अनिल अम्बानीमाथि सेयर बजारमा ५ वर्षको प्रतिबन्ध, २५ करोड जरिबाना
काठमाडौं । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका भाइ अनिल अम्बानीमाथि भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी) ले ५ वर्षको प्रतिबन्ध लगाएको छ । साथै, उनलाई २५ करोड रुपैयाँ जरिवाना पनि लगाइएको छ । सेबीको यो कारबाहीले अनिल अम्बानी र उनका कम्पनीका लागि संकट बढाउने देखिन्छ । योसँगै अनिल धिरुभाई अम्बानी समूह (एडीएजी) को चम्किलो तारा रहेको रिलायन्स क्यापिटल फेरि एकपटक चर्चामा आएको छ । सेबीका अनुसार अनिल अम्बानीले रिलायन्स होम फाइनान्सको प्रबन्धक पदमा खटिएका व्यक्तिहरूको सहयोग लिएर ठगी गरेका थिए । यी व्यक्तिहरूले मिलेर रिलायन्स होम फाइनान्सको पैसा अन्य कम्पनीमा पठाएका थिए । रिलायन्स होम फाइनान्सलाई पनि ६ महिनाका लागि धितोपत्र बजारमा प्रतिबन्ध लगाइएको छ । साथै, कम्पनीलाई ६ लाख रुपैयाँ जरिवाना समेत गरिएको छ । सेबीले अमित बापना, रवीन्द्र सुधाल्कर र पिंकेश आर शाहलगायतका धेरै कम्पनीहरूमाथि कारबाही पनि गरेको छ । यो कारबाहीबीच रिलायन्स क्यापिटलको चर्चा सुरु भएको छ । सन् २०२२ मा अनिल अम्बानीले रिलायन्स इंडस्ट्रीजको विभाजनपछि वित्तीय सेवा, पावर र टेलिकम व्यवसाय पाए । २००७ सम्ममा रिलायन्स क्यापिटलले ७० खर्ब रुपैयाँको मार्केट क्याप हासिल गरेर एचडीएफसीभन्दा ठूलो भएको थियो । यो देशका शीर्ष ३ वित्तीय कम्पनीहरूमा परेको थियो। २००८ मा विश्वव्यापी आर्थिक मन्दी हुँदाहुँदै कम्पनीले तीव्र गतिमा वृद्धि जारी राखेको थियो । यसपछि अनिल अम्बानी इन्फ्रा, डिफेन्स र मिडिया क्षेत्रमा पनि प्रवेश गरे । त्यसपछि उनी आर्थिक समस्यामा पर्न थाले । रिलायन्स कम्युनिकेसन्सले सीडीएमएबाट जीएसएम प्रविधिमा स्विच गर्न ठूलो समस्याको सामना गर्यो । २०१८ मा रेटिङ एजेन्सीहरूले रिलायन्स क्यापिटलको समस्याहरूका बारेमा चेतावनी दिए । त्यसपछि आईएलएन्डएफएस र डीएचएफएलको डुब्ने स्थिति थप गम्भीर बन्यो । त्यसको ठिक एक वर्षपछि २०१९ मा अनिल अम्बानीले बेलायती अदालतको अगाडि आफूलाई बिजनेसमा टाट पल्टिएको घोषित गर्ने प्रक्रिया सुरु गरे । २०२१ मा रिलायन्स क्यापिटलको सहायक कम्पनी रिलायन्स होम फाइनान्स र रिलायन्स कमर्सियल फाइनान्सको पतन भयो । नोभेम्बर २०२१ मा भारतीय रिजर्भ बैंक (आरबीआई) ले जिम्मेवारी लियो र रिलायन्स क्यापिटलको बोर्ड विघटन गर्यो । र, टाट पल्टिएको घाेषणा गर्ने प्रक्रिया सुरु गर्यो । यससँगै वित्तीय क्षेत्रको चम्किलो तारा बनेको यो कम्पनी डुबेको छ । एजेन्सी
सरकारसँग आस गर्नुस्, भर पनि पर्नुस् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गरेका छन् । फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा आज आयोजित ‘काठमाडौं युथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने संकल्पका साथ आएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म सोचे जसरी देशमा विकासको गति अघि बढाउन नसकिने उल्लेख गर्दै युवा नै देश निर्माणका सम्पूर्ण शक्ति भएको बताए । अनुकूल वातावरण भए विदेशमा रहेका नेपाली युवा पनि स्वदेश फर्कने प्रधानमन्त्री ओलीको विश्वास थियो । युवालाई स्वदेशमै शिक्षा र रोजगारीका अवसरमा जोड्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै उहाँले सरकारले स्टार्टअपका कार्यक्रम सुरु गरेको र निजी क्षेत्रबाट पनि १० हजारभन्दा बढी रोजगारीका अवसर सृजना गर्ने जानकारी गराए । राजनीतिक