बागलुङका ५ पालिका अझै पनि भाडाकै घरमा
ढोरपाटन । बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाकै घरबाट काम गर्दै आएका हुन् । विसं २०५३ मा स्थापना भएको बागलुङ नगरपालिकाले वडा नम्बर ३ रातमाटामा पक्की भवन निर्माण गरे पनि अहिले वडा नम्बर २ स्थित कृषि ज्ञान केन्द्रको कार्यालय मार्फत् सेवा प्रवाह गर्दै आएको छ । जैमिनी , गलकोट र ढोरपाटन नगरपालिकाले जग्गा व्यवस्थापन गरी भवन निर्माण थाले पनि काठेखोला गाउँपालिकाको जग्गा व्यवस्थापनमै अल्झिएको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि केही पालिकाले पहिलो कार्याकालमै आफ्नै प्रशासनिक भवन बनाएर सेवा सञ्चालन गरे भने केहीले दोस्रो कार्यालयमा आफ्नै प्रशासकीय भवन निर्माण गरी सेवा दिन थालेका छन् । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाले पहिलो कार्यकालमै भवन निर्माण गरेका थिए भने बडिगाड गाउँपालिकाले दोस्रो कार्याकाल सुरु भएपछि आफ्नै प्रशासकीय भवनबाट सेवा सुरु गरको छ । निर्माण कम्पनीको ढिला सुस्तीका कारण गलकोट नगरपालिकाको प्रशासकीय भवन समयमै बन्न सकेको छैन । अगामी मंसिरमा सक्ने गरि विसं २०७९ असारमा सम्झौता भएको भवन निर्माण अहिलेसम्म २८ प्रतिशत मात्रै काम भएको छ । अब तीन महिनामा ७८ प्रतिशत काम सक्न सम्भावना नरहेको नगरप्रमुख भरत शर्मा गैरेले बताए । पाँच तले भवनको हालसम्म चार तला ढलानको काम मात्रै भएको छ । वडा नम्बर ६ चरौंदीमा सात रोपनी व्यवस्थापन गरेर भवन निर्माण थालेको पालिकाले अहिले भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको हो । भवन १२ करोड ४१ लाख ५५ हजार लागतमा गैरे बताउँछन् । नगरपालिकाले आफ्नो भवन नहुँदा मासिक दुई लाख भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ । उनले भने, ‘निर्माण कम्पनीले सरासर काम गरेको भए यति बेला सकिन्थ्यो, अहिले सम्झौता मिति सकिन लागेको छ, दुई÷साढे दुई महिना मात्रै बाँकी छ, अझै एक तला ढलान गर्न र अन्य काम गर्न बाँकी छ, साइडमा कामदार निरन्तर लगाइ राखेको छ, तर धेरै कम छन्, त्यति कामदारले कहिले काम सक्ने, यही गतिमा काम भयो भने त दुई÷तीन वर्षमा पनि यो भवन सकिँदैन ।’ जैमिनी नगरपालिकाको प्रशाकीय भवन निर्माणका लागि विसं २०७८ मा सम्झौता भए पनि हालसम्म आधा मात्रै काम भएको उपप्रमुख हरिहर शर्माले बताए । आगामी पुसमा सक्ने गरी १२ करोड १४ लाखमा सम्झौता भएको भन्दै अहिलेसम्म ५० प्रतिशत काम भएको उनको भनाइ छ । हालसम्म चौथो तलाको ढलान भएको सुनाए । भवन समयमा नबन्दा मासिक करिब रु एक लाख ६० हजार घर भाडा तिर्दै आएको उनी बताउँछन् । ढोरपाटन नगरपालिका पनि अहिलेसम्म भाडाकै घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । नगरपालिकाले वडा नम्बर १ को बुर्तिबाङ बजारमै निर्माण गरी रहेको भवन आगामी चार महिनामा सम्पन्न हुने नगर उपप्रमुख धनबहादुर कायत (कल्याण) ले बताए । अहिलेसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको उनको भनाइ छ । नगरपालिकाले दुई वटा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरी रहेको जनाउँदै हरेक महिना मासिक एक लाख ३० हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
चालु आर्थिक वर्षभित्र चन्द्रागिरिका सबै वडा ‘बालश्रममुक्त वडा’ घोषणा गरिने
