सुनचाँदी धितो कर्जाको सीमा ५० लाख रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी धितो कर्जाको सीमा ५० लाख रुपैयाँ पुर्याएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख रुपैयाँ पुर्याउन निर्देशन दिएको हो । साथै यसअघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यसरी कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ । कथमंकदाचित् कुनै ऋणीले दिएको एकभन्दा बढी थैलीहरु वा एकभन्दा बढी थैलीहरु राखिएको एउटा थैलीमात्र धितो राखी वा सुनचाँदीको परीक्षण जाँच नगरी सुनचाँदी धितो कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।
बाढी-पहिरोमा भएको क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने
काठमाडौं, २२ असोज : सरकारले बाढी-पहिरोबाट स्थानीय तहमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भने, ‘कतै धेरै क्षति भएको छ भने कतै थोरै । क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ ।’ मन्त्री गुरुङले सङ्कटग्रस्त ४९ स्थानीय तहको सङ्ख्या बढ्नसक्ने जानकारी दिँदै क्षतिको पूर्ण विवरण गृह मन्त्रालयले केही दिनमै सरकारलाई उपलब्ध गराउने बताए । मन्त्रिपरिषद्को निर्णयअनुसार थाइल्यान्डको बैङ्ककमा आगामी कात्तिक ६ देखि ८ गतेसम्म आयोजना हुने ‘ट्रान्सफर्मिङ केयरः बिल्डिङ अलाइन्स, इम्पावरिङ वुमन, रिसेपिङ इकोनोमिक्स’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीलाई सहभागी हुन स्वीकृत प्रदान गरिएको छ । मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत विभिन्न आयोजनाका लागि दुई सय ६६ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आगामी कात्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने ‘एक्स एक्स आइआई इन्टरनेसनल स्र्पोटस फोरम रसिया–कन्ट्री अफ स्पोर्टस’ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सहभागी हुने र आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्न स्वीकृत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । हुलाक सेवा विभाग र अन्तर्गतका निकायहरुको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने, दूरसञ्चार (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, २०८१ कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने ‘वर्ल्ड अर्बान फोरम–१२’ सम्मेलनमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सहभागी हुन अनुमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यसैगरी यही असोज २७ मा जर्मनीको बर्लिनमा हुने ‘कम्युनिटी हेल्थ डेलिभरी पार्टनरशिप इभेन्ट ड्युरिङ द वल्र्ड हेल्थ समिट–२०२४’मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई सहभागी हुन अनुमति दिने, शेयर तथा ऋण लगानी नीति, २०८१ र बीउबिजन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय भएको छ ।
बाढी पहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख सहयोग
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैँया सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । बैंकका अनुसार गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगत देखीनै सहयोग गर्दै आएको छ ।
बाढी-पहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति, सबैभन्दा धेरै पनौती नगरपालिकामा
काभ्रेपलाञ्चोक । हालैको बाढी-पहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ । बाढी-पहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको धान, मकै, आलु, तरकारीलगायत अन्य बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा ७ हजार २ सय परिवारले लगाएको बालीको प्रारम्भिक क्षतिको अनुमान अनुसार ४२ करोड ६३ लाख रुपैयाँ रहेको उक्त कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । सबैभन्दा धेरै पनौती नगरपालिकामा ९ करोड ४१ लाख, धुलिखेल नगरमा ५ करोड ४८ लाख बराबरको क्षति भएको छ । उक्त कार्यालयले सार्वजनिक गरेको कृषि क्षतिको विवरणअनुसार छ सय ६९ दशमलव आठ हेक्टर क्षत्रफलको धान, ३० हेक्टरको मकैबाली तथा चार सय २७ दशमलव ७९ हेक्टर क्षेत्रफलको अन्य कृषि बालीमा क्षति पुगेको जनाइएको छ । यस्तै दुई हजार नौ मेट्रिकटन धान, ८४ मेट्रिकटन मकै, चार हजार दुई सय मेट्रिकटन तरकारी तथा अन्य बालीमा गरी कुल छ हजार तीन सय ७१ मेट्रिकटनमा अनुमानित गिरावट आउने उल्लेख गरिएको छ । यसैबीच जिल्लामा बाढीपहिरोबाट करिब चार हजार पशुपंक्षी हताहत भएका अनुमान गरिएको छ । सबैभन्दा धेरै पनौती नगरमा २ हजार १०० पशुपन्छी मरेका छन् । जिल्लास्थित पशु सेवा कार्यालयका निमित्त प्रमुख निशान्त गेलालका अनुसार जिल्लाका १३ वटै तहबाट तथ्याङ्क सङ्कलन जारी छ । जिल्लाका सबै भागमा सञ्चार सम्पर्क कायम नभएका कारण यकीन विवरण प्राप्त हुन केही दिन लाग्ने उनले बताए । बाढीपहिरो र डुबानबाट अतिप्रभावित तीन दर्जनभन्दा बढी स्थानीय तहलाई राहत तथा पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारले शुक्रबार ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । सरकारले तीन महिनाका संकटग्रस्त क्षेत्र घोषणा गरेमध्ये काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् । जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० तहमा बाढीपहिरोमा परी ७८ जनाले ज्यान गुमाएका, पाँच जना बेपत्ता रहेका तथा ७५ जना घाइते भएका जिल्ला प्रहरी कायालयले जनाएको छ । वर्षाजन्य विपदमा परी काभ्रेपलाञ्चोकमा ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । रासस
