विकासन्युज

बिटकोइनको मूल्य एक लाख डलरमाथि, अझै बढ्ने विश्लेषण

काठमाडौं । विश्वको सबैभन्दा पुरानो, सबैभन्दा ठूलो र लोकप्रिय क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य एक लाख डलर नाघेको छ । बिटकोइन पहिलो पटक यो स्तरमा पुगेको हो । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भएपछि यसको मूल्य लगातार बढिरहेको छ । हाल बिटकोइनको मूल्य एक लाख २७७ डलर पुगेको छ । ट्रम्प सरकारले क्रिप्टो-अनुकूल नीतिहरू बनाउने लगानीकर्ताहरूको आशा छ । यही कारणले गर्दा क्रिप्टोकरेन्सीको मूल्य बढिरहेको हो । यो वर्ष बिटक्वाइनको मूल्य शतप्रतिशतले बढेको छ । ट्रम्पको चुनावी विजयपछि चार सातामा यसको मूल्य ४५ प्रतिशतले बढेको छ । योसँगै बिटकोइनको मार्केट क्याप पहिलो पटक २ ट्रिलियन डलर नाघेको छ । अमेरिकी धितोपत्र तथा विनिमय आयोगका अध्यक्ष ग्यारी जेन्सलरको राजीनामापछि क्रिप्टोकरेन्सीका लगानीकर्ताले राहत पाउने अपेक्षा गरिएको छ । धितोपत्र तथा विनिमय आयोगसेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनको नेतृत्वका लागि पल एट्किन्सलाई मनोनयन गरेको घोषणा गरेका छन् । एट्किन्ससँग टोकन एलायन्सको सह-अध्यक्षको रूपमा क्रिप्टोकरेन्सी नीतिमा अनुभव छ । बिटकोइनको मूल्य  कति पुग्ला ? ट्रम्पले आफ्नो चुनावी अभियानमा डिजिटल एसेट्सलाई समर्थन गरी अमेरिकालाई क्रिप्टो राजधानीको रूपमा स्थापित गर्ने बताएका थिए । साथै उनले राष्ट्रिय बिटकोइन रिजर्भ सिर्जना गर्ने कुरा पनि गरेका थिए । हङकङमा आधारित एक स्वतन्त्र क्रिप्टोकरेन्सी विश्लेषक जस्टिन डी’एनेथनले बिटकोइनले एक लाख डलर पार गर्नु एउटा कोशेढुङ्गा मात्र नभएको बताए । उनका अनुसार यो वित्त, प्राविधिक र भूराजनीतिमा परिवर्तनको प्रमाण हो । केही समयअघि काल्पनिक भनी खारेज गरिएको आजको यथार्थ हो । यससँगै दुई वर्षअघि एफटीएक्स क्रिप्टो एक्सचेन्ज बन्द हुँदा क्रिप्टोकरेन्सी क्षेत्रले ठूलो संकटको सामना गरेको थियो । कम्पनीका संस्थापक साम बैंकम्यान फ्राइड जेल जानु परेको थियो । डिजिटल सम्पत्ति लगानी फर्म क्यानरी क्यापिटलका संस्थापक स्टीवन म्याकक्लर्गले डिसेम्बर २५ सम्म बिटक्वाइनको मूल्य १ लाख २० हजार डलर पुग्ने बताए ।

तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २५ गते वार्षिक साधारणसभा गर्ने जनाएको छ ।

छिमेक लघुवित्तले गर्‍यो १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ८ प्रतिशत बोनस सेयर रहेको छ भने ७ प्रतिशत कर प्रयोजनार्थसहित नगद लाभांश रहेको छ । कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

