नेपालमा अकुपञ्चरको अवस्था : सम्भावना र चुनौतीहरू
नेपालमा परम्परागत चिकित्सा प्रणालीको लामो इतिहास छ, जसमा आयुर्वेद, युनानी, होमियोप्याथी, सोवारिग्पा र अन्य प्राकृतिक उपचार विधिहरूले विशेष स्थान ओगटेका छन् । यी उपचार पद्धतिहरूलाई धेरै शताब्दीयौँदेखि अपनाउँदै आइएको छ र तिनले स्वास्थ्य समस्याहरूको उपचारमा महत्वपूर्ण भूमिका खेलेका छन् । आयुर्वेदको विकास त नेपालको सांस्कृतिक र भौगोलिक विविधतामा आधारित जडीबुटीहरूको प्रयोगमा गरिएको छ, जसले धेरै परम्परागत औषधिहरू निर्माण गर्न सहयोग पुर्याएको छ । युनानी चिकित्सा पनि प्राचीन समयमा मुस्लिम समुदायमार्फत नेपालमा प्रवेश गरेको थियो र विभिन्न स्वास्थ्य समस्याहरूको समाधानका लागि लोकप्रिय रह्यो । तर, पछिल्लो समय नेपालमा आधुनिक चिकित्सा प्रणालीको प्रभाव बढ्दो छ । यसले गर्दा परम्परागत चिकित्सा पद्धतिहरूमा पनि परिवर्तन आवश्यक रहेको छ । पछिल्लो केही वर्षमा अकुपञ्चर चिकित्सा विधिको लोकप्रियता बढ्दो छ । यस पद्धतिको प्रयोग विशेषगरी सहरी क्षेत्रहरूमा बढी देखिएको छ, जहाँ आधुनिक चिकित्सा प्रणालीका साथै वैकल्पिक चिकित्सा विधि फिजियोथेरापी, मालिस जस्तैको खोजी हुने गर्दछ । स्वास्थ्य क्षेत्रमा नवीन दृष्टिकोण अपनाउँदै, केही नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले अकुपञ्चरको उपयोगिता र प्रभावकारितामा गहन अध्ययन गर्न थालेका छन् । अकुपञ्चरले विना औषधि दुखाइको उपचार गर्न सक्ने भएकाले, यसले लामो समयसम्म औषधि सेवन गर्दा उत्पन्न हुने नकारात्मक प्रभावहरूबाट जोगाउन सक्ने मान्यता छ । झन्डै दुई हजार वर्ष पुरानो उपचार विधि हो अकुपञ्चर । यसमा शरीरका विभिन्न ‘मेरिडियन’ भनिने ऊर्जा च्यानलहरूमा सुईहरूको प्रयोग गरी स्वास्थ्य समस्याहरूको उपचार गरिन्छ । चिनियाँ चिकित्सा सिद्धान्तअनुसार जब शरीरमा ‘चि’ भनिने ऊर्जा प्रवाहमा असन्तुलन हुन्छ, तब विभिन्न रोग र स्वास्थ्य समस्या उत्पन्न हुन्छन् । अकुपञ्चरले यी च्यानलहरूमा सुई राखेर असन्तुलनलाई सुधार्न र शरीरको प्राकृतिक उपचार क्षमतालाई मजबुत बनाउन मद्दत गर्दछ । यो विधिले नसासम्बन्धी रोग, शारीरिक दुखाइ, तनाव, पाचन समस्या, निन्द्रा समस्या, माइग्रेन, थाइराइड, हर्मोनल असन्तुलन, मोटोपन, अनुहारसम्बन्धी रोग, र अन्य रोगमा सकारात्मक प्रभाव पारेको छ । विशेषगरी, तनाव र दुखाइ व्यवस्थापनमा अकुपञ्चरले उल्लेखनीय नतिजा देखाएको छ, जसले गर्दा यो चिकित्सा पद्धति पछिल्ला वर्षहरूमा विश्वभर लोकप्रिय हुँदै गएको छ । अकुपञ्चरले विना औषधि नै शरीरका प्राकृतिक उपचार प्रक्रियाहरूलाई सक्रिय बनाउँछ । यसले गर्दा प्रयोग गर्ने मानिसहरूमा दीर्घकालीन औषधिको आवश्यकतालाई घटाउने सम्भावना हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले अकुपञ्चरको महत्वलाई औँल्याउँदै १०० भन्दा बढी रोगको उपचारमा यस पद्धतिको प्रभावकारिता प्रमाणित गरेको छ । सङ्गठनको मान्यता र अनुसन्धानले गर्दा विश्वभरका मुलुकहरूमा यस पद्धतिलाई व्यापक रूपमा वैकल्पिक चिकित्सा विधि भनेर अभ्यास गरिन थालिएको छ । चीन अकुपञ्चरको उद्गमस्थल हो र यहाँ सबैभन्दा व्यापक रूपमा प्रयोग गरिन्छ । जापानमा ‘हरिगेट्सु’ विधिबाट फरक तरिकाले अकुपञ्चर गरिन्छ, जबकि दक्षिण कोरियामा परम्परागत र आधुनिक चिकित्सा पद्धतिको मिश्रणमा यसको लोकप्रियता बढ्दै गएको छ । यसैगरी, संयुक्त राज्य अमेरिकामा दुखाइ र तनाव व्यवस्थापनमा यसको प्रयोग बढिरहेको छ र क्यानडामा यसलाई स्वास्थ्य बीमामा समेत समावेश गरिएको छ । अष्ट्रेलियामा