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक संघीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।
साल्ट ट्रेडिङ कर्पोरेसनको सूपथ मूल्य पसलमा किनमेल गर्दै सर्वसाधारण (फोटो फिचर)
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सुरु गरेको छ । कर्पोरेसनले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित १४ स्थानमा सुपथ मूल्य पसल सुरु गरेको हो । असाेज ८ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा आएकाे हाे । कर्पोरेसनले उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, बालाजु, गौशाला, कपन, कौशलटार, कोटेश्वर, जाउलाखेल, स्वयम्भुलगायतका स्थानबाट विभिन्न वस्तुमा छुट उपलब्ध गराइएकाे छ । यसैगरी, चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुट गरेको जनाएको छ । कर्पोरेसनका अनुसार कर्पोरेसनको सुपथ मूल्य पसलबाट प्रतिव्यक्तिले छ केजीसम्म नुन, दुई केजी चिनी र त्यही परिणाममा खानेतेल, चामल, दाल र चिउरा उपलब्ध गराइएकाे छ । चिनी प्रतिदुई केजी २०५ रुपियाँ र नुन प्रतिकेजी २४ रुपियाँमा बिक्री गरिएकाे कर्पोरेसनले जनाएको छ । कर्पोरेसनले सञ्चालन गर्ने सुपथ मूल्य पसलका लागि सरकारले एक करोड छुट्याएको छ । कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादनसहित ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ । यस्तै, विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीको विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरेको छ । काठमाडौं उपत्यका चार स्थान (थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक) सहित ४२ जिल्लाका ६३ स्थानमा कम्पनीको बिक्री कक्षहरू राखिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक संघ नेपालले उपत्यकाका दुई स्थानमा सुपथ मूल्य जुत्ता पसल पनि सञ्चालनमा ल्याएको छ । साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर, कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको हाे । कर्पाेरेसनकाे केन्द्रीय कार्यालयमा पुग्दा विकासन्यूजका फाेटाेपत्रकार साैगात पुडासैनीले त्यहाँका दृश्य क्यामेरामा कैद गर्ने जमर्काे गरेका छन् ।
मेलम्चीको पानी आजै काठमाडौं ल्याइने
काठमाडौं । मेलम्चीको खानेपानी आजै काठमाडौंको सुन्दरीजल ल्याइने भएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता सफल भएपछि आजै मेलम्चीबाट पानी काठमाडौं ल्याउन लागिएको हो । खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौंमा पानी पठाउने विषयमा सहमति भएको थियो । उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याउने तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले जानकारी दिए । उनले भने, ‘काठमाडौंमा मेलम्चीबाट पानी पठाउने विषयमा खानेपानी मन्त्री र सङ्घर्ष समितिबीच सहमति भएको छ । आजै मेलम्चीको पानी सुन्दरीजल ल्याउने तयारी हुँदै छ ।’ दसैँ अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएकामन्त्री यादवसहितको टोलीवार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो । वार्तापछि बाढीपीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । सुरुङभित्र पानी पठाएपछि पानी आजै काठमाडौं आइपुगेर वितरण प्रणालीमा जोडिने कार्यकारी निर्देशक लामिछानेले बताए । उनले भने, ‘मेलम्ची खानेपानी विकास समितिले काठमाडौं पानी ल्याउन पहिलेदेखि तयारी गरेकाले पानी ल्याउन छिटो हुनेछ ।’ विसं २०७८ असार १ गते तथा साउन १६ र १७ गतेको बाढीपछि मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति गरेपछि काठमाडौंमा हिउँदयामभरि पानी ल्याउने र बर्खामा सुरुङ बन्द गर्ने गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।
बजारसँगै घट्यो कारोबार रकम, मिड सोलुको सेयरमा लाग्यो सर्किट
काठमाडौं । आज (मंगलबार) सेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से २७.३९ अंकले घटेर २ हजार ६६३.३२ बिन्दुमा रोकिएको छ । यसदिन कारोबारमा आएका दुई सय ७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ३५ वटा कम्पनीको मूल्य भने बढेको छ । दुईवटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । बजार घटेसँगै यस कारोबार रकम पनि घटेको छ । आज १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर ४५ हजार ८७० पटक किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ । हिजो सोमबार ७ अर्ब ९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । बजार घटेपनि आज मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दा बुटवल पावरको मूल्य ६.८३, माण्डु हाइड्रोपावरको मूल्य ६.३१, प्रभु स्मार्ट फण्डको मूल्य ५.९६ र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ५.४४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, इस्ट्रन हाइड्रोपावरको मूल्य ८.५०, बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य ७.२४, नेपाल फाइनान्सको मूल्य ६.९८, बोटलर्स नेपाल तराईको मूल्य ५.८८ र कालिञ्चाेक दर्शनको सेयर मूल्य ५.५० प्रतिशतले घटेको छ । आज एनएलजी इन्स्योरेन्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एशिया बैंक र गुडविल फाइनान्सको सेयर कारोबार उच्च रहेको छ ।