सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलको निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै सुदूरपश्चिमले १८५ रनको लक्ष्य दिएको हो । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो । सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैव र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए । जैबले ८ चौका र २ छक्का र भण्डारीले १ चौका र ३ छक्का हानेका थिए । ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे । बलिङमा जनकपुरका मोहम्मद मोहसिन र किशोर महत्तोले ३–३ विकेट लिए । जिमी निशम र ललित राजवंशीले एकएक विकेट लिएका छन् ।
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने
काठमाडौं । श्रीलङ्काको अर्थतन्त्र साढे ५ प्रतिशतले वृद्धि हुने भएको छ । सन् २०२४ को तेस्रो त्रैमासिकमा श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकले प्रक्षेपण गरेको हो । केन्द्रीय बैंकका अनुसार कृषि गतिविधि ३ प्रतिशत, उद्योग १०.८ प्रतिशत र सेवा गतिविधि २.६ प्रतिशतले बढेको छ । अक्टोबर सन् २०२४ मा चिया उत्पादनमा गिरावट भएतापनि कुल उत्पादन जनवरी र अक्टोबर बीचमा थोरै वृद्धि भएको छ । रबर उत्पादनले अक्टोबरमा उल्लेखनीय वार्षिक वृद्धि हासिल गर्दै स्थिर सुधार देखाएको केन्द्रीय बैंकले जनाएको छ । सन् २०२४ को पहिलो १० महिनामा नरिवलको उत्पादन वर्षैपिच्छे घटेको केन्द्रीय बैंकले जनाएको छ । गत वर्ष डिसेम्बर २० सम्ममा अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रपी १०.७ प्रतिशतले बढेको केन्द्रीय बैंकको भनाइ छ ।
जाडोमा कसरी गर्ने छालाको स्याहार ? यस्ता छन् छाला रोग विशेषज्ञका टिप्स
काठमाडौं । पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस याममा जोडबाट जोगिन र छालाको स्याहार गर्न बढी सतर्कता आवश्यक हुन्छ । विज्ञहरूका अनुसार जाडोमा टाउकादेखि पैतालासम्मका सबै अङ्ग चिसोबाट प्रभावित हुन पुग्छन्, त्यसैले आवश्यक सतर्कता नअपनाए समस्या हुनसक्छ । निजामती अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा प्रज्जवल पुडासैनीका अनुसार जाडो मौसममा हावामा आद्रता (ह्युमिडिटी) कम हुने भएकाले छाला बढी सुक्खा हुन्छ । ‘हत्केला तथा पैतालामा तेल निकाल्ने ग्रन्थी (सिवेसियस ग्लान्ड) एकदम कम हुन्छ । त्यसैले छालामा ओस (मोस्चइर) प्रदान गर्ने चिल्लो कम हुँदा छाला सुक्खा हुन्छ,’ उनले भने । जाडो महिनामा विशेष गरी सुक्खा हावाको प्रभावले कपाल सुक्खा हुने, टुट्ने र चायाँ पनि अत्यधिक पर्ने डा पुडासैनीको भनाइ छ । उनी भन्छन्, ‘शरीरको प्राकृतिक तेल कम भएर सुक्खापना आउने (जेरोटिक एक्जिमा) ले छाला सुन्निने, चिलाउने, पोल्ने, पानी फोका आउने, बिमिरा आउने, पाक्नेलगायत समस्या आउन सक्छन् । एटोपिक एक्जिमा हुन सक्छ, जसले छालामा एलर्जी गराउने हुन्छ । हात खुट्टाका औँला चिलाउने, सुन्निने समस्या ‘चिल्बिलेन्स’ पनि बढी देखिन्छ ।’ जाडोमा एलर्जीको समस्या पनि बढी देखिने चिकित्सकहरू बताउँछन् । एलर्जी बढ्नुको मुख्य कारण जाडोमा छाला फुट्ने र सङ्क्रमण हुनु हो । डा पुडासैनीले भने, ‘जाडोमा बढी देखिने ‘सोरायसिस’ पनि हो, जसलाई कत्ले रोग पनि भनिन्छ । कुहिना, ढाड, घुँडा, कपालमा फुरफुर फुस्रो खालको छालाको पत्र कत्ला निस्किने हुन्छ । जाडोमा डन्डिफोर पनि बढ्छ । छाला सुक्खा भएर प्राकृतिक रूपमा तेल निकाल्ने ग्रन्थी ९सिबेसियस ग्लान्ड० झन् सक्रिय हुन्छ जसले गर्दा डन्डिफोर आउँछ ।’ वीर अस्पतालकी छाला तथा यौन रोग विशेषज्ञ प्रा डा अनुपमा कार्की जाडो मौसममा बहिरङ्ग सेवा (ओपिडी) मा धेरैजसो छाला सुक्खा हुने, एलर्जी हुने, छाला खस्रो हुने, फुट्नेलगायत समस्या लिएर आउने गरेको बताउनुहुन्छ । जाडोमा सरसफाइको कमीले छालाको समस्या बढ्ने उनको भनाइ छ । ‘प्रायः मान्छे जाडोमा कम नुहाउँछन् । लुगा फेर्न अल्छी गर्छन् । समय-समयमा सिरक, डसना घाममा सुकाउँँदैनन् । त्यसैले लुतोको समस्या लिएर आउने बिरामी पनि छन्,’ उनी भन्छन् । जाडोमा छालाको बाथको समस्याका साथै कसैलाई घामको एलर्जी (फोटो डर्माटाइटिस) हुन सक्ने डा कार्कीले बताए। ‘जाडोमा कपडाले नढाकिएको छालाको भाग हात, खुट्टा, नाकको टुप्पा, कानको छालामा रगत प्रवाह गर्ने नसा खुम्चिएर दुख्ने, सुन्निने समस्यासमेत आउनसक्छ । जाडोमा ‘रोजासिया’ ले रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या पनि देखिन सक्छन्,’ उनले भने । जाडोमा छालाको स्याहार गर्न बेला-बेलामा मोस्चराइजर लगाउनु नै सबैभन्दा राम्रो उपाय रहेको डा पुडासैनीको सुझाव छ । ‘चिसोमा जाँदा सकेसम्म अनुहार छोप्ने, बाइक चलाउँदा भाइजर लगाउने, मास्क, क्याप, पञ्जा, मोजा लगाउने गर्नुपर्छ । नुहाउँदा मनतातो पानीमा नुहाउनुपर्छ । नुहाइसकेपछि अलि-अलि भिजेको छालामा नरिवलको तेल, जैतुनको तेल वा भ्यासलिन जे उपलब्ध छ, त्यो लगाउनु उपयुक्त हुन्छ । नियमित व्यायाम तथा पौष्टिक आहारले पनि छाला स्वस्थ्य राख्न मद्दत पु¥याउँछ,’ उनले सुझाए । डा कार्की छाला राम्रो बनाउन पानी तथा फलफूल प्रशस्त खानुपर्ने बताउँछन् । अधिकांशले जाडोमा पानी कम पिउनाले पछि छाला सुक्खा हुने र खुम्चिने हुन सक्ने बताउँदै उनी भन्छन्, ‘पानी प्रशस्त पिउनुपर्छ । कडा खालको सुक्खा बनाउने फेसवास, ह्यान्ड वास प्रयोग गर्नुहुँदैन । सनब्लक क्रिम तथा मोस्चराइजर अनिवार्य लगाउने गर्नुपर्छ । धेरै तातोपानीको प्रयोग गर्नुहुँदैन, यसले थप छाला सुक्खा बनाउँछ । छालासम्बन्धी केही समस्या आए छालारोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।’
माथिल्लो म्याग्दीमा ५ बैंकको साढे ५ अर्ब लगानी, १२ वर्षमा ऋण तिरिसक्ने
काठमाडौं । माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण स्थल पहुँचमार्गले जोडिएको छ । ३७ मेगावाट क्षमताको सो आयोजनाको हाइड्रो इम्पायर प्रालिको प्रवद्र्धक रहेको छ । बाँध, विद्युत गृह र सुरुङको अडिट निर्माण स्थल जोड्ने सडक निर्माण भएको हो । मालिका गाउँपालिका–७ बिमको भारबाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँच निर्माण गर्न सो क्षेत्रमा निर्माणका क्रममा रहेका माथिल्लो म्याग्दी, अपर म्याग्दी १, म्याग्दीखोला जलविद्युत आयोजनाले साझेदारी गरेका छन् । माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक जीतबहादुर घर्तीले पहुँचमार्गमा पर्ने म्याग्दी नदीमाथि ५० र ३० मेट्रिकटन क्षमताको २ वटा बेलिब्रिज जडान भइसकेको जानकारी दिए । पहुँचमार्ग, आवास र सैनिक क्याम्पको भवन, जेनेरेशन लाइन निर्माण सकिएको आयोजनाको सुरुङ, बाँध र विद्युत गृह निर्माणको तयारी गरेको उनले बताए । निर्देशक घर्तीका अनुसार अबको दुई वर्ष ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सिभिल ठेकेदार परिचालित भइसकेको छ । धवलागिरि गाउँपालिका-४ मा पर्ने सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध, म्याग्दी खोलाको बाँया किनारमा भूमिगत बालुवा थिग्रयाउने पोखरी, हेडरेस सुरुङ बन्ने आयोजनाको विद्युत गृह म्याग्दी खोला र मुदी खोलाभन्दा एक किलोमिटर माथि प्रस्ताव गरिएको छ । तीन किलोमिटर ५५३.३३ मिटर लामो सुरुङबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ । आउटलेटदेखि विद्युत्गृहसम्म ७९७.