दैनिक आधा घण्टा घाममा बस्नुस्, भिटामिन डीको समस्या हुँदैन : डा. गौतम
भिटामिन डीको मुख्य स्रोत सूर्यको किरण हो । पछिल्लो समय द्रुत शहरीकरण र व्यस्त जीवनशैलीले मानछेलाई घाम तापेर बस्ने फुर्सद छैन । जसका कारण अधिकांशलाई भिटामिन डीको कमी भइरहेको पाइन्छ । सूर्यको किरणबाट पाउने यो भिटामिन लिन घाममा कसरी बस्ने ? के घामभन्दा बाहेक खानेकुराबाट भिटामिन डी पाइँदैन ? यही विषयमा अल्का अस्पतालमा कार्यरत फिजिसियन डा. रक्षा गौतमसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले कुराकानी गरेकी छन् । ‘भिटामिन डी’ भनेको के हो ? भिटामिन डी एक प्रकारको फ्याट सोलुबल भिटामिन हो । भिटामिन ए, भिटामिन के, डी र ई , एउटै समूहमा पर्छन् । भिटामिन बी भनेर जुन बी कम्पलेक्स खाइरहेको देख्छौँ त्यो वाटर सलुबल अन्तर्गत पर्छ । भिटामिन डी कै विषयमा कुरा गर्दा यसको करिब ८० देखि ९० प्रतिशत रिसोर्स भनेको सूर्यको किरण हो । यो हाम्रो शरीरले आफै बनाउन सक्दैन । घाममा नबस्दा वा घाम नताप्दा यसको समस्या बढी हुन्छ । भनेपछि यसलाई सूर्यको किरणबाट प्राप्त गर्ने भिटामिन भनेर बुझदा हुन्छ ? हो, खानाभन्दा बढी घामबाट पाइने भएकाले भिटामिन डीलाई घामबाट पाइने भिटामिनभन्दा पनि हुन्छ । अहिले हामीकहाँ आउने अधिकांश समस्या भोगिरहेकाहरू दिनमा एक पटकपनि घाममा नबसेकोहरू धेरै छन् । बिहानदेखि साँझसम्म घरभित्रको वा कार्यालयमा बसेर काम गर्ने भएकाले यो समस्या भएकाहरू धेरै हुन्छन् । यसको प्राकृतिक सोर्स केही छ ? खानाबाट पनि केही प्रतिशत भिटामिन पाउन सकिन्छ तर, त्यसले प्रयाप्त भने हुँदैन । अण्डा, स्याल्मन फिस, दुग्दजन्य डेरीका केही खानेकुरामा यो पाइन्छ । तर, हामीले भिटामिन प्राप्तका लागि यो मत्रा धेरै खानुपर्ने हुन्छ । त्यसैले जति सजिलो सूर्यको किरणबाट पाइन्छ त्यति सजिलो हुँदैन । अहिले घाममा बसेर भिटामिन लिने चलन छैन । त्यसैले आफ्नो भिटामिन जाँच गरेर चिकित्सकसँग परामर्श लिएर क्यापसुल खाने गर्नुपर्छ । घाममा बस्ने अथवा सूर्यको किरण प्रयाप्त शरीरमा पर्ने व्यक्तिमा यो समस्या हुँदैन हो ? अहिलेको यस्तो भन्न सकिने अवस्था पनि छैन । किन कि हाम्रो अस्पतालको ओपीडीमा आउने बिरामी बिहानदेखि दिनभरि घाममै बसेर काम गर्नेहरूमा पनि भिटामिन डी को कमी भएको पाइएको छ । अहिलेको सूर्यको किरणमा बस्ने वातावरण छैन । एकदम चर्को छ । ५ देखि १० मिनेट बस्दा छालाको समस्या देखिने, पोल्न थाल्ने, छाला डढ्ने, लगायतका समस्या हुन्छन् । कसैलाई घाममा बस्दा टाउको दुख्ने लगायतका समस्या देखिन्छन् । यसो हुँदा धेरैजसो व्यक्ति घाममा बस्न मन लगाउँदैनन् । कतिपय जाडो महिना हुँदा घाममा बस्न मन गर्छन् भने अहिलेको गर्मीयाममा घाममा बस्न प्राय कसैको रुचि हुँदैन । फेरि हामी नेपालीहरू जुन तरिकाले घाममा बस्छौँ, शरीर पुरै ढाकेर मुखमात्र देखाउँछौँ यसलेमात्र पुग्दैन । भिटामिनका लागि छाला एक्सोपोज गर्नुपर्छ । त्यसो भए कुन समयमा कसरी बस्ने ? घाममा बसेर मात्र हुँदैन । कसरी बस्ने भन्ने कुरा आउँछ । तपाईं हामीले विदेशीहरू समुन्द्रको किनारमा सनवेदिङका लागि बसिरहेका देखेका छौँ । उनीहरू शरीरको ७० देखि ८० भाग नढाकेर बसकेका हुन्छन् त्यसैगरी घाममा बस्नुपर्छ । तर, त्यो हाम्रो संस्कृतिले दिँदैन । यसरी घाममा बस्न सम्भावना पनि छैन । र, बिरामीलाई यसरी घाम ताप्नुहोस भनेर भन्न पनि मिल्दैन । अर्को कुरा कुन समयमा घाममा बस्दा राम्रो हुन्छ भन्ने कुरामा बिहान सूर्य अस्ताएदेखि १० बजेसम्मको घाममा बस्दा राम्रो हुन्छ । यो समय अथवा बिहान ८ बजेदेखि १० बजेको घामले पर्याप्त भिटामिन दिन्छ भन्ने गरिन्छ । तर, यो समय भनेको एकदम व्यस्त हुने समय हो । भिटामिन