प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ
काठमाडौं । काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याएको हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । शुक्रबार काभ्रेको धुलिखेलमा विश्वविद्यालयको २९औं दीक्षान्तअघि प्रधानमन्त्री ओलीले हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका हुन् । कोरियामा बनेको हुन्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको हो । प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी आएर प्रदूषण कम गर्न सहयोग हुने बताए ।
भ्रष्टाचार विधेयकबाट ५ वर्षे हदम्याद हट्यो
काठमाडौं । भ्रष्टाचार निवारण ऐन संशोधनसम्बन्धी विधेयकमा रहेको ५ वर्षे हदम्याद सर्वसम्मतिले हटाइएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने प्रस्तावित व्यवस्थालाई हटाउने निर्णय सर्वसम्मतिले गरेको हो । प्रस्तावित ऐनको दफा १६ संशोधन गरी हदम्याद हटाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । बैठकमा गृहमन्त्री रमेश लेखकले सरकार पाँच वर्षे हदम्याद हटाउन तयार रहेको बताएका थिए । सरकारले भ्रष्टाचारका कसुरमा ५ वर्षीय हदम्याद राख्दै विधेयक दर्ता गरेपछि चौतर्फी दबाब बढेको थियो ।
नेपालमा ५८ देशको ३ खर्ब लगानी, कुन देशको कति ?
काठमाडौं । नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ मा नेपालमा ५८ देशको प्रत्यक्ष लगानी ३ खर्ब लगानी रहेको तथ्याङ्क छ । राष्ट्र बैंकका अनुसार नेपालमा ५८ देशले कुल २ खर्ब ९५ अर्ब ४९ करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये भारतबाट सबैभन्दा बढी १ खर्ब ३ अर्ब रुपैयाँ लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ । त्यसपछि क्रमशः चीनबाट ३५ अर्ब ४६ करोड रुपैयाँ, आयरल्याण्डबाट २२ अर्ब ६२ करोड रुपैयाँ, अष्ट्रेलियाबाट १० अर्ब ५ करोड रुपैयाँ, सिङ्गापुरबाट १८ अर्ब ८० करोड रुपैयाँ र वेष्ट इण्डिजबाट १४ अर्ब ३९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै दक्षिण कोरियाबाट १३ अर्ब ८७ करोड रुपैयाँ, अमेरिकाबाट १२ अर्ब २२ करोड रुपैयाँ, हङकङ्ग चिनबाट ७ अर्ब २३ करोड रुपैयाँ, बेलायतबाट ६ अर्ब ८५ करोड रुपैयाँ, नेदरल्याण्ड्सबाट ५ अर्ब ९३ करोड रुपैयाँ, बङ्गलादेशबाट ४ अर्ब ४९ करोड रुपैयाँ, पाकिस्तानबाट ४ अर्ब ३५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकको तथ्यांक छ । नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई २ खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ । प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९.७ प्रतिशत रहेको देखिन्छ । त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेश प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखिन्छ ।
यस वर्षको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई
काठमाडौं । यस वर्षको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई प्रदान गरिएको छ । शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदान’ लाई दिने निर्णय गरेको हो । यस्तै, बैठकले प्राडा योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० पुरस्कार दिने निर्णय गरेको छ । दुवै पुरस्कारको राशि ४–४ लाख रुपैयाँ छ । २०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो । जसमा मैनालीको मुकाम रणमैदानसँगै भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए ।
चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो स्नातक तह प्रवेश परीक्षाको नतिजा
काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तह (एमबीबीएस) का लागि लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । जसमा ७ हजार ८ सय ४७ जना उतिर्ण भएका छन् । शैक्षिक सत्र २०८१/०८२ का लागि आयोगले भदौ १ गते परिक्षामा सञ्चालन गरेको थियो । न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकामा रोलनम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा गलत भरेकाहरूको भने रद्द गरिएको आयोगले जनाएको छ । परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । हेरौं नतिजा ः [pdf id=506569]
