विकासन्युज

घरजग्गा कर्जामा इभर ग्रिनिङ, मन्दीमा पनि ६०% वृद्धि

काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरूले २ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ बराबरको घरजग्गा कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरूले पाँच वर्षको अवधिमा घरजग्गा कर्जामा उल्लेख्य रूपमा वृद्धि गरेको देखिन्छ । पाँच वर्षघि २०७७ असारसम्ममा बैंकहरूको घररजग्गा कर्जा १ खर्ब ४० अर्ब ५४ करोड रुपैयाँ थियो । तर, पाँच वर्षको अवधिमा बैंकहरूको घरजग्गा कर्जा ५९.८४ प्रतिशत बढेको देखिन्छ । पछिल्लो वर्ष घरजग्गा क्षेत्रमा मन्दी आएको भनिए पनि राष्ट्र बैंकको तथ्यांकले भने कर्जा प्रवाहमा कुनै असर नपरेको देखिन्छ । तथ्यांकले प्रत्येक वर्ष घरजग्गा कर्जामा बैंकहरूको लगानी बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार बैंकहरूले २०७८ असारसम्ममा १ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ, २०७९ असारसम्ममा १ खर्ब ९९ अर्ब ६४ करोड रुपैयाँ र २०८० असारसम्ममा २ खर्ब २ अर्ब ६३ करोड रुपैयाँ कर्जा घरजग्गामा लगानी गरेका गरेका थिए । नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव ध्रुब घिमिरे जुनसुकै कर्जाका लागि पनि घरजग्गा धितो राख्नुपर्ने भएकाले वृद्धि भएको हुन सक्ने बताउँछन् । उनका अनुसार घरजग्गा चलायमान भएर भन्दा पनि कर्जा मेन्टेन गर्न अर्काे कर्जा लिएका कारण लगानी बढेको हुन सक्छ । ‘जुनसुकै धितोको रूपमा घरजग्गा राख्छन् । कुनै उद्योगधन्दा वा सवारी साधन नै खरिद गर्नुपर्याे भने घरजग्गा धितो राखिने भएकाले बढेको हुन सक्छ । तर, घरजग्गामै भनेर कम छ, हामीले पुगेको छैन भनिरहेका छौं,’ उनले भने, ‘घरजग्गा चलायमान भएर भन्दा पनि कर्जालाई मेन्टेन गर्न अर्काे कर्जा लिएका कारण बढेको हुनसक्छ, जस्तो ब्याज तिर्न सकिएन भने त्यसलाई अर्काे धितोमा थपेर कर्जा लिएर ब्याज तिरेको देखिन्छ ।’ यस्तो किसिमको कर्जालाई बैंकिङ भाषमा इभर ग्रिनिङ भन्ने गरिन्छ । सधैं राम्रो ऋण देखाउन गरिने विभिन्न काम इभरग्रिनिङ हो । पछिल्लो २ वर्षदेखि मन्दी आएकाले घरजग्गामा कर्जा लगानी नभएको एक बैंकरकाे भनाइ छ । व्यावसायिक कर्जाको नआएकाले घरजग्गा धितो राखेर कर्जा मिलाएको हुन सक्ने उनको भनाइ छ । पाँच वर्षमा बैंकहरूको घरजग्गा कर्जा वृद्धिलाई लक्ष्मी सनराइज बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) सुमेद भट्टराई स्वाभाविक मान्दैनन् । उनका अनुसार यसअघि स-साना व्यावासायिक कर्जा दिइएको थियो । तर, व्यावसायिक कर्जामा लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र लगायतका प्रमाणपत्र माग्न थालेपछि व्यावसायिक कर्जाहरू व्यक्तिगत तथा घरजग्गाको नाममा रूपान्तरण भएको हुन सक्ने उनको भनाइ छ । ‘जस्तो ५ वर्ष अगाडि सानो पसल चलाउने भनेर २५ लाख रुपैयाँ व्यावसायिक कर्जा लिएको थियो, विस्तारै नियामक निकायले व्यावसायिक कर्जामा पुनरावलोकन गरेपछि करचुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन लगायत कागजात माग्न थालेपछि व्यवसायलाई निरन्तरता दिन सम्भव भएन,’ उनले भने, ‘विस्तारै व्यवसायबाट व्यक्तिगत नाममा ट्रान्सफर, जग्गालाई रिफाइनान्स गरेर व्यवसायमा लगानी हुन सक्छ, केही हदसम्म यसरी कर्जा ट्रान्सफर भएको देखिन्छ ।’ उनका अनुसार घरजग्गा कारोबार र बैंकहरूको कर्जा वृद्धिमा तालमेल मिलेको छैन । किनभने घरजग्गाको कारोबार खासै भएको छैन भने घरजग्गा कारोबारबाट आउने राजस्व समेत घटेको देखिन्छ । तर, बैंकको कर्जाको पोर्टफोलियो भने बढेको हुँदा ट्रान्सफर गरेको हुन सक्ने उनको भनाइ छ । आक्रामक बन्यो कुमारी, ११ बैंकको घट्यो समीक्षा अवधिमा पनि बैंकहरूको घरजग्गा कर्जा ३ प्रतिशत बढेको देखिन्छ । अघिल्लो वर्षको असारसम्ममा २ खर्ब १७ अर्ब रुपैयाँ घरजग्गा कर्जा लगानी गरेका बैंकहरूले गत वर्ष बढाएर २ खर्ब २४ अर्ब रुपैयाँ पुर्याएका हुन् । गत वर्ष ९ बैंकको बढेको छ भने ११ बैंकको घटेको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै कुमारी बैंकले आक्रामक रूपमा घरजग्गा कर्जा वृद्धि गरेको देखिन्छ । यस बैंकको गत वर्ष १४१.८८ प्रतिशत बढेर गत असारसम्म ४ अर्ब ५१ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको छ । जबकी २०८० असारसम्म बैंकको घरजग्गा कर्जा १ अर्ब ८५ करोड रुपैयाँ मात्रै थियो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष एनआईसी एशिया बैंकको ३०.५८ प्रतिशत बढेर २८ अर्ब ६० करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३०.१४ प्रतिशत १३ अर्ब ९५ करोड रुपैयाँ, नेपाल बैंकको २९.९४ प्रतिशत बढेर १५ अर्ब ४२ करोड रुपैयाँ, प्राइम बैंकको २२.३९ प्रतिशत बढेर १८ अर्ब ५७ करोड रुपैयाँ घरजग्गामा कर्जा लगानी गरेका छन् । यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७ प्रतिशत बढेर ८ अर्ब ३२ करोड रुपैयाँ, कृषि विकास बैंकको ४.१८ प्रतिशत बढेर १ अर्ब ७२ करोड रुपैयाँ, सिटिजन्स बैंकको ३.३४ प्रतिशत बढेर ४ अर्ब ६८ करोड रुपैयाँ र नबिल बैंकको १ प्रतिशत बढेर २३ अर्ब ५५ करोड रुपैयाँ घरजग्गामा कर्जा लगानी गरेका छन् । तर, समीक्षा अवधिमा ११ वटा बैंकको भने घरजग्गा कर्जा लगानी घटेको देखिन्छ । नेपाल एसबीआई बैंकको ०.८० प्रतिशत घटेर ४ अर्ब ९३ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ०.९१ प्रतिशत घटेर १५ अर्ब ८४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २.५२ प्रतिशत घटेर २४ अर्ब ६३ करोड रुपैयाँ, एभरेष्ट बैंकको ४.०९ प्रशित घटेर ६ अर्ब ३९ करोड रुपैयाँ, प्रभु बैंकको ५.७२ प्रतिशत घटेर १३ अर्ब ४३ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । एनएमबी बैंकको ८.२२ प्रतिशत घटेर ४ अर्ब ७८ करोड रुपैयाँ, हिमालयन बैंकको ९.२५ प्रतिशत घटेर १३ अर्ब ६८ करोड रुपैयाँ, सानिमा बैंकको १३.२१ प्रतिशत घटेर ५ अर्ब ६९ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १८.७४ प्रतिशत घटेर १ अर्ब ५५ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २२.७१ प्रतिशत घटेर ४ अर्ब ५६ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको ४३.५९ प्रतिशत घटेर ९ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६ लाख ७७ हजार ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै ६ लाख ७७ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । मिक्लाजुङ गाउँपालका–७ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालका–८ माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्की माछापुच्छ्रे« गाउँपालका–६ घर भई हाल काठमाडौं महानगरपालका–२६ रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा तथा सिन्धुली कमलामाई नगरपालका–७ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–६ बस्ने २५ वर्षीय गणेशबहादुर श्रेष्ठ पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, ‘लामाले ३ लाख ६५ हजार, विश्वकर्माले १ लाख २ हजार तथा श्रेष्ठले २ लाख १० हजार लिएर क्रोएसिया र दुबई लगायतका देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी आरोपीहरू सम्पर्कविहीन भएको पीडितहरूले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो ।’ निजहरूलाई काठमाडौं तथा भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि बिहीबारै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणहरूमा निष्कासन गर्न लागेको जनाएको छ ।

दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच प्रदान गर्ने गरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरूको बारेमा जानकारी लिँदै नागरिकलाई सहज पहुँच विस्तार गर्ने गरी परिणामुखी भई आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायहरूसँग आग्रह गरेका हुन् । उनले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच उपभोक्ताहरूलाई हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताए । नागरिकले सहज र सरलरूपमा उपभोग्य वस्तुहरू पाएको महसुस हुने गरी परिणममुखी काम गर्न उनले निर्देशन दिए । गृहमन्त्री लेखकले बजारमा कृत्रिम अभाव हुन नदिन, मूल्यवृद्धि नियन्त्रण गर्न, अखाद्यवस्तुहरू चाडबाडको बेलामा बिक्री हुन नदिन उच्च निगरानी गर्न उनको निर्देशन छ । उनले दसैंतिहारमा हुने सवारीसाधनको मूल्यवृद्धिको विषयमा पनि निगरानी बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिए ।

टीआरसी विधेयक पारित भएकोमा अमेरिका, ईयूसहित १० देशले गरे स्वागत

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक दुवै सदनबाट पारित भएकोमा अमेरिका, यूरोपियन युनियन (ईयू) सहित विभिन्न देशले स्वागत गरेका छन् । टीआरसी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रूपमा पारित भएकोमा अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्यान्ड, जर्मनी, फ्रान्स र युरोपियन युनियनले स्वागत गरेका हुन् । उनीहरूले बिहीबार संयुक्त विज्ञप्ति निकालेर पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । ‘भविष्यमा चाल्नुपर्ने सम्भावित कदमहरूको सम्बन्धमा मूल्यांकन गर्न सकियोस् भनी हामी निम्नानुसारका हस्ताक्षरकर्ताहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के-कस्ता विशेष आवश्यकताहरू छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर छौँ,’ विज्ञप्तिमा उल्लेख छ । नेपालको इतिहासको यो खण्डलाई सफल निष्कर्षमा पुर्‍याउन सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बेला आएको  पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सो विधेयक पेस भएको थियो । बिहीबार राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेका छन् ।

५ प्रहरी अधिकारीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले उमेरहद अनुसार आफूहरूलाई अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै ५ प्रहरी अधिकारीले दायर गरेको रिटमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो । रिट निवेदक प्रहरी अधिकारीले मागेअनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो । दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डिआइजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरू पदअनुसारको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । तर, अवकाशमा जान नचाहेर ३० वर्षे सेवा हद कायम नहोस् भन्दै उनीहरूले रिट हालेका हुन् ।

दिपल, सेरेस र नामी किन्न ग्लोबल आइएमई बैंकले ३ दिनभित्रै कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रालि तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रालिका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार एमएडब्लु वृद्धि मोटर्स एवम् एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने विद्युतीय गाडीहरू दीपल, सेरेस र नामी खरिद गर्ने व्यक्ति वा कम्पनीहरूले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको ३ कार्यदिनभित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गरिनेछ । दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरू नेपाली प्रयोगकर्ताहरूमाझ लोकप्रिय रहेको र उक्त कम्पनीले नामी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा बिक्री सुरुवात गरीसकेको छ । ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले विद्युतीय सवारीसाधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा ५ सय छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिद गर्दा एकमुस्ट ५०० रुपैयाँ छुट पाउनेछन् । सो छुट श्री एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।