पाउन दिनमा कति घण्टा घाममा बस्नुपर्छ ? यसका लागि दिनभरिमा कम्तिमा ३० मिनेट सिधै सूर्यकाे किरणमा शरीरमा पर्नुपर्छ । प्रयाप्त मात्रामा भिटामिन डी बन्न लगातार ३० मिनेट होस् वा बेलाबेला गरेर होस् दैनिक आधा घण्टा त्यो पनि शरीर दुईतिहाइ भाग एक्सपोज गरेर बस्नुपर्छ । हप्ताको ६ दिन यसरी बस्यो भने शरीरलाई प्रयाप्त मात्रामा पुग्ने गरी भिटामिन डी पुग्छ । भिटामिनकै लागि दिनको आधाघण्टा नियमित घाममा बस्न सायद सम्भव हुँदैन । त्यसैले अहिलेको अवस्थामा भिटामिन डी एकदम कमी छ वा लक्षण नै देखिन थालेको छ भने राम्रो उपाय भनेको क्यापसुल खाने हो । यसका लागि चिकित्सकको सल्लाहमा फार्मेसीबाट क्याप्सुल लिनुपर्छ । कतिपयले कुनै पनि औषधी वा क्याप्सुल चिकित्सकको सल्लाबिनै लिएको पाइन्छ, भिटामिनको कमी भएको लक्षण पर्दा सल्लाह विनै क्याप्सुल खाँदा के हुन्छ ? कुनै पनि औषधी चिकित्सकको सल्लाहबिनै लिनु राम्रो होइन । आफूलाई कुनै पनि समस्या देखिदा जाँच गराइ चिकित्सकको सल्लाह अनुसारमात्र लिनुपर्छ । आफैले किनेर खाँदा घातक हुनसक्छ । भिटामिन डीको कमी भएको कसरी थाहा पाउने ? शरीरमा भिटामिन डी को लेवल १० भन्दा कम छ भने यसलाई कमी भएको मानिन्छ । १० देखि ३० को बीचमा छ भने यने पनि प्रयाप्त हुँदैन । ३० देखि ७० को बीचमा छ भने प्रयाप्त मानिन्छ । योभन्दा माथि छ भने त्यो पनि राम्रो मानिँदैन । अब लक्षणको कुरा गर्दा हामी कहाँ उपचारमा आएको बिरामीसँग कुरा गर्दा चाहिनेभन्दा बढी थकाइ लाग्ने,ढाड दुख्ने,हाड जोर्नी दुख्ने, मांशपेसी दुख्ने जस्ता लक्षण भिटामिन डीको कमी हुँदा देखिएको पाएको छौँ । यस्तै, डिप्रेसनका लक्षण पनि जस्तै झर्को लाग्ने, पहिले गरिरहेको काम गर्न मन नलाग्ने,पहिले जे कुरा रमाइलो लाग्थ्यो त्यो रमाइलो लाग्न छोड्ने, जतिबेला पनि सुत्न पाए हुन्थ्यो जस्तो लाग्ने हुन्छ । सुरुमा बिरामी आउँदा हातखुट्टा दुख्ने जोर्नी दुख्ने लक्षण लिएर आउने भेटेका छौँ । यदि यस्ता लक्षण कुनै व्यक्तिमा देखिने गरेको छ भने हामीले जाँच गराइहाल्नुपर्छ । यस्तो हुँदा जाँचको प्रक्रिया के हुन्छ ? आजभोलि धेरै नागरिक स्वास्थ्यप्रति सचेत भएका छन् । सामान्य रूपमा सुँगर,थाइराइड लगायतका विभिन्न जाँच गराइरहेको पाइन्छ । कतिपयले आफै जाँच गरेर रिपोर्टमात्र देखाउन आउने गरेको पान्छ भने कतिपय सास्या लिएर अस्पतालमै आएर जाँच गराउने गर्छन् । अहिले ल्याबहरू प्रयाप्त मात्रामा छन् । जाँचका लागि कुनै समस्या छैन । मेले माथि भनेको जस्तै कुनै लक्षण तपाइमा पनि छ भने जाँच गराइहाल्नुपर्छ । यो समस्या भइरह्यो तर जाँच गरिएन भने भोलि गएर कस्तो समस्या देखिन्छ ? भिटामिन डी धेरै समयसम्म कम राखिरह्यो भने यसले अरु रोगहरू निम्त्याउँछ । विशेषगरी ४० कटिसकेका महिलाहरूमा क्याल्सियम कम हुँदै जाने, हाडजोर्नी कम हुँदै जाने,हार्मोन परिवर्तन हुँदै जाने, हड्डी खोक्रो हुँदै जाने हुन्छ । दैनिक क्रियाकलप नै बाधा पुग्ने गरी समस्या देखियो भने तुरुन्त चेकजाँच गरिहाल्नुपर्छ । भिटामिनको मात्रा १० भन्दा तल छ भने खाना र घामबाटै पूर्ति गर्छु भनेर घरमै बसिराख्न हुँदैन । किनकि यसो गर्दा पर्याप्त भिटामिन पाइँदैन । यसका लागि क्याप्सुलको विकल्प हुँदैन । तपाईंकहाँ जाँच गराउन आउने बिरामीमा यो समस्या कत्तिको पाउनुभएको छ ? अहिले यो समस्या नेपालमा एकदमै छ । मैले यो अस्पतालमा काम गर्न थालेको पाँच वर्ष भयो । कम्तीमा पनि तीन, चारजना बिरामी यो समस्या लिएर मलाई मात्र भेट्न आउनुहुन्छ । समग्र अस्पतालकै कुरा गर्ने हो भने एभ्रेजमा हाम्रो १५ देखि २० जना जति नै समस्या लिएर उपचार गर्न आउने गर्छन् । कुन उमेर समूहका बढी आउँछन् ? फिजिसियनले १४ वर्षभन्दा माथिका