विकासन्युज

एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान

काठमाडौं । अमेरिकी जोन होपफिल्ड र बेलायती–क्यानाडाली जेफ्री हिन्टनले मंगलबार कृत्रिम बौद्धिकता (एआई) को विकासमा अग्रणी कामका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् । जुरीका अनुसार उनीहरूलाई ‘कृत्रिम न्युरल नेटवर्कहरूसँग मेसिन लर्निङ सक्षम बनाउने आधारभूत खोज र आविष्कारका लागि’ सम्मानित गरिएको छ । स्विडिश रोयल एकेडेमी अफ साइन्सेसले एक वक्तव्यमा भनेको छ, ‘यस वर्षको भौतिकशास्त्रमा दुई नोबेल पुरस्कार विजेताहरूले आजको शक्तिशाली मेशिन लर्निङको आधार रहेको विधिहरू विकास गर्न भौतिकशास्त्रका उपकरणहरू प्रयोग गर्नुभएको छ ।’ वक्तव्यमा प्रिन्स्टन विश्वविद्यालयका ९१ वर्षीय प्राध्यापक होपफिल्डलाई ‘एसोसिएटिभ मेमोरी सिर्जना गरेको’ र ‘यसले छवि र डेटाका अन्य प्रकारका ढाँचाहरू भण्डारण गर्न र पुनःनिर्माण गर्न सक्छ’ भनी उल्लेख गरिएको छ । जुरीले टोरन्टो विश्वविद्यालयका ७६ वर्षीय प्राध्यापक हिन्टनले ‘डेटामा स्वायत्त रूपमा गुणहरू पत्ता लगाउन सक्ने विधि आविष्कार गर्नुभएको र उक्त आविष्कारले तस्बिरहरूमा विशिष्ट तत्वहरू पहिचान गर्ने जस्ता कार्य गर्न सक्छ’ भनेको छ । स्टकहोममा पुरस्कार विजेताहरूको घोषणा गर्ने क्रममा हिन्टनले फोन अन्तरवार्तामार्फत पत्रकारहरूसँग भने, ‘म अचम्मित छु,  यस्तो हुनसक्छ भनेर मलाई थाहै थिएन ।’ दुवै जनाले स्टकहोममा राजा कार्ल सोह्रौँ गुस्ताफबाट डिसेम्बर १० मा डिप्लोमा, सुनको पदक र १० लाख डलरको चेकसहित पुरस्कार प्राप्त गर्नुहुनेछ । उक्त दिन आफ्नो अन्तिम इच्छापत्रमा यी पुरस्कारहरू सिर्जना गर्नुभएका वैज्ञानिक अल्फ्रेड नोबेलको सन् १९८६ मा निधन भएको वार्षिकी हो । गत वर्ष भौतिकशास्त्रको नोबेल पुरस्कार फ्रान्सका पियरे एगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्को–स्विडिश एन ल’हुइलियरलाई अति छिटो प्रकाश फ्ल्यासहरू प्रयोग गरेर परमाणु र अणुहरूभित्रका इलेक्ट्रोनहरूको अध्ययन गर्न सक्षम बनाउन गरिएको अनुसन्धानका लागि दिइएको थियो । नोबेल मौसममा यस साता बुधबार रसायनशास्त्र पुरस्कार विजेताको घोषणासँगै जारी रहनेछ । त्यसपछि बिहीबार साहित्य र शुक्रबार शान्तिका लागि अत्यधिक प्रतीक्षित पुरस्कार आउनेछन् । अर्थशास्त्रका लागि सोमबार पुरस्कार घोषणासँगै सबै कुरा समाप्त हुनेछ । पुरस्कार सिर्जनाकर्ता तथा वैज्ञानिक अल्फ्रेड नोबेलका शब्दहरूमा जसले ‘मानवजातिलाई सबैभन्दा ठूलो फाइदा प्रदान गरेका छन्’ तिनीहरूलाई सन् १९०१ देखि प्रदान गरिँदै आएको नोबेल पुरस्कारले सम्मानित गर्दछ । रासस

