मुस्ताङको साङ्तामा सोलारबाट विद्युतीकरण
काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो । साङ्तामा तत्काल केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने सम्भावना नभएपछि सौर्य ऊर्जा जडान गरिएको मुक्तिक्षेत्र–५ का वडासदस्य छिरिङपासाङ गुरुङले बताए । ‘४४ लाख रुपैयाँ बजेटमा १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको हो, साङ्ताका १३ घर लाभान्वित भएका छन्,’ उनले भने । विद्युत् सुविधा भएपछि स्थानीयवासीको जनजीवन सहज भएको छ । मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन हेर्न, ल्यापटप चलाउन सहज भएको छ । स्थानीयवासीले उज्यालोका लागि यसअघि घरघरमा थोरै क्षमताको सोलार सेट जडान गरेका थिए । गाउँ नजिकैको डाँडामा सोलारका प्यानल राखिएका छन् । सोलार प्यानल नजिकै घर बनाएर ब्याट्री भण्डारण गरेर राखिएको छ । प्यानल र ब्याट्री भएको घर परिसरलाई तारको घेराबार बनाइएको छ । पोल गाडेर तारमार्फत घर–घरमा विद्युत् आपूर्ति गरिएको छ । कर्णाली प्रदेशको डोल्पा जिल्लाको सिमानामा रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ को फल्याक गाउँबाट साङ्ता २८ किलोमिटर टाढा छ । साङ्तालाई मुस्ताङको कान्छो गाउँका रूपमा चिनिन्छ । सबैभन्दा पछि पहिचान भएकाले साङ्तालाई कान्छो बस्ती भनिएको हो । साङ्तामा हालसम्म मोबाइल र इन्टरनेटको सुविधा पुुगेको छैन । सूचना अदानप्रदानका लागि दुई घण्टा पैदल हिँडेर झमटङ डाँडामा पुग्ने गर्छन् । वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले नेपाल टेलिकमसँग समन्वय गरेर साङ्तामा मोबाइल फोन सेवा विस्तारको तयारी गरेको बताए । १० वर्षअघि सडक सुविधा पुुगेको साङ्तामा हालै एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण गरिएको छ ।
संसद्का दुवै सदनको बैठक बस्दै, बैंकिङ कसुर संशोधन विधेयक पारित गर्ने
काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९/८०’ पेस गर्ने र सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । राष्ट्रियसभामा अर्थमन्त्रीले जवाफ दिने राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘विकास आर्थिक मामिला तथा सुशासन समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदन’ र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्नेछन् । यस्तै राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पाण्डेयले जानकारी दिए । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ र ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
आज यी ३ प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको छ। यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी बागमती र गण्डकी प्रदेश एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।
डेढ करोड बढी लगानीमा निर्माण गरिएको कृषि बजार भाडामा लिन कोही आएन
फाइल फाेटाे झापा । बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाइ खोलाको किनारमा डेढ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको कृषि बजार सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सरकारद्वारा एक करोड ६८ लाख रुपैयाँ तत्कालीन भूटानी शरणार्थी शरणार्थीको शिविर रहेको स्थानमा सो कृषि बजार निर्माण गरिएको थियो । कृषि बजारका लागि १२ सटरसहितको कोठा, एउटा मण्डी, घेराबेरा र सार्वजनिक शौचालय निर्माण गरिएको छ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले कृषि बजार सञ्चालनका लागि पटकपटक सूचना प्रकाशित गर्दा कोही भाडामा लिन नआएपछि समस्या भएको बताए । उनले भने, ‘राज्यको लगानी खेर गइरहेको छ, यसलाई प्रयोगमा ल्याउन पालिकाले ठेक्का लगाउन धेरैपटक सटरको सस्तो मूल्य राखेर सूचना प्रकाशित गरिसक्यो । भाडामा लिन कोही आउँदैनन् ।’ उनले अघिल्लो जनप्रतिनिधिकै कार्यकालमा सो कृषि बजार निर्माण भएको बताए । उनले स्थानीय सङ्घसंस्था, बजार व्यवस्थापन समिति, सहकारीलाई सो स्थान सञ्चालनका लागि सूचनामा प्रकाशित गरेको मूल्यभन्दा २५ प्रतिशत छुटमा दिने पालिकाकाले निर्णय गर्दा सञ्चालन हुन नसकेको बताए । भूटानी शरणार्थीलाई संयुक्त राष्ट्रसङ्घले तेस्रो मुलक आप्रवाशनमा लगेपछि खाली रहेको जग्गा मध्ये करिब एक बिघा जमिनमा सब्जीमण्डी सञ्चालनका लागि घेराबारासहितको पक्की संरचना निर्माण गरिएको छ । बुद्धशान्ति गाउँपालिका तरकारी उत्पादनका लागि जिल्लामै अग्रणी मानिन्छ । यहाँ उत्पादित तरकारी मेचीनगर, विर्तामोड र दमकलगायतका सहरमा बिक्री हुने गरेको छ । सङ्घीय सरकारले बजारीकरणका लागि उक्त स्थानमा आर्थिक वर्ष २०७६/७७ देखि कृषि बजार निर्माण अगाडि बढाएको थियो । गाउँपालिका अध्यक्ष प्रसाईंका अनुसार कृषि बजार योजनामा हालसम्म आव २०७६/७७ र २०७७र७८ मा एक करोड २० लाख ३२ हजार रुपैयाँ खर्च भएको र आव २०७८/०७९ मा रु ४७ लाख ७८ हजार रुपैयाँ गरी कुल एक करोड ६८ लाख १० हजार रुपैयाँ खर्च भएको छ । उनले प्रति सटर मासिक रु आठ सय मूल्यमा भाडामा लगाउन पालिका तयार रहेको बताए । उनले सो स्थानमा चिस्यान केन्द्र निर्माणका लागि गत वर्ष बजेट आएको बताए । ‘कृषि बजारस्थल भाडामा लगाउन सकिएको छैन । यहाँ चिस्यान केन्द्र बनाउँदा राज्यको लगानी खेर जान्छ भनेर बजेट नै फिर्ता गरिदिऔं’, उनले भने, ‘यहाँ एउटा पसल छैन, बजार लगाउन सकिएको छैन अनि किन चिस्यान केन्द्रका नाममा सरकारको फेरि करोडौँ लगानी गर्नु भन्ने लाग्यो ।’ कृषि बजार स्थल भाडामा लगाउन पालिकाले लामो समयदेखि प्रयास गरिरहेको र यस बर्ष लगाउने नै उनको दाबी छ । स्थानीयवासीले भने जनप्रतिनिधिको उदासिनताका कारण बजारस्थल सञ्चालनमा आउन नसकेको आरोप लगाएका छन् ।
नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति : प्रधानमन्त्री ओली
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति भएको बताएका छन् । ज्यापु समाज यलको ३१औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभाका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेवाः संस्कृतिकै कारण नेपाल सांस्कृतिक हिसाबले सम्पन्न भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले नेवार समुदायमा पाइने खानाका अनेकौँ परिकार, मन्दिरहरूका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यता गरिमायुक्त रहेको बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौँ वर्षसम्म पनि बनाउन नसकिने उल्लेख गरे । ‘राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिन्छ । संस्कृति र सभ्यता बिग्रीएमा फेरि जगेर्ना गर्न सकिँदैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो संस्कृति र सभ्यता अमर रहोस् भनेर ज्येष्ठ नागरिकहरूले कामना गरिरहनुभएको छ । संस्कृति र सभ्यतालाई युवा पुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो । यस दायित्वमा ज्यापु समाजको योगदानलाई म धन्यवाद भन्न चाहन्छु ।’ प्रथम महिला राधिका शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्यापु समाजका सदस्य रहेर समाजका विभिन्न पेसा र क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान गरेका थिए ।
