विकासन्युज

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् । नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा आज बिहानको रुद्राभिषेक पछि ८ः४५ बजे सामूहिक ध्यानको आयोजना हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिए । यसैगरी जीवन विज्ञान, पतञ्जली संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाउने जनाएको छ ।

भूकम्पबाट क्षतिको विवरण सङ्कलन हुँदै

काठमाडौं । बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५.२ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिए । विकट हिमाली जिल्लामा रूपमा रहेको यहाँका स्थानीय पालिकामा आवतजावतमा समय लाग्ने भएकाले प्रहरीको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण सङ्कलन जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी मण्डलले बताए । भूकम्पका कारण बूढीनन्दा नगरपालिका–४ मा एक घर भत्किएको मण्डलले बताए । घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको उनको भनाइ छ । जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केर होहल्ला मच्चिएको थियो ।

ईभीमा कर छलीः सरकारसँग छैन क्षमता जाँच गर्ने मेसिन

काठमाडौं । नेपालमा विद्युतीय सवारी (ईभी)को आयात बढदो क्रममा रहेको छ । पछिल्ला वर्षहरूमा आईसीई इन्जीन (पेट्रोल, डिजेलबाट सञ्चालन हुने) सवारीभन्दा ईभीको आयात ह्वात्तै बढ्न थालेको छ । कुल आयातको करिब ७० प्रतिशत ईभीको आयात हुन थालेको छ । ईभीको आयात बढेसँगै यससम्बन्धी विभिन्न समस्याहरू पनि देखिन थालेका छन् । उसो त नेपालमा ईभीका लागि पूर्वाधार निर्माण, पर्याप्त अनुसन्धान, यससम्बन्धी दक्ष जनशक्तिको अभावका बाबजुत नै ईभीको आयात गरियो । यसले गर्दा ईभीको आफ्टर सेल्स सर्भिसमा ठूलो समस्या हुने जानकारहरू बताउँछन् । यतिमात्र होइन, ईभीको कारण प्रणालीको बारेमा पनि पहिल्यै पर्याप्त छलफल नभएको देखिन्छ । नेपालमा आयात हुने ईभीको भन्सार कर त्यसको मोटर क्षमताको आधामा निर्धारण गरिन्छ । तर, नेपालमा भने ईभीको मोटरको क्षमता मापन गर्ने ल्याब तथा मेसिनसमेत छैन । यसले पनि के देखाउँछ भने नेपालमा आवश्यक पूर्वतयारी बिना नै ईभीको आयात गरिएको हो । हाल नेपालमा आउने ईभीको कार उत्पादक कम्पनीले उल्लेख गरेको मोटरको क्षमताका आधारमा निर्धारण गरिन्छ । अर्थात जति धेरै किलोवाटको मोटर जडान गरिएको छ, त्यति नै धेरै कर लाग्ने गर्दछ । उत्पादक कम्पनीले नेपालका आयातकर्तालाई दिएको कागजात यातायात व्यवस्था विभागमा सम्बन्धित आयतकर्ताले पेश गर्नुपर्ने हुन्छ । यातायातले सोही कागजातमा सो गाडीको मोटर पावर कति छ, त्यसअनुसार नै भन्सार कार्यालयलाई पत्र पठाउँछ । भन्सारले सोही पत्रका आधारमा सो गाडीको कर संकलन गर्दछ । कर छली हुने सम्भावना यातायात विभागले यसरी उत्पादक कम्पनीले उल्लेख गरेको मोटरकै आधारलाई विश्वास गर्दछ । र भन्सारले पनि सोहीअनुसार कर उठाउँछ । यस अवस्थामा उत्पादक कम्पनी र नेपालका लागि आयातकर्ता कम्पनीबीच यदि मिलेमतो भएको खण्डमा कर छली हुन सक्ने आधार प्रशस्तै छन् । तर, नेपाल सरकारले यसलाई अन्धाधुन्ध तरिकाले विश्वास गरेको छ । कुनै पनि आयातकर्ता र उत्पादक कम्पनीहरू मिलेर नेपालमा पठाउने ईभीको मोटर क्षमता कागजमा मात्रै घटाइदिए त्यसको क्रस भेरिफिकेसन गर्ने मेसिन तथा ल्याब नेपालमा छैन । यसो हुँदा उत्पादक कम्पनीले मोटर पावर कागजमा घटाइदिएर पठायो भने त्यसलाई नै विश्वास गर्नुपर्ने हुन्छ । यसले गर्दा सो गाडीको वास्तविक करभन्दा धेरै कम कर भन्सारले उठाउनुपर्ने हुन्छ । यसले सिधै कर छलीलाई बढावा दिन्छ । तर, सरकारले यसबारेमा अझैसम्म खासै चासो नदिएको देखिन्छ । के भन्छन् जानकार ? करविज्ञ अरुण राउतले सरकारले मोटरको क्षमता मापन गर्ने मेसिन तथा ल्याबको व्यवस्था नगर्नु सरकारको कमजोरी भएको बताएका छन् । उनले उत्पादक कम्पनीले गलत गर्छ वा गर्दैन भनेर सोच्नुभन्दा पनि सरकारले आफै मेसिन तथा ल्याबको स्थापना गरेर चेक गर्नुपर्ने धारणा राखे । उनले मोटर क्षमताको बारेमा गाडीसम्बन्धी अन्य डकुमेन्टले पनि पत्ता लाग्ने भन्दै त्यसमा मात्रै भर परेर नबस्न सरकारलाई सुझाव पनि दिए । उनले भने,  ‘मोटरको क्षमताको बारेमा अन्य कागजातहरूबाट पनि पत्ता लगाउन सकिन्छ । राज्यले चाह्यो भने सक्छ । तर, मेसिन तथा ल्याब भने सरकारले अनिवार्यरूपमा निर्माण गर्नुपर्दछ ।’ नेपालमा मोटर क्षमता जाँच गर्ने मेसिन तथा ल्याब नहुँदा कर छली हुन सक्ने सम्भावना कति छ भन्ने प्रश्नमा उनले भने, ‘नेपालमा आयात हुने ब्राण्ड कम्पनीहरूले मोटर घटाएर काजगात नबनाउलान् । उनीहरूले त्यस्तो गल्ती नगर्लान् । तर, कर छली हुँदै हुँदैन भनेर भन्न भने सकिँदैन । कर छली हुने जोखिम छ ।’ यस्तै, उनले नेपालको राजस्वको मुख्य स्रोत अटोमोबाइल क्षेत्र भएकाले यसको निगरानीमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । के भन्छन् सरोकारवाला ? यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले मोटर क्षमता मापन गर्ने ल्याब स्थापना गर्नेबारे अर्थ मन्त्रालयसँग छलफल भएको बताएका छन् । तर, ल्याब स्थापना गरे पनि नेपालमा आयात हुने सबै ईभीको क्षमता जाँच गर्न भने सम्भव नहुने उनको भनाइ छ । ‘गाडीको इन्जिन खोलेर जाँच गर्नुर्छ, त्यत्तिकै बाहिरबाट गरेर हुँदैन,’ महानिर्देशक पोखरेलले भने, ‘सबै गाडीको त्यसरी जाँच गर्न सम्भव नै छैन ।’ उनका अनुसार एउटा मोडल गाडीको एउटा स्याम्पल मात्र जाँच सम्भव हुन्छ । ल्याब स्थापना भएपछि यदि शंका लागेको खण्डमा जुन गाडीमा शंका लागेकाे छ, त्यसको जाँच गर्न सकिन्छ । मोटर जाँचको ल्याब स्थापनका लागि ठूलो पूर्वाधारको संरचना आवश्यकता पर्ने उनले औंल्याए । त्यसका लागि करोडौं रुपैयाँ खर्च हुने पनि उनले जानकारी दिए । उनका अनुसार त्यसका लागि जग्गा पनि धेरै चाहिन्छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाले सरकारले मोटर जाँचको ल्याब स्थापना गर्नुपर्ने तर्क राखेका छन् । नेपालमा विश्वमा ख्यातिप्राप्त कम्पनीहरूबाट ईभी आयात हुने भएकाले ती कम्पनीहरूले त्यस्तो गलत काम नगर्ने बताउँदै सरकारले उक्त कागजातकै भर भने पर्न नहुने धारणा व्यक्त गरे । ‘नेपाल भनेको उनीहरूका लागि सानो मार्केट हो । उनीहरूले आफ्नो ख्यातिको पनि ख्याल गर्छन । त्यसैले उनीहरूले गलत कागजात बनाइदेलान् भन्ने मलाई लाग्दैन, ’ उनले भने, ‘तर, पछिल्लो समय नेपालमा धेरै ब्राण्डहरू भित्रिएकाले सबै कम्पनी राम्रा छन् भनेर भन्न मिल्दैन । कुनै कुनैले गलत गर्न पनि सक्छन् ।’ यसरी केही उत्पादक कम्पनी र आयातकर्ता मिलेर गलत गर्न पनि सक्ने भन्दै त्यसका लागि सरकारले पूर्वतयारी भएर बस्नुपर्ने पूर्वअध्यक्ष थापाको भनाइ छ । उनले एउटा देशका लागि ल्याब स्थापना गर्न खासै ठूलो विषय नभएको भन्दै सरकारले जतिसक्दो छिटो जाँच ल्याबको स्थापना गर्नुपर्नेमा जोड दिए । यस्तो छ ईभीमा लाग्ने कर प्रणाली ५० किलोवाटसम्मको ईभीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तशुल्क लाग्दछ । यसैगरी, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको ईभीमा २० प्रतिशत भन्सार कर र १५ प्रतिशत अन्तशुल्क कर लाग्ने गर्दछ । १०१ किलोवाटको ईभीमा ३० प्रतिशत भन्सार कर र २० प्रतिशत अन्तशुल्क कर, २०१ देखि ३०० किलोवाटको ईभीमा ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था छ भने ३०१ किलोवाटदेखि माथिको मोटर क्षमता भएको ईभीमा ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था रहेको छ ।

अनधिकृत तरिकाले भ्यू टावरको नक्सा पास गरेपछि काठमाडौं महानगरले गुरागाईंलाई कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्ने भएको छ । काठमाडौं भ्यू टावरको नक्सा अनधिकृत तरिकाले पास गरेको पाएपछि महानगरले गुरागाईंलाई कारबाही गर्ने भएको हो । उनी गत भदौ २७ गतेमात्रै सरुवा भएर महानगरमा आएका थिए । शुक्रबार महानगरले पत्रकार सम्मेलन गर्दै आधिकारिक प्रणाली छलेर भवनको नक्सा पास भएको देखिएको बताएको छ । महानगरका अनुसार पास भएको नक्सामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले हस्ताक्षर गरेका छन् । काठमाडौं भ्यू टावर काठमाडौं महानगरको २८ नम्बर वडामा लामो समयदेखि निर्माणाधीन छ । गुरागाईं नेपाल सरकारका सहसचिव हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले सन्तोष परियारलाई हटाएर उनलाई काठमाडौं महानगरको प्रमुख प्रशासक बनाएको थियो ।

टेस्लाको मार्केट क्याप १. ४ ट्रिलियन डलर, विश्वव्यापी अटो उद्योगको झण्डै आधा

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको विद्युतीय सवारीसाधन (ईभी) निर्माण गर्ने कम्पनी टेस्लाको सेयरमा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ । यो वृद्धिसँगै यसको बजार मूल्य (मार्केट क्याप) १.४ ट्रिलियन डलर पुगेको छ, जुन विश्वव्यापी अटो उद्योगको कुल बजार आकारको झण्डै आधा हो । गत वर्ष विश्वव्यापी अटोमोटिभ उद्योगको आकार करिब ३.४ ट्रिलियन डलर थियो । आगामी १० वर्षमा ६.८ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ । टेस्लामा मस्कको लगभग २३ प्रतिशत सेयर छ । यद्यपि, हालैका दिनहरूमा टेस्लाले चिनियाँ ईभी कम्पनीहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । अक्टोबरमा चिनियाँ कम्पनी बीवाईडीले टेस्लाभन्दा धेरै गाडी उत्पादन गर्‍यो । नोभेम्बरको तथ्याङ्कअनुसार नोभेम्बरमा विश्वमा बिक्री हुने कुल ईभीमा चीनको हिस्सा ७० प्रतिशत थियो । यति हुँदाहुँदै पनि बजार पुँजीको हिसाबले विश्वको कुनै पनि अटो कम्पनी टेस्लाको नजिक छैन । जापानको अग्रणी अटो कम्पनी टोयोटा यस सूचीमा २३१ अर्ब डलरको साथ दोस्रो स्थानमा छ । चिनियाँ कम्पनी बीवाईडी १०७ अर्ब डलरका साथ तेस्रो स्थानमा छ भने ९८ अर्ब डलरका साथ शाओमी चौथो स्थानमा छ । इटालीको अग्रणी अटो कम्पनी फेरारी ८१ अर्ब डलर पाँचौं, मर्सिडिज बेन्ज (६३ अर्ब) छैटौं, पोर्श (५८ अर्ब) सातौं, जनरल मोटर्स (५१ अर्ब) नवौं र फक्सवागन (४८ अर्ब) डलर) दशौं स्थानमा छ। भारतको महिन्द्रा एन्ड महिन्द्रा सूचीमा ११ नम्बरमा छ । यसको मार्केट क्याप ४४ अर्ब छ । देशको सबैभन्दा ठूलो अटो कम्पनी मारुति सुजुकी ४२ अर्ब डलरको बजार पुँजीका साथ यो सूचीमा १२ नम्बरमा छ । टाटा मोटर्स ३५ अर्ब डलरको मार्केट क्यापको साथ १७ नम्बरमा छ । फोर्ड (४१ अर्ब) १३ औं, स्टेलान्टिस (४१ अर्ब) १४ औं, होन्डा (४० अर्ब) १५ औं र हुन्डाई (३७ अर्ब) १६ औंमा छन् ।

पठाओ सुपरफेस्ट पुस ६ गतेदेखि २६ गतेसम्म, बम्परमा आइफोन १६ उपहार

काठमाडौं । पठाओ नेपालले यही पुस ६ गतेदेखि २६ गतेसम्म पठाओ सुपरफेस्ट आयोजना गर्ने भएको छ । ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारासहित आयोजित सुपरफेस्टमा गत वर्ष मिस्टर हुलहुल मात्रै आएकामा यस वर्षको सुपरफेस्टमा एलियन जोडी नै आएको थिममा पठाओले प्रचार गरेको छ । एलियनहरू पठाओको सुपरफेस्टको छुट र अफर देखेर ब्रह्माण्डबाटै आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको हो । कम्पनीका अनुसार सुपरफेस्टमा पठाओ फूडमा मात्रै नभइ राइडमा समेत सेवाग्राहीले ८० प्रतिशतसम्म छुट पाउनुका साथै विभिन्न आकर्षक अफर पनि प्राप्त गर्नेछन् । साथै यस वर्षको पठाओ सुपरफेस्टमा सेवाग्राहीले प्रत्येक राइड वा फूड अर्डरका आधारमा सो बराबरको प्वाइन्ट्स प्राप्त गर्न सक्ने तथा पठाओ एप भित्रै पोइन्ट्सको डिल सेक्सनमा गएर रिडिम गरी राइडको प्रोमो कोडहरू पाउन सकिने पठाओ नेपालका निर्देशक सुरक्षा हमालले जानकारी दिइन्। सुपरफेस्टमा केचप किन्दा पिज्जा फ्रि, बर्गर किन्दा अर्को बर्गर फ्री, चिकन बिरयानीमा चिकन सेकुवा फ्रि, रु एकमा दुई क्रन्ची चिकन बर्गररबीबीक्यू चिकन विङ्ग्सरचिकन राइस बउलरमिट लभर्स पिज्जारचिकन बिर्यानी लगायतका अफरहरु उपलब्ध गराइएको छ । कम्पनीले सुपरफेस्ट सुरु हुनुअघि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ‘पठाओ एलियन’को भेषमा मिस्टर हुलहुल र मिसेस हुलहुल घुम्न पठाएको थियो । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन गत बर्ष नेपालमै पहिलो पटक पठाओले प्रयोग गरेको हो । मिस्टर हुलहुल र मिसेस हुलहुलको जोडीलाई सबैमाझ परिचित गराउनका लागि कम्पनीले टिकटकमा भिडियो प्रतिश्पर्धा समेत गरिरहेको जनाएको छ । सुपरफेस्ट अवधिमा उनीहरुसँग भिडियो बनाएर टिकटकमा राखिने भिडियोमध्येबाट सबैभन्दा बढी लाइक, सेयर र भ्यूजका आधारमा एक जनालाई रु १० हजार नगद उपहार प्रदान गरिने छ । यी अफरहरु हरेक दिन विहान १० बजेदेखि राति ९ बजेसम्म उपलब्ध हुनेछन् । साथै फ्लास सेल्स तथा रेष्टुरेन्ट अर्डरमा ८० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । सुपरफेस्टमा एक किलोमिटरको दूरीसम्म निःशुल्क डेलिभरी प्रदान गरिनेछ । कस्टमरले प्रत्येक फूड अर्डरमा स्योरसट प्राइजको स्क्रयाच कार्ड पाउनेछन् । सेवाग्राहीले स्क्रयाच कार्डमा अल्टिमा लाइफस्टाइलको प्रडक्टमा रु ३५० को छुट, डोल्पो गियर्सको ठमेल आउटलेटबाट सामान किन्दा २० प्रतिशत छुट, ट्राङ्क्युलिटी स्पाको ठमेलस्थित शाखामा सेवा लिँदा ४० प्रतिशत छुट, धुलिखेलको जिपलाइनमा भिडियो बाहेक ४० प्रतिशत छुट, इना सेन्टरमा सामान किन्दा ११ सय रुपैयाँको छुट, मिशिसा कस्मेटिक्समा १५ प्रतिशत छुट पाउन सक्नेछन् । साथै यति एयरलाइन्सको फ्लाइट बुकिङमा रु ५ सय छुट, माक्कुसेको सामान किन्दा १० देखि १५ प्रतिशतसम्म छुट, वन्डरल्याण्डमा रु पाँच सय बराबरको दुई खेलमा प्रवेशको सुविधा, कोदाली भेन्चर्सका प्रडक्ट खरिदमा छुट र स्पर्सका प्रडक्टमा रु २०० छुट पाउन सक्ने कम्पनीले जनाएको छ । सुपरफेस्ट अवधिमा हरेक साता भाग्यशाली विजेताहरुले मिशिसा कस्मेटिक्स, अल्टिमा लाइफ स्टाइल, इना सेन्टर र माक्कुसेका तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् । साथै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले आइफोन १६ पाउनेछन् । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओले ‘पठाओ सुपरफेस्ट(२०२४’ आयोजना गरेको हो । गत वर्षहरुमा आयोजना गरिएका पठाओ सुपरफेस्ट भव्यरुपमा सफल भएपछि कम्पनीले यस वर्ष पनि सुपरफेस्ट आयोजना गर्न लागेको हो । गत बर्ष सुपरफेस्ट अवधिमा रेष्टुरेन्टहरूमा ग्राहकको भन्दा फूड डेलिभरी लिन जाने पठाओ हिरोहरूको भिड देखिएको थियो । गत वर्ष पठाओ हिरोहरूले औसत दैनिक ९०० रुपैयाँ कमाउँदै आएकोमा सुपरफेस्ट अवधिमा दैनिक १ हजार ४ सय रुपैयाँ कमाएको निर्देशक हमालले बताइन् ।

पूर्वाधार पत्रकार समाजको अध्यक्षमा कार्की सर्वसम्मत चयन

काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाजले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । समाजको अध्यक्षमा सुनिता कार्की कोइराला निर्विरोध चयन भएकी छन् । उपाध्यक्षमा विमल खतिवडा, सचिवमा दिनेश खड्का निर्वाचित भएको निर्वाचन समितिका संयोजक भीम गौतमले जानकारी दिए । यस्तै, सहसचिवमा प्रशन्न ढुंगाना, कोषाध्यक्षमा हिमा विश्वकर्मा चुनिएका छन् । सदस्यमा विष्णु रैगाईं, आशुतोष अर्याल, शर्मिला न्यौपाने, धना ढकाल, निर्दोष घोरसाइने, पवन तिमिल्सिना चयन भएका छन् । यसअघि समाजको अध्यक्षमा जीवन बस्नेत थिए ।

कुहिएको नरिवल भेटिएपछि महानगरले तिरायो दुई लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले भाटभाटेनी सुपरमार्केट डिपार्टमेन्ट स्टोरलाई जरिवाना तिराएको छ । बासी सडेर कीरा लागेको पदार्थ बिक्री गरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना तिराएको महानगरले जनाएको छ । मसिर १९ गते काठमाडौं महानगको कल सेन्टरमा  सुपरमार्केटले बासी सडेगलेका अनि कीरा लागेको खाना बेच्यो भनी गुनासो आएको र विभागबाट स्थलगल अनुगमन गर्दा ड्राइ कोकोनट नाम रहेको नरिवल ४४ (चौवालीस) प्याकेजमा ढुसीजन्य पदार्थ फेला परेको महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।   महानगरले उक्त पदार्थ सुपरमार्केटको व्यवस्थापकको रहोवरमा नष्टसमेत गरेको जनाएको छ । महानगरका अनुसार जरिवाना रकम महानगरको राजश्व खातामा जम्मा गरिने छ ।