९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । आयोजनाका लागि आवश्यक १.६९ हेक्टर निजी जग्गा खरिद गरिएको र ३.६९ हेक्टर सरकारी जग्गा प्रयोग गरेबापत शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ । आयोजनाका लागि आवश्यक विष्फोटक पदार्थ खरिदका लागि सम्बन्धित निकायबाट स्वीकृति लिई प्रक्रिया अगाडि बढाइएको प्रबन्ध निर्देशक घर्तीले बताए । लगानी जुट्यो माथिल्लो म्याग्दी निर्माणका लागि सिद्धार्थ बैंक, नेपाल एसबिआइ, सिटिजन्स बैंक, एभरेष्ट बैंक र नबिल बैंकले ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । बैंकको ब्याजबाहेक आयोजनाको कूल लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ अनुमान गरिएको छ । ब्याजसहित ७ अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनाले १२ वर्षको अवधिमा ऋण तिरिसक्ने योजना बनाएको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहने आयोजना पूरा भएपछि २१५.७१४ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युत गृहदेखि १०.२ किलोमिटर दूरीको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सबस्टेसनमा जोडिनेछ । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट थप ४ वटा आयोजनाले निर्माणको अनुमति पाएका छन् । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलोको निर्माण सुरु भएको छ । १४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजना पहुँचमार्ग निर्माणको चरणमा छन् । धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको ५ वर्षअघि शिलान्यास गरे पनि गति लिन सकेको छैन ।
१२ वटा गैँडा मृतावस्थामा भेटिए, १५० जना नियन्त्रणमा
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको पाँच महिनामा १२ वटा गैँडा मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृतावस्थामा भेटिएकामध्ये चार भाले र पाँच वटा पोथी रहेका छन् । तीमध्ये एउटालाई विद्युतीय करेन्ट लगाएर मारिएको अवस्थामा भेटिएको हो । मृत भेटिएका गैँडामध्ये तीन वटाको लिङ्ग पहिचान हुन नसकेको उनले बताए । यस्तै सोही अवधिमा एक वटा बाघ मृतावस्थामा भेटिएको छ । गत मङ्सिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नन्दपुर घाटमा बाघसँग जुधेर अन्दाजी ६ वर्षको बाघ मरेको उनले जानकारी दिए । यसैगरी पाँच महिनाको अवधिमा गैँडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु भएका दुवै जना नवलपुर बर्दघाट सुस्तापूर्वका रहेको उनले बताए । निकुञ्जभित्रको अवैध गतिविधि नियन्त्रण गर्ने क्रममा १५० जनालाई नियन्त्रणमा लिइ आवश्यक कारबाही गरेको जनाएको छ । गैँडा मारेर खाग तस्करी गरेको आरोप, बाघसम्बन्धी कसुर, अनुमतिबिना बँदेल पाल्ने, बिनाअनुमति निकुञ्जमा घाँस दाउरा काट्ने, माछा मार्ने, निउरो टिप्नेलगायत काममा सहभागी भएका उनीहरुलाई पक्राउ गरी कारबाही गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिए ।
३.१६ प्रतिशत लाभांश बाँड्ने ज्योतिको घोषणा
काठमाडौं । ज्योति क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित ३.१६ प्रतिशतका दरले ६६ लाख ३६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले पुस २६ गते ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ९ बजे काठमाडौंमा दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, सञ्चालक समिति बैठकबाट नियुक्त भएका २ जना स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ ।
करोड हात पार्न सुदूरपश्चिम र जनकपुरबीच भिडन्तः दुई व्यवसायीबीच पनि ब्याटल, कसले पाउला कार ?