चालु शैक्षिक सत्रमा जनकपुरधामबाट २३ करोड ३० लाखको पाठ्यपुस्तक बिक्री
जनकपुरधाम । चालु शैक्षिक सत्र २०८१ मा जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामबाट पाठ्यपुस्तक बिक्रीमा कमी आएको छ । कार्यालयले गत शैक्षिक सत्र २०८० मा २६ करोडको पुस्तक बिक्री गरेकामा चालु शैक्षिक सत्रको वैशाखदेखि साउनसम्ममा २३ करोड ३० लाखको बिक्री भएको जनाएको छ । सरकारको पूर्ण स्वामित्व रहेको कार्यालयबाट गत शैक्षिक सत्रको तुलनामा चालु शैक्षिक सत्रमा २ करोड ७० लाखले पाठ्यपुस्तक बिक्रीमा कमी आएको कार्यालयका प्रमुख रुद्र खनालले जानकारी दिए । उनका अनुसार चालु शैक्षिक सत्रमा कार्यालयले कक्षा १ देखि कक्षा १२ सम्मका २२ लाख ६४ हजार ६ सय ८३ थान पुस्तक बिक्री गरिएको छ । मधेस प्रदेशको आठ जिल्लासहित पहाडी जिल्ला ओखलढुङ्गा, उदयपुर र सिन्धुलीमा रहेका ९६ आधिकारिक बिक्रेतामार्फत सो सङ्ख्यामा पाठ्यपुस्तक बिक्री भएको उनले उल्लेख गरे । विद्यार्थीसँग पुरानो पाठ्यपुस्तक हुनु, कतिपय विद्यार्थीले बीचमा पढाइ छाड्नुलगायत कारणले गत शैक्षिक सत्रको तुलनामा यस वर्ष पाठ्यपुस्तक बिक्रीमा कमी आएको हुनसक्ने प्रमुख खनालले बताउनुभयो । उहाँका अनुसार अहिले कार्यालयमा आठ लाख थान पाठ्यपुस्तक मौज्दात छ केन्द्रले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई पूर्ण रुपमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ । साथै कक्षा ११ र १२ का अङ्ग्रेजी, नेपाली र सामाजिक विषयको पाठ्यपुस्तक भने विद्यार्थीले खरिद गर्नुपर्ने प्रावधान रहेको छ । विद्यार्थीलाई शिक्षातर्फ आकर्षित गर्न प्राथमिक तहमा अनिवार्य शिक्षा तथा माध्यमिक तहमा निःशुल्क शिक्षा दिने संघीय सरकारको नीतिअनुसार जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाइ गर्दै आएको हो । केन्द्रले तोकिएका बिक्रेतामार्फत पाठ्यपुस्तक खरिद गर्ने र सोको भुक्तानी सम्बन्धित पालिकामार्फत दिँदै आएको जनाएको छ ।
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
ढोरपाटन । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासि घर भत्किँदा काम गरी रहेका घर धनी विक सहित अन्य ११ जना मजदुर घाइते भएका थिए । विकको उचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का २६ वर्षीय शंकर पन्थी, काठमाडौं महानगरपालिका–१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन –४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन –१ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका–१ ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेकमाया रसाइली छन् । घरले पुरिएका सबैको उद्धार गरी सो स्वास्थ्य केन्द्रमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
अव्यवस्थित सालिकले ट्राफिक व्यवस्थापनमा सकस