यो विशेषगरी दीर्घकालीन रोग र दुखाइ उपचारमा लोकप्रिय छ । जर्मनीमा अकुपञ्चरलाई बीमा कभरेजसहित आधुनिक चिकित्सा पद्धतिमा समावेश गरिएको छभने ब्रिटेनमा राष्ट्रिय स्वास्थ्य सेवाले यसलाई वैकल्पिक उपचार विधिका रूपमा मान्यता दिएको छ । फ्रान्समा अकुपञ्चरलाई औपचारिक चिकित्सा विधिका रूपमा मान्यता प्राप्त छ, र स्विडेनमा तनाव व्यवस्थापन तथा दीर्घकालीन रोगहरूको उपचारमा यसको व्यापक प्रयोग गरिन्छ । भारतमा पनि अकुपञ्चरको प्रयोग वैकल्पिक चिकित्सा विधिका रूपमा बढ्दो छ र नेपालमा पछिल्ला वर्षहरूमा यो विधि सहरी र ग्रामीण दुवै क्षेत्रमा लोकप्रिय हुँदै गइरहेको छ । त्यस्तै छिमेकी मुलुक मलेसिया, थाइल्यान्ड, भेतनाम, सिङ्गापुरजस्ता देशमा अझै अकुपञ्चरको लोकप्रियता लोभलाग्दो छ । साथै, वैज्ञानिक र चिकित्सा अनुसन्धानहरूले अकुपञ्चरको प्रभावकारिता र यथार्थतामा गहिरो अनुसन्धान गर्न थालिसकेका छन् । विभिन्न बिश्वप्रख्यात जर्नल जस्तै ल्यान्सेट, नेचर, शेलमा अकुपञ्चरसम्बन्धी अनुसन्धान प्रकाशित भएको पाइन्छ । यो विधि स्वास्थ्य समस्याहरूको उपचारमा मात्र सीमित नरहेर, रोगहरूको रोकथाम र समग्र स्वास्थ्यमा सुधार ल्याउन पनि उपयोगी साबित भएको छ । यसको उपयोगबाट मानिसहरूले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा सुधारको अनुभव गर्दछन् । नेपालमा अकुपञ्चर पद्धतिको प्रयोगको इतिहास लामो नभए पनि पछिल्ला दुई–तीन दशकमा यसको लोकप्रियता उल्लेखनीय रूपमा बढेको छ । यो चिकित्सा विधि चीनसँगको सांस्कृतिक, शैक्षिक, र स्वास्थ्य सम्बन्धको परिणामस्वरूप नेपालमा प्रवेश गरेको मानिन्छ । अझै भैगोलिक विकासको रुपमा मुख्य गरेर अरनिको राजमार्ग बन्ने समयमा नेपालमा भित्रिएको दस्तावेज पाइन्छ । सन् १९८० को दशकमा वीर हस्पिटलमा अकुपञ्चरको शाखा नै खुलेर १७ वर्ष चलेको इतिहास छ । प्रारम्भमा सीमित स्थानहरूमा मात्र अकुपञ्चर सेवा उपलब्ध भए पनि अहिले यो सेवा नेपालका प्रमुख सहरहरूमा सहज रूपमा पाइन्छ । अझै सबैभन्दा पुरानो र ठूलो वैकल्पिक चिकित्सालय नरदेवी चिकित्सालयमा यसको उपयोगिता व्यापक रुपमा छ । पछिल्लो समय धेरै स्वास्थ्य संस्था, अस्पताल, र व्यक्तिगत क्लिनिकहरूले अकुपञ्चरलाई उपचारको एक विकल्पका रूपमा समावेश गरेका छन् । न्युरोसम्बन्धी नेपालको प्रमुख हस्पिटल अन्नपूर्ण न्युरोमा आइसियुदेखि नै अकुपञ्चर प्रयोग गरिन्छ भन्दा नौलो पनि लाग्न सक्दछ । नेपालमा अकुपञ्चरको विस्तारलाई चिकित्सा पर्यटनसँग पनि जोडेर हेर्न सकिन्छ । सन् २००० को दशकदेखि नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै अकुपञ्चर सेवा प्रदान गर्न थालिएको थियो । नेपालको प्राकृतिक सौन्दर्य, हिमाली वातावरण, र योग तथा ध्यानको प्राचीन परम्पराले गर्दा नेपाल शारीरिक र मानसिक उपचारका लागि आकर्षक गन्तव्य बनिरहेको छ । डा नरेन्द्र लामिछाने पर्यावरणीय शान्ति र आध्यात्मिकता खोज्ने पर्यटकहरूले अकुपञ्चरलाई आफ्नो शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि उत्कृष्ट विकल्पका रूपमा देख्न थालेका छन् । अकुपञ्चरलाई ध्यान, योग, र प्राकृतिक उपचार विधिहरूसँग एकीकृत गरेर थेरापी दिन थालेपछि यसको प्रभावकारिता र लोकप्रियता झन् बढ्दै गएको छ । एकजना ब्राजिल पर्यटकले परम्परागत भारतीय चिकित्सा आयुर्वेद र चिनियाँ चिकित्साको एकैचोटि अनुभव लिनको लागि नेपाल आएको सुन्दा त पर्यटन क्षेत्रमा अकुपञ्चरको अझै विकास हुन धेरै बाँकी रहेको भान हुन्छ । नेपालमा अकुपञ्चरले विभिन्न स्वास्थ्य समस्यामा राम्रो परिणाम दिएको छ । विशेषगरी, ग्रामीण र सहरी दुवै क्षेत्रमा यसको पहुँचले गर्दा धेरै नेपाली जनतालाई प्राकृतिक उपचार पद्धतिहरूमा पुनः आकर्षित गरेको छ । चीनमा अध्ययन गरेर फर्किएका नेपाली चिकित्सकहरूले अकुपञ्चरलाई नेपाली स्वास्थ्य प्रणालीमा समावेश गर्न महत्वपूर्ण भूमिका खेलेका छन् तर हालसम्म सरकारी तवरबाट धेरै चासोको विषय नबनेको देखिन्छ । अकुपञ्चरको प्रभावकारिता विभिन्न प्रकारका स्वास्थ्य समस्याहरूको उपचारमा प्रमाणित भइसकेको छ । अनुसन्धानहरूले देखाएको छ कि अकुपञ्चरले विशेषगरी दुखाइ व्यवस्थापन, तनाव र मानसिक स्वास्थ्य समस्याहरू, निद्राको समस्या, पाचनसम्बन्धी विकारहरू, र प्रजनन स्वास्थ्यमा सकारात्मक असर पार्न सक्छ । दुखाइ व्यवस्थापनमा, अकुपञ्चरले शरीरमा प्राकृतिक पीडा निवारण गर्ने एन्डोरफिन्सको उत्पादनलाई प्रवद्र्धन गर्दछ । मांसपेशी र स्नायुहरूको रक्त प्रवाह सुधार गरेर यसले लामो समयदेखिको पुरानो दुखाइ, खासगरी घुँडा, डाढ–कम्मरको दुखाइ र माइग्रेनको उपचारमा सहयोग पुर्याउँछ । त्यस्तै, मानसिक स्वास्थ्य समस्याहरूमा अकुपञ्चरले तनाव र चिन्ता घटाउन मद्दत गर्दछ, जसले निद्राको गुणस्तरलाई सुधार्न प्रभावकारी देखिन्छ । त्यसैगरी, प्रजनन स्वास्थ्य सुधार गर्न र महिलाहरूमा मासिक धर्मसम्बन्धी समस्यालाई व्यवस्थापन गर्न पनि अकुपञ्चर प्रभावकारी छ । विशेषगरी बच्चा जन्माउन चाहने महिलामा यसको प्रयोग बढ्दो छ । यसको प्रभावकारिता प्रमाणित भएपछि यो पश्चिमी देशहरूमा पनि लोकप्रिय बनेको छ र पारम्परिक औषधिको कुनै असरविना दीर्घकालीन समस्याहरूको समाधान दिन सक्छ भन्ने विश्वासले यसको लोकप्रियता अझै बढ्दै गएको छ । साथै, प्रसिद्ध व्यक्तिहरूले अकुपञ्चरको प्रयोग गरेपछि आफ्नो अनुभव व्यक्त गर्न थालेपछि यसको विश्वसनीयता र पहुँच पनि बढेको छ । विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरूले अकुपञ्चर सेवा उपलब्ध गराउन थालेपछि यो सहज रूपमा पहुँचयोग्य बनेको छ, जसले यसको लोकप्रियतालाई थप बल प्रदान गरेको छ । नेपालमा अकुपञ्चर सेवाको विकाससँगै औपचारिक शिक्षा र प्रशिक्षणमा देखापरेका प्रमुख समस्यामध्ये एक भनेको देशभित्र अकुपञ्चर शिक्षाका लागि कुनै विशेष कलेज वा विश्वविद्यालयको अभाव हो । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनका लागि आवश्यक पूर्वाधार र पाठ्यक्रम विकास नहुनु ठूलो चुनौती बनेको छ । अकुपञ्चर अभ्यासका लागि औपचारिक शिक्षाको मान्यता नहुनाका कारण धेरै नेपाली विद्यार्थीहरूले चीन, दक्षिण कोरिया र जापानजस्ता मुलुकहरूमा गएर अध्ययन गर्नुपरेको छ, जसले आर्थिक र सांस्कृतिक चुनौती थप्दछ । विदेशमा शिक्षा प्राप्त गरेर फर्किएका विशेषज्ञहरूको प्रमाणीकरण प्रक्रिया भने अझै अस्पष्ट र जटिल रहेको छ । विदेशमा अध्ययन गरेका डाक्टरहरूले नेपालमा दर्ता गराउन र लाइसेन्स प्राप्त गर्न लामो समयसम्म प्रक्रियामा अड्किनुपर्ने हुन्छ । प्रमाणीकरणका क्रममा उनीहरूको योग्यता र दक्षतालाई ठोस रूपमा मूल्याङ्कन गर्ने प्रक्रिया स्पष्ट नभएकाले यो क्षेत्र व्यवस्थित हुन सकेको छैन । यसले अकुपञ्चर अभ्यास गर्ने योग्यतावान चिकित्सकहरूको प्रभावकारी सेवा प्रदान गर्नमा अवरोध खडा गरेको छ । यहाँको स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायहरूले अकुपञ्चरलाई व्यवस्थित गर्नका लागि ठोस मापदण्ड निर्माण गर्न आवश्यकता छ । विदेशमा अध्ययन गरेर फर्किएका डाक्टरहरूको योग्यता र अनुभवलाई मान्यता दिने सरल, छिटो र विश्वसनीय प्रक्रिया विकास गर्नु जरुरी देखिन्छ । यसले नीतिगत स्पष्टता ल्याएर अकुपञ्चरको गुणस्तरीय अभ्यासलाई प्रोत्साहन गर्नेछ र यो पद्धतिलाई संस्थागत रूपमा अगाडि बढाउन सहयोग पुर्याउनेछ । साथै, आन्तरिक रूपमा शिक्षा प्राप्त गर्ने कार्यक्रमहरूको विकास गर्नसमेत प्राथमिकता दिइनु पर्नेछ, जसले नेपालभित्रै दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउन सक्छ । हालसम्म अकुपञ्चर अभ्यासलाई कानुनी रूपमा मान्यता दिने कुनै विशेष ऐन वा नियमावलीको अभावले यस पद्धतिका गुणस्तर र पारदर्शितामा विभिन्न चुनौती देखापरेका छन् । कानुनी संरचनाको अभावले गर्दा अकुपञ्चर सेवा प्रदान गर्ने व्यक्ति वा संस्थाहरूको प्रमाणीकरण, योग्यता मापदण्ड र सेवाको गुणस्तर सुनिश्चित गर्न समस्या परेको छ । कानुनी आधारविना, यो पद्धतिको दुरुपयोगको सम्भावना रहन्छ, जसले सेवाग्राहीहरूलाई ठगी र त्रुटिपूर्ण उपचारको जोखिममा पार्न सक्दछ । अकुपञ्चरलाई चिकित्सा सेवाका रूपमा कानुनी मान्यता दिनु अत्यावश्यक भइसकेको छ । कानुनी संरचनाले मात्र अकुपञ्चरको औपचारिकता र विश्वसनीयता सुनिश्चित गर्न सक्छ । यसले अभ्यास गर्ने विशेषज्ञहरूको योग्यता, दर्ता र लाइसेन्सिङ प्रक्रियालाई पारदर्शी र सङ्गठित बनाउँछ, जसले अकुपञ्चर सेवाको गुणस्तर बढाउन र सर्वसाधारणमा यसको लोकप्रियता फैलाउन सहयोग पुर्याउनेछ । स्वास्थ्य मन्त्रालयले आयुर्वेद, होमियोप्याथी र अन्य वैकल्पिक चिकित्सा विधिहरूसँगै अकुपञ्चरलाई पनि समान तहमा राखेर नीतिगत सुधार गर्नुपर्ने देखिन्छ । यसका लागि एकीकृत शिक्षा, अभ्यास, र अनुसन्धानको संरचना तयार पार्न जरुरी छ । अकुपञ्चरलाई वैकल्पिक चिकित्सा प्रणालीमा आधिकारिक रूपमा समावेश गरिएमा यस विधिको अनुसन्धानलाई प्रोत्साहन दिने, विशेषज्ञहरूको प्रशिक्षणलाई सुव्यवस्थित गर्ने र जनमानसलाई गुणस्तरीय सेवा उपलब्ध गराउने अवसर मिल्नेछ । अकुपञ्चरप्रति सर्वसाधारणमा अझै पनि केही हदसम्म गलत धारणाहरू देखिन्छन् । धेरैजसोले यसलाई केवल परम्परागत वा धार्मिक उपचारका रूपमा मात्र हेर्ने गरेका छन् । यसले गर्दा यसको वास्तविक विज्ञानमा आधारित पक्ष र प्रमाणित प्रभावकारितालाई नजरअन्दाज गरिएको छ । कतिपय मानिसहरू अकुपञ्चरलाई वैज्ञानिक रूपमा प्रमाणित नभएको र वैकल्पिक उपचारका रूपमा मात्र लिने प्रवृत्ति देखिन्छ तर पछिल्ला वर्षहरूमा विश्वभरिका अध्ययनहरूले अकुपञ्चरको वैज्ञानिक आधार पुष्टि गर्दै आएका छन्, विशेष गरी पीडा व्यवस्थापन, तनाव निवारण र अन्य स्वास्थ्य समस्याहरूमा यसको सकारात्मक प्रभाव प्रमाणित भएको छ । जनचेतना अभावका कारण यस्तो गलत धारणा अझै कायम छ । यसलाई सुधार गर्नका लागि व्यापक जनचेतना कार्यक्रमहरू आवश्यक छ । यसले अकुपञ्चरको वैज्ञानिक आधार र यसको प्रभावकारितालाई सर्वसाधारणसमक्ष पुर्याउन सक्दछ । प्रचार–प्रसार र सही जानकारीको अभावमा यो चिकित्सा पद्धतिको वास्तविक फाइदा बुझ्न नसक्ने अवस्था रहेको छ । स्थानीय स्तरमा समेत अकुपञ्चर सेवा प्रदायकहरूलाई सही तालिम दिनु अत्यन्त महत्वपूर्ण छ । तालिमप्राप्त विशेषज्ञहरूमार्फत मात्र गुणस्तरीय सेवा प्रदान गरिनुपर्छ भन्ने धारणा स्थापित गर्नुपर्छ । तालिम र प्रमाणीकरण बिना सेवा प्रदान गर्ने व्यक्तिहरूको कारणले बिरामीहरूले गलत सेवा प्राप्त गर्ने जोखिम हुन्छ । योग्यतावान् विशेषज्ञहरूले मात्र यो सेवा दिनुपर्ने बाध्यता राखेर सेवाको गुणस्तर सुनिश्चित गर्न सकिन्छ । यसले अकुपञ्चरलाई व्यापक रूपमा फैलाउन र सर्वसाधारणमा यसको सही जानकारी पुर्याउन सहयोग पुग्नेछ । भविष्यको सम्भावना र आवश्यक सुधारहरू नेपालमा अकुपञ्चरको भविष्य वास्तवमै उज्ज्वल देखिन्छ, किनकि यो प्राकृतिक र वैकल्पिक चिकित्सा विधिका रूपमा जनस्तरमा स्वीकृति पाउँदैछ । दीर्घकालीन स्वास्थ्य समस्याहरूको रोकथाम, उपचार र पुनःस्थापनामा अकुपञ्चरको भूमिका महत्वपूर्ण बन्न सक्छ । यसको प्रभावकारितालाई बुझ्दै, नीतिगत सुधार र संस्थागत संरचना विकास गर्नु अत्यावश्यक छ । नेपालमा अकुपञ्चरको अभ्यासलाई कानुनी मान्यता दिएर, शिक्षा र प्रशिक्षणको मापदण्ड विकास गर्दै योग्य विशेषज्ञहरू उत्पादन गर्न स्वास्थ्य मन्त्रालय, चिकित्सा संस्थाहरू र विशेषज्ञहरूबीच सहकार्य आवश्यक छ । जनचेतनामा सुधार ल्याउनु र सही जानकारी सम्प्रेषण गर्नु महत्वपूर्ण छ, ताकि अकुपञ्चरको वैज्ञानिक पक्ष र चिकित्सकीय लाभ सर्वसाधारणले बुझ्न सकून् । सरकारी र निजी क्षेत्रले ग्रामीण र दुर्गम क्षेत्रहरूमा पनि यो सेवा विस्तार गर्न पहल लिनुपर्छ, जसले गर्दा सहरी र ग्रामीण सबै क्षेत्रका जनताले एकैसमान सेवा पाउन सकून् । यसले अकुपञ्चरको पहुँच बढाउनाका साथै यस पद्धतिको स्थायित्व र लोकप्रियतामा सहयोग पुग्नेछ । रासस (लेखक ब्लू लोटस हेल्थ होममा कार्यरत छन्)
पुनरुत्थानको बाटोमा चीनको अर्थतन्त्र, आर्थिक वृद्धिको लक्ष्य हासिल हुने विश्वास
काठमाडाैं । चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण विश्वस्त’ रहेको मुलुकका शीर्ष अधिकारीले बताएका छन् । चीनमा गत महिना घोषणा गरिएको उत्प्रेरणात्मक उपायहरूको शृङ्खलाले सेयर बजारहरूमा उछाल ल्याएको थियो । अधिकारीहरूले करिब पाँच प्रतिशतको विस्तारलाई लक्षित गरेकाले बेइजिङले व्यावसायिक गतिविधिलाई पुनः सुरु गर्न सङ्घर्ष गरिरहेको छ । लामो समयदेखिको आवास सङ्कटदेखि सुस्त उपभोग र स्थानीय सरकारी ऋणसम्मका धेरै प्रतिकूल परिस्थितिलाई हेर्दा यो लक्ष्य आशावादी रहेको विश्लेषकहरूले बताएका छन् । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडिआरसी) का प्रमुख झेङ शान्जीको नेतृत्वमा मङ्गलबार भएको पत्रकार सम्मेलनमा सबैको ध्यान केन्द्रित छ । लगानीकर्ताहरूले बेइजिङले थप अर्थतन्त्र बढाउने नीतिहरू सार्वजनिक गर्ने आशा गरेका छन् । ‘हामी वर्षका लागि आर्थिक र सामाजिक विकासका लक्ष्य कायमा राख्नेमा पूर्ण विश्वस्त छौं,’ उनले भने, ‘हामी स्थिर, स्वस्थ र दिगो विकास कायम राख्नमा पनि पूर्ण विश्वस्त छौं ।’ व्यापारीहरूले एक साताको विश्रामपछि बेइजिङबाट थप उपायहरूको आशामा जोडदार र्यालीलाई जारी राख्दा मुख्य भूमि चीनका सेयरहरू मङ्गलबार १० प्रतिशतभन्दा बढीले बढे । यसले स्वर्णिम हप्ता बिदाअघिको २० प्रतिशतभन्दा बढीले वृद्धि भयो । अधिकारीहरूले लामो समयदेखि मन्द आर्थिक वृद्धिलाई उल्ट्याउन उत्प्रेरणात्मक उपयाहरूको शृङ्खला घोषणा गर्न थालेसँगै लगानीकर्ताहरू मुख्य भूमि चीन र हङकङका सेयरहरूमा फर्कन थालेका छन् । हालसम्म घोषणा गरिएका धेरै उपायहरू कमजोर रियल स्टेटलाई लक्षित गरिएका छन् । यो लामो समयदेखि वृद्धिको प्रमुख चालक रहेको भए पनि अहिले लामो समयसम्म ऋण सङ्कटमा फसेको छ । उक्त उद्देश्यका लागि बेइजिङको केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई एक वर्षको ऋणको ब्याज दर घटाएको छ, ऋणदाताहरूको राशीमा कटौती गरेको छ र विद्यमान बन्धकहरूमा दरहरू घटाउन प्रोत्साहित गरेको छ । साङ्घाई, ग्वाङ्जाऊ र सेन्जेनजस्ता वित्तीय केन्द्रसहित धेरै सहरले पनि रियल स्टेट खरिदमा प्रतिबन्धहरू खुकुलो पारेका छन् । ‘समग्रमा हामीले वर्तमान विकास र विकासको पूर्वानुमान हेर्दा हाम्रो मुलुकको आर्थिक विकासको आधारभूत तत्वहरू परिवर्तन भएका छैनन,’ झेङले भने, ‘विभिन्न नीति विशेषरूपमा वृद्धिशील प्याकेजको निरन्तर जारी हुने क्रमसँगै बजारको अपेक्षा हालै उल्लेखनीय रूपमा सुधार आएको छ ।’ अधिकारीहरूले थप वित्तीय समर्थन उपायहरू घोषणा गर्ने विश्लेषकहरूले आशा गरेका छन् । यसमा खर्बौं युआनको बन्ड जारी र उपभोग बढाउने नीतिहरू रहेका छन् । यद्यपि बेइजिङ वृद्धिका आधारभूत अवरोधहरू समाधान गर्न गम्भीर छ भने रियल स्टेट क्षेत्रमा ऋण सङ्कट कम गर्न र घरेलु मागलाई बढावा दिन आर्थिक प्रणालीमा गहिरो सुधारहरू आवश्यक रहेको विश्लेषकहरूले बताएका छन् । ‘चीनको अर्थतन्त्र सङ्कटमा छैन र बेइजिङलाई चीनको कूल ग्राहस्थ उत्पादन (जीडीपी) हासिलमा मद्दत गर्न सन् २०२४ को बाँकी समयका लागि ठूलो वित्तीय खर्च प्याकेजको घोषणा गर्न आवश्यक छैन,’ चाइना बेइज बुकका शेहजाद काजीले भने, ‘वास्तविक प्रश्न के हो भने बेइजिङले सन् २०२५ र त्यसपछिका लागि बहुचरणको खर्च कार्यक्रम घोषणा गर्नेछ र यसमा अर्थतन्त्रलाई उपभोगमा आधारित सङ्क्रमणबाट रोक्ने संरचनागत समस्याहरूलाई सम्बोधन गर्ने कुरा समावेश छ ।’ रासस
दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको पाठेघरको क्यान्सरबाट मृत्यु
लमजुङ । पाठेघरको क्यान्सरबाट पीडित यहाँस्थित दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष छुपिमाया गुरुङको मृत्यु भएको छ । दूधपोखरी गाउँपालिका–५ कोल्की भञ्ज्याङ निवासी गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । नेपाली कांग्रेसका जिल्ला सदस्य रामहरी न्यौपानेका अनुसार गुरुङको पाँच दिनअघि मात्रै दोस्रो पटक ‘किमोथेरापी’ गरिएको थियो । सोमबार बिहानसम्म अवस्था सामान्य रहेकामा दिउँसोबाट गाह्रो भएपछि राती अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेर उनी निर्वाचित भएकी थिइन् । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय उनी हाल कांग्रेसको गण्डकी प्रदेश कार्यसमिति सदस्य तथा महासमिति सदस्य थिइन् ।
जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्तीमा टिकट खुला
काठमाडौं । मोबाइल वालेट तथा भुक्तानी सेवाप्रदायक खल्तीले ‘जुबिन नौटियाल लाइभ इन नेपाल’ च्यारिटी कन्सर्टको टिकटिङ खुल्ला गरेको छ । ‘एन् अटिजम केयर फाउन्डेसन’सँग सहकार्य गर्दै याे च्यारिटी कन्सर्ट गर्न लागिएकाे हाे । कन्सर्टमा जुबिन नौटियालको लाइभ म्युजिकल प्रस्तुति रहनेछ । कन्सर्ट डिसेम्बर १४ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा हुनेछ । कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिहरूकाे हितमा प्रयाेग गरिने जनाइएकाे छ । सन् २०१७ देखि सञ्चालनमा आएको खल्तीबाट अनलाइन र मोबाइलबाट विभिन्न किसिमका वस्तु तथा सेवाको भुक्तानी गर्न सकिन्छ ।
अडानीले १ खर्बमा हाइडेलबर्ग सिमेन्ट किन्दै, १४ करोड टन उत्पादन क्षमता
काठमाडौं । अम्बुजा र एसीसी सिमेन्ट प्राप्त गरेपछि अडानी समूहले सिमेन्ट उद्योगमा निरन्तर प्रगति गरिरहेको छ । आदित्य बिर्ला समूहपछि अडानी समूह सिमेन्ट उद्योगमा देशको दोस्रो ठूलो सिमेन्ट उत्पादक हो । अब गौतम अडानी नेतृत्वको समूहले सिमेन्ट उद्योगमा आफ्नो व्यवसाय विस्तार गर्न जर्मन कम्पनी हाइडेलबर्ग मेटरियल्सको भारतीय सिमेन्ट व्यवसाय किन्न वार्ता सुरु गरेको छ । अडानी समूहको कम्पनी अम्बुजा सिमेन्टले हाइडलबर्गको भारतीय इकाइको अधिग्रहणको नेतृत्व गर्ने छ । इकोनोमिक टाइम्समा प्रकाशित समाचारअनुसार यो सम्झौता करिब १ अर्ब २० करोड अमेरिकी