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी मैदानमा शतप्रतिशत योगदान दिने बताएका छन् । कप्तान ऐरीले अघिल्ला खेलहरु राम्रो भइरहेको बताउँदै फाइनल खेलमा पनि राम्रो गर्ने धारणा राखे । यस्तै, जनकपुर बोल्ट्सका कप्तान आशिफ शेख फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने बताउँछन् । ‘आफूसँग जे जति छ, त्यो मैदानमा दिने छौँ । फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ,’ उनले भने । खेलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । क्यानकाअनुसार उपविजेता टिमले ५१ लाख, तेस्रो हुने टिमले २५ लाख र चौथो हुने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छ । जनकपुर र सुदूरपश्चिममध्ये एउटा विजेता र अर्को उपविजेता हुनेछ । तेस्रो कर्णाली याक्स भइसकेको छ भने चौथो चितवन राइनोज भएको छ । सुदूरपश्चिम रोयल्स स्वतन्त्र प्रताप शाहले किनेका हुन् । शाह अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघको संस्थापक अध्यक्षसमेत हुन् । हाल उनकै नेतृत्वमा सुदूरपश्चिमको धनगढीमा पाँचतारे होटल निर्माणको काम भइरहेको छ । उनी दुई दशक लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका छन् । उनले अस्ट्रेलियामा पनि क्रिकेट क्लब सञ्चालन गरिरहेका छन् । उनी कन्सल्टेन्सी सञ्चालकका रुपमा पनि परिचित छन् । यस्तै, ड्रीम स्पोर्ट्स कम्पनीका मालिक अमित श्रेष्ठले जनकपुर बोल्ट्स खरिद गरेका हुन् । उनी पनि उद्योगी नै हुन् । उनको विशाल सिमेन्ट कम्पनी छ । उनी पनि व्यापार र उद्योग क्षेत्रमा सक्रिय छन् । उनको होटलमा पनि लगानी छ । आजको खेल यी दुई व्यवसायीबीचको पनि प्रतिस्पर्धा हो । कसले पाउला कार ? एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले कार पनि उपहार पाउनेछन् । कार उपहार पाउने खेलाडीको उच्च सम्भावनामा सुदूरपश्चिमका कप्तान अलराउन्डर दीपेन्द्र सिंह ऐरी छन् । उनकै नेतृत्वको सुदूरपश्चिमले लिगमा कुल ८ म्याच खेल्दा सातमा जित र एक खेलमा मात्र पराजय बेहोरेको छ । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । दीपेन्द्रले ८ म्याचमा १६२.६८ को स्ट्राइक रेटमा २ सय १८ रन बनाएका छन् । उनले ६ इनिङ्समा ६.४२ को इकोनमीमा ८ विकेट लिएका छन् । कार जित्ने दौडमा जनकपुर बोल्ट्सबाट स्पिनर ललितनारायण राजवंशी पनि छन् । एनपीएलमा सर्वाधिक विकेटकर्ताको सूचीको पहिलो नम्बर वानमा ललित छन् । उनले एनपीएल अवधिभर १६ विकेट लिएका छन् । त्यस्तै, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामीलाई पनि कार जित्ने सक्ने सम्भावित सूचीमा राखिएको छ ।
मधेसमा पहिलो फोहर प्रशोधन केन्द्र सञ्चालन, आम्दानीको १२% पालिकालाई दिने
