले बताए । महको राष्ट्रिय प्रतिघार उत्पादन १६ दशमलव २६ किलो भए पनि जिल्लामा भने उत्पादन बढी हुने गरेको ढुंगानाले जानकारी दिए । उनका अनुसार जिल्लामा प्रतिघार २५ दशमलव ६ किलो मह उत्पादन हुँदै आएको छ । उनले भने, ‘जोन कार्यक्रममा जोडिएका किसानलाई हामीले सहयोग गर्दै आएका छौँ । उहाँहरूमा उत्साह बढेको छ ।’ यहाँ उत्पादित महको मुख्य बजार चितवनसहित बुटवल, काठमाडौं र पोखरालगायत सहर रहेका छन् । यहाँ मेरीफेरा र सेरेना जातको मौरी पालन भइरहेको छ । जोनबाट वार्षिक तीन सय चार दशमलव ६४ मेट्रिकटन मह उत्पादन हुँदै आएको ढुंगानाले जानकारी दिए ।
जुम्लामा उच्च घनत्वको स्याउखेती बढ्दो
जुम्ला । जुम्लामा उच्च घनत्वको स्याउको व्यावसायिक खेती बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले गुठीचौर गाउँपालिका–३ मा रहेको चार हेक्टर क्षेत्रफलमा विस्तार भएको हिमाली टि एण्ड एन रिर्सच प्रालि र गुठीचौर–५ मा पाँच हेक्टर क्षेत्रफलमा रहेको गुठीचौर एग्रो फर्मलाई आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती परियोजना कार्यान्वयन इकाइ जुम्लाका निमित्त वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए । जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती भएको हो । चक्लाबन्दी मोडेलमा उच्च घनत्वको स्याउको क्षेत्र विस्तार गरी यन्त्रमैत्री गह्रासुधार, थोपा सिँचाइ तथा घेराबारमा परियोजनाबाट सहयोग गरी थप नौ हेक्टर क्षेत्रफलमा गुठीचौरमा उच्च घनत्वकोे स्याउ बगैँचा स्थापना भएको शाहीको भनाइ छ । जुम्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व जातको फुजी स्याउखेती हुने गरेको छ । यहाँका आठवटै स्थानीय तहमा चक्लाबन्दीमा आधारित खेतीमार्फत यहाँका किसानको उत्पादन वृद्धिका लागि सहयोग गर्दै आएको परियोजनाले जनाएको छ । ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिन यहाँका आठ वटा स्थानीय तहमा दुई लाख ५३ हजार एक सय हेक्टरको कूल क्षेत्रफलमध्ये ३८ हजार चार सय ८६ हेक्टर खेतीयोग्य जमिनको क्षेत्रफल रहेको छ । उक्त हेक्टरमध्ये हाल २६ हजार चार सय ३५ हेक्टर क्षेत्रफलमा खेती गरिएको शाहीले जानकारी दिए । सिञ्चित क्षेत्रफल तीन हजार छ सय ५० हेक्टर जमिन छ । असिञ्चित पाखो २२ हजार सात सय ८५ हेक्टर छ । एक लाख चार हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा वजजङ्गलले ढाकेको उनले बताए । यहाँको चरन क्षेत्रले ढाकेको ६६ हजार दुई सय १० हेक्टर क्षेत्रफल र ताल, खोला चट्टान अन्य क्षेत्रले ढाकेको क्षेत्रफल ४३ हजार ८३४ हेक्टर रहेको छ ।
अण्डाको माग बढेपछि मूल्य पनि बढाइयो
चितवन । भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरूले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरुले आफैं मूल्य निर्धारण गर्ने गरेका छन् । पोखरेलका अनुसार आजदेखि बिक्री मूल्य बढाइएको छ । दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय पाँच तय गरेको छ । ठूलो अण्डा ४९५ र मध्यम अण्डाको मूल्य ४२५ तोकिएको हो । हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले आफ्नो फर्मले पनि अण्डाको मूल्य बढाएको बताए । उनले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच, ठूलो र मध्यमको १० ले बढाइएको बताए । सबै फार्महरूले मूल्य बढाएको उनले जानकारी दिए । लामिछानेले भने ,’मूल्य बढ्दा पनि लागत मूल्यमा पुग्न अझै सकिएको छैन ।’ अण्डा उत्पादक कृषकहरू नेपाल लेयर्स कुखुरा पालक सङ्घ गठन गरेर बजारीकरणमा जुटेका छन् । सङ्घका अध्यक्ष समेत रहेका पोखरेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसानहरू फेरि व्यवसायमा फर्किएको बताए । साउनमा बिक्री हुन बाँकी अण्डाहरू बिक्री भइसकेकाले अब केही सहज बन्ने पोखरेलको भनाइ छ । खिलुङ काली पोल्ट्री फार्मका सञ्चालक भेषराज अर्यालले भदौ लागेसँगै व्रतहरु सकिएको, पहाडी क्षेत्रका केही भागका सडकमा केही सुधार आएको, चाडपर्व सुरु भएको, विद्यालय, क्याम्पस सञ्चालनमा आएका, पर्यटकको आगमन बढेकाले अण्डाको माग बढेको बताए । उद्योग सङ्घ चितवनका पूर्वअध्यक्ष पोल्ट्री व्यवसायी त्रिलोचन कँडेलले माग बढेको तर उत्पादन घटेको बताए । झण्डै दुई महिना अघि २५ देखि २६ लाख दैनिक अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ देखि २४ लाखमा झरेको उनले जानकारी दिए । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा १६ दशमलव ५६ कायम गरेका थिए ।