गण्डकी । पोखराका मुख्य चोक र सडकमा रहेका अव्यवस्थित सालिकका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ । सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र सहरी सौन्दर्यलाई दृष्टिगत गरी एक वर्षअघि सालिक व्यवस्थापन तथा स्थानान्तरण गर्ने निर्णय गरेकामा कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापन सकसपूर्व बन्दै आएको हो । पोखरामा पर्यटकको आगमन बढ्नुका साथै बढ्दो जनघनत्व र सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएकाले मुख्य सडक र चोकमा रहेका सालिक अन्यत्र स्थानान्तरण गर्नुपर्ने निर्णय भएको थियो । विसं २०८० साउनमा पोखरा महानगरपालिकाको अगुवाइमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले व्यस्त सडकमा भएका सालिक पोखरा–१८ जामुनबोटस्थित सहिद तथा विभूति उद्यानमा सार्ने निर्णय गरेको थियो । पोखरा–१ का वडाध्यक्ष सहारा प्रधानले महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकार भएका संघसंस्थासँगको समन्वयमा एक महिनाभित्र सालिक व्यवस्थापन गर्ने भनिएकामा एकवर्षसम्म पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको बताइन् । ‘महानगरभित्रका सबै चोक र सडकमा रहेका सालिक जामुनबोटको सहिद उद्यानमा स्थानान्तरण गर्ने निर्णय भएकामा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन,’ उनले भनिन्, ‘सालिक सार्ने विषयमा पछिल्लो समय महानगर कार्यपालिकाको बैठकमा छलफल पनि भएको छैन ।’ वडा नं १ हरिचोकमा सहिद हरिप्रसाद गुरुङको सालिक छ । वडाध्यक्ष गुरुङले सालिक व्यवस्थापन र स्थानान्तरण गर्ने कार्यमा सर्वदलीय र सर्वपक्षीय सहमति आवश्यक पर्ने भन्दै यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरे । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले दीर्घकालीन रूपमा सालिकको व्यवस्थापन गर्नुपर्ने बताए । ‘सालिक राखिएका स्थानमा ती संरचना नहुँदा सडक फराकिलो हुन्छ, व्यस्त चोकमा सालिकको ठाउँमा ट्राफिक आइल्याण्ड राख्न सकियो भने सवारी व्यवस्थापनमा पनि सहजता थपिन्छ,’ उनले भने, ‘सालिक भएकाले कतिपय स्थानमा ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भइरहेकाले यसको दीर्घकालीन समाधान गर्न महानगरले योजना बनाउनुपर्छ ।’ अधिकांश सालिक राजमार्गका मुख्य चोकमा अवस्थित रहेका बताउँदै बढ्दो सवारी चाप र पार्किङ अभावका कारण पछिल्लो समय पोखराको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको प्रमुख शर्माले उल्लेख गरे । ‘कतिपय ऐतिहासिक व्यक्तित्वका सालिक रहेका ठाउँमा उनीहरूका जयन्ती वा अन्य कार्यक्रममा मानिसको घुइँचो हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम पनि बढ्छ,’ उनले भने । ६ वर्षअघि सडकका सालिक हटाउन खोज्दा विभिन्न संघसंस्था र समूहबाट विरोध भएपछि महानगरले जामुनबोटमा महानगरभित्रका सबै सालिक व्यवस्थापन गर्ने गरी सहिद तथा विभूति उद्यान निर्माण गरेको थियो । उक्त उद्यानमा पृथ्वीनारायण शाह, रवीन्द्र अधिकारी, भीमसेन दाहाल, योगेन्द्र शेरचनलगायतका सालिक राखिएका छन् । पोखराको व्यस्त पृथ्वीचोक, अमरसिँहचोक, विरौटाचोक, हरिचोकलगायत ठाउँमा अहिले पनि राष्ट्रिय विभूतिदेखि साहित्यकारसम्मका सालिक छन् । कतिपय सालिक संरक्षण र रेखदेखको अभावमा जीर्ण बन्दै गएका छन् । पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार भइरहेकाले सालिक केही ठाउँका सालिक तत्कालन व्यवस्थापन गर्नुपर्ने छ । पोखरा–१० अमरसिँहचोकमा रहेको राष्ट्रिय विभूति अमरसिँह थापा र वडा नं १६ अर्घौचोकमा रहेको साहित्यकार लेखनाथ पौडेलको सालिक सोही सडक खण्डमा पर्दछ । वडा नं ९ पृथ्वीचोकमा अहिले सहिद लखन थापाको सालिक छ । दोस्रो जनआन्दोलनका बेला पृथ्वीनारायण शाहको सालिक तोडफोड भएपछि उक्त स्थानमा लखन थापाको सालिक राखिएको थियो ।