बिरामीलाई हेर्ने गर्छन् । भिटामिन डीको कुरा गर्दा टीनएजदेखि वयस्क, वृद्धवृद्धामा पनि यो समस्या भएको पाउँछौँ । दीर्घरोगी, मानसिक समस्या भएकाहरूमा पनि यस्तो लक्षण देखा पर्छ । कतिपय बिरामीहरू यस्तै समस्या लिएर आउनुहुन्छ तर, जाँच गर्दा समस्या देखिँदैन । त्यस्तै, दीर्घ रोगी मुटुको समस्या भएका, दम भएका डायवेटिज भएकाहरूमा पनि यो लक्षण मेल खान्छ । उनीहरूमा पनि यस्ता लक्षण्हरू देखा पर्छन् । मानसिक स्वास्थय समस्या भएकाहरूमा पनि लक्षण मेलखान जान्छ । अर्को स्कुल जाने स-साना बच्चाहरूमा पनि आजभोलि यस्तो समस्या देखिन्छ । किनकि बिहान उठ्यो स्कुल गयो दिनभरि स्कुलभित्र बस्यो, साँझ घर आयो यसो हुँदा उनीहरू पनि घाम ताप्न पाउँदैनन् र यो समस्या हुन्छ । आभोलि यो समस्या भयावह रूपमा फैलिरहेको सुनिन्छ किन यस्तो भइरहेको छ ? द्रुत सहरीकरण, सहरी जीवनशैली, आफिस टाइम लगायतका विभिन्न कारणले यो समस्या भएको हुन सक्छ । व्यस्त जीवनशैलीले घाममा बस्ने फुर्सद नहुँदा र काम पनि कोठाभित्रै गर्नुपर्दा यो समस्या बढेको हो । अस्पतालमा आउने बिरामी हेर्दा पनि गाउँ भन्दा शहरमा बसोबास गर्नेहरूमा यो समस्या धेरै देखिन्छ । गाउँतिर खेतवारी जाने, घाममै काम गर्ने हुँदा त्यति समस्या देखिँदैन । उपत्यका बाहिरबाट आउने बीरामीमा हात खुट्टा दुख्ने जोनी दुख्ने लक्षण कि हड्डीहरू खिएरै देखिएको हुन्छ नभए यस्तो समस्या भएको पाइँदैन । तर, सूर्यको किरणमा बस्दा पनि जोखिम हुने कुरा सुनिन्छ नि ? अहिले मलाई पनि यो कुरा गर्दा दोधार हुन्छ । भिटामिनको मुख्य स्रोत सूर्य हो । तर, सूर्यको किरणले स्वास्थ्यमा समस्या पार्छ भन्ने कुरा आइरहेको छ । अहिले पहिलेको जस्तो वातावरण छैन । सूर्यको किरणसँगै अल्ट्राभायोलेट (युभी) अथवा परावैजनी किरण पनि मिसिएर आउँछ । यसले छालामा गर्ने असर बढी देखिन सक्छ । अहिले सिधै घाममा बस्नु भनेर सल्लाह दिन पनि सकिने अवस्था छैन । आफ्नै लागि पनि समय निकालेर घाममा बस्न सहज पनि छैन । पहिलेको जस्तो अहिले वातावरण छैन । त्यसैले घाममै बसेर भिटामिन डीको मात्र पुर्याउनुहोस भन्ने सल्ला दिन पनि गाह्रो छ । समय छ भने बिहानको मिरमिरे घाममा बस्न राम्रो हुन्छ । नभए क्याप्सुल खमएर बस्नु नै उपयुक्त हुन्छ । भिटामिन डी क्याप्सुल खाँदा यसको असर केही हुन्छ ? यो क्याप्सुल हेरेर भन्न सकिन्छ । बजारमा क्याप्सुल कस्तो छ, कस्तो ल्यावमा बनेको हो त्यसमा भरपर्छ । यसका लागि बिरामी आफैले किन्नुभन्दा चिकित्सकको सिफारिसमा किन्दा राम्रो हुन्छ । किनभने कुनै पनि चिकित्सकले आफ्नो बिरामीलाई नराम्रो औषधी सिफारिस गर्दैन । यसको त्यस्तो नराम्रो असर पर्दैन । यो खाँदा शरीरमा क्याल्सियम प्राप्त मात्रामा हुनुपर्छ । त्यसैले कहिले खाने, कहिले रोक्ने भन्ने विषयमा सल्लाह लिनुपर्छ । यसका जाँच कतिको सस्तो छ ? अन्य जाँचभन्दा भिटामिन डीको जाँच अलि महंगो हुन्छ । सरकारी अस्पतालमा अलिकती सस्तो भए पनि निजी अस्पतालमा भने यो महंगो हुन्छ । यसको जाँचका लागि मात्र २ हजार बढी खर्च हुन्छ, यो पनि अस्पताल पिच्छे फरक फरक मुल्य हुन्छ । यो कसरी खानुपर्छ ? यो औषधी बिरामीलाई प्रायः सातामा एक पटक खान सल्लाह दिइन्छ । सुरुमा १२ साता, तीन महिनामा र महिनामा एक पटक खान दिन्छौँ । यसको ९ महिनाजतिको कोर्स हुन्छ । त्यसपछि फेरि जाँच गरेर आवश्यक भए निरन्तर खान सल्लाह दिन्छौँ भने नभए खान पर्दैन । त्यसपछि पनि फेर समस्या आयो भने जाँचेर मात्र क्यापसुल खान दिइन्छ । अन्त्यमा केही भन्नुछ ? अहिले धेरैलाई यो समस्या छ , थाहा छ पनि । यो कमअन समस्या हो । कुनै पनि व्यक्तिले सामान्य जाँच गर्दा भिटामिन डी पनि जाँच गनुृपर्छ । धेरै ठाउँमा लक्षण देखा परेर बिरामी भौतारिरहेका हुन्छन् । यो समस्या लिएर विभिन्न डाक्टरलाई भेटिरहेका हुन्छन् । तर, सञ्चो नभएको बिरामी कहिलेकाहीँ भेटिनुहुन्छ । भिटामिन डी जाँच गर्नुभएको छ भनेर सोध्दा छैन भन्नुहुन्छ । यो सानो जाँच हो । तर, अनिर्वाय जाँच गर्नुपर्छ । कहिलेकाँही सामान्य भनिएकाले जोखिम अवस्था ल्याउन सक्छ । त्यसैले आफ्नौ नजिकै रहेको अस्पतालका फिजिसियनसँग सल्लाह अवश्य लिनुहोला ।
डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ
चितवन । भरतपुर महानगरपालिकाले १ अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ । संघ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्याइएको हो । राप्ती र नारायणी नदी, मध्यवर्ती र सामुदायिक वन किनार हुँदै महानगरको अधिकांश भागलाई समेट्ने गरी ८८.६ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको हो । महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका, संघीय सरकारको डिभिजन सडक कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना र प्रदेश सरकारको प्रदेश पूर्वाधार कार्यालयले विभिन्न खण्ड छुट्याएर चक्रपथ निर्माण गरेको जानकारी दिइन् । उनका अनुसार झण्डै ९० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी कामका लागि पनि बोलपत्र आह्वान गरिसकिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती र वनक्षेत्रमा रुख कटानको समस्याले केही साँघुरो भए पनि अधिकांश ठाउँमा सात मिटर कालोपत्र गरिएको छ । चक्रपथले पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, बाइपास सडक र प्रचण्डमार्गलाई समेत ठाउँठाउँमा जोडेको प्रमुख दाहालले बताइन् । प्रमुख दाहालले भनिन्, ‘संघीयताको नमुना परियोजनाका रूपमा हामीले यसलाई लिन सक्छौँ ।’ यो देशकै सबैभन्दा लामो चक्रपथ भएको उनको भनाइ छ । दाहालले एउटै निकायले मात्र काम गर्न सम्भव नभएपछि सबैसँगको सहकार्यमा काम गरिएको बताइन् । काम सम्पन्न गरेर थप व्यवस्थित बनाउने काममा महानगर जुट्ने उनको भनाइ छ । यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको, आर्थिक गतिविधि चलायमान भएको, जीवनस्तर उकास्न सहयोगी बनेको प्रमुख दाहालको भनाइ छ । महानगरपालिकाका इन्जिनियर साकार लामाले ठाउँठाउँमा गरेर ४.१ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेकामा बोलपत्र आह्वान भइसकेको बताए । संघीय सरकारको १० करोड रुपैयाँको लागतमा बोलपत्र आह्वान भएको हो । यो काम सम्पन्न भएपछि चक्रपथको सम्पूर्ण भाग कालोपत्र हुनेछ । महानगरपालिकाको वडा नं २७ र २८ क्षेत्रको नारायणी नदी वारिका तीन ठाउँमा बाँकी रहेका भागको सडक डिभिजन कार्यालयले ठेक्का लगाएको हो । लामाले भने, ‘गाउँगाउँलाई भरतपुरको मुख्य सहरसँग जोड्न चक्रपथ उपयोगी भएको छ ।’ पश्चिम चितवनमा रहेका ठूला होटल हुँदै चक्रपथ बनेकाले पर्यटन क्षेत्रमा पनि यसले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।
नाडा अटो शो तताइरहेका ५ महँगा मोटरसाइकल, युवाको रोजाइमा, मूल्य २५ लाखसम्म
काठमाडौंको भृकुटी मण्डपमा नाडा अटो शो जारी छ । हजारौं अवलोकनकर्ताहरू नाडा अटो शो अवलोकन गर्न आइरहेका छन् । नयाँ-नयाँ मोडलका सवारी साधनले उपभोक्तालाई आकर्षित गरिरहेको छ । सस्ता महँगा सवारी साधनले ग्राहकको मन जितिरहेका छन् । नयाँ-नयाँ गाडी तथा मोटरसाइकलहरू हेर्न आउनेको संख्या दिनप्रतिदिन बढ्दो छ । आज हामी नाडा अटो शोमा प्रदर्शन गरिएका महँगा पाँच वटा मोटरसाइकलको विषयमा जानकारी दिँदैछौं । युवा लक्षित ती मोटरसाइकल नाडा अटो शोकै महँगो मूल्य पर्छ । जुमाभको एस ८ २५० नाडा अटो शोमा आकर्षणका रुपमा रहेको यो डट मोटरसाइकल हो । ९४० मिलिमिटर उचाई रहेको यस मोटरसाइकलको ८ लिटरको इन्जन ट्याङ्की तथा ३२० मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको छ । जसको मूल्य ७ लाख ९९ हजार रुपैयाँ पर्छ । नाडा अटो शोमा अधिकांशले सो मोटरसाइकललाई रुचाएका छन् । यामाहा डब्लुआर १५५ आर यामाहाको डब्लुआर १५५ आर डट पनि डट मोटरसाइकल हो । जसको मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ पर्छ । १५५ सीसी क्षमता रहेको यस मोटरसाइकलमा ८.