पूर्वगभर्नर, सचिव र बैंकर्स मिलेर ‘एग्रो भेन्चर क्यापिटल’ स्थापना, ५० करोड पुँजीको कम्पनीले आईपीओ ल्याउने
काठमाडौं । नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग व्यवसायलाई विकास र विस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापना हुने भएकाे छ । छिटै स्थापना हुन लागेको एग्रो भेन्चर क्यापिटलमा पूर्वगभर्नर, बैंकर, कृषि क्षेत्र विज्ञ, अर्थविद्देखि कृषि क्षेत्रका उद्यमीले सहकार्य गर्न लागेका छन् । पूर्वगभर्नर डा. चीरञ्जीवी नेपाल, पूर्वकृषि सचिव योगेन्द्रकुमार कार्की, पूर्वबैंकर तथा बीमा समितिका पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, पूर्वबैंकर रमेशकुमार भट्टराई, पूर्वबैंकर जनक शर्मा पौडेल लगायतले एग्रो भेन्चर क्यापिटलमा लगानी गर्न लागेका हुन् । नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग, व्यवसायको विकास र विस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापना गर्न लागिएकाे उनीहरूले बताएका छन् । पूर्वबैंकर रमेशकुमार भट्टराइले आ-आफ्ना क्षेत्रमा लामो अनुभव हासिल गरेका साथीहरू मिलेर एग्रो भेन्चर क्यापिटल स्थापना गर्न लागिएको बताए । अमेरिका र युरोपमा सफल मानिएको भेन्चर क्यापिटल नेपालमा पनि केही वर्ष अघिबाट सुरु भइसकेको छ । विदेशी लगानीका र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भेन्चर क्यापिटल नेपालमा काम गरिरहेका छन् । राम्रो सम्भावना भए पनि पूूँजी अभावमा धेरै उद्योग, व्यवसाय चल्न नसकेको र जोखिम बढी हुने भएकाले बैंकहरूले सहज लगानी गर्ने अवस्था हुँदैन । यस्ता उद्योग, व्यवसायमा ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल’ (पीईभीसी) ले लगानी गर्छन् । यस्ता समस्या सम्बोधन गर्न कृषि क्षेत्रका उद्योग–व्यवसायलाई मुख्य प्राथमिकतामा राखेर छुट्टै भेन्चर क्यापिटल खोल्ने प्रयास गरेको भट्टराईले बताए । उनका अनुसार विभिन्न चरणको छलफलपछि प्रस्तावित कम्पनीको नाम नेपाल एग्रो भेन्चर क्यापिटल राख्ने निर्णय भएको हाे । कम्पनीको तत्कालको चुक्ता पूँजी ५० करोड र सञ्चालनको एक वर्षभित्र १ अर्ब बनाउने प्रस्ताव गरिएको उनले बताए । प्रस्तावित कम्पनीमा संस्थापकका लागि ८५ प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर छुट्याउने तयारी भएकाे भट्टराईले बताए । संस्थापक सेयरमध्ये ४५ प्रतिशत बैंक, बिमा र सूचीकृत संस्थाका लागि हुनेछ भने ४० प्रतिशत व्यक्ति र प्राइभेट कम्पनीका लागि छुट्याइने छ । नेपालमा विदेशी र स्वदेशी लगानीका भेन्चर क्यापिटल सञ्चालन भए पनि कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग–व्यवसाय स्थापना, सञ्चालन र प्रवर्धनमा सहयोग गर्ने छुट्टै भेन्चर क्यापिटल नरहेको उनले बताए । सोही कारण कृषि क्षेत्रमा काम गर्ने गरी भेन्चर क्यापिटल स्थापना गर्न लागिएको भट्टराईले बताए । प्रस्तावित नेपाल एग्रो क्यापिटल लिमिटेडको सम्भाव्यता अध्ययन र आवश्यक तयारी भइसकेको उनले बताए । आगामी साता बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, व्यक्तिगत लगानीकर्ता र निजी कम्पनीसाग छलफल गरी अगाडि बढ्ने उनले बताए ।
निजी कम्पनीहरूसँग नाफा खान एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि भन्ने आशंका छ : सांसद झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरू ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले नेपाल एयरलाइन्सका सबै जाहाजहरु ग्राउण्डेड भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले सि चेकको लागि एक महिनाको लागि जहाज विदेश पठाएको भएपनि इटालीमा ९० दिनदेखि राखिएको बताए । उनले इटालीमा दैनिक ५ करोड रुपैयाँ पार्किङ शुल्क तिरेर घाटा व्यहोरिरहेको भन्दै यसप्रति कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । चाडपर्वको बेलामा अन्य निजी कम्पनीहरूसँग नाफा खानाका लागि एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि भन्ने आशंका पनि उब्जिएको उनले बताए ।