रविलाई चितवनबाट रातारात गाडीमा पोखरा पुर्‍याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्‍याइएको छ । साहरा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बयानका लागि चितवन लगिएका रविकाे पक्षमा प्रदर्शन चर्किएपछि सडक मार्ग हुँदै प्रहरीले रातारात उनलाई पोखरा पुर्‍याएको हो । मंगलबार चितवनमा रवि समर्थकको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरी र समर्थक घाइते भएका थिए । प्रहरी स्रोतका अनुसार रविलाई बिहीबार बिहान हवाई मार्ग हुँदै पोखरा ल्याउने तयारी थियाे । तर प्रदर्शन चर्कने संकेतपछि सडक मार्ग हुँदै रातारात पोखरा लगिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले सडक मार्ग हुँदै बिहान ३ बजे रविलाई पोखरा ल्याइपुर्‍याएको जनाएको छ । सहकारीको रकम गोरखा मिडिया प्रालिमा ल्याउन संलग्न नभए पनि त्यहाँ गइसकेपछि अपचलन गर्ने कार्य गरेको भन्दै संसदीय छानबिन समितिले सो संस्थाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथि कारबाही सिफारिस गरेको थियो । सोही आधारमा गत कात्तिक २ गते पक्राउ परेका रविविरुद्ध गोरखा मिडिया प्रालिमा रकम गएका सहकारी रहेका जिल्लामा लगेर प्रहरीले बयान लिइरहेको छ । यसअघि बयानका लागि रूपन्देही, काठमाडौं लगिएका रविविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी गरिएकाले त्यहाँ पनि लगिने छ । लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । रवि र उनको दल रास्वपाले भने सहकारी ठगीमा संलग्न नहुँदा नहुँदै पनि राजनीतिक प्रेरित कारबाही अघि बढाइएको भन्दै यथाशिघ्र बयान सकाएर अदालतमा मुद्दा पेश गर्न आग्रह गर्दै आइरहेको छ ।

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि, ५२ अर्ब ६७ करोडका सामान निर्यात

वीरगञ्ज । मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ५२ अर्ब ६७ करोड सात लाख १० हजार रुपैयाँका सामान निर्यात भएका छन् । वीरगञ्ज भन्सारले मात्र १२ अर्ब १२ करोड २१ लाख ३१ हजार रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ । वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यहाँबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचालगायत उत्पादन निर्यात भएको छ । सुक्खा बन्दरगाहबाट एक अर्ब ५१ करोड रुपैयाँ बराबरका सामान निर्यात भएका छन् । यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोही अवधिमा १२ अर्ब ३५ करोड ३९ लाख १४ हजार रुपैयाँ बराबरका वस्तु निर्यात गरेको जनाएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ह्विल चेयर हस्तान्तरण

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटड लहान शाखाको तर्फबाट पदमोदय फाउन्डेसनलाई १० थान ह्विल चेयर हस्तान्तरण गरेको छ । कम्पनीले विश्व अपाङग दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहामा आयोजित एक कार्यक्रम मार्फत अपाङग भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो ।

प्राइम कमर्सियल बैंकको सत्रौं वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत लाभांश पारित

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा मंसिर १९ गते बुधबार सम्पन्न भयो । सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्तावलाई अनुमोदन गरेको छ । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रूपैयाँ रहेको छ । सो सभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल १ खर्ब ९३ अर्ब रूपैयाँ र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात २०.६९ प्रतिशतले वृद्धि गरी कुल २ खर्ब १५ अर्ब ५१ करोड रूपैयाँ पुर्याएको छ । बैंकले सञ्चालन मुनाफामा पनि गतवर्ष भन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल ७ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ । साधारण सभामा सेयरधनीहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धरले बैंकले प्रतिकूल परिस्थितिका बीच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिशन आम्दानी एवं गैह्र कोषमा आधारित अन्य आम्दानी समेतमा उल्लेखनीय वृद्धि गर्दै लगेको जानकारी गराए ।

ठेला व्यापारबाट मासिक ४० हजार आम्दानी

अमरगढी (डडेल्धुरा) । काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको बताइन् । अमरगढी नगरपालिका-२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्दै आएकी छन् । मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताइन् । सत्र वर्षको उमेरमा बिहे गरेकी उनले चार वर्ष धेरै संघर्ष गरिन्। छ महिना यता ठेलामा व्यापार थालेकी उनी दैनिक १२ घण्टा काम गर्छिन् । उनको मासिक आम्दानी घर खर्चमा मात्र सकिँदैन उनले बचत पनि गरेकी छन् । श्रीमान्ले अरु सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने उनी बिहानदेखि साँझसम्म एक्लै छिन् । सबै सामान आफैँले जुटाउछिन् । अनि सबै परिकार आफैँ बनाउन उनलाई दिनभर भ्याइनभ्याइ हुन्छ । महिलाहरू चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिकरुपमा पछि परेका उनको बुझाइ छ ।