तनहुँ दुर्घटनामा १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए ।
राष्ट्र बैंकले खारेज गर्यो ५ वटा रेमिट्यान्स कम्पनीको लाइसेन्स
काठमाडौं । नेपाल राष्ट्र बैंककले ५ वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र अनुमति (लाइसेन्स) खारेज गरेको छ । शुक्रबार बैंकले एक सूचना प्रकाशन गर्दै विभिन्न ५ वटा रेमिट्यान्स कम्पनीको लाइसेन्स रद्द गरेको हो । बैंकका अनुसार राम्रो रेमिट प्रालि, ग्लोबल माउन्टेन रेमिट प्रालि, संसार रेमिट प्रालि, ललित मनि ट्रान्सफर प्रालि र माक्स मनि ट्रान्सफर प्रालिको लाइसेन्स खारेज भएको हो । मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (प्रथम संशोधनसहित) को विनिमय १३ को उप विनियम (१०) खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
१ खर्ब २८ अर्बको आयात हुँदा निर्यात १२ अर्बमा सीमित
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को एक महिनामा आयात निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा आयात ०.६७ प्रतिशत घटेको छ भने निर्यात ९.६३ प्रतिशत घटेको देखिन्छ । चालु आर्थिक वर्षको साउन १ खर्ब २८ अर्ब ३७ करोड रुपैया बराबरको वस्तु तथा सेवा आयात भएको छ । अघिल्लो वर्षको साउनमा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँ बराबरको आयात भएको थियो । साथै गत साउनमा निर्यात भने ०.३८ प्रतिशत बढेर १२ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । विभागको तथ्याङ्क अनुसार साउनमा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ । अघिल्लो वर्षको तुलनामा व्यापार घाटा ०.३८ प्रतिशत बढेको हो । अघिल्लो वर्षको साउनमा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ व्यापार घाटा थियो । गत वर्षको साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँ कुल वैदेशिक व्यापार भएकोमा साउनमा भने १.५२ प्रतिशत घटेर १ खर्ब ४० अर्ब ६० करोड रुपैयाँको भएको छ ।
मान्छे चन्द्रमामा पुग्दैमा उसको पहिचान मेटिँदैन : अध्यक्ष राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले मानिसको पहचिानको आवश्यकता कहिल्यै नमेटिने बताएका छन् । शुक्रबर काठमाडौंमा आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ग्लोवलाइज हुँदैमा पहिचानको आवश्यकता मेटिने नभइ झनै बढ्दै जाने बताए । मधेसीहरुलाई नेपाली भन्न हिच्किचाउने तर मधेसीको पनि पहिचान बन्न नदिने कुरा राम्रो नरहेको जानकारी दिए । उनले ग्लोवलाइज भइसके पनि कुनैपनि देशमा यात्रा गर्दा सबैभन्दा पहिला पहिचानकै आवश्यकता पर्ने जानकारी दिए । ‘आइ एम फ्रम मधेस भन्नुस्, चिन्दैन । विश्व ग्लोवलाइज भइसक्दा पनि पहिचानको आवश्यकता त रहेछ’, उनले भने । अध्यक्ष राउतले मान्छे चन्द्रमा, मंगल ग्रहमा पुग्यो भन्दैमा उसको पहिचान नमेटिने बताए ।
निजी क्षेत्रलाई २ दर्जन निकायले नियमन गर्छन्, चाहिँदैन अख्तियार
काठमाडौं । सरकारले आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्नेमा निरुत्साहित गर्न खोजेको भन्दै उद्योगीले गुनासाे गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै उद्योगीहरूले निजी क्षेत्रलाई निरुत्साहित गर्न खोजिएकोले लगानी खुम्चिएर अर्थतन्त्र थप समस्यामा पर्ने चेतावनी दिएका हुन् । निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभित्र राख्ने, बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी सेयर हुनेले ऋण लिन नपाउने लगायतका प्रस्तावले निजी क्षेत्रलाई हतोत्साहित बनाउने उनीहरूले बताएका हुन् । जसकारण लगानी खुम्चिने उनीहरूले चेतावनी दिएका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रमा अख्तियारलाई प्रवेश गराए लगानी निरुत्साहित हुने बताए । ‘नियमनकारी निकायले अनावश्यक दुःख दिइरहेकाे छ । यस्ताेबेलामा प्रोत्साहन गर्ने नीति ल्याउनुपर्नेमा निजी क्षेत्रमा अख्तियारलाई प्रवेश गराएर लगानीको लागि काे उत्साहित हुन्छ ?,’ उनी भन्छन्, ‘कानुनमै लगानी खुम्च्याउने खालको व्यवस्था भयो भने निजी क्षेत्र कसरी फस्टाउँछ ?’ । उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमा गरिएको एक प्रतिशतभन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने प्रस्ताव संशोधनको आवश्यकता रहेको बताए । निजी क्षेत्र उत्साहित हुँदा राजस्व बढ्ने कुरा पछिल्लो एक महिनामा सेयर बजारबाट देखिएको उनकाे भनाई छ । ‘सेयर बजारबाट एक महिनामै साढे ४ अर्ब रुपैयाँ उठ्यो। यसले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति चाहिन्छ भन्ने स्पष्ट पार्छ,’ उनले भने । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र २ वर्षदेखि शिथिल अवस्थामा रहेकाले नीतिगत स्थिरतामा जोड दिन आवश्यक रहेकाे बताए । ‘निजी क्षेत्रलाई नियमन गर्ने २ दर्जन निकाय छन् । यस्तो बेला अख्तियारले पनि हेर्ने गरी कानुन बनाउने कुरा भइरहेको छ । यसो भयो भने निजी क्षेत्र कसरी सबल र बलियो होला ?’ उनले भने । निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने र ऐन नियम हुनुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘लगानीकर्ताले आज भएको व्यवस्थालाई हेरेर लगानी गर्छ । नीति चाँडो फेर्दा लगानी जोखिममा पर्छ । जहाँ अन्योल हुन्छ त्यहाँ लगानीको निर्णय गर्न गाह्रो हुन्छ । त्यसैले लगानीकर्तालाई प्रोत्साहित गर्न नीतिगत स्थिरता चाहिन्छ ।’ नीतिगत स्थिरतामा जोड दिन सके स्वदेशी लगानी मात्र नभइ विदेशी लगानीकर्ता पनि आकर्षित हुने उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बैंकमा स्वामित्व भएका उद्योगी व्यवसायीले ऋण लगानी गर्न नपाउने व्यवस्थाले आर्थिक वृद्धि नहुने बताए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमा एक प्रतिशतभन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने प्रस्ताव रहेको उनकाे भनाई छ । ‘बैंकमा स्वामित्व भएकै कारण उत्पादन र रोजगारी सिर्जना गर्ने अवसर कसरी प्राप्त हुन्छ ?’ उनी प्रश्न गर्दै भन्छन्, ‘रोजगारी र राजस्व बढाउनुपर्ने बेला यस्तो कानुन किन बनाउँदै छौं ?’ सरकारले गत चैत ५ गते संसद्मा दर्ता गराएको यो विधेयक अहिले प्रतिनिधि सभाको अर्थ समितिमा दफाबार छलफलका क्रममा छ । ऋण दुरुपयोग भए राष्ट्र बैंकले नियमन बढाउनुपर्ने भन्दै लगानीलाई नियन्त्रित र संकुचित गर्ने गरी कानुन नबनाउन आग्रह उनले गरे । निजी क्षेत्रमा अख्तियारको चासोले पनि नकारात्मक सन्देश गइरहेको उनी बताउँछन् । सरकार परिवर्तनका साथै मौद्रिक नीतिमा गरिएको लचिलो व्यवस्थाले सेयर बजारमा उत्साह देखिएको भन्दै मुलुकमा आर्थिक वृद्धिका लागि कम्तिमा १० वर्षका लागि स्थिर नीति आश्यक रहेको उनले बताए ।
चाडबाडमा अत्यावश्यक खाद्य वस्तुहरुको अभाव हुन दिँदैनौं : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरुको अभाव हुन नदिन सरकार सचेत रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार सिंहदरवारमा बसेको बैठकमा दशैँ, तिहार लगायतका चाडबाडमा हुने कालोबजारीलगायतको विषयमा भएको छलफलमा उनले सो कुरा बताएका हुन् । मन्त्री भण्डारीले चाडबाडका बेला अभाव नहुने गरी चामल, चिनी लगायतका अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति र सुपथ मूल्यमा वितरण गर्ने काममा सरकारले कुनै पनि कसर बाँकि नराख्ने बताए । बजारमा हुने खाद्य बस्तुहरुको अभाव, मूल्य समायोजन लगायतका विषयमा सरकार सचेत रहेको मन्त्री भण्डारीको भनाई थियो । उनले दैनिक उपभोग्य खाद्यवस्तुहरुको आपूर्ति व्यवस्थामा विचौलिया र तस्करी हुन्छ कि भनेर आशंका गर्न पनि सांसदहरुलाई पटक पटक आग्रह गरे । आपूर्ति कर्ताहरुसँग छलफल गरेर दैनिक उपभोग्य वस्तुहरुको सहज र सुपथ मूल्यमा आपूर्ति गराउने काम सरकारले गर्ने उल्लेख गर्दे मन्त्री भण्डारीले त्यसमा शंका गरिरहन नपर्ने जानकारी दिए । ‘कानूनले त्यति भनेको छ । अनि कसरी त्यो भन्दा बढि जरिवाना हुन्छ ? त्यो भन्दा बढि जरिवाना त हामीले तोक्न सक्दैनौं’, उनले भने । मन्त्री भण्डारीले कालोबजारी हुन नदिने गरी बजार अनुगमनको कामलाई पनि सरकारले प्रभावकारी बनाउने बताए ।
