विकासन्युज

१२ अर्ब बढी अनुदान सहयोगका लागि नेपालले गर्याे बेलायतसँग सम्झौता

काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। पहिलो समझदारीपत्र ‘नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता’ कार्यक्रमको लागि करिब ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ। ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालयअन्तर्गत विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तनलाई सुदृढ गर्नका लागि लागू हुनेछ। कार्यक्रम कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा सञ्चालन हुनेछ । त्यस्तै दोस्रो समझदारीपत्र ‘प्रणाली सुदृढीकरण मार्फत लैङ्गिक तथा मानव विकासका परिणामहरू सुधार’ कार्यक्रमका लागि करिब ६.५८ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.८ मिलियन) को अनुदान सहायता रकम रहेको छ। ७ वर्षको कार्यान्वयन अवधि रहेको यस कार्यक्रमले विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा त्यस्तो सेवामा पहुँच बिस्तारमा जोड दिने छ। प्रदेश तथा स्थानीय तहको क्षमता विकास गर्ने लगायतको उद्देश्य रहेको यो कार्यक्रम लुम्बिनी र मधेस प्रदेशमा कार्यान्वयन गरिनेछ । समझदारीपत्रहरुमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र बेलायतको तर्फबाट काठमाडौंस्थित बेलायती दूतावासका विकास निर्देशक एवं उपराजदूत पिपा बर्डले हस्ताक्षर गरेका हुन् । सहसचिव शर्माले समझदारीपत्रहरू नेपाल र बेलायत दुई देशबीचको सौहार्दपूर्ण र स्थिर विकास सहयोगको प्रमाण भएको उल्लेख गर्दै सहयोग सामाजिक सेवा, जलवायु अनुकूलनता र मानव पुँजी विकास सहित दिगो विकास लक्ष्यहरू र १६औं आवधिक योजनामा उल्लिखित उद्देश्यहरूमा केन्द्रित हुने बताए ।

मध्यभोटेकोसी जलविद्युतबाट २ महिनाभित्र बिजुली उत्पादन गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको बाह्रबीसेमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । सिन्धुपाल्चोकको बाह्रबीसेस्थित पलाँतीमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनको पावरहाउस तथा सवस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उनले २ महिनाभित्र विद्युत् उत्पादन हुनेगरी आयोजनाको काम तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिएका हुन् । ‘आयोजना निर्माणका क्रममा देखिएको समस्या समाधानमा मन्त्रालयले काम गर्छ, तपाईंहरू दिनरात नभनी आयोजना सम्पन्न गर्न लाग्नुहोस्, उनले भने । ऊर्जामन्त्री खड्काले मध्यभोटेकोसी जलविद्युत् आयोजना चाँडो सम्पन्न गर्नसके देशले आर्थिक उन्नतिका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने बताए । मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मन्त्रालयका सहसचिव सन्दीप देवलगायतले पावरहाउस तथा सवस्टेशनको निरीक्षण गरेका थिए । चिलिमे जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको मुख्य लगानी तथा जनताको सेयर रहेको उक्त आयोजनाको लागत २० अर्बभन्दा बढी रहेको छ । कूल १०२ मेगावाट क्षमताको उक्त आयोजना सन् २०१२ बाट निर्माण सुरु भएको थियो । मध्यभोटेकोसी नदीबाट कूल ७.०१ किलोमिटर मुख्य टनेल हुँदै पावरहाउसमा पानी ल्याइएको छ । उक्त पावरहाउसबाट उत्पादित विद्युत् २२० केभीको ट्रान्समिसन लाइनमार्फत ४ किलोमिटर सिङ्गल सर्किट हुँदै बाह्रबीसे सवस्टेशनमा लगेर जोडिनेछ ।

