विकासन्युज

ईयूलाई ट्रम्पले दिए धम्की, अमेरिकाबाट तेल र ग्यास खरिद नगरे ट्यारिफ लगाउने

काठमाडौं । डोनाल्ड ट्रम्पले आफ्नो देशको भलाइका लागि अन्य देशलाई दबाब दिन थालेका छन् । राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले धम्कीको भाषा प्रयोग गर्न थालेका हुन् । उनले युरोपेली संघ (ईयू) लाई धम्की दिँदै अमेरिकाबाट तेल र ग्यास खरिद गरेर अमेरिकासँगको व्यापार घाटा कम गर्न लगाएका छन् । यदि युरोपेली संघले त्यसो गरेन भने ट्यारिफ अर्थात् उच्च कर लगाइनेछ । अमेरिकी तथ्याङ्कअनुसार सन् २०२२ मा अमेरिका र ईयूबीचको व्यापार घाटा १३१.३ अर्ब डलर थियो । युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले सीएनबीसीलाई जवाफ दिँदै भनेका छन्, ‘युरोपियन युनियन र अमेरिकाको अर्थतन्त्र निकै गहिरो छ । यसमा व्यापार र लगानी सन्तुलित छ । हामी ट्रम्पसँग हाम्रो पहिलेदेखि नै बलियो सम्बन्धलाई कसरी अझ बलियो बनाउन सक्छौं भनेर छलफल गर्न तत्पर छौं । यसमा ऊर्जा क्षेत्रमा हाम्रा साझा चासोहरूबारे छलफल पनि समावेश छ ।’ ईयूले रुससँगको सम्बन्ध तोड्ने ! इकोनोमिक टाइम्सका अनुसार गिलले ईयूले रुसी ऊर्जा आयात अन्त्य गर्ने बताएका छन् । उनले आपूर्ति स्रोत विविधिकरण गर्न ईयूको प्रतिबद्धता पनि उल्लेख गरे । एक वरिष्ठ ईयू कूटनीतिज्ञले सीएनबीसीलाई उनले ट्रम्पको भनाइको अपेक्षा गरेको बताएका छन् । उनले अमेरिकी आयात बढाउन ऊर्जालाई उत्तम विकल्प मानेका थिए । के हो युरोपेली संघ ? युरोपेली संघ अर्थात ईयू २७ युरोपेली देशहरूको राजनीतिक र आर्थिक गठबन्धन हो । अधिकांश देशले यूरो मुद्रामा व्यापार गर्दै आइरहेका छन् । यो दोस्रो विश्वयुद्धपछि गठन भएको थियो । यसमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन, स्वीडेन आदि देशहरू समावेश छन् । ईयूले आफ्नो निर्यातको करिब पाँचौं भाग अमेरिकामा पठाउँछ । अमेरिका ईयू निर्यातको सबैभन्दा ठूलो उपभोक्ता हो । तेलमा किन ध्यान ? विश्व तेल उत्पादनमा अमेरिका अग्रणी छ । सन् २०२३ मा विश्वभरको आपूर्तिको २२ प्रतिशत अमेरिकाबाट भएको थियो । ईआईएले २०२४ मा रेकर्डको रूपमा कच्चा तेल उत्पादनको भविष्यवाणी गरेको छ । ईयूले पहिले अमेरिकी ऊर्जा खरिद बढाउने योजनाहरू संकेत गरेको छ । ट्रम्पको धम्कीले शुक्रबार बिहान युरोपेली बजारमा गिरावट आएको थियो । धम्कीको प्रभाव ? यदि ईयूले ट्रम्पको भनाइलाई स्वीकार गरेन भने त्यसमा कर लगाइनेछ । यसको सीधा अर्थ हो कि ईयू देशका कम्पनीहरूले अमेरिकामा चीजहरू बेच्न थप कर तिर्नुपर्नेछ । यदि यस्तो भयो भने यी चीजहरू अमेरिकामा महँगो बिक्री हुनेछ, जसले तिनीहरूको बिक्रीलाई असर गर्नेछ । ट्यारिफको धम्की राष्ट्रपतिमा निर्वाचित भएसँगै ट्रम्पले ट्यारिफ लगाउने धम्की दिँदै आएका छन् । उनले सुरुमा चीन, क्यानडा र मेक्सिकोलाई ट्यारिफ लगाउने धम्की दिएका थिए । उनले ब्रिक्स राष्ट्रहरूलाई समेत ट्यारिफ लगाउने चेतावनी दिएका थिए । उनले यी देशहरूले डलरको विकल्पमा आफ्नै मुद्रा ल्याएमा शतप्रतिशत कर लगाउने चेतावनी दिएका हुन् । जनवरी २० मा ट्रम्पले राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्दैछन् । विशेषज्ञले दिइसके चेतावनी विज्ञहरूले अमेरिकी प्रशासनलाई ट्रम्पले यस प्रकारको कर लगाउने चेतावनी दिइसकेका छन् । यस्तो आयात करले आर्थिक वृद्धिमा मात्रै नभई मुद्रास्फीति पनि बढाउने विज्ञहरूको भनाइ छ । विज्ञहरूका अनुसार भन्सार बढाएर अमेरिकामा यी वस्तुहरू महँगो मूल्यमा बिक्री हुने भएकाले त्यसको असर आम मानिसलाई पनि पर्नेछ । (एजेन्सीको सहयोगमा)

नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब नजिक

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिना (साउनदेखि मसिंरसम्म) मा करिब २ खर्ब रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यो अवधिमा सरकारले १ खर्ब ९२ अर्ब २९ करोड ऋण लिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आन्तरिकतर्फ १ खर्ब ६४ अर्ब र बाह्रतर्फबाट २८ अर्ब २९ करोड रुपैयाँ ऋण सरकारले लिएको हो । सरकारले चालु आवमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष राखेको थियो । उक्त लक्ष्यको हालसम्म ३५.१५ प्रतिशत ऋण लिएको हो । मसिंर महिनामा मात्रै सरकारले ५८ अर्ब २४ करोड ऋण भुक्तानी गरेको छ भने २१ अर्ब ३३ करोड ऋण प्राप्ति भएको छ । विनिमय दरमा भएको घटबढका कारण मंसिर महिनामा २५ अर्ब ६४ करोड रुपैयाँ ऋण घटेको कार्यालयले जानकारी दिएको छ । यससँगै मंसिर मसान्तसम्म नेपालले तिर्न बाँकी ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो कुल ग्राहस्थ उत्पादनको ४३.६९ प्रतिशत हो । नेपालले तिर्न बाँकी ऋणमध्ये १२ खर्ब १७ अर्ब ६६ करोड आन्तरिक र १२ खर्ब ७४ अर्ब ७४ करोड बाह्य ऋण रहेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले ऋण भुक्तानीका लागि ४ खर्ब २ अर्ब २८ करोड रुपैयाँ छुट्याएको थियो । जसमध्ये १ खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ भुक्तानी पनि गरिसकेको छ । अर्थात् विनिजोजित रकमको ४२.३५ प्रतिशत रकम सरकारले ऋण भुक्तानीमा खर्च गरिसकेको छ । चालु आर्थिक वर्षमा ऋण प्राप्ति र भुक्तानी गरेको विवरण (मासिकरूपमा)

‘अचम्मै पो भो ! हिउँ नै परेन’