१ लिटर क्षमताको ईन्धन ट्याङ्की रहेको छ । २ हजार १४५ मिलिमिटर लम्बाई रहेको यस मोटरसाइकलको सिट उचाई भने ८८० मिलिमिटर रहेको छ । मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स २४५ मिलिमिटर छ । उक्त मोटर साइकलको तौल १३४ केजीको रहेको छ । कम्पनीका अनुसार एमटी-१५ भर्सन २ मा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, हल्का एल्युमिनियम स्विङ आर्महरू र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश छन् । भि-स्ट्रोम एसअर सुजुकीको इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल भि–स्ट्रोम एसअर २५० सीसी इन्जिन भएको सो मोटर साइकलको मूल्य ७ लाख रुपैयाँ पर्छ । नाडा अटो शोमा प्रदर्शनीमा राखिएका मोटरसाइकलमध्ये यो पनि एक महँगो मोटरसाइकल हो । यस मोटरसाइकलमा १२ लिटर इन्धन ट्याङ्की रहेको छ । २०५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स, ८३५ मिलिमिटर उचाईको सिट भएको सो मोटरसाईकलको तौल १६७ केजी रहेको छ । यो मोटरसाइकलमा सुजुकी कनेक्ट फिचर, डबल च्यानल एबीएस जस्ता फिचर रहेको कम्पनीले बताएको छ । सुजुकी भि स्ट्रोम सिरिज ग्लोबल मार्केटमा लोकप्रिय एड्भेन्चर मोटरसाइकल हो । बेनेली ७५२ एस इटालियन ब्रान्ड बेनेली ७५२ एस मोटरसाइकल जारी नाडा अटो शोको सबैभन्दा महँगो मोटरसाईकल हो । जसको मूल्य २५ लाख १५ हजार रुपैयाँ पर्छ । बेनेली ७५२ एसमा चारवटा स्ट्रोकको ७५० सीसी लिक्विड कुल्ड ट्वीन सिलिण्डरको इन्जिन, ७६ एचपीमा ८५०० आरपीएम र ६७ एनएममा ६५०० आरपीएम पावर एन्ड म्याक्सिमम टर्क जडान गरिएको छ । प्रत्येक सिलिण्डरमा ४वटा भल्भ भएको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रटल बडी रहेको छ । इटालियन ब्रान्ड बेनेलीको लागि नेपालको एकमात्र आधिकारीक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले ७५२ एस मोटरसाइकल नयाँ मोडलका साथ नेपाली बजारमा भित्र्याएको छ । केटीएमले सन् २०१६ देखि नै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई सम्बोधन गर्दै बिक्री गरिरहेको छ । केटीएमले बेनेलीको पार्टपुर्जाहरुको पनि बिक्री गर्दै आइरहेको छ । त्यसैगरी, नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल ७५२ एस उत्कृष्ट डिजाइनका साथ आएको कम्पनीले जनाएको छ । कम्पनीले ७५२ एसको खरिदमा पहिलो ३ जना ग्राहकलाई १ लाख १० हजारको छुट दिने जनाएको छ । बेनेली ७५२ एसमा चारवटा स्ट्रोकको ७५० सीसी लिक्विड कुल्ड ट्वीन सिलिण्डरको इन्जिन, ७६ एचपीमा ८५००आरपीएम र ६७एनएममा ६५०० आरपीएम पावर एन्ड म्याक्सिमम टर्क जडान गरिएको छ । प्रत्येक सिलिण्डरमा ४वटा भल्भ भएको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रटल बडी रहेको छ । यसैगरी, हाइड्रोलिक ब्रेक, ब्रेम्बो ब्रेकिङ्ग सिस्टम, सेमी फ्लटिङ डेस्क, अगाडी फोर पिस्टन क्यालिपर तथा पछाडीतिर डबल पिस्टन फ्लटीङ क्यालिपर, १७ इन्च आल्मुनियम अले रिम, १४।५ लिटर क्षमताका ट्याङकी रहेको छ । यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध छ । एनएस ४०० जेड पस्लरको एनएस ४०० जेड मोटरसाईकल जारी नाडा अटो शोको आकर्षकको रुपमा रहेको छ । यो एनएस सिरिजको प्रिमियम मोटरसाइकल हो । जसको मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको छ । सो मोटरसाईकलमा ३७३ सीसीको सिंगल सिलिण्डर लिक्विड कुल्ड इन्जिन छ । कम्पनीका अनुसार सो इन्जनले ४० बीएच पावर तथा ३५ एनएम टर्क उत्पादन गर्छ । १२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपर्युक्त छ ।