सानिमा बैंकको नेतृत्वमा अपर म्याग्दी–१ को निर्माण सुरु, १२ अर्ब लागत

काठमाडौं । म्याग्दीमा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ छहरीमा आजदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विस्फोट गराई सुरुङ निर्माण शुभारम्भ गरेका थिए । २०७ मिटर लामो अडिट सुरुङ निर्माण सकेपछि बाँध र विद्युत्गृहबाट पनि सुरुङ खनिने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए । धवलागिरि गाउँपालिका-४ खाम्लामा रहने बाँधदेखि मालिका गाउँपालिका-७ भरावाङसम्म ५ हजार ७ सय मिटर लामो सुरुङ निर्माणको काम आगामी ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । ‘बाँध, विद्युत्गृह र सुरुङ निर्माणको काम समानान्तर हिसाबले अघि बढेको छ, आयोजनाबाट विसं २०८३ फागुनसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ,’ आयोजना प्रमुख केसीले भने । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहको उचाइ १९६ मिटर रहेको छ । १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको प्रवर्द्धक अपर म्याग्दी जलविद्युत् कम्पनी लिमिटेड हो । कम्पनीका कार्यकारी अध्यक्ष भानुभक्त पोखरेलले सानिमा बैंकको नेतृत्वमा विभिन्न बैंकहरूले कूल लागतको ७५ प्रतिशत लगानी रहने आयोजनामा प्रवर्द्धक र संस्थापक सेयर आह्वान गरेर २५ प्रतिशत लगानी जुटाइने बताए । जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमार्फत एक हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यअनुसार अपर म्याग्दी–१ बनाउन लागिएको पोखरेलले बताए । निर्माण कम्पनी लुना बिल्डर्स एण्ड कन्ट्याक्टर प्रालीले सुरुङसँगै अन्य संरचना निर्माणलाई तीव्रता दिने जनाएको छ । ९ किलोमिटर पहुँचमार्ग बनाएको यस आयोजनाले भारवाङ, छहरी र खाम्लामा क्याम्प राखेको छ । छहरीमा नेपाली सेनाको सुरक्षा क्याम्प राखिएको छ । रातोढुङ्गादेखि खाम्लासम्म १९ किलोमिटर ३३ केभी क्षमताको प्रसारण लाइन बनाएर आयोजना निर्माणका लागि विद्युत् आपूर्ति गरेको छ । अपर म्याग्दी–१ बाट उत्पादन हुने विद्युत् मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माणाधीन १३२ केभी क्षमताको सवस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ । प्रदेशसभा सदस्य जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, नेपाली सेनाको २३ नम्बर बाहिनीका बाहिनीपति जगतबहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठ, सत्रु झञ्जन गुल्मका गुल्मपति रविन गुरुङलगायतको उपस्थितिमा सुरुङ निर्माण शुभारम्भ गरिएको थियो ।

कुलमानसँग गल्दै सरकार, हटाउने योजना नभएको ऊर्जामन्त्रीको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताएका छन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले आज बाह्रविसेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कुलमानलाई सरकारसँग जोडेर अनेक प्रचारबाजी गरिएकामा चिन्ता व्यक्त गरे । मन्त्री खड्काले सबै नागरिक सम्पन्न हुँदा मात्र देश समृद्धि हुने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले मुलुकको आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको विकास आवश्यक रहेकाले यसको विकासका लागि स्थानीयवासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । मन्त्री खड्काले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् विदेशी मुलुकमा निर्यात गर्ने सरकारको लक्ष्य रहेकाले यसलाई पूरा गर्न सरकार गम्भीर भएर लागेको बताए । सरकारले हाल भारतमा मात्र नौ सय ४१ मेगावाट विद्युत् निर्यात गरिरहेको भन्दै चाँडै नै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी आश्वयक प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे । उनले कुनै पनि जलविद्युत् तथा सिँचाइको आयोजनालाई समयमै सम्पन्न गर्नका लागि स्थानीय बासिन्दाको दबाबको खाँचो रहेको समेत बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको विकासका लागि नेपाली कांग्रेस प्रतिबद्ध भएर लागिरहेको बताए । नेपाली कांग्रेस रामेछापका सभापति एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले सिन्धुपाल्चोकमा जलविद्युत् क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताए । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ का सभापति एवं बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जलविद्युत् केन्द्रमार्फत देशले समृद्धि हासिल गर्दैगर्दा स्थानीयवासीलाई राहत पुग्ने गरी योजना बनाउनुपर्ने बताए।

आइजीआई प्रुडेन्सियलले बिक्रीमा राख्यो ११ वटा मोटरसाइकल

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ११ वटा सवारी साधन बिक्री गर्ने भएको छ । कम्पनीले चालु अवस्थामा रहेका ११ वटा मोटरसाइकल बिक्रीमा राखेको हो । सवारी साधनहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा शिलबन्दी बोलपत्रको माध्यमद्धारा बिक्री गर्ने कम्पनीले जनाएको छ । इच्छुक व्यक्ति, फर्म वा संस्थाले १५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीका अनुसार बोलपत्र फाराम १ सय रुपैयाँ र आफूले कबोल गरेको मूल्य उल्लेख गरी उक्त रकमको १० प्रतिशत धरौटी रकम जम्मा गर्नुपर्नेछ ।

कोशी, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षा हुने, यस्तो छ २४ घण्टाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । यसैगरी, आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

हिमालयन लाइफबाट बाहिरिँदै संस्थापक विनय तोदी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनी विनय कुमार तोदीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । संस्थापक सेयरधनी तोदीले आफ्नो स्वामित्वको झण्डै २ लाख कित्ता सेयर बेचेर बाहिरिने भएका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनी तोदीले १ लाख ९६ हजार ९७३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापकले सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

नेशनल लाइफलाई फ्ल्याट भाडामा लिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले घर भाडामा लिने भएको छ । यस कम्पनीले पेप्सीकोला शाखा कार्यालयको लागि पेप्सीकोला चोकमा फ्ल्याट भाडामा लिने भएको हो । कम्पनीका अनुसार पेप्सीकोला चोकको मुख्य सडकको ५ सय मीटर परिधिमा आरसीसी सिस्टमबाट निर्माण भएको फ्ल्याट भाडामा आवश्यक परेको हो । भाडामा दिन इच्छुक व्यक्ति वा संस्थाले आफुले चाहेको मासिक बहाल रकम (कर सहित÷कर बाहेक) उल्लेख गरी ७ दिनभित्र बोलपत्र पेस गर्न कम्पनीले अनुरोध गरेको छ ।