मनाङ । हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन । मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन् । स्थानीय हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन् । मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङदुङ गुरुङ भन्छन्, ‘हामी खेती किसानी र पशुपालन गरेर जीविकोपार्जन गर्ने मान्छेलाई समस्या भएको छ । हिउँ नपरेपछि पानी हुँदैन, पानी नभए खेती । खै, के भएर होला आजकल समयमा हिउँ पर्न छोड्यो ।’ समयमा हिउँ नपर्दा सिँचाइको अभावमा मुख्यगरी किसानलाई समस्या भएको गुरुङको भनाइ छ । ‘हिउँ परेको भए खेती पनि सप्रिन्थ्यो, त पानी नै पुग्दैन । किसानलाई त प्रकृतिले पनि ठग्न थाल्यो’, उनले सुस्केरा हाल्दै भने। केही वर्ष पहिलेसम्म हिउँ परेर यहाँका हिमाल सेताम्मे हुन्थे । पर्याप्त पानी हुँदा किसान ‘मानो रोपी मुरी उब्जाउने’ काममा व्यस्त हुन्थे । अचेल भने न हिमाल सेता छन् न त किसानले सजह रूपमा कृषिकर्म गर्न पाएका छन् । प्रमुख जिल्ला अधिकारी मातृका आचार्य पनि पुस लागिसक्दासमेत हिउँ नपरेपछि चकित छन्। हिउँ नपरी चिसो अत्यधिक बढेकाले उनलाई प्राकृतिक नियम नै फेरिएजस्तो महसुस भइरहेको छ । ‘जिल्लाका अधिकांश ठाउँमा चिसोका कारण पिउने पानीसमेत जमेका छन् तर हिउँ भने परेको छैन । जसले प्रकृतिको भरमा खेती गर्नुपर्ने किसान निराश छन् । अरु मानिस नियमित प्राकृतिक चक्र नै बिथोलिन थालेकामा चिन्तित छौँ’, आचार्यले भने। पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ विगत केही वर्षदेखि हिउँ पर्ने समय बदलिँदै गएको बताउँछन् । यसले उत्पादन घट्दै गएको र खेतीबाली नै परिवर्तन गर्नुपर्ने अवस्था आउन थालेको उनको अनुभव छ । ‘हिउँकै पानीले सिँचाइ हुने यहाँ हिउँ नै नपरेपछि पानीको अभाव देखिने नै भयो । प्राकृतिक स्वभाव फेरियो, अब हामीले पो कसरी फेरिने होला ? यस्तो अवस्थासँग कसरी अनुकूलित हुने होला !’, उनले गुरुङले जिज्ञासा राखे । स्थानीय फुर्वा छिरिङ लामाले पनि यहाँको हावापानीमा परिवर्तन भएको अनुभव गरेका छन् । उनी भन्छन्, ‘यतिबेला हिउँले सेताम्मे भएर घर बाहिर निस्कन वा कामकाज गर्नै सकस हुन्थ्यो । खै ! अचेल त हिउँ नै नपरी चिसो मात्रै बढ्छ । यो त अचम्मै भयो ।’ रासस

लाभांश पारित गर्न श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गते सोमबार, ३० औं वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुने जनाइएको छ । सभाले हाल कायम चुक्ता पूँजीको कर सहित १.६८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने संस्थापक समूहतर्फ रिक्त रहेको १ जना सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

अमेरिकी कम्पनी हेल्थ एलायन्स ग्रुप इंकमा रिलायन्सको ४५ प्रतिशत सेयर

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले अर्को कम्पनीमा सेयर पाएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रिलायन्स इन्डस्ट्रिजले शनिबार यसको सहायक कम्पनी रिलायन्स डिजिटल हेल्थ लिमिटेड (आरडीएचएल) ले हेल्थ एलायन्स ग्रुप इंक (एचएजीआई) को ४५ प्रतिशत सेयर खरिद गर्न सम्झौता गरेको बताएको छ। यो सम्झौता १० मिलियन डलर अर्थात करिब ८४ करोड ९५ लाख २५ हजार भारुमा भएको हो । एचएजीआई एक अमेरिकी कम्पनी हो । डेलावेयरमा मुख्यालय रहेको यो कम्पनी गत वर्ष डिसेम्बर २१ मा स्थापना भएको थियो । यसले अमेरिका, भारत र विश्वका अन्य देशमा गरिबहरूका लागि प्रविधिमा आधारित समाधानहरू डिजाइन गर्दछ । यो कम्पनी स्वास्थ्य सेवा, आईटी र इनोभेसनमा काम गर्दै आइरहेको छ । रिलायन्सले रेगुलेटरी फाइलिङमा यो लगानीले रिलायन्स डिजिटललाई भर्चुअल डायग्नोस्टिक र केयर प्लेटफर्म विकास गर्ने क्षमता प्रदान गर्ने जनाएको छ । साथै यसले गरिब जनतालाई स्वास्थ्य सेवाको पहुँचमा सहज बनाउनेछ । यो लगानी कुनै सम्बन्धित पार्टी कारोबार नभएको बताइएको छ र यसमा कम्पनीका प्रवर्तकहरू, प्रवर्तक समूह वा समूह कम्पनीहरूको कुनै चासो छैन । यो कारोबार दुई हप्ताभित्र पूरा हुने अपेक्षा गरिएको छ । यसका लागि कुनै सरकारी वा नियामक स्वीकृतिको आवश्यकता पर्दैन ।