संघर्ष यात्राका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले जेलनेल र दुःख भोगेर स्वतन्त्रता र लोकतन्त्रका लागि गरेको कामबाट हरेक नेपालीमा आत्मविश्वास र आत्मबल बढाउने विश्वास व्यक्त गरे । समाजमा बलात्कारजस्ता आपराधिक घटना रोक्न हरेक व्यक्ति र समाज आफै आचरणयुक्त हुनुपर्ने र कुनै त्यस्ता घटना भएमा कानुनको कडाइपूर्वक पालना गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महिला प्रधानमन्त्री बनाउन चाहेको छु : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन् । शनिबार आयोजित काठमाडौं युथ कन्क्लेभमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुषमात्रैको डेलिगेसन एकजना मात्रै बोलाएको छ भने बेग्लै कुरा विदेश जान अथवा कतै डेलिगेसन भएर जान मिल्दैन । डेलिगेसनमा महिला सामेल भएकै हुनुपर्छ । त्यो रुल अहिले मैले सरकारको बनाएको छु । महिलाहरूको लागि थुप्रै काम गरेको छ ।’ महिला प्रधानमन्त्री बनाउन चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ, रियालिटीमा अब दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ, तर छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु ।’ प्रधानमन्त्री ओलीले वर्तमान सरकार काम गर्नकै लागि बनेको बताउँदै देशमा परिवर्तन ल्याइछाड्ने उद्देश्यले आफू प्रधानमन्त्री बनेको बताए । ‘अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस् । फरक पर्दैन, भर पर्नुपर्छ यो सरकारसँग । किन भने यो केही काम गर्नका लागि बनेको छ । म यो उमेरमा घस्रिनुपर्ने केही आवश्यकता थिएन,’ उनले भने ।
प्रधानमन्त्रीलाई टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका अगुवाले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवासमा भएको भेटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल, संघीय सांसदहरू दीपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरीलगायत थिए । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले उक्त विमानस्थल स्तरोन्नतिका साथै लमही–घोराही–तुल्सीपुर सडक विस्तारमा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने
चितवन । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । नेपाल नेत्रज्योति संघ चितवनको २४औं वार्षिक साधारणसभामा संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले सबै दृष्टिकोणले यस अस्पताललाई आँखा उपचारको केन्द्रको रूपमा विकास गर्न उपयुक्त हुने बताए । ‘यहाँ दुई मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र संघीय अस्पताल रहेको छ, भरतपुर ‘मेडिकल सिटी’को रूपमा विकास भइरहेको छ,’ उनले भने । देशकै मध्यभागमा रहेकाले उक्त अस्पताललाई आँखा उपचारको प्रमुख केन्द्रको रुपमा विकास गर्नु आवश्यक भएको उनको भनाइ थियो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन डा. आषेश ढुंगानाले प्रतिष्ठानले नेपाल नेत्रज्योति सङ्घसँगको सहकार्यमा काठमाडौं उपत्यका बाहिर तीन स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । विराटनगर, भैरहवा र चितवनमा कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै उनले यसलाई अझै प्रभावकारी बनाउँदै लैजान आवश्यक भएको उल्लेख गरे । कार्यक्रममा भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल, नेपाल नेत्रज्योति संघ नवलपुरका सभापति होमनाथ जैशी, सङ्घकी सदस्य मिना खरेललगायतले संघको गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा संघका सचिव केशवप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन पेस गर्दै संघद्वारा सञ्चालित अस्पताल र उपचार केन्द्रबाट गत एक वर्षमा तीन लाख ४९ हजार पाँच सय ४६ जनाको आँखाको उपचार गरेको जानकारी दिए । तीमध्ये ११ हजार दुई सय ५७ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।