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । यसक्रममा आज चन्द्रागिरि –११ लाई बालश्रममुक्त घोषणा गरियो । हालसम्म नगरका १५ वडा मध्ये विभिन्न सात वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएका छन् । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म चन्द्रागिरि नगरपालिकाका वडा नं ३,५,६,७ ,८,११ र १४ लाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएका छन् । नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७५ को लक्ष्य अनुसार बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अवलम्बन गरेको छ । साथै नगरापालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा बडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ । बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सतुंगलमा आज आयोजित कार्यक्रममा चन्द्रागिरि –११ लाई ‘बालश्रम मुक्त वडा घोषणा’ गर्दै बालश्रम निवारणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको जानकारी दिँदै घोषणा पछिको दिगोपनामा काम गर्नुपर्छ भने । बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको उनले जानकारी दिए। उनका अनुसार आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने छन् । यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने छ । कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, वडा ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ , वडा १५ का वडाध्यक्ष घनश्याम लुईँटेल, सामाजिक विकास शाखाका प्रमुख रश्मि श्रेष्ठ लगायत विभिन्न नगरपालिकाका विषयगत शाखाका प्रमुख , विभिन्न बालक्लब, विद्यालयका छात्रछात्रा एवं स्थानीयवासीको सहभागिता थियो । प्रमुख प्रशासकीय अधिकृत अर्यालले ‘बालश्रममुक्त वडा’पछिकोे दीगोपनका लागि स्थानीय पालिका, संघसस्थाको सहकार्य आवश्यक रहेको र यसका लागि नगरपालिकाले सहजीकरण गर्ने बताए । अवसरमा चन्द्रागिरि –११ का वडाध्यक्ष श्रेष्ठले बालश्रम मुक्त घोषणासम्म आइपुग्न पुर्याइएको साथ र सहयोगप्रति वडावासीलाई धन्यवाद दिँदै यसको दीगोपनका लागि भविष्यमा काम गर्ने जानकारी दिए। चन्द्रागिरि –११ का वडा सदस्य सिंहबहादुर महर्जनले समृद्ध वडा बनाउन विभिन्न काम भैराखेको बताए। यस अगाडि बाजागाज सहितको निस्केको र्याली घोषणासभामा परिणत भएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीले ‘चन्द्रागिरि नगरपालिका , ११ नं वडा, काठमाडौँलाई बालश्रम मुक्त घोषणा गरी हामी नगरपालिकाका जनप्रतिनिधि, विषयगत समिति, विद्यालय, बालक्लब, सञ्चारकर्मी, उद्योग व्यवसायी, सङ्घसंस्था तथा सरोकारवालाहरू बालश्रम मुक्त वडालाई नियमितता दिन र बालश्रम निवारण गर्न प्रतिवद्ध छौँ’भन्ने घोषणापत्रमा हस्ताक्षर समेत गरेका थिए । बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका ९आइएलओ० को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन् । १३ वर्ष उमेर समूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालकभन्दा बालिका श्रममा बढी रहेको जनाइएको छ । चौध प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेका हुन्छन् ।
सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव
किमाथांका । जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने किटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् । जिल्ला अस्पतालमा यही भदौ २१ गतेदेखि स्क्रब टाइफसको परीक्षण गर्ने किट सकिएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । उनका अनुसार जिल्लामा गत वैशाख यता स्क्रब टाइफसका तीन सय ३२ र डेंगी संक्रमित एक सय एक बिरामी भेटिएका छन् । अस्पतालमा किट नहुँदा उपचारका लागि आउने बिरामीले स्क्रब टाइफसको परीक्षण गर्न महँगो मूल्य तिरेर निजी अस्पताल र क्लीनिक जानुपर्ने बाध्यता भएको खत्रीले बताए । जिल्ला अस्पतालमा निःशुल्क परीक्षण हुने स्क्रब टाइफसको निजी अस्पताल र क्लिनिकमा एक हजारदेखि एक हजार दुई सयसम्म तिर्नुपर्ने बाध्यता छ । स्क्रब टाइफस परीक्षण गर्ने किट उपलब्ध गराउन कोशी प्रदेशस्थित स्वास्थ्य मन्त्रालयमा माग गरिएको बताउँदै सूचना अधिकारी खत्रीले हालसम्म किट नआएकाले बिरामीलाई निजी अस्पताल पठाउने गरिएको बताए । अस्पतालले पटकपटक आग्रह गर्दा पनि स्वास्थ्य मन्त्रालयबाट किट पठाउने विषयमा हालसम्म कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ । ‘एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना तथा बिमिरा आउने, ग्रन्थी सुनिनेलगायत लक्षण देखिन्छ’, सूचना अधिकारी खत्रीले भने । अस्पतालमा दैनिक स्क्रब टाइफस र डेंगी सङ्क्रमित बिरामी बढ्दै गएकाले शय्याको समेत अभाव हुन थालेको उनले जानकारी दिए । विसं २०३३ मा निर्माण भएको अस्पतालमा अहिले ५० शय्या छन् । जिल्लाका १० स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही उपचारका लागि यहाँ आउने गरेका छन् ।
विद्यालयको छात्रावासका लागि जग्गा भाडामा लिएर तरकारी खेती
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको जनशान्ति माविले जग्गा भाडामा लिएर तरकारीखेती गरेको छ । छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैंले उत्पादन गरेको हो । विद्यालयका प्रधानाध्यापक मनबीर किसानले दुई रोपनी जग्गा भाडामा लिएर रायोसाग, काउली, बन्दा, आलु, फर्सी, जुगेनी, मुला, जागरलगायत तरकारी उत्पादन गरिएको बताए । ‘सरकारले हिमाली विद्यालयका छात्रावासका लागि मासिक चार हजारका दरले उपलब्ध गराउने अनुदान अपुग हुन थालेपछि आफैं तरकारी उत्पादन गरिएको हो,’ उनले भने, ‘फुर्सदको समय र बिदामा शिक्षक र विद्यार्थीहरूले करेसाबारीमा काम गर्छौं । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा दुई सय जना भन्दा बढी विद्यार्थी छन् । कक्षा चार देखि १० सम्मका ८५ जना विद्यार्थीलाई विद्यालय भवन परिसरकै छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ । छात्रावासमा बस्ने ७५ जनालाई संघीय सरकारले र १० जनालाई वारागुङ गाउँपालिकाले मासिक चार हजारका दरले अनुदान उपलब्ध गराउछ । पूर्वप्राथमिकदेखि कक्षा तीनसम्म अध्ययन गर्ने ७० जना विद्यार्थीहरूका लागि अभिभावकबाट न्यूनतम शूल्क लिएर सामुदायिक छात्रावास सञ्चालन गरिएको प्रअ किसानले बताए । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका विद्यार्थीहरूको सहजताका लागि सरकारले हिमाली विद्यालयहरूमा छात्रावास सञ्चालन गरेको छ । मुस्ताङमा ज्याला मजदुरीका लागि काम गर्न पुगेकाहरूको छोराछोरीको संख्या ८० प्रतिशत भन्दा बढी छ । पछिल्लो समयको मूल्यवृद्धिका कारण अनुदानले दाल र चामल खरिद गर्नमात्र पुगेपछि विद्यालय आफैंले तरकारी उत्पादन गर्न थालेको छात्रावासका प्रमुख नारायण पौडेलले बताए । ुआफैं उत्पादन गर्न थालेपछि तरकारी किन्न परेको छैन,ु उनले भने, ुतरकारी खेतीका लागि विद्यालयले वार्षिक ३० हजार तिरेर जग्गा भाडामा लिएको छ ।ु गत वर्ष कागखोलामा आएको बाढीले विद्यालयको दुई रोपनी करेसाबारी बगरमा परिणत भएको थियो । एक वर्षपछि नयाँ ठाउँमा जग्गा खोजेर करेसाबारीलाई निरन्तरता दिएको शिक्षक पौडेलले बताए । विद्यार्थीहरूले तरकारी खेतीसम्बन्धी व्यवहारिक ज्ञान पनि लिन पाएका छन् । कागबेनीबासीले जनशान्ति माविलाई घेकरमा उपलब्ध गराएको पाँच रोपनी जग्गामा आयस्रोत जुटाउन स्याउ खेती गर्ने तयारी गरेको छ । तरकारी खेतीसँगै विद्यालयले तापक्रम अनुकुलित घर बनाएर तरकारीको बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना गरेको छ । नर्सरी स्थापनाका लागि सरकारी निकायबाट पाँच लाख ५० हजार अनुदान प्राप्त भएको थियो ।
दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता
राँझा । दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका-८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ । नगर भवन नजिकै अस्थायी टहरा निर्माण गरेर छोटुले मूर्ति बनाउने काम गर्दै आएका छन् । घटस्थापनाको दिनसम्म अर्डर पाएका सबै मूर्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उनले बताए । ‘चौध–पन्ध्र जति मूर्ति तयारी अवस्थामा छन्, रङराेगन गर्नमात्रै बाँकी छ, अरू त्यत्ति तयारी हुँदैछ, अहिले कामले भ्याइनभ्याइ छ’, छोटुले भने, ‘आजभोली मूर्ति किन्न भारत जानु पर्दैन नेपालगञ्जमै ठाउँ–ठाउँमा बन्ने गरेका छन् ।’ उनका अनुसार सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ । मूर्तिको सजावटका सामाग्री भने भारतीय बजारबाटै आयात गरिन्छ । दसैँको समयमा केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफै बनाएर बिक्री गर्ने गरिएको छ । दसैँको नवदुर्गामा नेपालगञ्जका टोल–टोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति स्थानीय कालीगाडले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् । कुनैबेला भारतीय सीमावर्ती क्षेत्रबाट खरिद गरेर ल्याइने मूर्ति अहिले यहीँका कालिगढले प्रशस्त बनाउने गरेका छन् । दुर्गाभवानीका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछी भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छोटुले बताए । नेपालगञ्जमै तीन चार ठाउँमा व्यावसायिक रुपमा माटोबाट भगवानको मूर्ति बनाएर बिक्री वितरण हुने गरेको छ । यसबाहेक जानकी गाउँपालिकामा पनि मूर्ति बनाउने गरिएको छ । दसैँ नजिकिँदै जाँदा मूर्तिकारको दैनिकी व्यस्त भएको छ । अहिले माटोको मूर्ति बनाउन भ्याइनभ्याइ छ । तराईमा दसैँको बेला घटस्थापनाका दिनदेखि टोल-टोलमा माटोबाट बनेका भगवानका मूर्तिमा पूजा गर्ने चलन छ । बाँकेको जानकी–६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटोसँगै बित्छ । दिन रात उहाँ माटोबाट भगवानका विभिन्न आकृति बनाउन व्यस्त छन् । सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवानको आकृति भरिभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आएका राजकुमारको यो पुर्ख्यौली पेसा हो । ‘पहिला घरमा सानो–सानो मूर्ति बनाउथ्यौँ पछि ठूलो बनाउन लागे, दुर्गा मातालगायत सबै प्रकारको मूर्ति बनाउने गरेको छु’, राजकुमारले भने, ‘नवरात्रको बेला ‘सिजन’ हो, पराल, बाँस, माटो, काठ किल्ला, डोरी लाग्छ, मेहनत धेरै छ ।’ उनका अनुसार २० देखि २५ हजारको एउटा मूर्ति बिक्री गर्दा चारदेखि पाँच हजारसम्म नाफा हुने गर्दछ । राजकुमारले आफू जस्तै अन्य छ जनालाई रोजगारीसमेत दिएका छन् । उनीहरूले १० हजारदेखि २० हजारसम्म पारिश्रमिक पाउने गरेका छन् । ‘सबैले आ-आफ्नै तरिकाले मूर्ति बिक्री गर्ने गरेका छौंँ, चिनेजानेको नियमित ग्राहकसँग छुट गर्ने पनि गरिएको छ’, मूर्तिकार राजकुमारले भने , ‘धेरैजसो ‘रेगुलर’ ग्राहक छन्, तर चिनेको आधारमा एक जनालाई छुट गर्दा धेरै जनासँग घाटा खानुपरेको छ ।’ बाँकेमा माटोबाट भगवानको मूर्ति बनाउने मूर्तिकार सङ्गठित हुन सकेका छैनन् । त्यसका कारण मूर्तिको दरमा पनि एकरुपता छैन । बाँकेको सदरमुकाम नेपालगञ्जसहित कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुरमा समेत दसैँको भोलीपल्ट दुर्गा झाँकी निकाल्ने हुँदा मूर्तिको माग बढ्दै गएको पाइएको छ । दसैँको नवरात्रमा दुर्गाभवानीको मूर्ति राखेर पूजाआजा गर्ने परम्परा संस्कृतिको रुपमा विकास हुँदै गएको नेपालगञ्जका अगुवा द्वारिकाप्रसाद वैश्यले बताए।
