विकासन्युज

संस्कार एकेडेमीका करिब १५० जना विद्यार्थी दीक्षित

काठमाडौं । संस्कार एकेडेमीले ‘प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्षको ३ दिनको विशेष प्राक्टिकल कार्यशाला आयोजना सम्पन्न गरेको छ । एकेडेमीले अनलाइन प्रविधिबाट ’प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्ष अध्ययन गरेका करिब १५० जना विद्यार्थीहरूलाई दीक्षितसमेत गरेको छ । ’घरलाई स्वर्ग बनाउने यात्रा’ मा अगाडि बढेको संस्कार एकेडेमीले नेपालमा आधुनिक र वैज्ञानिक रूपमा काम गर्न सक्ने ’प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ तयार गर्दै आइरहेको छ । संस्कार एकेडेमी वास्तुबाहेक ज्योतिष, अंक ज्योतिष, हस्ताक्षर विश्लेषण, वैज्ञानिक लोगो तथा भिजिटिङ कार्ड डिजाइन, एनएलपी तथा हिप्नोसीसलगायत अन्य धेरै विधामा व्यावसायिक रूपमा काम गर्ने जनशक्ति उत्पादन गर्दै आइरहेको संस्था हो । आफ्ना विद्यार्थीहरूलाई अहिलेको समयअनुसार आधुनिक र वैज्ञानिक रूपमा वास्तुको काम गर्न सक्ने गरी योग्य बनाएर मात्रै बजारमा पठाउने गरेकोले अनलाइन अध्ययनपश्चात यस किसिमको प्राक्टिकल कार्यशाला राखी विद्यार्थीहरूलाई वास्तुको हरेक प्रकारको वैज्ञानिक र प्रभावकारी उपचार गर्न सक्षम बनाउने र वास्तुमा प्रयोग हुने प्रविधि र उपकरणहरूमा समेत दक्ष बनाउने उद्देश्यले संस्कार एकेडेमीले यस्तो कार्यक्रम गर्दै आइरहेको वरिष्ठ वास्तु गुरु आचार्य राजा बाबु शाहले बताए । डा. कुलबहादुर गुरुङले सहरीकरण गरेको कार्यक्रममा इञ्जिनियरहरू सुशील अमात्य, राजेन्द्र लिगल, श्रीराम श्रेष्ठ, सुशील श्रेष्ठ लगायतले वास्तुविद्लाई आवश्यक पर्ने इञ्जिनिएरिङको  व्यावहारिक ज्ञान दिएका थिए । आचार्य राजा बाबु शाहबाट योगा, ध्यान, अंक ज्योतिष, स्वर विज्ञानको थप सेसनमा अतिरक्त ज्ञान पाएपछि सहभागीहरूले खुशी प्रकट गरे । कार्यक्रममा कोच आशा शाहले ’ग्राफोलोजी र सिग्नेचर एनालाइसिस’ को मास्टर क्लास दिएका थिए । वास्तु र ज्योतिषको क्षेत्रमा काम गरिरहेकाहरुको अलावा इञ्जिनिएर, अर्किटेक्ट, इन्टेरिएर डिजाइनर, अधिवत्ता, ब्याङ्कर लगायत अन्य विविध पेशा र व्यवसायका मानिसहरू कार्यक्रमबाट दीक्षित भई अब प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट बनेका छन् । वास्तु धार्मिक विषय नभएर हरेक मानिसको घर र जीवन सग जोडिएको  उर्जा विज्ञान भएकोले यसप्रति सबैको रुचि बढदैछ । काभ्रे, धुलिखेलस्थित सारथी होटेलमा मङ्सिर १३ गते देखि ३ दिनसम्म चलेको कार्यक्रममा देशै भरीबाट वास्तु पढिरहेका सहभागीहरू दीक्षित हुन् पुगेका थिए । नेपालमा वास्तु सम्बन्धि यतिको ठुलो कार्यक्रम यस भन्दा अघि सायदै भएको थियो ।

चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरे । प्रधानमन्त्री ओलीको स्वागतमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यहीँ मङ्सिर १७ गते चीन प्रस्थान गरेका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । साथै प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली तथा राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो । उनको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच विभिन्न सहमतिमा हस्ताक्षरसमेत भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत थिए ।  

