कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारी सञ्चालन
ललितपुर । शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो । मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डले बताए ।
सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई दियो अपरेशन थिएटर टेबल
काठमाडौं । सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्रा।डा। दीपकबहादुर भण्डारीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् । त्यसैगरी, कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालाका निर्देशक डा. दिपेन्द्र कुमार यादव लगायतको पनि उपस्थिति रहेको थियो । यस सहयोगले बिरामीहरूले स्तरीय उपचार सेवा पाउने विश्वास लिँदै बैंकले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राख्ने जनाएको छ ।
सिद्धार्थ बैंकद्वारा विद्यालयमा निर्मित बहुउद्देश्यीय हलको औपचारिक हस्तान्तरण
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित अमरसिंह माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हल विद्यालयलाई हस्तान्तरण गरेको छ । हलको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया तथा विद्यालयका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले गरेका थिए । बैंकले उक्त हल निर्माण गर्नुका साथसाथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जस्तै सोलार, यूपीएस र ब्याट्री पनि प्रदान गरेको छ । यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पुरा गर्दै उनीहरुको आत्मविश्वासमा पनि वृद्धि ल्याउने छ भन्ने विश्वास बैंकले लिएको छ । यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरहरु मार्फत विद्यार्थीहरुलाई आधुनिक प्रविधिमा पोख्त्त बनाउन, शैक्षिक सामग्री अनलाइन मार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्मा भए पनि मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।
निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसँगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गरेका हुन् । ‘नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ,’ उनले भने, ‘सोही अनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाइ हुन्छ’ । ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको, र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको कुरा पनि बताए । उनले महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको कुरा बताउँदै, अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने बताए । ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास पनि व्यक्त गरे । ढकालले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठवटा कानुनमा संशोधन भएको र द्विपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको जानकारी गराए । यसै गरी उच्च विदेशी विनिमय सञ्चिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्ने अध्यक्ष ढकालको आग्रह थियो । भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताइन् । निजी क्षेत्रलाई महत्त्व दिनुपर्ने विषयमा कोष सदैव सकारात्मक रहेको पनि उनको भनाई थियो ।
दही बिक्री गरेर मनग्य आम्दानी
देउखुरी । टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन । ठाउँ छैन अरु बसमा आउनु भन्दै चालक पन्छिए । गाउँका धेरैजसो किसान आफूले उत्पादन गरेको दही बिक्री गर्न घोराही बजार आउँदाको भोगाइ हो यो । राजपुर गाउँपालिका–३ खर्दरियाका लक्ष्मण यादव ६० वर्षको भए । उनी व्यावसायिक रूपमा भैँसीपालन गर्दै आएका छन् । उनीसँग रहेका २५ भैँसीले दूध दिन्छन । बाबुबाजेले भैँसीपालन गर्दै आएका थिए । त्यही रेखदेख गर्दागर्दै लक्ष्मण पनि भैँसीपालनलाई निरन्तरता दिँदै आएका छन् । पच्चीस भैँसीले दिएको दूध बिक्री गर्न समस्या हुने गरेको उनले बताए । खर्दरियामा यादव समुदायको झण्डै तीन सय घर छन् । हरेकको घरमा १० देखि २० वटासम्म भैँसी छन् । उत्पादन भएको सबै दूध गाउँमा बिक्री गर्न सम्भव छैन । उनीहरुले बेलुकाको दूध जम्मा गरेर दही बनाउने र बजारमा बिक्री गर्ने गरेका छन् । ‘घोराही पुग्नलाई रु एक सय भाडा लाग्छ । दैनिक रु दुई हजारदेखि रु दुई हजार पाँच सयसम्म आम्दानी हुन्छ’, यादवले भने । दैनिक २५ लिटरसम्म दही बिक्री हुने र यसबाट मासिक रु ३० हजारसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । यस्तै राजपुर गाउँपालिका–३ खर्दरियाका झाबु यादव ५० वर्षका हुनुभयो । उहाँसँग एक सयवटा दूध दिने भैँसी छन् । राजपुरबाट घोराही, तुलसीपुर, लमहीमा दही बिक्री हुने गरेको छ । भैँसीको दूध–दही बिक्री गरेर उहाँले छोराछोरी पढाउँदै आएका छन् । ‘गाउँमा सबैको घरमा भैँसी छन् । भैँसी नभएकाले पनि सस्तो मूल्यमा किन्न खोज्छन्, त्यसैले गाउँमा दही बिक्री गर्न मन लाग्दैन’, यादव भन्छन्, ‘राजपुरबाट दहीको भाँडो बोकेर दैनिक बजारमा आउने गरेका छौँ ।’ गाउँभरिका भैँसीपालक किसान दही बोकेर बिक्री गर्न बजार जाने गरेका छन् । गाउँघरमा प्रतिलिटर रु २०–२५ मा बिक्री हुने दही बजारमा पुर्यायो भने रु एक सयमा बिक्री हुन्छ । यसरी कमाएको पैसाले छोराछोरीको पढाइ खर्च र घर परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान हुने गरेको यादव बताउँछन् । बिहानको दूध डेरीले लैजान्छन्, बेलुकाको दूध बिक्री गर्ने ठाउँ नहुँदा दही बनाएर बिक्री गर्ने गरेको उनले बताए । दूध राख्नलाई सरकारले डिपफ्रिजको सहयोग गरेमा दूध, दहीबाट आम्दानी गरेर जीविका चलाउन सकिने यादवले बताए । दूध ट्रयाक्टरको व्यवस्थापन गरेमा आफूहरूलाई राहत मिल्ने उनको धारणा छ । व्यावसायिक भैँसीपालनका लागि खरदरिया उपयुक्त स्थान मानिन्छ । यहाँका अधिकांश बासिन्दाले १० देखि एक सयवटासम्म भैँसीपालन गरेका छन् । भैँसीको दूध बिक्रीबाट आएको आम्दानीले छोराछोरी पढाउने र घरखर्च चलाउन सहज भएको छ । सोही ठाउँका भैँसीपालक किसानले गोठ सुधार, घाँस काट्नलाई चारामेसिन, बीउका लागि उन्नत जातको रागा र दूध सङ्कलनका लागि डेरीको माग गरेका छन् । परापूर्वकालदेखि भैँसीपालनबाट जीविका चलाउँदै आएका यादव समुदायले सरकारको सहयोग भएमा व्यवस्थित तरिकाले भैँसीपालन गर्ने सोच बनाएका छन् । रासस
ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु हुँदै
काठमाडौं । आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ ८ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो
फाइल फोटो काठमाडौं । खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उनले बताए ।
५.२६ % लाभांश पारित गर्न आशुतोष इनर्जीले डाक्यो साधारण सभा
काठमाडौं । आशुतोष इनर्जीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ५.२६३ प्रतिशतका दरले २ करोड ५२ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले सातौं वार्षिक साधारण सभा असोज २० गते बोलाएको छ । कम्पनीको सभा नक्साल काठमाडौंमा बिहान साढे ८ बजे बस्नेछ । कम्पनीको सभाले संञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।