प्रधानमन्त्री ओलीबाट पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय बूढानीलकण्ठमा निर्मित पाँचतारे होटल लेमन ट्रि प्रिमियरको शनिबार उद्घाटन गरेका छन् । प्रधानमन्त्रीले २ अर्ब ५० करोड रुपैयाँको लगानीमा निर्मित १ सय दुई शय्यायुक्त होटलको उद्घाटन गरेका हुन् । होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको बताए । प्रधानन्त्री ओलीले सुशासनसहित जनतालाई छिटोछरितो सेवा दिन सरकार क्रियाशील रहेको बताए । ‘व्यवसायीहरू निर्वाधरूपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ, कामका लागि कहीँकतै नजराना बुझाउनुपर्दैन, सरकारी निकायले गर्ने कामको फाइल रोकिँदैन, कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने पत्ता लगाउन हामीले प्रविधि बनाइसकेका छौँ,’ प्रधानन्त्री ओलीले भने, ‘तपाईंहरू पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस्, सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुने छैन ।’
आर्थिक रूपान्तरण गर्न पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा जोड
काठमाडौं । स्थानीय तहले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न पुँजीगत खर्च वृद्धि गर्नुका साथै बेरुजु न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ । स्थानीय तह, प्रदेश र संघीय कार्यालयबाट गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रम तथा आयोजनाबारे अनुभव आदानप्रदान गर्न शुक्रबार जिल्ला समन्वय समितिद्वारा आयोजित कार्यक्रममा सहभागीले बेरुजु सुशासनमा बाधक रहेको बताएका थिए । छलफलमा सरोकार भएकाले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न बढ्दै गएको बेरुजु न्यूनीकरण गर्नुपर्ने विचार व्यक्त गरे । काठमाडौंका स्थानीय तहले आफ्नो क्षेत्राधिकारको उचित प्रयोग गरी नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने सहभागीले सुझाव दिए । काठमाडौंका महानगरपालिका र अन्य दश नगरपालिकाले एक वर्षभित्र गरेका कार्ययोजना, बजेट विनियोजन, पूर्वाधार विकास, निर्माण, सामाजिक विकास, खर्चको अवस्था, बेरुजुको अवस्थाबारे समीक्षा गरिएको हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलगायत प्रशासकीय अधिकृतले स्थानीय तहमा बजेट र कार्ययोजनाबारे जानकारी दिँदै आगामी दिनमा स्थानीय अधिकार थप बलियो बनाउन जनप्रतिनिधि र कर्मचारीको एकापसमा सहकार्य र समन्वयको खाँचो औँल्याए । काठमाडौंका जिल्ला समन्वय अधिकारी लक्ष्मणविक्रम थापाले स्थानीय तहको पूर्वाधार विकास तथा निर्माणमा सम्बन्धित जिल्लाको भूमिका र जिम्मेवारी सशक्त बनाउन आवश्यक रहेको बताउँदै त्यसका लागि समितिलाई थप अधिकार र सुविधा सम्पन्न बनाउन आवश्यक रहेको विचार व्यक्त गरे । काठमाडौं महानगरपालिका तथा अन्य नगरपालिकाको कार्यप्रगतिका साथै सांस्कृतिक, सामाजिक पक्षबारे प्रस्तुतिकरण गरिएको थियो ।
अविरल वर्षाले बाटो भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यामिक विद्यालय दुई दिनदेखि बन्द भएको छ । जिल्लामा निरन्तर वर्षा भएर विद्यालय जाने साँता गाउँ नजिकको बाटो पहिरो आएर भत्किँदा विद्यार्थी उपस्थित नहुँदा विद्यालय बन्द भएको हो । बाटो भत्किँदा सिमकोट–८ याङ्गु गाउँका विद्यार्थी दुई दिनदेखि विद्यालय जान नपाएका हुन् । भारी वर्षा भएर बिहिबार र बुधबार दुई दिन यहाँका विद्यार्थी विद्यालय जान नपाएको बलभद्र निमाविका शिक्षक पेमाथुकेत तामाङले बताए । याङ्गुबाट विद्यालय जानेबीच क्षेत्रको बाटो भत्किएको हो । विद्यालयमा विद्यार्थी उपस्थित नभएपछि उनीहरुको पठनपाठन प्रभावित हुनुका साथै विद्यालय बन्द भएको हो । आवतजावत गर्न नमिल्ने भएपछि विद्यार्थी विद्यालयमा उपस्थित नभएपछि बन्द गरिएको हो । पढ्न आउने विद्यार्थी बाटो अवरुद्ध हुँदा समस्यामा परेको स्थानीयले बताएका छन् । बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने यहाँका स्थानीयलाई समेत समस्या भएको छ । विद्यालयको माथि पट्टिको भाग पनि जोखिमयुक्त हुँदा विद्यालय नै बन्द गर्नुपरेको उनले बताए । पानी परेको समय विद्यालय भत्किने डर हुने हुँदा पनि विद्यालय बन्द गर्नु पर्ने बाध्यता रहेको उनले बताए ।