ग्रेस अवधि थप भएका हाइड्रोको कर्जा पुनर्संरचना गर्न नपाइने

काठमाडौं । जलविद्युत आयोजनाको ग्रेस अवधि थप भएपनि पुनर्संरचना/पुनरतालिकीकरण गरेको नमानिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत एक निर्देशन संशोधन गर्दै सम्पन्न भएका जलविद्युत आयोजनाको ग्रेस अवधि थप भएपनि कर्जा पुनर्संरचना/पुनरतालिकीकरण गरेको नमानिने स्पष्ट पारेको हो । राष्ट्र बैंकका अनुसार एक पटक तय गरिएको ग्रेस अवधि थप गरेमा त्यस्तो कर्जालाई पुनर्संरचना/पुनरतालिकीकरण गरेको मानिने र सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, विद्युत परियोजनाहरूको परिवर्तित रिक्वायर्ड कमर्सियल अप्रसेन डेट बमोजिम वा जलविद्युत आयोजना सम्पन्न भई उत्पादन प्रारम्भ गरेतापनि पूर्ण क्षमताको प्रसारण लाईन निर्माण नभएका कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेका कारण ग्रेस अवधि थप भएमा पुनर्संरचना/पुनरतालिकीकरण गरेको नमानिने राष्ट्र बैंकको भनाइ छ । ग्रेस अवधि भन्नाले कर्जा प्रवाह सुरु भएको मितिदेखि कर्जाको किस्ता भुक्तानी गर्न सुरु हुने मिति बुझ्नु पर्नेछ । साथै पुनरतालिकीकरण/पुनर्संरचना गरिएका कर्जाहरूलाई असल वर्गमा वर्गीकरण गरी १.१ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ । बैंक तथा वित्तीय संस्थाले कर्मचारी दायित्वको बीमांकीय मूल्यांकन गराउँदा नेपाल वित्तीय प्रतिवेदन मानको प्रावधान अनुरूप विगतको तथ्याङ्कमा आधारित रही यर्थाथपरक अनुमानहरू लिई मूल्यांकन गराउनु पर्ने राष्ट्र बैंकले जनाएको छ । साथै आन्तरिक लेखापरीक्षणबाट त्यस्तो तथ्याङ्क तथा अनुमानहरू प्रमाणित गरेपश्चात मात्र बीमांकीय मूल्यांकन गर्ने व्यवस्था मिलाउनु पर्नेछ । लेखानीति बमोजिम लेखाङ्कन गरिएको कर्जाको ब्याज आम्दानीमध्ये राष्ट्र बैंकको निर्देशन बमोजिम प्रोदभावी आधारमा लेखाङ्कन गरिने ब्याज आम्दानीमध्ये आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकम बाहेकका अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसारको आयकर, कर्मचारी बोनस तथा वैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नु पर्नेछ । उक्त ब्याज रकम प्राप्त हुन आएमा नियमनकारी कोषबाट सञ्चित मुनाफामा फिर्ता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । ब्याज पुँजीकरण गरिएका ५० मेगावाट वा सोभन्दा बढी क्षमताको जलविद्युत परियोजनाको हकमा भने उक्त परियोजनाको निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको प्रमाणित भएको अवस्थामा आइसीटीएलमा रहेको रकमलाई आईसीआरबाट घटाई सञ्चित मुनाफा हिसाबमा सार्न सकिनेछ । साथै ब्याज पुँजीकरण गरिएका अन्य परियोजनाको हकमा व्यावसायिक रूपमा सञ्चालनमा आएको अवस्थामा आईसीटीएलमा रहेको सम्पूर्ण रकमलाई आईसीआरबाट घटाई सञ्चित मुनाफा हिसाबमा सार्न सकिनेछ ।

बीमा दाबी समयमै दिएर कम्पनीहरूले आफूलाई स्थापित गर्ने बेला यही हो : अध्यक्ष सिलवाल

  काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट सिर्जित समस्याको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् । दशैंतिहार तथा छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष सिलवालले यस्ताे बताएका हुन् । उनले क्षतिकाे बीमा दाबी समयमै दिएर बीमा कम्पनीहरूले आफूलाई स्थापित गर्ने अवसर पाएकाे बताए । अध्यक्ष सिलवालले भने, ‘बाढी तथा पहिरोबाट जनधनको ठूलो क्षति भएको छ । क्षतिको बीमा दाबी समयमै दिएर बीमा कम्पनीहरूले आफूलाई स्थापित गर्ने र बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ भनेर प्रमाणित गर्ने बेला हो यो । कम्पनीहरूले अहिलेको चुनौतीलाई अवसरको रूपमा लिएर नागरिकमा बीमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्छ ।’ उनले बाढी तथा पहिरोबाट कृषिक्षेत्रबाहेक सडक र पुलमा मात्रै २७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको उल्लेख गरे । अध्यक्ष सिलवालले भने, ‘सरकारले पूर्वाधारमा लगानी मात्र गर्ने होइन, बीमामार्फत लगानीको संरक्षणसमेत गर्नु आवश्यक छ । क्षति भएका स्थानमा नयाँ सडक तथा पुल बनाउनुपर्ने हुन्छ । बीमा नगरेका कारण तिनको निर्माणमा सरकारले थप लगानी गर्नुपर्ने हुन्छ, यसलाई ध्यानमा राखेर सबै संरचनाको बीमा गर्नेतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।’ उनले जलवायु परिवर्तनको असर बढी पर्ने देशमा नेपाल पनि रहेकाले सरकारको नीति तथा रणनीतिमा बीमा समावेश गरी बीमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा कम्पनीहरू परम्परागत रूपमा नभई नयाँ संस्करणका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र लघु बीमक संघका अध्यक्ष, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

