कालिञ्चोक दर्शनले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । कालिञ्चोक दर्शनले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। पौष ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले हालको चुक्ता पुँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाउने छ। कम्पनीले पौष २९ गते साधारणसभा बोलाएको छ। कम्पनीले बैंक ऋण चुक्ता गर्न, होटल निर्माण गर्न र ईन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न हकप्रद प्रस्ताव गरिएको उल्लेख गरेको छ।
धादिङका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले १० लाख ८९ हजार ९८९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा रुवीभ्याली गाउँपालिकाका तत्कालीन इन्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी, असिस्टेन्ट सबइन्जिनियर लालमान तामाङ, रुवीभ्याली–४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङ, पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सञ्जीव तामाङ र कोषाध्यक्ष सञ्चमाया तामाङ छन् । रुवीभ्याली गाउँपालिकाअन्तर्गत पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माण कार्यमा अनियमितता गरिएको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठजनाले आर्थिक वर्ष २०७६/७७ मा पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माण कार्य गर्दा १० लाख ८९ हजार ९८९ रुपैयाँ बढी भुक्तानी दिई तथा बुझी भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ । आइतबार दायर मुद्दामा जनही १० लाख ८९ हजार ९८९ रुपैयाँ बिगो दाबी गरिएको छ ।
५ महिनामा ११ अर्ब बढीको ईभी आयात, १०० किलोवाट मुनिका धेरै भित्रिए
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा ११ अर्ब बढीको विद्युतीय सवारी (ईभी) आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि मंसिर मसान्तसम्म ११ अर्ब २७ करोड २१ लाख रुपैयाँ बढीको ४ हजार ६९७ वटा कार, जीप र भ्यान आयात भएको हो । उक्त सवारीहरू आयातबाट सरकारले ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कुन देशबाट कति आयात ? भन्सार विभागका अनुसार सबैभन्दा धेरै ईभी चीनबाट आयात भएका छन् । कुल आयातको ७६.४१ प्रतिशत ईभी चीनबाट आयात भएका हुन् । चीनबाट ५० किलोवाटभन्दा कम क्षमताका ८५४ वटा, ५१ देखि १०० किलोवाट क्षमताका २ हजार २९७ वटा, १०१ देखि २०० किलोवाटका ४६० वटा, २०१ देखि ३०० किलोवाट क्षमताका ३ वटा र ३०० किलोवाट भन्दा धेरै क्षमता भएका २ वाटा ईभी आयात भएका छन् । चीनबाट कुल ३ हजार ५८९ वटा इभी आयात भएका हुन् । यसैगरी, भारतबाट १ हजार ९६ वटा ईभी आयात भएका छन् । जसमध्ये ५० किलोवाटसम्मका ६३६ वटा र ५१ देखि १०० किलोवाटसम्मका ४६० वटा ईभी भारतबाट आयात भएका छन् । जर्मनीबाट १०१ किलोवाट देखि २०० किलोवाटसम्मका ७ वटा र २०१ देखि ३०० किलोवाटसम्मका २ वटा गरी कुल ९ वटा ईभी आयात भएका छन् भने अमेरिकाबाट १०१ देखि २०० किलोवाट क्षमता भएका १ वटा र सोहि क्षमता भएको १ वटा ईभी दक्षिण कोरियाबाट आयात भएका छन् । कति क्षमताका गाडी धेरै आयात ? विभागका अनुसार ५१ देखि १०० किलोवाट क्षमताका भएका ईभी धेरै नेपालमा भित्रिएका छन् । पछिल्लो ५ महिनामा ५१ देखि १०० किलोवाट क्षमताका २ हजार ७५७ वटा गाडी नेपाल आयात भएका हुन् । यसैगरी, ५० किलोवाटसम्मका १ हजार ४९० वटा, १०१ देखि २०० किलोवाटसम्मका ४४३ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ५ वटा र ३ किलोवाटभन्दा धेरै क्षमता भएका २ वटा ईभी नेपाल आयात भएका हुन् । याे पनि ः ईभीमा कर छलीः सरकारसँग छैन क्षमता जाँच गर्ने मेसिन
पोखरामा दोस्रो नेपाल-चीन ड्रागन बोट रेस आयोजना हुने
काठमाडौं । पोखरामा दोस्रो नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस आयोजना हुने भएको छ । नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पोखरामा दोस्रो नेपाल(चीन मैत्रीपूर्ण ड्रागन बोट रेस आयोजना हुने भएको हो । आगामी पुस १४ र १५ गते आयोजना हुन लागेको ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ । २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समूह पाँच सय डलर पनि प्रदान गरिनेछ । ड्रागन बोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिवल पटक सफलतापूर्वक आयोजना गरिएको थियो । चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ । सो अवसरमा बोल्दै नेपालका लागि चिनीया राजदुतावासमा डेपुटी चप्फ अफ मिशन वाङ सिनले प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा राखिएको बताए । उनले नेपालको पर्यटन प्रर्वद्धन गर्न चीन सधैं सकारात्मक रहेको उल्लेख गरे । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि भएको उल्लेख गर्दै ड्रागन बोट रेसले पोखराको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । उनले ड्रागन बोट रेसले पोखराको पर्यटनमा नयाँ आर्कषण समेत थपेको बताए । चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेष्टिभल आयोजना हुन्छ । चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ । यस चाड मनाउन चीन सरकारले सार्वजनिक विदा दिएको हुन्छ । चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने गर्दछन् । चिनियाँ भाषामा ‘डुआन्वु जी’ भनिने ड्रागन बोट फेष्टिभल चीनको चारवटा ठूला चाडमध्ये एक हो । चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ । सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म ९२ हजार ८४८ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न लक्ष्मी सनराइज बैंक र आएफसीबीच सम्झौता
काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालमा यसप्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरू चाल्ने विश्वास बैंकले लिएको छ । अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्याउने जनाइएको छ । पति-पत्नि, वृद्ध आफन्त वा घरपरिवारका अन्य सदस्यहरूमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय स्रोतहरूको दुरुपयोग वित्तीय दुरुपयोग हो । यसमा परिवारका सदस्यहरूको बैंक खाता र कर्जाजस्ता वित्तीय साधनहरूको दुरुपयोग जस्तै- आफ्नो बैंक खाता आफ्नो नभई अरूको नियन्त्रणमा हुनु, वित्तीय संस्थाहरूबाट आफ्नो लागि नभई अरूका लागि ॠण लिन बाध्य बनाइनुजस्ता क्रियाकलापहरू पर्दछन् । यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिङ तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउने जस्ता गम्भीर प्रभाव पार्न पनि सक्छ । ‘वित्तीय दुरुपयोगले जनजीवनमा विभिन्न अवरोध पुर्याउनुका साथै वित्तीय प्रणालीप्रतिको विश्वासलाई पनि घटाउँछ । यस साझेदारीमार्फत हामी वित्तीय दुरुपयोगलाई पहिचान र रोकथाम गर्न वित्तीय संस्थाहरूमा नै मानकहरू लागू गरी प्रणालीगत सुधार ल्याउन र वित्तीय गतिविधिहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्न चाहन्छौं,’ आईएफसीका बङ्गलादेश, भुटान र नेपालको देशीय प्रबन्धक मार्टिन होल्टमानले भने । ‘एम्पावर फाइनान्स एलायन्स’ मार्फत आईएफसीले लक्ष्मी सनराइज बैंकलाई सुरक्षित बैंकिङ सेवाहरू विकास गर्न आवश्यक मार्गनिर्देशन दिनेछ । यसले बैंकलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ । ‘यो साझेदारी बैंकिङ क्षेत्रमा वित्तीय दुरुपयोग जस्तो महत्त्वपूर्ण तर प्रायः बेवास्ता गरिने समस्यालाई समाधान गर्नेतर्फ एक महत्त्वपूर्ण कदम हो,’ लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय विक्रम शाहले भने, ‘आईएफसीसँगको सहकार्यमा हामी वित्तीय सेवाहरूमा सुरक्षा र समावेशीतालाई पुनःपरिभाषित गर्दै नयाँ मापदण्डहरू स्थापना गर्ने र संवेदनशील समूहहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छौं ।’ गत अगस्ट महिनामा आईएफसीद्वारा अष्ट्रेलिया सरकारको समर्थनमा सुरु गरिएको ‘एम्पावर फाइनान्स एलायन्स’ मा नेपाल, पपुआ न्यु गिनी, श्रीलंका, भानुआतु, र भियतनामका नौ वित्तीय संस्थाहरू समावेश छन्, जसले सामूहिक रूपमा ३ करोडभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दछन् । हरेक बैंकसँग सहकार्य गर्दै यस एलायन्सले वित्तीय दुरुपयोगको जोखिम घटाउन सुरक्षित बैंकिङ सेवाहरूको मूल्याङ्कन, डिजाइन र विकास गर्न मार्गनिर्देशन प्रदान गर्दछ । यो सहकार्यले लक्ष्मी सनराइज बैंक र आईएफसीको समावेशीतालाई प्राथमिकता दिँदै सुरक्षित र न्यायसंगत वित्तीय प्रणाली सिर्जना गर्ने साझा दृष्टिकोणलाई पुष्टि गर्दछ । ‘एम्पावर फाइनान्स एलायन्स’ कार्यक्रम वित्तीय दुरुपयोग समाधान गर्न र उपेक्षित समुदायहरूको समर्थन गर्न बैंकिङ क्षेत्रका लागि नयाँ र उदाहरणीय पहल हो ।
रवि लामिछानेको सांसद पद स्वत: निलम्बनमा पर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद स्वत: निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम उनको सांसद स्वतः निलम्बन हुने भएको हो । लामिछानेउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म सांसद पद निलम्बन भएको हो । ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ । रास्वपाका सभापति लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत, कास्कीमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ जरिबानासहित बिगो दाबी गरिएको जनाएको छ ।
पाँच महिनामा ६ खर्ब ६१ अर्बको आयात, ७३ अर्बको निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा तीन प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । नेपालले पाँच महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा एक खर्ब ८५ अर्ब २१ करोड राजश्व संकलन गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको मंसिर मसान्तसम्ममा ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १६.५४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ६३ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार पाँच महिनामा नेपालको विभिन्न देशसँगको व्यापारघाटा ५ खर्ब ८७ अर्ब ८२ करोड पुगेको छ ।
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका हुन् । म्याग्दी हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ता बापतको ४७ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।