राष्ट्रिय कोडिङ प्रतियोगिता : आदिम कलेज, दूरशिक्षा र आईसीटी फ्रेम म्यागजिनबीच सहकार्य
काठमाडौं । राष्ट्रिय कोडिङ प्रतियोगिता सम्पन्न गर्नका लागि आदिम कलेज, दूरशिक्षा र आईसीटी फ्रेम म्यागजिन प्रालिबीच औपचारिक रूपमा समझौतापत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ । यो सहकार्यले नेपालका आईटी विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू वृद्धि गर्न सहयोग पुर्याउनुका साथै बालबालिकाहरूमा कोडिङ सिप विकासलाई टेवा पुर्याउने उदेश्य राखिएको छ । यस साझेदारीले देशको भविष्यको आईटी शिक्षामा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ । मार्गदर्शन कार्यक्रमः आदिम कलेजले आफ्नो स्नातक कार्यक्रमबाट बालबालिकाहरूलाई कोडिङ प्रतियोगितामा सहभागी गराउन आईटी विद्यार्थीहरू छान्नेछ । दूरशिक्षाले आवश्यक तालिम र स्रोतहरू उपलब्ध गराउनेछ भने आईसीटी फ्रेम म्यागजिनले व्यापक सहभागिता सुनिश्चित गर्न प्रवर्द्धन र प्रचारको जिम्मा लिएको छ । तालिम र विकासः दूरशिक्षाले छानिएका मार्गदर्शकहरूलाई कोडिङ, एल्गोरिथम विकास र समस्या समाधानमा विशेष अनलाइन तालिम प्रदान गर्नेछ । यस तालिममा युवा कोडरहरूलाई प्रभावकारी रूपमा मार्गदर्शन गर्न आवश्यक सीप प्रदान गर्न प्रयोगात्मक कार्यहरू समावेश हुनेछन् । प्रतियोगिता र कार्यक्रमहरूः आदिम कलेज र दूरशिक्षाले संयुक्त रूपमा बालबालिकाहरूका लागि नियमित कोडिङ प्रतियोगिताहरू आयोजना गर्नेछन् । यी प्रतियोगिताहरूको विषयवस्तु, संरचना र मूल्याङ्कन मापदण्ड तीनवटै पक्षहरू मिलेर निर्धारण गर्ने बताइएको छ । आईसीटी फ्रेम म्यागजिनले आफ्नो च्यानलहरू मार्फत यी कार्यक्रमहरू प्रकाशन गर्नेछ । समझौतापत्रका मुख्य उद्देश्यहरूः यो सहकार्यले बालबालिकाहरूका लागि आयोजना गरिने कोडिङ प्रतियोगिताहरूको गुणस्तर र पहुँच वृद्धि गर्दै आदर्श कलेजका आईटी विद्यार्थीहरूलाई व्यावहारिक मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ । प्रत्येक संस्थाको बलियो पक्ष र विशेषज्ञतालाई सदुपयोग गरी यो एमओयूले नेपालको युवामाझ आईटी सीप विकासलाई प्रवर्द्धन गर्ने र उनीहरूलाई प्रविधि क्षेत्रमा भविष्यका अवसरहरूको लागि तयार गर्ने लक्ष्य छ । एमओयूमा आदिम कलेजका सिइओ शंकर प्रसाद शर्मा, दूरशिक्षाका सिइओ कृष्ण पाण्डे र आईसीटी फ्रेम म्यागजिन प्रालिका तर्फबाट आउट्रिच अफिसर रवीन्द्र गौलीले हस्ताक्षर गरेका छन् । कसरी सहभागी हुने ? कक्षा २ देखि ९ सम्म ९उमेर ७ देखि १४ वर्ष० का विद्यार्थीहरूलाई लक्षित गर्दै कोडिङ कम्पिटिसन आयोजना हुने दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले जानकारी दिए । उनका अनुसार यो कोडिङ कम्पिटिसनले विद्यार्थीमा क्रिटिकल थिङ्किङ र प्रब्लम सल्भिङ स्किललाई बढाउन सहयोग गर्नेछ । कम्पिटिसनमा सहभागी हुन इच्छुक विद्यार्थी वा समूहले अनलाइनमार्फत एउटा थिम (विषय) मा आधारित रही परियोजना प्रस्ताव गर्नुपर्छ । यसपछि दूरशिक्षाका प्रशिक्षकहरूले डिसकभरी एजुकेसन कोडिङ प्लेटफर्ममार्फत कसरी परियोजना बनाउने भनेर वेबिनारमार्फत निःशुल्क सिकाउनेछन् । योसँगै विद्यार्थीले आफ्नो थिममा आधारित रही परियोजना अनलाइनबाट पठाउनुपर्ने छ । अनलाइनमा प्राप्त परियोजनामध्येबाट आयोजकले उत्कृष्ट परियोजनाहरूबीच प्रतिस्पर्धा गर्न भौतिक कार्यक्रम गर्नेछ । त्यहाँ मेन्टरको गाइड अनुसार काम गर्नुपर्छ भने अन्त्यमा प्रतिस्पर्धी कोडरहरूले आफैंले एउटा थिममा आधारित भएर परियोजना तयार पारी पठाउनुपर्छ । यसरी परियोजना तयार पार्ने विद्यार्थीले डिस्कभरी एजुकेसन नेटवर्कमार्फत सहभागिताको सर्टिफिकेट पाउनुका साथै एक वर्षको सब्स्क्रिप्सन निःशुल्क पाउनेछन् । साथै, नेपाल विजेताले ट्याबलेट, ५० हजार रुपैयाँ सहित ग्लोबल एक्सपोजर पाउनेछन् भने दोस्रो हुनेले २५ हजार रुपैयाँ र अन्य उपहारहरू प्राप्त गर्नेछन् । आयोजकका अनुसार नेपाल विजेताले भारतीय विद्यार्थीहरूसँग कोडिङ प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त प्रतिस्पर्धामा समेत जीत हासिल गर्न सके बेलायतको डिस्कभरी एजुकेसनको विश्वस्तरीय प्रतिस्पर्धामा छनोट हुने अवसर मिल्नेछ ।
६८ लाखमा बनेको ‘भ्यूटावर’ मद्यपान र धुमपानको केन्द्र
मध्यविन्दु । बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका-१ बालुवाडाँडामा ६८ लाख रुपैयाँ लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यूटावर मद्यपान र धुमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गरिन् । ‘अहिले त भ्यूटावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ । भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहर फालिएको छ, जमिन पनि धाँजा भएर फाट्न थालेको छ,’ उनले भनिन् । टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्यूटावर नजिकै घर भएका स्थानीयवासी खुसी भएका थिए । तर, भ्यूटावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा खुसीभन्दा पनि अहिले असुरक्षा बढेको रानाले बताइन् । ‘भ्यूटावर सञ्चालन गर्ने निकाय नहुँदा विकृति बढ्दै गएको र बाटोमा हिँड्न पनि डरलाग्दो भएको छ,’ उनले भनिन्, ‘अबेर रातिसम्म मदिरा सेवन गर्नेको समूह धेरै आउन थालेको छ, कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा स्थानीय बालबालिकालाई पनि डर हुने अवस्था सृजना भएको छ ।’ कावासोती–१ का वडाध्यक्ष तबारक अहमद मियाँले भ्यूटावर सञ्चालनमा नआए पनि दैनिक सयभन्दा धेरै आन्तरिक पर्यटक भ्यूटावर क्षेत्र घुम्न आउने गरेको बताए । ‘तत्काल भ्यूटावर व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरपालिकामा पहल गरिरहेको छु,’ उनले भने, ‘व्यवस्थित रूपमा भ्यूटावर सञ्चालन नहुँदा दैनिक आम्दानीको स्रोत गुमिरहेको छभने रेखदेख नहुँदा त्यस क्षेत्रमा फोहरको थुप्रो लागेको छ ।’ भ्यूटावरको वरिपरि पहिरो जान थालेपछि आर्थिक वर्ष २०७९/८० मा १० लाख बजेट विनियोजन गरी नगरपालिकाले ‘कम्पाउण्ड वाल’ लगाउन सुरु गरेको थियो । चालु आवमा पनि कम्पाउन्ड वाल निर्माणका लागि १० लाख रकम विनियोजन गरिएको छ । भ्यूटावर व्यवस्थापन र नियमित सञ्चालनका लागि नगरपालिकाले प्राथमिकतामा राखेको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए । ‘यसै आवदेखि वडा कार्यालय र स्थानीयको रेखदेखमा सञ्चालन गर्न दिनेबारे मोटामोटी छलफल भइरहेको छ,’ उनले भने, ‘अहिले देखिएका केही समस्यालाई छिटोभन्दा छिटो सम्बोधन गर्नेछौँ ।’ समुद्री सतहबाट झण्डै ८ सय मिटर उचाइमा रहेको भ्यूटावर पूर्वपश्चिम राजमार्गको फलफूलचोकबाट ११ किलोमिटरको दुरीमा रहेको छ । यस क्षेत्रबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्ष बने गोल्ड मेडलिष्ट राजा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा राजा अर्याल नियुक्त भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले अध्यक्षमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विजय शर्माले जानकारी दिए । लघुवित्तको संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै अर्याल संचालक सदस्य बनेका हुन् । यसअघि बैंकको