जीडीपीको ४४ प्रतिशत पुग्यो सार्वजनिक ऋण, लक्ष्यभन्दा बढी ऋण लिनुपर्ने बाध्यता
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को महिलो महिनामा ४१ अर्ब रुपैयाँ बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन महिनामा ४१ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो । यससँगै नेपालले तिर्न बाँकी रहेको सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४५ करोड रुपैयाँ पुगेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादनको ४३.३४ प्रतिशत पुगेको छ । उक्त ऋणमध्ये १२ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ आन्तरिक र १२ खर्ब ६८ अर्ब ५४ करोड बाह्य ऋण हो । कार्यालयले चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकाेमा साउन मसान्तसम्ममा ४३ अर्ब ५९ करोड ऋण प्राप्ति भएको छ । साउन महिनामा नेपालले १९ अर्ब २७ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७.९७ प्रतिशत र आन्तरिक ऋण प्राप्ति १२.१२ प्रतिशत तथा बाह्य ऋण प्राप्ति १.६ प्रतिशत रहेको छ । कुल ग्राहस्थ उत्पादनको तुलानामा आन्तरिक ऋण २१.१० प्रतिशत अर्थात् १२ खर्ब ३ अर्ब ९० करोड र वाह्य ऋण दायित्व २२.२४ प्रतिशत अर्थात् १२ खर्ब ६८ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कर्यालयका अनुसार सरकारले कुल साउनमा १९ अर्ब २७ करोड रुपैयाँ भुक्तानी गरेको छ । सरकारले १७ अर्ब आन्तरिक ऋण भुक्तानी गरेको छ भने २ अर्ब २७ करोड वाह्य ऋण भुक्तानी गरेको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षमा कुल ५ अर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा साउनमा ४३ अर्ब ५९ करोड ऋण प्राप्त भएको कार्यालयले जनाएको हो । वार्षिक लक्ष्यको तुलनामा सार्वजनिक ऋण प्राप्ति ७.९७ प्रतिशत र आन्तरिक ऋण १२.१२ प्रतिशत तथा वाह्य ऋण १.६६ प्रतिशत रहेको कार्यालय रहेको बताएको छ । यसैगरी खर्च तथा ऋण बढिरहने तर राजस्व संकलन नबढ्ने हो भने आन्तरिक वा बाह्य ऋण लिएर सरकारी कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आउने देखिएकाे छ ।
एसियनले ल्यायो कोदोको बिस्कुट, भारतीय बजारमा निर्यात गर्ने लक्ष्य
काठमाडौं । विराटनगरको एसिएन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको छ । कम्पनीले उत्पादनसँगै कोदोको बिस्कुटको बजारीकरण समेत गरेको जनाएको छ । नेपालमा कर्पोरेट लेभलबाट पहिलो पटक एसियन बिस्कुटले कोदोको उत्पादन सुरु गरेको कम्पनीको दाबी छ । हालसालै मात्र कोदोको उत्पादन सुरु गरिएको उद्योगका सञ्चालक आशिष जाजूले बताए । ‘उद्योगमा पहिलेदेखिको लगानी थियो । त्यसलाई थप मात्र गरेका हौं,’ उनले भने, ‘यसलाई हामीले भारततर्फ निर्यात गर्ने लक्ष्य पनि लिएका छौं । यसका लागि काम सुरु गरिसकेका छौं ।’ उद्योगले नेपालमै पहाडी क्षेत्रमा उत्पादित कोदो कच्चा पदार्थका रूपमा प्रयोग गर्ने जनाइएको छ । उद्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ राखेको छ । जाजूले यसलाई भारत निर्यातका लागि काम सुरु भइसकेको बताए । ‘नेपालमा बिक्री गरिने बिस्कुटमा कोदो लेखिएको छ तर भारतमा कोदो लेखेर त्यहाँका अधिकांशले बुझ्दैनन्,’ उनले भने, ‘त्यसैले त्यहाँ मिलेट र रागी लेखिएको छुट्टै पाकेट बनाएर निर्यात गरिनेछ ।’ उनले भारतीय बजारमा कोदोको बिस्कुटको नमुना पठाइसकिएको र त्यहाँबाट छिटो पठाइदिन अर्डर आएको जानकारी दिए । उनले एसियनले विभिन्न ३० प्रकारका बिस्कुटको उत्पादन र निर्यात गर्दै आएको जानकारी दिए । जसमा स्विट बिस्कुट, स्विट एन्ड साल्टी, साल्टेड, सुगर फ्री, पोटेटो बिस्कुट, कुकिज, डाइजेस्टिभ लगायतका बिस्कुट छन् । एसियनले मुख्यतया भारत र त्यसपछि अमेरिका, अस्ट्रेलिया र खाडी राष्ट्रमा बिस्कुटको निर्यात गरिरहेको उनको भनाइ छ ।