अब एकैदिन ३० पटकसम्म वालेटमा पैसा जम्मा गर्न पाइने

  काठमाडौं । अब एकैदिनमा ३० पटकसम्म वालेटमा पैसा जम्मा गर्न पाइने भएकाे छ । नेपाल राष्ट्र बैंकले अस्थायी रूपमा रकम जम्मा गर्न पाउने संख्या बढाएकाे हाे । भुक्तानी सेवा प्रदायकहरूका वालेटमा यसभन्दा अगि एकदिनमा १० पटकसम्म मात्र जम्मा गर्न सकिने व्यवस्था थियाे । दशैं-तिहार र छठ पर्वकाे अवसरमा राष्ट्र बैंकले दिनमा ३० पटकसम्म रकम जम्मा गर्न मिल्ने व्यवस्था गरेकाे हाे । असाेज २१ गतेदेखि कार्तिक १ र कार्तिक १५ देखि २२ सम्म वालेटमा ३० पटकसम्म जम्मा गर्न सकिने राष्ट्र बैंकले जारी गरेकाे परिपत्रमा उल्लेख छ । काराेबारकाे संख्या र काराेबारकाे रकम नियमित रूपमा खुलाउनसमेत राष्ट्र बैंकले निर्देशन दिएकाे छ ।

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो । सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन् । उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए । सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका तीन मन्त्री आज सदरमुकाम चौतारा आइपुगेका थिए । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पु¥याएको क्षतिबारे छलफल भएको थियो । उनीहरु सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात सिन्धुपाल्चोकको भोटेकोशी  क्षेत्रको अवलोकन गरेर चौतारा आइपुगेका हुन् । मन्त्रीहरुले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयवासीसँग छलफल गरेका थिए । सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिएका छन् । उनले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए । सिन्धुपाल्चोकमा बर्सेनि प्राकृतिक विपद्ले क्षति पुर्याउने गरेको छ । यसपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ । यहाँबाट मन्त्रीहरू ललितपुरको गोटीखेल जाने कार्यक्रम रहेको जनाइको छ ।

सुनचाँदी धितो कर्जाको सीमा ५० लाख रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी धितो कर्जाको सीमा ५० लाख रुपैयाँ पुर्याएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख रुपैयाँ पुर्याउन निर्देशन दिएको हो । साथै यसअघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यसरी कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ । कथमंकदाचित् कुनै ऋणीले दिएको एकभन्दा बढी थैलीहरु वा एकभन्दा बढी थैलीहरु राखिएको एउटा थैलीमात्र धितो राखी वा सुनचाँदीको परीक्षण जाँच नगरी सुनचाँदी धितो कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

बाढी-पहिरोमा भएको क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने

काठमाडौं, २२ असोज : सरकारले बाढी-पहिरोबाट स्थानीय तहमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भने, ‘कतै धेरै क्षति भएको छ भने कतै थोरै । क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ ।’ मन्त्री गुरुङले सङ्कटग्रस्त ४९ स्थानीय तहको सङ्ख्या बढ्नसक्ने जानकारी दिँदै क्षतिको पूर्ण विवरण गृह मन्त्रालयले केही दिनमै सरकारलाई उपलब्ध गराउने बताए । मन्त्रिपरिषद्को निर्णयअनुसार थाइल्यान्डको बैङ्ककमा आगामी कात्तिक ६ देखि ८ गतेसम्म आयोजना हुने ‘ट्रान्सफर्मिङ केयरः बिल्डिङ अलाइन्स, इम्पावरिङ वुमन, रिसेपिङ इकोनोमिक्स’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीलाई सहभागी हुन स्वीकृत प्रदान गरिएको छ । मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत विभिन्न आयोजनाका लागि दुई सय ६६ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आगामी कात्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने ‘एक्स एक्स आइआई इन्टरनेसनल स्र्पोटस फोरम रसिया–कन्ट्री अफ स्पोर्टस’ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सहभागी हुने र आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्न स्वीकृत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । हुलाक सेवा विभाग र अन्तर्गतका निकायहरुको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने, दूरसञ्चार (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, २०८१ कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने ‘वर्ल्ड अर्बान फोरम–१२’ सम्मेलनमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सहभागी हुन अनुमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यसैगरी यही असोज २७ मा जर्मनीको बर्लिनमा हुने ‘कम्युनिटी हेल्थ डेलिभरी पार्टनरशिप इभेन्ट ड्युरिङ द वल्र्ड हेल्थ समिट–२०२४’मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई सहभागी हुन अनुमति दिने, शेयर तथा ऋण लगानी नीति, २०८१ र बीउबिजन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय भएको छ ।

बाढी पहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैँया सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । बैंकका अनुसार गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगत देखीनै सहयोग गर्दै आएको छ ।