पिपुल्स हाइड्रोपावरको हकप्रद संशोधन

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर संशोधन गरेको छ । कम्पनीले १६ औं वार्षिक साधारण सभाले पारित गरेको हकप्रद सेयर संशोधन गरेको हो । कम्पनीको १६ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई संशोधन गर्दै कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले सो हकप्रद सेयर १७ औं वार्षिक साधारण सभाले पारित गरेपश्चात निष्कासन गर्नेछ ।

सेतीखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सेतीखोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित यही पुस २८ गते आइतबार नवौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कान्तिपथस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो । सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिको गठन गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।

४८ वर्ष सरकारी अस्पतालमा काम गरेकी डा. लताको विज्ञता अब निजी अस्पतालमा

काठमाडौं । उमेर ओरालो लाग्नेबित्तिकै धेरैजसो ज्येष्ठ नागरिक भन्छन्, ‘अब आराम गर्नुपर्ने बेला भयो ।’ काम गर्न सक्नेहरू पनि अब सक्दिनँ भन्दै आराम गर्न थाल्छन् । काम गरिरहेकाहरूलाई पनि अरूले भन्छन्, ‘यो उमेरमा पनि के काम गरिबसेको ?’ यस्तै-यस्तै । तर डा. लता बज्राचार्य ७० वर्ष लागिसक्दा समेत अहिले पनि उही जोस, जाँगरका साथ आफ्नो काममा व्यस्त छिन् ।  उनको दैनिकी बिरामी  हेर्दै, जाँच गर्दै जान्छ । कहिले मिटिङ, कहिले अस्पताल, कहिले साथीभाइ भेटघाट यसैगरी दिनहरू बितिरहेका छन् । मंसिर अन्तिम साता भेटिएकी उनी भन्छिन्, ‘घरमा त्यत्तिकै बस्न मनै लाग्दैन, कहिले कता, कहिले कता, सकेसम्म बाहिरै हिँडिरहन्छु ।’ ४८ वर्ष सरकारी अस्पतालमा काम गरेकी डा. लता आफ्नो रिटायर्ड लाइफ पनि अस्पतालमै बिताइरहेकी छिन् । उनी पुतलीसडकमा रहेको क्यापिटल अस्पतालमा कार्यरत छिन् ।  काठमाडौंको नेवार समुदायमा हुर्की बढेकी उनी उपत्यकाभन्दा बाहिर खासै गएकी छैनन् । तर पढाइको शिलशिलामा भने उनी भारत, थाइल्याण्ड, जर्मनलगायत विभिन्न देश पुगेकी छिन् । डा. लताले प्रभात स्कुलमा कक्षा १ सम्म पढिन् । कक्षा २ पछि भने उनको अध्ययन यात्रा कन्या मन्दिरमा स्कुलबाट सुरु भयो । उनले २०२२ सालमा एसएलसी पास गरेकी थिइन् । महिलालाई पढ्न हुँदैन भन्ने जमानामा पढेर डाक्टर बनेकी लतालाई पढाउँदा गाउँलेले निकै कुरा काट्थे । छोरी पढाउँदा चिठी लेखेर लभ गरी भाग्छन् भन्थे आजभन्दा ६०-७० वर्ष अगाडि काठमाडौं अहिलेको जस्तो सहर थिएन । यहाँको दैनिकी पनि गाउँको जस्तै थियो । जङ्गल थियो, मान्छे गाईवस्तु पाल्थे, धान गहुँ मजाले फल्थ्यो । अहिलेको जस्तो सिमेन्टले टालेको सहर थिएन । आमाबुवा हजुरआमा सबैसँगै बस्ने ठूलो परिवार थियो । उनको घरमा पढेलेखेको कोही थिएन । लता घरको जेठी छोरी थिइन् । उनी पछाडि भाइबहिनी थिए ।  