अटो बजारमा तहल्का पिटिरहेका दुई महँगा कार : किया ईभी-९ भर्सेज सिट्रोन सी-५
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी नाडा अटो शोमा यतिखेर विद्युतीय गाडीहरूले तहल्का पिटिरहेका छन् । विगतका वर्षहहरूमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बाहुल्यता हुने नाडा अटो शोमा यस वर्ष भने विद्युतीय गाडीको संख्या बढी छ । नाडाका अनुसार अटो शोमा ८० प्रतिशत विद्युतीय गाडीहरू प्रदर्शनीमा राखिएको छ । हामीले यस वर्षको नाडा अटो शोमा राखिएका दुई महँगा गाडीको विषयमा बुझ्ने प्रयास गरेका छौं । जसमा एउटा गाडी विद्युतीय छ भने अर्को गाडी इन्टर्नल कम्बस्टन इन्जिन (आईसीई) रहेको छ । अहिले सिट्रोन सी ५ एयरक्रस र किया ईभी ९ गाडी अटो शोको आकर्षणका रुपमा रहेका छन् । साँग्रिला मोटर्सले सिट्रोन सी-५ एयरक्रसको बिक्री गरिरहेको छ भने किया ईभी-९ को बिक्री कन्टिनेन्टल ट्रेडिङले गरिरहेको छ । मूल्य फ्रेन्च अटोमोबाइल कम्पनी पीएसए ग्रुप अन्तर्गतको सिट्रोन ब्राण्डले आफ्नो प्रिमियम कार सिट्रोन सी ५ एयरक्रसको नेपाली मूल्य १ करोड ३५ लाख रुपैयाँ निर्धारण गरेको छ । यसैगरी, किया ईभी ९ को मूल्य १ करोड ७९ लाख रुपैयाँ रहेको छ । यी दुई गाडी नाडा अटो शोमा राखिएका आकर्षक र बढी मूल्य पर्ने गाडी हुन् । इन्जिन सिट्रोन सी ५ एयरक्रस आईसीई अन्तर्गत पेट्रोलियम गाडी हो, जसको फ्युल ट्यांक ५३ लिटर क्षमताको रहेको छ । यस गाडीले १८.६ किलोमिटर माइलेज दिन्छ । किया ईभी ९ विद्युतिय गाडी हो । जसको फुल चार्ज हुन १०.५ घण्टा लाग्छ । फास्ट चार्जरबाट २२ मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीको भनाइ छ । कियामा यसमा ७६.१ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । कियाको अत्याधुनिक ८०० भोल्ट आर्किटेक्चरमा बनेको ईभी–९ले ३५० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । ग्राउण्ड क्लियरेन्स सिट्रोन सी ५ एयरक्रसको ग्राउण्ड क्लियरेन्स २३० मिलिमिटर रहेको छ । किया ईभी ९ को ग्राउण्ड क्लियरेन्स १९९ मिलिमिटर रहेको छ । सिट क्षमता सिट्रोन सी ५ एयरक्रसमा ५ वटा सिट संख्या रहेको छ भने किया ईभी ९ को सिट संख्या ६ वटा रहेको छ । टायर यी दुवै कारको टायर ट्युवबलेस हो । ईभी–९ एउटा फुल साइज एसयूभी हो । यसको लम्बाई ५०१० एमएम, चौडाई १९८० एमएम र उचाई १७५५ एमएम छ । यसमा ३१०० एमएम लामो ह्वील वेस रहेको छ । सुरक्षा प्रणाली सिट्रोन सी ५ एयरक्रसमा एबीए, ईबीडी, ईएसी र एचएसी सिस्टम रहेको छ । किया ईभी ९ मोबिस आईईबी, एबीएस, ईएससी, एचएसी र एमसीबी सिस्टम रहेको छ । उच्च गति सिट्रोन सी ५ एयरक्रसको उच्च गति १९५ किलोमिटर प्रतिघण्टा रहेको छ । किया ईभी ९ को गति २०० किलोमटिर प्रतिघण्टा रहेको छ ।
जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा
म्याग्दी । जोमसोम-पोखरा हवाई सेवा दुुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो । जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको जानकारी दिए । ‘मौसममा सुधार आएको छ । पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु गरिएको हो,’ उनले भने, ‘निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ ।’ पाँच उडानमार्फत ९० जना मुुस्ताङ भित्रिएका प्रमुख लम्सालले बताए । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पुनः सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ । सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता छ ।
श्रीकेश तेल उत्पादकलाई २ लाख रुपैयाँ जरिबाना, थप कारबाहीका लागि सिफारिस
काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए । तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले ७ असारमा विवरण मागेको थियो । प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पारिएको थियो । सोही प्रतिवेदनका आधारमा जरिबाना गरिएको झाको भनाइ छ । माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन सकेन । तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी)हरूको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेस भएको तथा सबै उत्पादनमा एउटै ब्याच नम्बर राखिएको महानगरले जनाएको छ । उक्त ब्याचको उत्पादनहरूमा प्रयोग हुने केही कच्चा पदार्थ (तेल) को तेलको प्रयोग म्यादभन्दा कम देखिएको छ । तेलको लेबलमा उल्लेख भएका तत्वहरू र परिमाण तेलमा रहेको पुष्टि हुने कुनै सरकारी अथवा अन्य निकायबाट प्रमाणित हुने कागजात प्राप्त नभएको महानगरले जनाएको छ । लेबलमा उल्लेख फाइदाहरू (कपाल नझर्ने, नयाँ कपाल उमार्ने, चायाँ रोक्ने आदि) पुष्टि हुने क्लिनिकल ट्रायल, प्रयोगशाला विश्लेषण, जर्नलमा प्रकाशित नदेखिएकोले भ्रम सिर्जना हुने शब्दको प्रयोग गरेर प्रचारप्रसार र व्यावसायिक क्रियाकलाप गरेको प्रतिवेदनले औँल्याएको छ । कपाल उमार्ने रसायनिक तत्व सम्बन्धी उत्पादकले स्वघोषणा गरेको ‘मिनोक्साइडिल’ उद्योगद्वारा प्रदान गरिएको परीक्षण प्रतिवेदनमा छैन । कच्चा पदार्थ तथा जडीबुटीहरू एक आपसमा मिश्रण गर्दा प्रयोग अवधि (३ वर्ष) सम्म कुनै हानिकारक तत्वमा परिणत नहुने प्रमाणित प्रतिवेदन, कच्चा पदार्थको समिश्रणले मानव स्वास्थ्यमा असर नपर्ने प्राविधिक तथा वैज्ञानिक पुष्टि हुने कुनै पनि विश्लेषण प्रतिवेदन कम्पनीले उपलब्ध गराउन सकेन । तेलको लेबलमा उल्लेख गरिएको उपभोग्यरप्रयोग अवधि (३ वर्ष) के, कसरी र कुन आधारमा राखिएको पुष्टि हुने दस्तावेज प्राप्त नभएको र तेलमा प्रयोग गरिएको जडीबुटीहरूको मात्रा यकिन गर्ने गुणस्तरीय विधि तथा कुनै पनि परीक्षण गरेको विश्लेषण प्रतिवेदन साथै उक्त जडीबुटीहरूको मानव स्वास्थ्यमा असर हुने/नहुने दस्तावेज पनि इण्डष्ट्रीले दिन नसकेको महानगरको भनाइ छ । यसपछिको प्रक्रियाका लागि महानगरपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधी व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको जनाइएको छ ।
टोयोटा विजय उत्सव : एक्सचेन्जदेखि बीमा सुविधा, कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा बम्पर छुट
काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘टोयोटा विजय उत्सव’ कार्यक्रम सुरु गरेको छ । कम्पनीले भदौ १३ बाट सुरु गरेर १८ गतेसम्म यस्तो उत्सव मनाउन लागेको बताएको छ । कम्पनीको धुम्बाराही शोरुममा आयोजना हुने उक्त कार्यक्रममा आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न स्किम सार्वजनिक गर्न लागिएको कम्पनीको भनाइ छ । विजय उत्सवमा ग्राहकले कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा ३० प्रतिशत डाउन पेमेन्टमा डेलिभरीको विशेष व्यवस्था साथै तत्काल पुरानो गाडीको भ्यालुएसन, फ्रि रोड ट्याक्स, एक्सचेन्ज बोनस, एक वर्षको पूर्ण बीमा, गिफ्ट ह्याम्पर, नगद छुट पाउने छन् । कार्यक्रममा विभिन्न बैंकहरूको सहकार्यमा सहजै फाइनान्स सुविधासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ । आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ टोयोटाको गाडी खरिद गर्न चाहने ग्राहकलाई विभिन्न एक्सचेन्जरसँगको सहकार्यमा उत्कृष्ट भ्यालुएसन प्रदान गरिने कम्पनीको भनाइ छ । यस कार्यक्रममा टोयोटाका गाडी चढिरहेका ग्राहकले समेत नयाँ ग्राहकलाई रिफर गरेर रिवार्ड समेत जित्न सक्नेछन् । विजय उत्सवको अर्को आकर्षणको रूपमा डेली लक्की ड्रसमेत रहेको छ ।