१६ अंकले घट्यो नेप्से, ८ अर्ब ३६ करोड रुपैयाँ बढीको कारोबार

काठमाडौं । साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.९३ अंकले घटी २७३४.९३ बिन्दुमा पुगेको छ । बिहीबार सेयर बजारमा ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ३ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । यस्तै, ३०७ कम्पनीको १ करोड ६७ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार गर्ने नेपाल फाइनान्स लिमिटेड रहेको छ । नेपाल फाइनान्स लिमिटेडले ४२ करोड १९ लाख रुपैयाँ बढीको कारोबार गरेको हो। साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २९ करोड, लाइफ इन्स्योरेन्स कर्पाेरेशनको २० करोड ८७ लाख, रसुवागढी हाइड्रोपावर कम्पनीको २० करोड ११ लाख र जानकी फाइनान्स लिमिटेडको १३ करोड ९८ लाख रुपैयाँ बढीको काराेबार गरेका छन् । आज खानीखोला हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, मानुषी लघुवित्तलगायतको सेयर बढे पनि सपोर्ट माइक्रोफाइनान्स, नेपाल फाइनान्सलगायतको सेयर मूल्य घटेको छ। आज उपसमूहका लाइफ इन्स्याेरेन्स र व्यापार सूचकबाहेक अन्य राताम्य छन् ।

कन्याममा २३ करोड खर्चेर बनेको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालन हुँदै

इलाम । सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ । कोसी प्रदेश सरकार र नगरपालिकाको २३ करोड रुपैयाँ लगानीमा बनेको उक्त सेन्टर यही मङ्सिर २७ देखि सञ्चालनमा आउन लागेको हो । नगरप्रमुख रणबहादुर राईले मङ्सिर २७ गते कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘उद्घाटनमा प्रदेशका अन्य मन्त्रीहरू पनि आउनुहुन्छ’, उनले भने, ‘यो मुलुकको पहिलो चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ ।’ अहिले सेन्टरको भौतिक पूर्वाधार तयार भएको भन्दै आवश्यक उपकरणसमेत जडान भएका नगरप्रमुख राईले जानकारी दिए । उनका अनुसार केन्द्रमा चिया चाख्ने (टि टेस्टिङ)को काम हुनेछ भने चिया अनुसन्धानका लागि भौतिक पूर्वाधार तयार छ । ‘आवश्यक थप उपकरण व्यवस्थापन गरिँदैछ । इलामका लागि मात्र होइन, यो सेन्टर देशका लागि पनि नमूना हुने विश्वास लिएका छौँ’, नगरप्रमुख राईले भने, ‘चियाको स्वाद, गुणस्तर जाँचदेखि चियासम्बन्धी सबै किसिमका अध्ययन यही केन्द्रमा हुनेछ ।’ केन्द्रमा विश्वभरका जोसुकै चिया व्यापारी वा टी–इन्स्पेक्टर (चियाविज्ञ) ले चियाको गुणस्तर जाँच गर्न सक्ने उनले बताए । कन्याम घुम्न आउने पर्यटकले थरिथरिका चियाका स्वाद लिन पाउने नगर कार्यालयले जनाएको छ । सेन्टर सञ्चालनका लागि नगरले कार्यविधि तयार गरेको छ । नगरप्रमुख राईले टि टेस्टिङ नगरअन्तर्गत हुने बताउँदै अनुसन्धानको काम भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गर्ने जानकारी दिए । चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ  । चिया किसान मनोज भट्टराईले केन्द्र स्थापनापछि चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए । चिया प्राविधिकसमेत गाउँमा उत्पादन गर्न केन्द्रले मद्दत गरेमा किसानलाई थप सहज हुने उनको भनाइ छ । ‘यहाँ सामान्यतया चिया प्रशोधन कम हुने, उत्पादन भएको चिया परम्परागत शैलीमा टिप्ने र प्रशोधन हुँदै आएको छ । अनुसन्धान केन्द्रले चियामा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने आशा छ’, भट्टराईले भने । चियाका लागि प्रख्यात इलामको कन्याम चियाबारीबीचमा निर्मित केन्द्रमा पर्यटक थप आकर्षित हुने विश्वास लिइएको उनले बताए । केन्द्र चियाको व्यापार प्रवर्द्धनमा सहयोगी बन्ने कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले बताए । ‘अहिले गुणस्तरीय चिया जाँच गर्ने, यसको व्यापार र गुणस्तर प्रवर्द्धन गर्न किसानलाई समस्या भइरहेको छ’, उनले भने, ‘अब कन्याममा मुलुकको नमूनाका रूपमा अनुसन्धान केन्द्र स्थापना भएको छ ।’ चिया उत्पादनका हिसाबले इलाम महत्वपूर्ण र उर्वरभूमि मानिन्छ । सूर्योदय नगरपालिकालाई चियाको राजधानीका रूपमा चिनिएको छ । यहाँ अनुसन्धान केन्द्र स्थापना भएपछि नेपाली चियासम्बन्धी अनुसन्धान गर्न चाहनेलाई सहज हुने जनाइएको छ  । किसान धीरज अधिकारीले भने, ‘स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्ने आउने हुँदा हाम्रो जिल्लामा पर्यटकको सङ्ख्यामासमेत वृद्धि हुने अपेक्षा छ ।’ नगरपालिका कोसी प्रदेशको पर्यटकीय नगरी भएकाले पनि केन्द्र स्थापनापछि पर्यटक आगमन बढ्ने उनले उल्लेख गरे । केन्द्र निर्माणले समग्र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकार भएकाहरू बताउँछन् । नगरपालिकामा अन्य ठूला लगानीका आयोजनामध्ये कुनै निर्माणको अन्तिम चरणमा छन् भने कुनै निर्माण भइरहेका नगरप्रमुख राईले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय दातामार्फत केही ठूलो लगानीका आयोजना आउने चरणमा छन् । जिल्लामा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको जनाइएको छ  । रासस

नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच बिरामी रेफरलसम्बन्धी सम्झौता

काठमाडौं । कोइका नेपाल र मध्यपुर थिमि नगरपालिकाको साक्षीमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच २०२४ डिसेम्बर ५ मा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रका प्राथमिक लक्ष्यमा बिरामी रेफरल सेवामा सुधार र स्वास्थ्य सेवामा पहुँच बढाउनु हो । दुवै अस्पताल कोइकाको आर्थिक सहयोगमा स्थापना भएका हुन्। नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशन र टीकापुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर रेमकुमार राईले कोइकाका देशीय निर्देशक मुुहन कङ र मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरे । सम्झौताले टीकापुर अस्पतालका बिरामीहरूलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा विशेष चिकित्सा सेवाहरू अझ प्रभावकारी रूपमा पहुँच गर्न सक्षम बनाउँदै संगठित बिरामी रेफरल प्रणाली स्थापना गरेको छ । यस प्रयासले उनीहरूको स्थानीय सुविधामा उपलब्ध नभएको अत्याधुनिक उपचार आवश्यक पर्ने बिरामीहरूका लागि स्वास्थ्य सेवा वितरणलाई उल्लेखनीय रूपमा वृद्वि गर्ने लक्ष्य राखेको छ । सम्झौताले टीकापुर अस्पतालबाट बिरामीलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा रिफर गर्ने, अत्याधुनिक हेरचाहमा द्रूत र प्रभावकारी पहुँच सुनिश्चित गर्नको लागि एक राम्रो संरचित प्रक्रिया परिभाषित गरेको छ । दुवै अस्पतालले मेडिकल टोलीहरूबीचको समन्वय सुधार गर्न र बिरामी व्यवस्थापनलाई अनुकूलन गर्न बलियो सञ्चार प्रणालीहरु विकास गर्नेछन् । यसैगरी, दुवै संस्थाका स्वास्थ्यसेवाकर्मीको विशेषज्ञतालाई सुदृढ पार्न सहयोगात्मक प्रशिक्षण कार्यशाला गोष्ठीहरू र कार्यशालाहरूको योजना सम्झौतामा समावेश छन् । कोइकाका देशीय निर्देशक कङले कोइकाको सहयोगमा स्थापना भएका जिल्ला स्तरका अस्पतालहरूलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग जोड्ने योजना ग्रामीण क्षेत्रका ठूलो जनसंख्यालाई कम लागतमा गुणस्तर सेवा प्रदान गरी स्वास्थ्य संस्थाहरूको बीचमा सुमधर तालमेल स्थापित गर्न उल्लेखनीय कदम हुने बताए । यस सम्बन्धले नेपालको स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ बनाउन सक्ने कङको विश्वास रहेको छ । मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले टीकापूरका गरिब तथा असाहाय बासिन्दालाई न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनका लागि यो साझेदारी महत्त्वपूर्ण कदम हुने बताए । टीकापुर अस्पतालका अध्यक्षले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग मिलेर काम गरेर हाम्रा बिरामीका लागि स्वास्थ्य सेवामा रहेको खाडललाई पुरा गर्न यो महत्त्वपूर्ण कदम भएकोमा खुसी व्यक्त गरे । विशेषगरी आर्थिक रूपमा विपन्न वर्गले यस कार्यक्रमबाट लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।