आरती पावरले आइपीओ निष्कासन गर्ने
काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ दरको ३६ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । जसको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । बिहिबार आरती पावर कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय खुर्सानीटार, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आरती पावर कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । विसं २०७२ सालको रुपमा दर्ता भई विसंं २०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको यस कम्पनीको अधिकृत पूँजी १ अर्व ४० करोड रुपैयाँ, जारी पूँजी पनि १ अर्व ४० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ०४ करोड रहेको यस कम्पनीले ३६ करोड रुपैयाँ बरावरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
सीएफमोटोको एड्भेन्चर टुरिङ मोटरसाइकल अब नेपाली बजारमा
काठमाडौं । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले विश्व प्रसिद्ध एड्भेन्चर टुरिङ मोटरसाइकल ४५० एमटी नेपाली बजारमा उपलब्ध हुने भएको छ । ऋषि ट्रेड सेन्टरले आगामी नाडा अटो शोमा सार्वजनिक गर्ने बताएको हो । सीएफमोटो ४५० एमटीले नेपालभरका मोटरसाइकल प्रेमीहरूको एडभेन्चर टुरिङ अनुभवलाई नै नयाँपन दिने कम्पनीको भनाइ छ । अत्याधुनिक पावर र पर्फर्मेन्स ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । शहरमा क्रुज गर्दा होस् या कुनै उबडखाबड भूभाग, ४५० एमटीले स्मुथ र पावरफुल राइड दिनेछ, र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध छ । स्लिम र आक्रामक डिजाइन ४५० एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको तिक्ष्ण, एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थिति लाई स्ट्यान्ड आउट बनाउँछ । पूर्ण रूपमा एलईडी लाइटले सुसज्जित ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ । यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो जसको तौल जम्मा १७५ किलोग्राम रहेको छ । साथै, बाइक बोस एबीएस र टीसीएसले पनि सुसज्जित छ। अत्याधुनिक प्रविधि र सुविधा सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले रहेको छ जसमा बाइकको स्पिड, फ्युल लेभल, ट्रिप इन्फो लगायतका विभिन्न जानकारी डिस्प्लेमा हुनेछन् । डिस्प्लेको दृश्यहरू राइडरले आफ्नो चाहना अनुसार बदल्न सक्नेछन्, ताकि विभिन्न ड्राइभिङ मोड अनुसार परिवर्तन गर्न सकियोस् । सुरक्षा प्रमुख प्राथमिकता हो र ४५० एमटी यही सोचबाट बनेको छ। बाइकमा डुअल च्यानल एबीएस रहेको छ जसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ, साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ । शहरको ट्राफिक होस् वा अफरोडको गतिमा, एबीएसले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण सुनिश्चित गर्छ । अरू उत्कृष्ट सुविधाहरू मध्ये यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ । आरामदायी र भर्सटाइल टुरिङ एडभेन्चर सोचमा राखी डिजाइन गरिएको ४५० एमटीले अद्भुत आरामदायिता प्रदान गर्छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ जसले राम्रो सपोर्टको साथ लामो यात्रा पनि सजिलै कटाउन मद्दत गर्छ । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ। १७ लिटरको ठूलो फ्युल ट्यांकले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ । बाइकको २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ ।