काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । योसँगै निजी क्षेत्रमा प्रवाहित कुल कर्जा ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कअनुसार समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोड रुपैयाँले मात्रै बढेको थियो । वार्षिक विन्दुगत आधारमा भने २०८३ असोज मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ८.३ प्रतिशतले वृद्धि भएको छ ।
निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.१ प्रतिशत रहेको छ । गत वर्षको असोजमा यी क्षेत्रको हिस्सा क्रमशः ६२.८ र ३७.२ प्रतिशत थियो ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा ३.२ प्रतिशत र विकास बैंकहरूको कर्जा ३.१ प्रतिशतले बढेको छ । वित्त कम्पनीहरूको कर्जा भने १.२ प्रतिशतले घटेको छ ।
घरजग्गा धितोमा ६२.७ प्रतिशत कर्जा
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये ६२.७ प्रतिशत कर्जा घरजग्गा धितो सुरक्षणमा आधारित रहेको छ । त्यस्तै, कृषि तथा गैरकृषिजन्य वस्तु अर्थात् चालु सम्पत्तिको सुरक्षणमा १५.५ प्रतिशत कर्जा प्रवाह भएको छ ।
गत वर्षको असोज मसान्तमा घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा ६४.३ प्रतिशत र चालु सम्पत्तिको धितोमा प्रवाहित कर्जाको हिस्सा १५ प्रतिशत थियो ।
क्षेत्रगत रूपमा समीक्षा अवधिमा खनिज क्षेत्रमा प्रवाहित कर्जा सबैभन्दा धेरै १७.८ प्रतिशतले बढेको छ । यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा १२.४ प्रतिशत र धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रमा १०.७ प्रतिशतले कर्जा बढेको छ ।
त्यस्तै, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ५.४ प्रतिशत, सेवा उद्योगमा ३.९ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ३.९ प्रतिशत, यातायात तथा निर्माण क्षेत्रमा ३.८ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा २.३ प्रतिशतले कर्जा वृद्धि भएको छ ।
उपभोग्य क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले बढेको छ । कृषि क्षेत्रमा २.५ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा भने ०.७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
विपन्न वर्ग कर्जा १५.१ प्रतिशतले बढ्यो
कर्जाका विभिन्न शीर्षकमा विपन्न वर्गतर्फ प्रवाहित कर्जा सबैभन्दा धेरै १५.१ प्रतिशतले बढेको छ । माग तथा अन्य चालु पुँजी कर्जा ५.२ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.५ प्रतिशत, ट्रस्ट रिसिप्ट (आयात) कर्जा २.९ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा २.९ प्रतिशत, आवधिक कर्जा २.६ प्रतिशत, अधिविकर्ष कर्जा १.५ प्रतिशत र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा क्यास क्रेडिट कर्जा भने १.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।