डलर (१ खर्ब रुपैयाँ) हुने अनुमान गरिएको छ । यो सम्झौता सम्पन्न भए सिमेन्ट उद्योगमा प्रतिस्पर्धा बढ्ने अनुमान गरिएको छ । देशका शीर्ष सिमेन्ट उत्पादन गर्ने कम्पनी अल्ट्राटेकले पनि आफ्नो नेतृत्व कायम राख्न कम्पनीहरू खरिद गरिरहेको छ । अडानी समूह देशको दोस्रो ठूलो सिमेन्ट उत्पादन गर्ने समूह हो । सन् २०२२ मा होल्सिमको भारतीय बजार अधिग्रहण गरेर समूहले यस क्षेत्रमा प्रवेश गरेको थियो । होल्सिम जस्तै अदानी समूहले पनि यो सम्झौता छिट्टै पूरा गर्न चाहेको विज्ञहरू बताउँछन् । हाइडलबर्ग सिमेन्ट भारतीय बजारमा सूचीबद्ध कम्पनी अम्बुजा सिमेन्टसँग ३० जुन २०२४ सम्म १ खर्ब ८२ अर्ब ९९ करोड रुपैयाँ नगद र नगद बराबर थियो । यदि यो अन्य दाबेदारहरूसँग पूर्ण बिक्री प्रक्रिया बन्यो भने भारतीय समूह सम्झौताबाट बाहिरिन सक्ने यस विषयसँग सम्बन्धित व्यक्तिले बताएका छन् । जर्मन कम्पनीले भारतीय बजारमा हाइडेलबर्ग सिमेन्ट इन्डिया र जुआरी सिमेन्टको नामबाट व्यापार गर्छ । हाइडेलबर्ग सिमेन्ट भारतीय बजारमा सूचीकृत कम्पनी हो तर जुआरी सिमेन्ट सूचीकृत छैन । हाइडेलबर्ग विश्वका ५० देशमा सूचीबद्ध कम्पनीको मार्केट क्याप ४९ अर्ब ७५ करोड रुपैयाँ छ र यसको मूल कम्पनीको ६९.३९ प्रतिशत स्वामित्व छ । हाइडेलबर्ग संसारको सबैभन्दा ठूलो सिमेन्ट उत्पादकमध्ये एक हो र ५० देशहरूमा यसको उपस्थिति छ । हाइडेलबर्गले २००६ मा मैसुर सिमेन्ट, कोचिन सिमेन्ट र इन्दोरमा सिमेन्टको अधिग्रहण गरेर देशको सिमेन्ट उद्योगमा प्रवेश गर्याे ।सन् २०१६ मा इटाल्सेमेन्ट ग्रहण गरेपछि यो समूहले भारतमा आफ्नो व्यापार दोब्बर बनायो । कम्पनीको वेबसाइटअनुसार हालको उत्पादन सीमा १ करोड ४० लाख टन छ । यस सम्झौताको बारेमा हाइडेलबर्ग र अडानी समूहले सार्वजनिक रूपमा कुनै जानकारी दिएका छैनन् । कुल उत्पादन क्षमता ५ करोड ३५ लाख टन जर्मन कम्पनीले एसिया प्रशान्त क्षेत्रका नौ देशमा व्यापार गर्छ । यसको कुल उत्पादन सीमा ५ करोड ३५ लाख टन छ । करिब ३ करोड १० टन क्षमता भएको यस क्षेत्रमा इन्डोनेसियापछि भारत दोस्रो स्थानमा छ । हाइडेलबर्गले हाइडेलबर्ग सिमेन्ट इन्डिया र जुआरी सिमेन्टको मर्जरमा काम गरिरहेको भए पनि स्ट्याम्प शुल्क भुक्तानीमा अड्किएको छ । प्रमुख वित्तीय अधिकृत अनिल शर्माले यस विषयमा काम गरिरहेको विश्लेषकलाई बताएका थिए । उनले आर्थिक वर्ष २०२६ वा आर्थिक वर्ष २०२७ सम्म मर्जरको काम सम्पन्न हुने अपेक्षा गरेका थिए । उत्पादन क्षमता १४ करोड टन पुर्याउने अडानी समूहले ६ अर्ब डलरभन्दा बढीमा होल्सिम समूहबाट अम्बुजा सिमेन्ट र एसीसी खरिद गरी भारतमा यो क्षेत्रमा प्रवेश गरेको थियो । त्यतिबेला अम्बुजा सिमेन्ट र एसीसीको संयुक्त उत्पादन क्षमता करिब ७ करोड टन थियो । यसपछि अडानी समूहले साँघी इन्डस्ट्रिज र माई होम ग्रुपको ग्राइन्डिङ युनिटलगायत सिमेन्ट उद्योगमा धेरै अधिग्रहण गरेको छ । जुनमा अडानी समूहले पन्ना सिमेन्ट उद्योगलाई प्राप्त गर्न १ खर्ब ४ अर्ब २२ करोडको सम्झौता गरेको थियो । अडानी समूहले सन् २०२८ सम्ममा सिमेन्ट उद्योगमा आफ्नो उत्पादन क्षमता १४ करोड टनमा पुर्याउन चाहन्छ । एजेन्सी
बुधबार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने
काठमाडौं । अवरुद्ध कान्ती राजमार्ग बुधबार बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । मंगलबार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबरासहितको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको टोलीले सो ठाउँको अनुगमन गरेको हो । सो क्रममा कान्ती राजमार्गका इन्जिनियर सीताराम बुढाथोकीले सडक विभाग र नेपाली सेनाको सहयोगमा सडक खुलाउने काम भइरहेको र बुधबार बिहानसम्म पूर्ण रुपमा सडक सञ्चालन गरिसक्ने बताए । उनले असोज ११ गतेदेखि आएको वर्षा बाढी र पहिरोका कारण कान्ती राजमार्गमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति हुँदा आवतजावतमा समस्या भएको बताए । बाढीका कारण पुल, सडक र पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरू र ८० टनको रेन्सफोर्समेण्टहरू पनि बगाएको बताए । ‘हामी हाल अस्थायी डाइभर्सनको रुपमा खोल्ने प्रयासमा छौँ । सडक विभाग र नेपाली सेनाको सहयोगमा लागिरहेका छौँ । भोलि बिहानसम्म यो बाटो खोलिसक्छाैँ’, उनले भने । त्यस्तै ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबराले आज आफूहरूले वागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरू अवलोकन गरेको बताए । उनले सो क्रममा कान्ती लोकपथको पनि अवलोकन गरिएको र ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्ती लोकपथमा विशेष गरेर बगुवाको पुलमा आधा भन्दा बढी क्षति गरेकाले आवतजावत असहज भएको जानकारी दिए । अहिले पुलमा साना सवारीहरु चलाउनसक्ने बनाइएको जानकारी दिए । टिकाभैरव, देवीचौर घुसेल क्षेत्रमा पनि यातायात सुचारु गर्न लागिएको बताए । दलचोकीसम्म सडक पुगेको र अब शंखुसम्म पुयाउनुपर्ने काम बाँकी रहेको जानकारी दिए । ‘पूर्ण क्षति भएका घरहरू ६ सयदेखि ८ सय घरमा क्षति भएको छ । त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्नेमा छौँ । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको छ’, उनले भने । ललतिपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण क्षति भएका घरहरू ६ सयदेखि ८ सय रहेको अनुमान गरेको बताए । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको भएपनि स्थायी व्यवस्थापनका लागि ध्यान दिनुपर्ने जानकारी दिए ।
निगमले फूलपातीका दिन काठमाडौं-भैरहवा उडान गर्ने, भाडा ७ हजार
काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ । फूलपातीको दिन ए ३२० जहाजले काठमाडौं-भैरहवा उडान भर्ने निगमले जनाएकाे छ । निगमका प्रवक्ता रमेश पौडेलले पर्वकाे अवसरमा आन्तरिक उडानमा परेकाे चापलाई कम गर्न न्याराेबडी सञ्चालन गर्न लागिएकाे जानकारी दिए । आन्तरिक उडानमा यात्रुका लागि न्यारोबडीले पहिलोपटक उडान अनुमति पाएको हो। निगमकाे वेबसाइट वा मोबाइलबाट समेत अनलाइन टिकट लिन सकिन्छ ।
राष्ट्र बैंकले बढायो सुनचाँदी असर्फीको मूल्य, ओजेडको मूल्य ७९५० रुपैयाँ
काठमाडौं । सुनचाँदी तथा अन्य धातुका टकमरी सिक्का तथा स्मारिका लगायतका असर्फीको मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचनामार्फत असर्फीको मूल्य बढाइएकाे जानकारी दिएकाे हो । सुनचाँदी तथा अन्य धातु खरिद बिक्री तथा टकमरी सम्बन्धि कार्यविधि २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गते बसेको बैठकको निर्णयअनुसार राष्ट्र बैंकको टक्सार महाशाखाले एउटा सिक्काको (३१.१ ग्रामको) ५५० रुपैयाँसम्मले मूल्य बढाएको हो । राष्ट्र बैंकका अनुसार यसअघि राज्यारोहण १ ओजेड (३१.१०३ ग्राम) सिक्काको ७ हजार ३ सय रुपैयाँ रहेकोमा उक्त सिक्काको मूल्य ५ सय ५० रुपैयाँले नै वृद्धि गर्दै ७ हजार ९५० रुपैयाँ पुर्याइएको छ । यस्तै, ३१.१ ग्राम तौल रहेको श्री ५ ज्ञानेन्द्र राज्यारोहण छाप सिक्काको ७ हजार २ सय रुपैयाँ पर्नेमा बैंकले उक्त सिक्काको मूल्य ७ हजार ८ सय ५० रुपैयाँ निर्धारण भएकाे छ ।