पर्यटनमन्त्रीद्वारा धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तरदेशीय सहकार्य आह्वान
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमन सुदृढीकरणमा जोड दिएका छन् । भारतको गुजरातमा आयोजित आठौँ धर्म–धम्म सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरी अन्तरदेशीय पर्यटकीय पूर्वाधार निर्माण तथा पर्यटक आवागमन सहजिकरणको आवश्यकता औँल्याए । आध्यात्मिक सम्पदाको संरक्षण प्रवर्द्धन गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गर्न अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवर्द्धनका साथै विश्वभरका आगन्तुकलाई हाम्रा धार्मिकस्थलको पवित्रताको सहज अनुभूति गराउने वातावरण निर्माण गर्नका लागि सहकार्य गर्न आह्वान गर्दछु ।’ मन्त्री पाण्डेले धार्मिक पर्यटनको प्रवर्द्धनका साथै विश्वभरका आगन्तुकलाई नेपालका धार्मिकस्थलको पवित्रताको सहज अनुभूति गराउने वातावरण निर्माणका लागि सहकार्य गर्न आह्वान गरेको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपालको पशुपतिनाथ, हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबीचका साझा सम्पदा रहेको उल्लेख गर्दै उनले नेपालमा यस सम्मेलनको भावना प्रतिविम्बित हुने खालको आध्यामिक अनुभुति गर्न सकिने धारणा राखे । साथै, मन्त्री पाण्डेले सम्मेलनका सहभागीलाई नेपाल भ्रमणको निम्तो दिए । मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता भएको उल्लेख गर्दै शान्ति र करुणाको प्रतिकको रुपमा नेपालमा धर्म र धम्बका सिद्धान्त सदियौंदेखि व्यवहारमा रहेको कुरामा जोड दिए । ‘हाम्रा मनमोहक हिमाल, पवित्र तीर्थस्थल तथा सांस्कृतिक सम्पदाले ब्रम्हाण्डीय शक्ति र दैवीय उपस्थितिको झल्को दिइरहेका छन् । तसर्थ नेपाल प्रकृति र दैवीय शक्तिको जीवित उदाहरण हो,’ उनले भने । ‘इण्डिया फाउण्डेशन’को पहलमा भारतको गुजरातमा आयोजित उक्त सम्मेलनमा मन्त्री पाण्डेले धर्म–धम्म हिन्दू र बौद्ध सभ्यक्रताबीच सदियौँदेखि निरन्तर रूपमा निकट रहेका विचार भएको र जुन आज पनि उत्तिक्कै सान्दर्भिक भएको उल्लेख गरे । अहिलेको बदलिदो विषयमा यी दुई विचार बीचको सम्बन्धको पहिचानमा ध्यान केन्द्रित गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो ।
भारतबाट ल्याइएका मुर्रा राँगाबाट वीर्य संकलन गरी वितरण थालियो
कास्की . भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाबाट वीर्य संकलन गरी वितरण सुरु भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणका क्रममा भारतले नेपाललाई उपहारस्वरूप प्रदान गरेको राँगामध्ये सात पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ल्याइएको थियो । यहाँ रहेकामध्ये एक वटाबाट वीर्य संकलन गरेर कृत्रिम गर्भाधानका लागि वितरण गरिएको कार्यालयका प्रमुख पशु विकास अधिकृत डा. जगदिश पाण्डेले जानकारी दिए । बाँकी राँगाबाट वीर्य संकलनका लागि सिकाइएको चरणमा रहेको अबको दुइदेखि तीन महिनामा सबैबाट संकलन हुने उनले बताए । प्रमुख पशु विकास अधिकृत पाण्डेले भने, ‘क्वारेन्टिन, उमेर, सिकाइलगायत सबै प्रक्रिया पूरा गरेर मात्र सिमेन संकलन र गुणस्तर परीक्षणपछि मात्र वितरणको काम हुन्छ । अहिले एउटाबाट संकलन भएको तीनदेखि पाँच हजार डोज वितरण गरेका छौँ । बाँकी राँगा ट्रेनिङमा नै छन् ।’ कार्यालयका अनुसार वर्षमा एउटा राँगाबाट २० हजारदेखि ३० हजार डोज सिमेन उत्पादन हुनेछ । हप्तामा सोमबार र बिहीबार वीर्य संकलन हुँदै आएको छ । एक हप्तामा एउटाबाट चार सय डोज जति संकलन हुने कार्यालयका सूचना अधिकारी एवं वरिष्ठ पशु विकास अधिकृत भरतराज गौतमले बताए । ‘हामीले यहाँ ल्याएर सुरुमा २१ दिन क्वारेन्टिमा राख्यौँ। कतिपयको उमेर पुग्न बाँकी थियो । उमेर पुगेपछि बल्ल संकलन गर्छौँ,’ डा. गौतमले भने, ‘संकलन गर्ने वित्तिकै वितरण गर्न हुँदैन, गुणस्तर परीक्षण गरेर ठीक छ भनेपछि मात्र कृत्रिम गर्भाधानकर्तामार्फत भैँसीको नश्ल सुधार गरिन्छ।’ कार्यालयले संकलित वीर्य आफ्नो वितरण रुटमार्फत जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिका र कृत्रिम गर्भाधानकर्तामार्फत कृषकलाई उपलब्ध गराउँदै आएको छ । राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराको कार्यक्षेत्र रहेका बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३१ जिल्लामा कृत्रिम गर्भाधानका लागि कृषकलाई वितरण गरिने वरिष्ठ पशु विकास अधिकृत डा. गौतमले बताए । कृषि तथा पशुपक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरुप नेपालको अनुरोधमा भारतले राँगा उपलब्ध गराएको थियो । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट १५ राँगा ल्याइएको थियो । पशु चिकित्सकका अनुसार उच्च नश्लका मुर्रा भैँसीहरूले रैथाने भैँसीभन्दा दोबर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँका रैथाने भैँसीमा नश्ल सुधार गर्न भारतबाट राँगा ल्याएको हो । नेपाल ल्याइएका मुर्रामध्ये सात वटा पोखरा, पाँच वटा लहान र तीन नेपालगञ्जमा राखिएको छ ।
सुनचाँदी व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुनचाँदी व्यवसायीको कोटा वृद्धिलगायत जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताए । ‘सुनचाँदी व्यवसायीका समस्या के छन् ? छलफलमा आउनुहोस्, जायज माग सम्बोधन गर्न म सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्छु,’ उनले भने । राष्ट्र बैंकबाट सुनचाँदी खरिद गरेर उपभोक्तासम्म पुग्दा पाँचवटा माध्यम बीचमा रहेको मन्त्री भण्डारीले बताए । राष्ट्र बैंकबाट सिधै व्यवसायीले खरिद गरेर उपभोक्ता माझ पुग्नुपर्ने उनको धारणा थियो । उनले भने, ‘उपभोक्तासम्म पुग्दा पाँच माध्यमका कारण झण्डै सात हजार महङ्गो पर्छ, यस्तो किन ?, सरकारले पहिला उपभोक्ता हर्ने हो त्यसपछि व्यवसायीलाई हेनुपर्छ ।’ सुनचाँदी व्यवसायीका मागका बारेमा सरकारका तर्फबाट आफूले विभिन्न चरणमा छलफल गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले छिट्टै व्यवसायीसँग छलफल गरेर सरकारले गर्नुपर्ने आवश्यक पहलकदमी आफ्नो मन्त्रालयबाट गर्ने प्रतिबद्धता जनाए । चोरी पैठारीका कारण नेपालका सुनचाँदी व्यवसायी मर्कामा परेका उल्लेख गर्दै उनले भने, ‘चोरी पैठारी रोक्नसके सुनचाँदी व्यवसायीले व्यवसायमा मर्का बेहोर्नु पर्दैन, सुनचाँदी व्यवसायीको उचित व्यवस्थापन जरुरी छ ।’ नेपालको सुनचाँदी व्यवसायमा कार्यरत झण्डै ६० प्रतिशत कालीगढ विदेशी रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले स्वदेशी कामदार बढाउन आवश्यक पहल गर्न व्यवसायीसँग आग्रह गरे ।