लता स्कुल जाँदा घरको सबै काम गर्नुपर्ने जिम्मा उनकी आमाको थाप्लोमा आउँथ्यो । बिहानदेखि साँझसम्म काममा हुँदा हजुरआमाले छोरीलाई घरकै काम गराउन कर गर्थिन् । तर उनकी आमाले भने मानिनन् ।  ‘छोरीलाई घरको काम सिकाउनुपर्छ, स्कुल पठाउने होइन, हजुरआमाले संधै आमालाई भन्नुहुन्थ्यो,’ बालापनका दिन सम्झदै उनी भन्छिन्, ‘बज्यै कराउनुहुन्थ्यो तर, मैले पढ्न छोडिनँ ।’ लताका बुवा सुन पसलमा काम गर्थे । उनो आफ्नै पसल थियो । उनका बुवा ५-६ कक्षासम्म पढेका थिए । उनकी आमालाई अक्षर चिन्न गाह्रो थियो । तर सानोमा कखदेखि  अआ सबै उनकी आमाले नै सिकाउँथिन् ।  ‘त्यो बेला छोरीलाई स्कुल पढाउँदा चिठी लेखेर लभ गर्छन् अनि भाग्छन् भनिन्थ्यो,’ उनी भन्छिन, ‘छोरी पढाएर के पाउँछेस्, छोरीलाई बिगार्ने भयो भन्दै सबैले बुवालाई गाली गर्थे तर, मेरो बुवाले मलाई जहिले पढ्नुपर्छ पढ् मात्र भन्नुभयो ।’   डाक्टर बन्ने सपना लताले सानोमा डाक्टरलाई देखेकी थिइनन् । तर उनको चाहना डाक्टर बन्ने थियो । परिवारबाटै स्कुल जाने सबैभन्दा पहिलो उनी नै हुँदा कसैले यो नै बन्नुपर्छ समेत भनेका थिएनन् । तर उनका बुवालाई जे पढे पनि छोरीले पढ्नुपर्छ भन्ने थियो ।  स्कुलमा शिक्षकले ‘तेरो जीवनकाे लक्ष्य के हो’ भन्यो भने लता ‘म डाक्टर बन्न चाहन्छु’ भनेर भन्थिन् । उनले स्कुलमा मिहिनेत गरेर पढिन् । २०२२ सालमा एसएलसी पास भइसकेपछि उनी अमृत साइन्स क्याम्पसमा भर्ना भइन् ।  लताले आफ्नो डाक्टर बन्ने सपना रहेको बताएपछि उनलाई बायोलोजी लिएर पढ्न सल्लाह दिइयो । प्लस टुपश्चात्  उनले इण्डियन एम्बेसीको छात्रवृत्ति पाइन् ।  एमबीबीएस पढ्न भारत जानुपर्ने भयो । उनले भारतको कोलकताबाट  एमबीबीएस पास  गरिन् । ५ वर्षपश्चात उनी २०३३ सालमा नेपाल फर्किन् ।  त्यो बेला घरमा पारिवारिक समस्या हुँदा उनले चिकित्सक-स्नातकोत्तर तह (पीजी) गर्न पाइनन् । पीजी गर्न नपाएपछि उनले वीर अस्पतालमा काम सुरु गरिन् । २०३४ सालमा उनले लोकसेवा आयोगबाट नाम निकालेर सरकारी जागिर सुरु गरिन् ।  वीर अस्पतालको यात्रा वीर अस्पतालमा काम सुरु गर्ने बित्तिकै लताले प्रसूति तथा स्त्रीरोग वार्डमा काम गरिन् । त्यो बेला स्त्रीरोग वार्ड ५० शैय्या  थियो । त्यो बेला अहिलेको जस्तो भीड त थिएन तर, मान्छे भने उतिखेर पनि धेरै आउँथे ।  