आर्थिक वर्षको सुरुमै अर्थतन्त्रमा धक्का, प्रधानमन्त्री र अर्थमन्त्री हचुवाको भरमा बोलेको प्रष्ट
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थतन्त्र सुधार भएको दाबी गरे । नेकपा एमाले निकट व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आएसँगै अर्थतन्त्र पनि सुधारको बाटोमा गएको धारणा राखे । उनले कार्यक्रममा यति पनि भन्न भ्याए कि अब उद्योगी व्यवसायीले समस्या भोग्नुपर्दैन, यो सरकार हामीले नै चलाइरहेका छौं ठान्नुहोस् । उनले अहिलेको संसदले सबैभन्दा बलियो सरकार निर्माण गरेको दाबी गर्दै निजी क्षेत्रले विगतको जस्तो समस्याहरू भोग्न नपर्ने धारणा राखे । अर्थतन्त्र थप सुधारका लागि खपत बढाउनुपर्ने उनको भनाइ थियो । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिनिधिसभाको बैठकमा अर्थतन्त्र सुधार भएको दाबी गरे । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘वर्तमान सरकार गठनपश्चात् छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजा देखिन थालेको छ, उद्योगी व्यवसायीमा आशा पलाएको छ ।’ उनले संसदमा गत आवको तुलनामा यस वर्षको साउनमा राजस्व परिचालन र पुँजीगत खर्चमा पनि वृद्धि भएको दाबी गरे । उनले संसदमा भने, ‘घरजग्गा कारोबार क्रमशः सुधार हुँदै गएको छ । पुँजी बजारमा उल्लेखनीय सुधार आएको छ । अर्थतन्त्रको बाह्य चक्र सुविधाजनक अवस्थामा छ भने लगानी गर्न निजी क्षेत्रको मनोवल उत्साहित देखिएको मैले पाएको छु, समग्रमा अर्थतन्त्र सुधार भएको छ ।’ ओलीले अर्थतन्त्र सुधार भएको भनेको एकदिन र अर्थमन्त्री पौडेले सुधार भएको भनेकै दिन देशको अर्थतन्त्रको चित्र सार्वजनिक भएको छ । अर्थात् देशको व्यापारको तथ्यांक सार्वजनिक भएको छ । जसले आयात निर्यात मात्रै होइन, देशको समग्र व्यापार व्यवसाय कस्तो छ भन्ने सन्देश प्रवाह गर्छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार आयात ०.६७ प्रतिशत र निर्यात ९.६३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउन महिनामा कुल १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँबराबरको आयात भएकोमा यस वर्षको साउनमा कुल १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपैयाँको आयात भएको छ । यस्तै, गत आवको साउनमा कुल १३ अर्ब ५२ करोड ८६लाख ५६हजार रुपैयाँको निर्यात भएकोमा यो आवको साउनमा १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । यो अवधिमा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख ७४ हजार रुपैयाँ व्यापार घाटा देखिएको छ । कुल वैदेशिक व्यापार १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख ६८ हजार रुपैयाँ रहेको छ । वैदेशिक व्यापार पनि १.५२ प्रतिशतले घटेके छ । कुल व्यापारमा निर्यातको हिस्सा ८.७० प्रतिशत र आयातको हिस्सा ९१.३० प्रतिशत छ ।
हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो
काठमाडौं । धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने ठाउँमा हिमपहिरोले थुनिएको बाक्सीखोला तीन घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले जानकारी दिए । ‘आज दिउँसो करिब १ः३० बजेतिर खसेको पहिरो थुप्रिएर बोक्सी खोला थुनिदा दुई तिहाई पानीको मात्रा घटेको थियो, दिउँसो ४ः३० बजेपछि खोलामा पानीको मात्रा बढेको छ । हाल तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका छौँ,’ उनले भने । खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको अध्यक्ष गौचनले बताए । बोक्सी खोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ । आसपासमा बस्ती नभए पनि बेनी-जोमसोम सडक बोक्सी खोलामा पर्दछ । गाउँपालिका अध्यक्ष गौचन, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीसहित सुरक्षाकर्मीको टोलीले पहिरो खसेको ठाउँको निरीक्षणसमेत गरिएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तले तलाउ नदेखिएकाले जोखिम कम हुने अनुमान गरे पनि हिउँ पूरै नपग्लीदाँसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको बताए । यसअघि विस २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिराले १५० भन्दा