‘सरकारले निर्माण व्यवसायीको भुक्तानी समयमा नगर्दा अर्थतन्त्र चलायमान हुन सकेन’
काठमाडौं । मुलुकको अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउन आवश्यक रहेको व्यवसायीहरूले बताएका छन् । बिहीबार काठमाडौंमा युवा निर्माण व्यवसायी समुदायले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन् । पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन निर्माण उद्योग चलायमान हुन जरुरी रहेको व्यवसायीहरूले औंल्याए । व्यवसायीहरूले निर्माण उद्योग चलायमान हुन सरकारले निर्माण उद्योगलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी समयमा गर्न नसक्दा पनि अर्थतन्त्र चालयमान हुन नसकेको उनीहरूको भनाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले निर्माण क्षेत्र सरकारको प्राथमिकतामा नरहेकाे महसुस भएको बताए । उनले मुलुकमा पूर्वाधार निर्माणको लागि निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको उल्लेख गरे । अध्यक्ष अग्रवालले हरेक वर्षको बजेटमा आवश्यकताको पहिचान विना नयाँ आयोजनाहरु थप हुने तर पछि बजेट अभाव हुँदा आयोजनाहरू रुग्ण बन्ने अवस्था आउने गरेको बताए । उनले यस्तो समस्या आउन नदिनका लागि सरकारले आवश्यकता र औचित्यको आधारमा आयोजनाहरू छनोट गर्न आवश्यक रहेको बताए । अध्यक्ष अग्रवालले तीन तहका सरकार हुँदा पनि कसले पूर्वाधार बनाउने र जिम्मेवारी कसले लिने भन्ने अन्योलता रहेको भन्दै पूर्वाधार निर्माण गर्दा तीन तहका सरकारले आवश्यकता र पुँजीको आधारमा छनोट गर्नु उचित हुने बताए । उनले मुलुकमा राजनीतिक र कर्मचारी अस्थिरताको कारणले पनि निर्माण क्षेत्र समस्यामा रहेको धारणा राखे । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योग शिथिल,आर्थिक उपार्जनमा आएको संकट र सरकारले भुक्तानी गर्न नसकेको कारणले गर्दा निर्माण उद्योग समस्यामा परेको बताए । उनले निर्माण उद्योगमा परेको समस्याले सप्लाई चेन लगायत सहयोगी हातहरू पनि समस्यामा परेको उल्लेख गरे । अध्यक्ष सिंहले मुलुकको अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउन आवश्यक रहेको बताए । उनले युवा निर्माण व्यवसायीहरुले निर्माण उद्योग चलायमान बनाउने महत्वपूर्ण भुमिका निवाह गर्ने अपेक्षा रहेको उल्लेख गरे । युवा निर्माण व्यवसायी समुदायको ६ औं अधिवेशनबाट वसन्तबहादुर चन्दको नेतृत्वमा १५ जनाको कार्यसमिति चयन गरेको छ ।
नेरूडे मिर्मिरेका कर्मचारी फेरि आन्दोलित, लघुवित्तमा पुग्यो राष्ट्र बैंक
काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरू पुनः आन्दोलित बनेका छन् । आन्दोलित कर्मचारीले राखेका मागहरू सम्बोधन नभएको भन्दै आज (भदौ १४ गते) देखि प्रदेश तथा कलष्टर कार्यालयहरूमा तालाबन्दी गरेका हुन् । मिर्मिरे लघुवित्त कर्मचारी संगठनका अध्यक्ष कटक बहादुर शाहले कर्मचारीका माग पुरा गर्न तत्काल वार्ताको टेबुलमा बस्न व्यवस्थापन समक्ष माग गरेका छन् । यदि वार्ताको माध्यमबाट मागहरू सम्बोधन नभए भदौ १४ गतेदेखी प्रदेश तथा कलष्टर कार्यालयहरूमा तालाबन्दी र भदौ १६ गतेदेखि केन्द्रीय कार्यालय घेराउ तथा धर्ना गर्ने र सशक्त संघर्षका कार्यक्रहरू गर्ने शाहले चेतावनी दिए । साथै विरोधका कार्यक्रमका लागी तयारी अवस्थामा रहन कर्मचारीहरूलाई आग्रह गरेका छन् । संघर्षका कार्यक्रमबाट संस्थामा पर्ने क्षतीको जिम्मेवार स्वयम लघुवित्त संस्थाको व्यवस्थापन पक्ष हुनुपर्ने उनको भनाइ छ । शाहका अनुसार आफूहरूको मनोबल खस्किने गरी पद घटुवा गरेपछि कर्मचारीहरू आन्दोलन गर्नु परेको हो । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पूर्याएर बलियो बनाएको भएपनि योगदान र खेलेको भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गरेको हुँदा आन्दोलन गर्नु परेको उनले बताए । गत असार २५ गते कर्मचारी संगठनले लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ९ बुँदे ज्ञापनपत्र बुझाउँदै साविक नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जपश्चात् साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति थियो । तर, मर्जरपश्चात् केन्द व्यवस्थापक पद सिर्जना गरी कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जामा राखेको उनीहरूको गुनासो छ । त्यसैले केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने मागसहित देशभरिका शाखामा तालाबन्दी गरेका हुन् । मर्जरपछि कर्मचारीमाथि अन्यायपुर्ण तरिकाले गरिएका सरूवा, अनावश्यक कारबाही र जिम्मेवारी हेरफेरमा भएको सौतेनि व्यवहार तुरून्तै खारेज गर्नुपर्ने, पुर्वदेखि पश्चिमसम्म कुनैपनि कर्मचारीहरूसँग सुमधुर सम्बन्ध नभएको व्यक्तिलाई कर्जा असुलि विभाग प्रमुखको जिम्मेवारीबाट तत्काल हटाउनुपर्ने उनीहरूले माग राखेका थिए । यस्तै विभिन्न व्यक्तिको शैक्षिक योग्यता भारतीय डुप्लीकेट रहेकाले छानबिन गरी कारबाही हुनुपर्ने, केन्द्र व्यवस्थापक र नायब पद खारेज गरी सम्पुर्ण केन्द्र व्यवस्थापक कर्मचारीहरूलाइ कनिष्ठ सहायक पदमा र नायव पदलाई हटाई माथिल्लो पदमा बढुवा गर्नुपर्ने, नियमसंगत हुनुपर्ने कर्मचारी बढुवा तुरून्त गरिनुपर्ने, विभिन्न ठाउँमा मर्ज भएका शाखाहरूका तत्कालीन शाखा प्रमुखलाई सोही शाखामा राखि मनोबल नै खस्किने गरी व्यवस्था गरेकोप्रति ध्यानार्कषण भएको र तुरून्त उहाँहरुको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था पर्यवेक्षण विभाग प्रमुख कार्यकारी निर्देशक बिमल राज खनाल नेरूडे मिर्मिरे लघुवित्त संस्थामा भएको कर्मचारी विवाद बारे नजिकबाट नियालिरहेको बताउँछन् । साथै राष्ट्र बैंकको टोलीले स्थलगत निरीक्षण गरेको हुँदा प्रतिवेदन आउन बाँकी रहेको उनले बताए । ‘हामीले आफ्नोतर्फबाट काम गरिरहेका छौं, राष्ट्र बैंकको टोलीले स्थलगत निरीक्षण २/३ दिन अगाडि सकेर आएको छ, संस्थामा के भइरहेको छ भनेर नजिकबाट हेरिरहेका छौं,’ उनले भने, ‘लघुवित्तमा भइरहेको कर्मचारी विवादको विषय राष्ट्र बैंकको नोटिसमा छ, निरीक्षण टोलीको रिपोर्ट फाइनल भइसकेपछि थाहा भइहाल्छ ।’’ उनका अनुसार कर्मचारी व्यवस्थापन काम सम्बन्धित संस्थाको रहेको उनले बताए । यदि केही समस्या परिहाल्यो भने राष्ट्र बैंकले संस्थाको सञ्चालक समिति र व्यवस्थापनलाई बोलाएर छलफल गर्ने उनको भनाइ छ । सम्बन्धित समाचार: नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलन चौंथो दिन पनि जारी, देशभरका शाखा ठप्प नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलनले उग्ररूप लिँदै, बिहानै केन्द्रीय कार्यालयमा तालाबन्दी नेरूडे मिर्मिरे प्रकरण स् कर्मचारीको आन्दोलन बल्झिदैँ, अब संगठनले नेतृत्व गर्ने नेरूडे मिर्मिरे लघुवित्तमा भाँडभैलो, देशभरिका शाखामा तालाबन्दी नेरूडे मिर्मिरे लघुवित्तमा साविक मिर्मिरेका कर्मचारी चेपुवामा, झण्डै कुटिए डीसीईओ बोहरा ! नेरुडे मिर्मिरे लघुवित्तका देशभरिका शाखामा तालाबन्दी (फोटो फिचरसहित)
नेपालमा सम्भावना नभएको भए म जस्तो सामान्य मान्छे नेतृत्वसम्म आइपुग्ने थिइनँ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन् । शुक्रबार काठमाौंमा आयोजित एक कार्यक्रममा बोल्द उनले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश रहेको बताएका हुन् । उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको बताए । उनले नेपालमा केही पनि सम्भावना नभएको भए आफू जस्तो सामान्य व्यक्ति उद्योग वाणिज्य महासंघको नेतृत्वसम्म नआइपुग्ने बताए । अहिले नेपाल बाहिर रहेका नेपालीहरूले नेपालमा कुनै अवसर नरहेको, सबै नराम्रो रहेको भन्ने सोचलाई मात्रै बढी प्रश्रय दिइरहेको उनकाे भनाइ छ । आम नागरिकहरूलाई विश्वासमा लिएर अघि बढ्नसके नेपालमा प्रचुर सम्भावना रहेको उनले बताए । ‘अहिले एउटा भाष्य बनाइएको छ, नेपालमा केही सम्भावना पनि छैन, यहाँको मान्छे पनि राम्रो छैन, हरेक हिसाबले नेगेटिभ मात्रै सोचाइ छ,’ उनले भने, ‘तर वास्तविकता त्यो होइन, नेपालमा अवसर छैन, थिएन, नेपालमा सम्भावना नभएको भए हामी जस्तो केही पनि नभएको व्यक्ति निजी क्षेत्रको छाता संगठनको जिम्मेवारी लिन असम्भव थियो ।’ अध्यक्ष ढकालले लगानीको वातावरण नै छैन, कानूनहरू नै ठिक छैन मात्रै भन्ने र संशोधनतिर नजाने हो भने कहिले पनि राम्रो वातावरण बनाउन नसकिने उल्लेख गरे ।