उनले वीर अस्पतालमा ८ वर्ष काम गरिन् । त्यो बीचमा उनले वीर अस्पतालको इमर्जेन्सी वार्डमा पनि काम गरिन् । इमर्जेन्सीमा काम गर्न गाह्रो थियो । प्रहरीले सडकमा हल्ला गर्ने मान्छेलाई छोपेर इमर्जेन्सीमा ल्याउँथे । रक्सी खाएको हो कि होइन जाँच गर्नुपर्थ्यो । रक्सी खाएको थाहा भए प्रहरीले कारबाही गर्थ्यो । उनी भन्छिन्, ‘रातिमा पनि काम गर्नुपर्थ्यो , कहिलेकाहीं जँड्याहा आउँथे, मलाई देख्दै डर लाग्थ्यो, त्यहाँ धेरै समय काम गर्न सकिनँ ।’  प्रसूतिमा विशेषज्ञता  एमबीबीएस कोर्स साढे ४ वर्षको कोर्स थियो । जसमा  १ महिना कलेजले विद्यार्थीलाई अनुभवका लागि अस्पतालमा पठाउँछन् । लतालाई पनि कलेजले कोलकाताकै एक अस्पतालको गाइनो विभागमा पठायो । त्यहाँ उनले महिलालाई व्यथा लागी रोईकराई गरेको देखिन् । उनलाई झन् डर लाग्यो ।  लता त्यहाँ बस्न नसक्ने भइन् । तर कलेजले पठाएअनुसार दिनमा कति बिरामी हेर्‍यो, के-के काम गर्‍यो, सबै रिपोर्ट बनाउनुपर्थ्यो । उनलाई गाह्रो भयो । पढाइ सकिएपछि १ वर्ष इन्टर्नसीप गर्नुपर्छ । जहाँ तीन/तीन महिना फरक-फरक वार्डमा काम गर्नुपर्ने हुन्छ । तर त्यो बेला भने उनलाई डर लागेन ।  बरु उनलाई यो क्षेत्रमा काम गर्न रुचि लाग्यो । ‘त्यो तीन महिनामा त मलाई निकै रुचि लाग्यो अनि मैले यही विषयमा पीजी गर्नुपर्छ भन्ने निर्णय लिएँ,’ लता भन्छिन्, ‘सुरुमा डर लाग्ने मलाई बुझ्दै जाँदा त यही विषय महत्त्वपूर्ण लाग्यो ।’  विशेषज्ञता हासिल गर्न फेरि पढाइ   वीर अस्पतालमा काम गर्दै जाँदा उनी विशेषज्ञ बन्न ढाकामा अध्ययन गर्न गइन् । त्यहाँ उनले स्त्री रोग तथा प्रसूतिमा पीजी गरिन् । पढाइपछि उनी फेरि नेपाल आइन् । त्यो बेला वीर अस्पतालको प्रसूति वार्ड थापाथलीमा गाभिने भन्ने कुरा चलेको थियो । उनी आएको दुई/तीन महिनापछि वीर अस्पतालको वार्ड थापाथलीमा गाभियो ।  उनी पनि थापाथली अस्पतालमा गइन् । वीरमा काम गर्दा उनी मेडिकल अधिकृतसम्म भएकी थिइन् । त्यहीबेला उनलाई विराटनगर सरुवा गरियो । काठमाडौंभन्दा बाहिर उनलाई बाहिर बस्न गाह्रो भयो । लामो समयसम्म बाहिर बस्न सकिनन् । त्यहाँ ५ महिना मात्र. काम गरेर फेरि फर्किइन् । लताले  तराईमा सर्प बढी हुन्छ भन्ने सुनेकी थिइन् ।  उनी सर्पसँग निकै डराउँथिइन् । ल्याप्रोस्कोपी सर्जरीमा पनि विज्ञता स्त्री तथा प्रसूति रोग विशेषज्ञको रूपमा लामो समय काम गरेकी लतालाई फेरि अर्को विषयमा विज्ञता हासिल गर्न मन लाग्यो । अस्पताल आउने कतिपय महिलाको अप्रेसन गर्नुपर्थ्यो । अप्रेसन गर्दा बाहिरी भाग धेरै चिर्नुपर्छ । त्यो बेला  ल्याप्रोस्कोपी सर्जरी नयाँ थियो ।  उनलाई यो विषयमा जान्न र पढ्न मन लाग्यो । उनी जर्मन र इण्डियामा तालिम गर्न पुगिन् । त्यही बेला उनले ३ महिना थाइल्याण्डमा गएर फेलोसिप गरिन् ।  