बढी चौरीगाई मरेका थिए । पछिल्लो पहिराबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गोरखा मिडिया नेटवर्कले लिएको ऋणको जिम्मा लिन्नँ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कले सहकारीबाट लिएको ऋणको जिम्मा आफूले नलिने बताएका छन् । शुक्रबार सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिँदै उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको र ‘स्वेट सेयर’ लिएकाले सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएको समितिका एक सदस्यले बताए । ‘मैले स्वेट सेयर १५ प्रतिशत लिएको थिएँ, मैले कुनै पैसा लगानी गरेको छैन, यसअघि पनि सार्वजनिक रूपमा भनिसकेको छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै ती सदस्यले भने । आफू कुनै पनि सहकारी सदस्य नभएको भन्दै सहकारीको ऋणको विषयमा जिम्मा लिन नसक्ने उनले बताए । समितिको आज बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिए । समिति सचिव बविता मिश्रकाअनुसार आजै गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरिएको थियो । समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा सङ्लग्नको रुपमा आरोपित व्यक्तिहरुसँग सोधपुछ तथा बयान लिएको हो । विभिन्न सहकारी संस्थाका सदस्य (सेयरधनी) एवम् बचतकर्ताको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन भएको विषयमा अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ । विभिन्न सहकारी संस्थाहरुबाट प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रुपमा प्रवाह भए वा नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरुको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिलाई कानून बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश समितिले पाएको छ । छानबिन समितिले समस्याग्रस्त घोषणा भएका र सामाजिक रुपमा प्रश्न उठेका सहकारी संस्थाहरुको अध्ययन गरिरहेको छ । समस्याग्रस्त घोषणा भएका बाहेक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, आइडियल यमुना बहुउद्देश्यीय संस्थाको रकम हिनामिना भएको विषयमा समितिले अध्ययन गरिरहेको छ ।
पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउन ‘पूर्वाधार सम्मेलन’
काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानीकोे विविधता खोज्ने तथा औद्योगिक वातावरण तयार खोज्ने उद्देश्यका साथ भदौ २७ र २८ गते पाँचौ पूर्वाधार सम्मेलनको आयोजना हुने भएको छ । पूर्वाधार क्षेत्रमा नवप्रवर्तनको प्रवर्द्धन, रोजगारी सिर्जना गर्दै समग्र आर्थिक विकासका लागि नेपाल उद्योग परिसङ्घको आयोजनामा उक्त सम्मेलन आयोजना हुन लागेको जानकारी दिएको छ । परिसङ्घ मुख्य आयोजक रहने उक्त सम्मेलनको सहआयोजकमा लगानी बोर्डको कार्यालय रहेको छ । समृद्ध अर्थतन्त्र निर्माणको आधार पूर्वाधार विकास भएकाले त्यसलाई प्रमुख प्राथमिकतामा राखेर आयोजना हुने सम्मेलनको मुख्य नारा ‘रणनीतिक लगानीमार्फत दिगो विकास’ रहेको छ । दिगो विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्म वार्षिक २० खर्ब रुपैयाँ बढी लगानी जरुरी रहेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको विवरण अनुसार, पूर्वाधारको विकासका लागि एकीकृत एवम् सामूहिक लगानीको जरुर छ । परिसङ्घको अध्ययन अनुसार दिगो विकास लक्ष्य हासिल गर्न पूर्वाधार क्षेत्रमा मात्रै १ खर्ब ३० अर्ब अमेरिकी डलर लगानी आवश्यक रहेको उल्लेख छ । परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका अनुसार, पूर्वाधार क्षेत्रमा स्रोतको अभाव भइरहेको बेला सम्मेलनले एउटा मार्ग तय गर्नेछ । पूर्वाधारमा धेरै लगानी आवश्यक तर स्रोतको अभाव भइरहेको अवस्थामा के कसरी स्रोत जुटाउन सकिन्छ र अन्तर्राष्ट्रिय अभ्यास के छन् भन्ने बारेमा गहन रुपमा सम्मेलनमा छलफल हुने उहाँले जानकारी दिए । लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले गत लगानी सम्मेलनका क्रममा शो केशमा राखिएका आयोजनालाई सम्मेलनका क्रममा पुनः पछिल्ला प्रगतिसहित प्रस्तुत गरिने बताए । पूर्वाधारका लागि लगानी प्रवद्र्धन, र्पूाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासमा रहेका अवरोधलगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच गहन छलफल हुनेछ ।