प्रतिनिधित्व गर्दै सुरेन्द्र राज रेग्मी संचालक थिए । रेग्मी बैंकको सीईओ बनेपछि बाँकी अवधिका लागि अर्याललाई सञ्चालक बनाएर पठाएको हो । हाल ग्लोबल आईएमई बैंकको सहायक महाप्रबन्धक (एजीएम) को रूपमा काम गरिरहका छन् । अर्यालसँग प्रमुख वित्तीय अधिकृत, प्रमुख रिकभरी अधिकारी, प्रमुख अनुपालन अधिकारी, प्रदेश प्रमुख, प्रमुख अनुपालन अधिकारी जस्ता महत्वपूर्ण रणनीतिक पदहरूमा २० वर्षको बैंकिङ अनुभव छ । अर्याल विगत १७ वर्षदेखि ग्लोबल आइएमई बैंकमा कार्यरत छन् । उनले पोखरा विश्वविद्यालयबाट एमबीए गरेका हुन् । उनी स्वर्ण पदक (गोल्ड मेडलिष्ट) पनि हुन् ।
मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त, बरिष्ठ तीन सचिव असन्तुष्ट
काठमाडौं । नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षको उमेर हदका कारण शुक्रबारबाट अवकाश हुने भएपछि सरकारले हाल गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । वरियतामा चौथो स्थानमा रहेतापनि अर्याललाई मुख्यसचिव बनाइएको छ । सचिवमा अर्यालभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई थिए । अर्याल नायबसुब्बाबाट विसं २०४६ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । अर्यालले आगामी डेढ वर्ष निजामति प्रशासनको नेतृत्व गर्नेछन् ।
विदेशिएका विद्यार्थी स्वदेश फिर्ता ल्याउनेगरी काम गर्न आग्रह
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले विदेशिएका विद्यार्थीलाई स्वदेश फिर्ता ल्याउनेगरी भूमिका निर्वाह गर्न शैक्षिक परामर्श व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २८औँ वार्षिकोत्सवका अवसरमा इक्यानलाई भूमिका परिवर्तन गर्न अनुरोध गर्दै मुलुकलाई शैक्षिक हबका रुपमा विकास गर्ने योजनामा सहयोग गर्न आग्रह गरे । ‘पछिल्लो समय नेपालमा केही हुँदैन भन्ने भाष्य स्थापना गर्न खोजिएको छ, अब यो निराशावादी भाष्यलाई चिर्दै सकारात्मक सोचका साथ स्वदेशमै अवसर छ भन्ने ढङ्गले सोच्नु आवश्यक छ,’ उनले भने । मन्त्री भण्डारीले उच्च शिक्षाका नाममा विदेशिएका जनशक्तिले स्वदेशकै माटोमा भविष्य खोज्ने समय आएको समेत बताए । नेपालबाट विभिन्न बाहनामा जनशक्ति र पुँजी पलायनको अवस्था रहेको उल्लेख गर्दै यसलाई रोक्नका लागि शैक्षिक परामर्श व्यवसायीहरूको पनि भूमिका रहने उनको भनाइ छ । ‘सरकार युवा जनशिक्तलाई स्वदेशमै रोक्ने नीतिका साथ अगाडि बढेको छ, यसमा निजी क्षेत्र त्यसमा पनि विशेषगरी इक्यान जस्तो संस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ, म यहाँहरूलाई त्यसका लागि सरकारको योजनामा साथ दिन आग्रह गर्दछु,’ उनले भने । । सरकारले ‘स्टार्टअप’ लगायत नीतिमार्फत युवालाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिनेगरी काम गरिरहेको बताउँदै मन्त्री भण्डारीले लगानी सम्मेलनमार्फत विदेशबाट पुँजी र प्रविधि ल्याउनका लागि सरकारले पहल गरिरहेको बताए । सरकारले शैक्षिक परामर्श व्यवसायीहरुको भूमिका बुझेको र यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको समेत जनाए । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शैक्षिक परामर्श मुलुकको सेवामुलक क्षेत्रमा प्रमुखमध्ये एक भएको बताए । ‘लाखौँ विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने र हजारौँलाई रोजगारी दिएको यो सेवामुलक क्षेत्रलाई राज्यले महत्त्वका साथ लिनुपर्छ, यस क्षेत्रका समस्या समाधानका लागि सरकारले साथ दिनुपर्छ, सरकारलाई पनि यस क्षेत्रको साथ र सहकार्य जरुरी छ,’ उनले भने । विदेशबाट विद्यार्थी ल्याउन र नेपाललाई शैक्षिक हब बनाउनका लागि इक्यानले देखाएको चासोमा सरकारले प्राथमिकताका साथ सहकार्य गर्ने उनले बताए ।