
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले जेठदेखि आधार दर लागू गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासक समीक्षा सार्वजनिक गर्दै २०८२ जेठदेखि आधार दरमा आवद्ध गरी कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो ।
‘लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिनेछ,’ राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको छ ।
आधार दर लागू गर्ने भएपछि लघुवित्तको ब्याजमा लगाइएको १५ प्रतिशतको क्याप हट्ने देखिन्छ । लघुवित्त संस्थाहरुले विगत लामो समयदेखि क्याप हटाएर आधारदर कायम गर्न माग गरिरहेका थिए ।
यसअघि क्याप लगाउँदा लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याजदरमा कर्जा दिन नपाउने व्यवस्था थियो । बैंकिङ प्रणालीमा लगातार ब्याजदर बढ्दो त्यसको प्रभाव लघुवित्त क्षेत्रमा देखिन्थ्यो ।