बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति
काठमाडौं । शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेकोे ग२च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको छ । यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् । बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ । सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ । राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीयवासी बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेका प्रनाउ नेपालले बताए । बेनी नगरपालिका–८ कालीपुल बसपार्क र प्रवेशद्वार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति भएको छ । बाढी र पहिराका कारण म्याग्दीका प्रमुख सडक अवरुद्ध भएका छन् । बागलुङ–बेनी सडक हुलाकेमा, बेनी–जोमसोम सडक गलेश्वरमा, बेनी–दरबाङ सडक अग्निखेत, सिङ्गा, घुमाउनेमा, मालढुङ्गा–बेनी सडक जलजला गाउँपालिकाको विभिन्न ठाउँमा खसेको पहिराका कारण अवरुद्ध बनेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए । सम्बन्धित स्थानीय तह, पूर्वाधार विकास कार्यालय, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पहिरो पन्छाउने र सडक मर्मत गरेर यातायात सञ्चालनका लागि समन्वय भएको प्रहरी निरीक्षक रायमाझीले बताए । जिल्ला सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ ।
मुग्लिङमा बस दुर्घटनामा १० यात्रु घाइते
काठमाडौं । नारायणगढ–मुग्लिङ सडकमा आइतबार बिहान यात्रु वाहक बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस ७ बजेतिर सडकको घुमाउनेमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगर पालिका वडा नम्बर २९ मा भएको सो दुर्घटनामा परी १० यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचाकालागि भरतपुर तर्फ ल्याइएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण थाहा हुन सकेको छैन । यद्यपि सडकमै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रामेछापको लेकखर्कमा पहिरोमा २ जानको मृत्यु, ८ जना बेपत्ता
काठमाडौं । रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा शनिबार राति भीषण वर्षापछि आएको पहिरोमा परी २ जानको मृत्यु भएको छ । पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् । पहिरोमा परेका एक जना बालकले भागेर ज्यान जोगाएका छन् । बिहान ३ः३५ बजे लेकखर्क गाउँमा पहिरो खसेको रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । पहिरोले ४ वटा घर बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको सिंहले बताए । पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल बगाएको छ । प्रहरी टोली लेकखर्कतर्फ हिँडिसकेको डीएसपी सिंहले बताए । क्षतिको थप विवरण आउन बाँकी छ । टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो । तर बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको थियो ।
कांग्रेस सभापति देउवा निवास अगाडि शंकास्पद वस्तु
कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु भेटिएको छ । कैलालीको धनगढीमा रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । देउवाको निवास कैलालीको धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको छ । प्रहरीका अनुसार एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो । उक्त वस्तु के हो भन्ने कुरा खुलेको छैन । डिस्पोजल गर्न नेपाली सेनाको टोलीलाई बोलाइएको छ ।
कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य घट्यो, यस्तो विदेशी मुद्राको भाउ
काठमाडौं । अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ ९ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४८.८३ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४९.५० रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५.७६ रुपैयाँ र बिक्रीदर १७६.५५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.१४ रुपैयाँ र बिक्रीदर ९०.५५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९८.५७ रुपैयाँ र बिक्रीदर ९९.०१ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६९ रुपैयाँ र बिक्रीदर ३५.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.६१ रुपैयाँ र बिक्रीदर ३०.७५ रुपैयाँ तोकिएको छ ।
अपी पावरको लाभांश घोषणा, यस्तो छ लाभांश इतिहास
काठमाडौं । अपी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले ९.४७ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल विद्युत नियमन आयोगबाट स्वीकृति तथा आगामी २१औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरूलाई ७.५० प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा कुल ९ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा ५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ५ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा ८ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
संसारकै ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी ब्ल्याकरकले किन किन्यो मुम्बईमा महँगो अफिस ‘स्पेस’ ?
काठमाडौं । विश्वको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी ब्ल्याकरक इंकले मुम्बईको पोश वर्ली क्षेत्रमा रहेको प्रिमियम कमर्सियल टावरमा ४२ हजार ७ सय वर्ग फिटभन्दा बढी अफिस स्पेस खरिद गरेको छ । कम्पनीले यो ठाउँ ५ वर्षको लामो समयका लागि भाडामा लिएको हो । यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ल्यारी फिंकलाई विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ । यसको कारण ब्ल्याकरक इंकले संसारमा १ हजार खर्बभन्दा बढीको सम्पत्ति व्यवस्थापन गर्दछ । यो रकम भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब साढे दुई गुणा र अमेरिकाको आधा जीडीपी हो । यस कम्पनीले विश्वको कुल सेयर र बन्डको १० प्रतिशत ह्यान्डल गरेको तथ्यबाट नै ब्ल्याकरकको स्थिति अनुमान गर्न सकिन्छ । ब्ल्याकरकको भारतीय युनिट ब्ल्याकरक सर्भिसेस इन्डियाले मुम्बईमा ठाउँ भाडामा लिएको छ । सम्झौताअनुसार कम्पनीले पहिलो वर्ष प्रतिमहिना ३ सय २५ प्रतिवर्गफिटका दरले भाडा तिर्नुपर्ने छ । उक्त सम्झौतामा सन् २०२५ अप्रिलमा ५ प्रतिशत त्यसको एक वर्षपछि १० प्रतिशत र २०२७ र २०२८ मा ५–५ प्रतिशतका दरले भाडा वृद्धि गरिने उल्लेख छ । अमेरिकाको न्युयोर्कस्थित कम्पनीले कमर्सियल टावर अल्टिमसको चौथो तल्लाको जग्गा परियोजनाको विकासकर्ता रहेजा कर्पोरेसनबाट सिधै भाडामा लिएको हो । रियल इस्टेट डाटा एनालिटिक्स फर्म प्रोपस्ट्याकबाट प्राप्त कागजातहरूका अनुसार भाडा यस महिना सुरु हुनेछ र ३६ महिनाको लकइन अवधि छ । साउनमा लीज सम्झौता दर्ता गर्दा कम्पनीले १० महिनाको भाडा बराबर १२ करोड ८० लाख रुपैयाँ धरौटी बुझाएको छ । ब्ल्याकरकले भारतको द्रुत रूपमा बढ्दो वित्तीय बजारहरूमा आफ्नो उपस्थिति स्थापित गर्न चाहेको बताइएको छ । कम्पनी सन् २००८ मा भारत प्रवेश गरेको थियो । कम्पनीले ब्ल्याकरक म्युचुअल फन्ड, एक्सचेन्ज ट्रेडेड फन्ड र पोर्टफोलियो व्यवस्थापन सेवासहित विभिन्न लगानी समस्याको समाधान प्रदान गर्दछ । कम्पनीले संस्थागत र खुद्रा ग्राहक दुवै सेवा गर्दछ । यसको मुम्बई, गुडगाउँ र बेंगलुरुमा कार्यालयहरू छन् । गत वर्ष जुलाईमा जियो फाइनान्सियल सर्भिसेस र ब्ल्याकरकले संयुक्त उद्यम घोषणा गरेका थिए । कम्पनीको योजना डिजिटल फर्स्ट एसेट म्यानेजर लञ्च गर्ने छ । एजेन्सी