प्राइम बैंकको ठूलो सेयरधनी बन्यो रिलायबल नेपाल लाइफ, कसले बेच्यो सेयर ?

काठमाडौं । प्राइम कमर्सियल बैंकबाट तीनजना संस्थापक सेयरधनी बाहिरिएका छन् । सनेन्द्र बर्जाचार्य, नरेशलाल श्रेष्ठ र राजेश श्रेष्ठले गत आर्थिक वर्ष २०८०/८१ मा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा बैंकमा सनेन्द्र बर्जाचार्यको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२० कित्ता, नरेशलाल श्रेष्ठको ०.५३ प्रतिशत अर्थात् १० लाख ३० हजार ४८ कित्ता, राजेश श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ९ लाख ९० हजार ८४७ कित्ता सेयर थियो । साथै, श्यामबहादुर श्रेष्ठ र स्वेता मास्के श्रेष्ठले पनि बैंकमा आफ्नो सेयर स्वामित्व घटाएका छन् । बैंकमा श्यामबहादुर श्रेष्ठको ०.५५ प्रतिशत अर्थात् १० लाख ६७ हजार ७६२ कित्ता र स्वेता मास्के श्रेष्ठको ०.६७ प्रतिशत अर्थात् १२ लाख ९६ हजार ५७२ कित्ता सेयर स्वामित्व छ । जबकि अघिल्लो वर्ष श्यामबहादुरको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३७ कित्ता र स्वेता मास्केको ०.६९ प्रतिशत अर्थात् १३ लाख २९ हजार ४८८ कित्ता सेयर थियो । साथै, बैंकमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ठूला सेयरधनीको सूचीमा थपिएको छ । रिलायबल नेपालले बैंकको १.०६ प्रतिशत अर्थात् २० लाख ४७ हजार ३३४ कित्ता सेयर खरिद गरेर ठूला सेयरधनीको सूचीमा थपिएको हो । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व उमेश श्रेष्ठको छ । श्रेष्ठको २.४६ प्रतिशत अर्थात् ४७ लाख ७३ हजार १३७ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, कर्मचारी सञ्चय कोषको १.८८ प्रतिशत अर्थात् ३६ लाख ४५ हजार २६१ कित्ता सेयर स्वामित्व रहेको छ । अघिल्लो वर्ष बैंकमा कोषको १ प्रतिशत अर्थात् १९ लाख ४७ हजार ४३४ कित्ता स्वामित्व थियो । यस्तै, विनोदचन्द्र बरालको १.४४ प्रतिशत अर्थात् २७ लाख ८५ हजार ५०३ कित्ता सेयर लगानी रहेको छ । अघिल्लो वर्ष बैंकमा बरालको १.०६ प्रतिशत अर्थात् २० लाख ५१ हजार १४९ कित्ता सेयर थियो । यस्तै, बैंकमा कृष्ण पुरीको १.०३ प्रतिशत अर्थात् १९ लाख ९६ हजार २४८ कित्ता, विक्रम पाण्डेको ०.८७ प्रतिशत अर्थात् १६ लाख ७९ हजार ९८८ कित्ता, सुशील मित्तलको ०.७३ प्रतिशत अर्थात् १४ लाख ११ हजार ५१३ कित्ता सेयर स्वामित्व छ । यस्तै, सुन्दरनारायण जोशीको ०.७१ प्रतिशत अर्थात् १३ लाख ७५ हजार ३८५ कित्ता, शैलजा बर्जाचार्यको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३८ कित्ता, नरेन्द्र बर्जाचार्यको ०.६८ प्रतिशत अर्थात् १३ लाख २० हजार ३८० कित्ता, मनोहर दास मोलको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२१ कित्ता सेयर लगानी रहेको छ । नरेन्द्र बज्राचार्य बैंक सञ्चालक समिति सदस्य पनि हुन् । यस्तै, महेशराज कर्णिकारको ०.५६ प्रतिशत अर्थात् १० लाख ८८ हजार १८० कित्ता, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालको ०.५६ प्रतिशत अर्थात् १० लाख ८४ हजार ५३७ कित्ता, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत अर्थात् १० लाख २ हजार ३७५ कित्ता, चिरञ्जिवी दवाको ०.५१ प्रतिशत अर्थात् ९ लाख ८२ हजार २०२ कित्ता र सन्तोषनारायण श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ९ लाख ७३ हजार २२० कित्ता सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठको ३ लाख ४२ हजार ६३९ कित्ता, सञ्चालकहरू उदयमोहन श्रेष्ठको ८ लाख ९४ हजार कित्ता, डा. गजेन्द्र विष्टको १९ हजार १५९ कित्ता, प्रचण्डमान श्रेष्ठको १ हजार ८६४ कित्ता, मनोज पौडेलको १ हजार ८६४ कित्ता सेयर स्वामित्व छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सञ्जीव मानन्धरको ६ लाख १६ हजार ८६६ कित्ता सेयर स्वामित्व रहेको छ ।

इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन

काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो । उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृत्तान्त पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।

१०० अर्ब डलर क्लबमा पुन: सामेल भए मुकेश अम्बानी

काठमाडौं । मुकेश अम्बानी फेरि १०० अर्ब डलर क्लबमा सामेल भएका छन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार मंगलबार उनको कुल सम्पत्ति १.३० बिलियन डलरले बढेको छ । यो वर्ष अम्बानीको कुल सम्पत्ति ३ अर्ब ८४ करोड डलरले बढेको छ । विश्वका धनी व्यक्तिको सूचीमा उनी १७ औं स्थानमा छन् । यसैबीच, अडानी समूहका अध्यक्ष गौतम अडानीको नेटवर्थ पनि मंगलबार १ अर्ब ३९ करोड डलरले बढेको छ । उनी ८४.० अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १९ औं स्थानमा छन् । यस वर्ष उनको कुल सम्पत्ति २६४ मिलियन डलरले घटेको छ । हालै अमेरिकी अभियोजकहरूले गौतम अडानी र केही उच्च अधिकारीमाथि घुसखोरीको आरोप लगाएका थिए । तर, अडानीले यी आरोप अस्वीकार गर्दै आएको छ । यी आरोपका कारण समूहको विशेषगरी अडानी ग्रीन इनर्जीको सेयरमा ठूलो गिरावट आएको थियो । शीर्ष ३ मा को-को ? विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थ मंगलबार ४.०६ अर्ब डलरले घटेको छ । योसँगै उनको कुल सम्पत्ति अहिले ३४९ अर्ब डलर पुगेको छ । यो वर्ष उनको कुल सम्पत्ति १२० अर्ब डलरले बढेको छ । मंगलबार सबैभन्दा बढी कमाइ मार्क जुकरबर्गको भएको छ । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओको कुल सम्पत्ति ७ अर्ब २० करोड डलरले बढेको छ । धनीहरूको सूचीमा जेफ बेजोस (२३४ बिलियन डलर) दोस्रो स्थानमा र जुकरबर्ग (२१७ बिलियन डलर) तेस्रो स्थानमा छन् ।