काठमाडौं । मधेस प्रदेशमा फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । महोत्तरीको बर्दिबास नगरपालिका र हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंको सहकार्यमा बर्दिबास-८ मा निर्मित फोहरमैला प्रशोधन केन्द्र शुक्रबार सञ्चालन भएको हो । प्रारम्भिक लागत १ करोड २० लाख रुपैयाँको खर्चमा निर्मित केन्द्र मधेसकै पहिलो भएको केन्द्रका प्रबन्ध निर्देशक सुरेन्द्र साहको भनाइ छ । बर्दिबास नगरपालिका र हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंबीच भएको सहमतिबाट यो केन्द्र सञ्चालनमा आएको हो । साझेदार कम्पनी हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंले २० वर्षको अवधि प्रशोधन केन्द्र सञ्चालनको सहमति नगरपालिकाबाट पाएको छ । यस अवधिमा फोहर सङ्कलन, व्यवस्थापन, प्रशोधनबाट हुने आम्दानीबाट १२ प्रतिशत नगरपालिकाले प्राप्त गर्ने सम्झौता रहेको दुवै पक्षले पुष्टि गरेका छन् । सञ्चालनमा आएको केन्द्रले शुक्रबारदेखि नै नगरक्षेत्रबाट सङ्कलित फोहर प्रशोधन गर्न थालेको छ । अहिले फोहर प्रशोधन गरेर खरानी बनाइने इन्सिनिटर मेसिनमात्र जडान छ । अब केही महिनाभित्रै थप मेसिन जडान गरेर मल बनाउन थालिने केन्द्रका प्रबन्ध निर्देशक साहले स्पष्ट पारे । ‘हामीले नगरक्षेत्रबाट सङ्कलित फोहर इन्सिनिटर मेसिनमा पेल्न थाल्यौँ, यसबाट जम्मा हुने खरानीबाट अब केही महिनाभित्रै उर्बर मल बनाउने कार्य सुरू हुन्छ,’ प्रबन्ध निर्देशक साहले भने, ‘यो फोहरमैला व्यवस्थापनमा मधेस प्रदेशकै पहिलो प्रयत्न हो ।’ यो केन्द्रले अब अहिलेसम्म बर्दिबास नगरक्षेत्रका घरघरबाट र चोक बजार क्षेत्रबाट सङ्कलन हुने फोहर नियमित पेलेर खरानी बनाउने छ । केन्द्रमा जडित इन्सिनेटर मेसिन दैनिक छ टन फोहर पेल्ने क्षमताको रहेको प्रबन्ध निर्देशक साहको भनाइ छ । अहिले बर्दिबास नगरक्षेत्रमा चार टन फोहर दैनिक सङ्कलन हुँदै आएको छ । प्रशोधन केन्द्र सञ्चालनले नगर क्षेत्रको फोहर व्यवस्थापन हुनसँगै यसबाट आम्दानी हुन थाल्ने बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षत्री बताउनुहुन्छ । केन्द्र सञ्चालनका लागि नगरपालिकाले तीन बिघा पर्ति जग्गा उपलब्ध गराएको छ । मल बेचेर प्राप्त हुने रकम र फोहर व्यवस्थापनका लागि घरघरै स्थानीय बासिन्दाबाट प्राप्त हुने शुल्क केन्द्रको आम्दानीको आधार हो । हाल नगरका तीन वटा वडा बस्तीबाट फोहर व्यवस्थापनबापत घरघरबाट गरी तीन लाख मासिक आम्दानी भइरहेको केन्द्रले जनाएको छ । अब नगरका १४ वटै वडा बस्तीमा फोहर सङ्कलन कार्य बढाइने साहले बताए । केन्द्र सञ्चालनमा आएपछि अब फोहर कहाँ लाने रु कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता नरहने नगरप्रमुख क्षत्री बताउँछन् । यता केन्द्रले मल बनाउने मेसिनहरू खरिद भइसकेको जनाएको छ । ‘मल बनाउने मेसिन खरिद भइसकेको छ, अब ती मेसिन जडान गर्न र सञ्चालन गर्न बढीमा छ महिना लाग्नसक्छ,’ प्रबन्ध निर्देशक साह भन्छन् । धेस प्रदेशमै पहिलो सञ्चालन भएको यो केन्द्रमा अहिले फोहर पेलेको हेर्न सर्वसाधारणको धुइरो लागेको छ । यो केन्द्रको सञ्चालनले मधेसमा फोहर व्यवस्थापनमा देखिँदै व्यहोरिँदै आइएको समस्या समाधानमा नयाँ उपलब्धि हासिल भएको यहाँका बुद्धिजीवी बताउँछन् । यो फोहरबाट मोहर बनाउने कार्यको मधेसका अन्य नगरले अनुसरण गर्नसके फोहर व्यवस्थापनमा व्यहोरिँदै आइएको समस्या समाधान हुने बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्का बताउँछन् ।