लताले अस्पतालमा अप्रेशन गर्नेदेखि लिएर अस्पतालको व्यवस्थापकीय जिम्मा लिने मौकासमेत पाइन् । थापाथलीमा कर्मचारीको रूपमा काम गरेर उनी पहिले रजिष्टार त्यसपछि सिनियर रजिष्टार हुँदै कन्सलटेन्ट भइन् । त्यसपछि २ वर्ष डेपुटी डिरेक्टर भएर काम गरिन् भने २ वर्ष अस्पतालको निर्देशक भइन् । उनी निर्देशक पदबाटै सरकारी जागिरेबाट रिटायर्ड भइन् । महिलाका समस्या केही उस्तै, केही बढे ४८ वर्ष नेपालका महिलाको उपचारमा बिताएकी लता अहिले पनि महिलामा उस्तै समस्याहरू रहेको बताउँछिन् । केही समस्या पहिलाभन्दा कम देखिएका भए पनि अहिले धेरै नयाँ देखिएका छन् ।  लताले सुरुवाती काम गर्दा महिलामा सबैभन्दा ठूलो समस्या पाठेघर खस्ने थियो । यो समस्या लिएर महिलाहरू धेरै आउँथे । तर, आजभोलि यो समस्या पहिलेको जस्तो नभएको उनी बताउँछिन् । ‘आजभोलि पनि यो समस्या होला तर पहिलेको जस्तो देख्दिनँ,’ उनी भन्छिन्, ‘आजभोलि अरू समस्या देखिन्छन्, यो समस्या खासै देखिँदैन ।’ त्यो बेलाका महिलाहरू सबै काम आफै गर्थे । बच्चा धेरैले घरमै जन्माउँथे । त्यो बेला महिलामा पाठेघर खस्ने समस्या धेरै थियो । यसलाई मध्यनजर गर्दै सरकारले पाठेघरको फ्री अप्रसेन गर्ने प्रोजेक्ट सञ्चालन गरेको थियो । उनी पाठेघरको मुखको क्यान्सर पहिलेको तुलनामा अहिले कम भएको बताउँछिन् ।  भन्छिन्, ‘आउन त यो समस्या ल्याएर अहिले पनि धेरै महिला आउनुहुन्छ तर, पहिलेको तुलनामा अहिले कम छ । अहिले विभिन्न खोपहरू आएका छन्, महिला आफै पनि सचेत भएका छन् ।’ अहिले गाउँगाउँमा बर्थिङ सेन्टर बन्दा महिलाहरू बच्चा जन्माउन अस्पतालमै पुग्छन्  । यस्तै सेवा सुधिाले यो समस्या कम भएको उनको भनाइ छ ।  बाँझोपन बढ्यो  लता आजभोलि नेपाली महिलामा बाँझोपन बढ्दै गएको बताउँछिन् । पहिलेको तुलनामा यो समस्या लिएर अस्पताल आउने महिलाको संख्या बढी भएकाले बढेको भन्न सकिने उनको भनाइ छ । उनका अनुसार यसको कारण ढिलो उमेरमा बिहे गर्नु, धेरैसँग शारीरिक सम्पर्क राख्नूलगायत हुन् ।  ‘पहिले १८/२० वर्षमै बिहे हुन्थ्यो, २०/२५ वर्षमा छोराछोरी ठूला भइसक्थे,’ लता भन्छिन्, ‘आजभोलि त्यस्तो छैन, ३०-३५ मा बिहे गर्छन्, फेरि ४-५ वर्षपछि बच्चा जन्माउने योजना हुन्छ, यसले गर्दा पनि समस्या देखिन्छ ।’ महिलाहरू ३५ वर्ष पुगेपछि आभेरीले राम्रोसँग काम गर्न छाड्छ । जसका कारण बच्चा बस्न गाह्रो हुन्छ । लताका अनुसार आजभोलिका कतिपय किशोरी बिहे नगरेरै धेरैसँग शारीरिक सम्पर्क गर्दा विभिन्न किसिमका इन्फेक्सन हुने, धेरै गर्भपतन हुनुका साथै बाँझोपनको समस्या हुने गरेको छ  । अहिले सबैभन्दा बढी यौन सञ्चारित रोगको समस्या लिएर धेरै आउने गर्छन् । यसका साथै अरू कारण पनि हुनसक्ने उनी बताउँछिन् ।  पीसीओडी पनि बढ्यो अहिले किशोरदेखि ४० वर्षसम्मका महिलामा देखिने पोलिसिस्टी ओभरियन डिजिज (पीसीओडी) को पहिले नामसमेत सुन्न गाह्रो पर्थ्यो ।  तर आजभोलि धेरै जसो महिलामा यो गम्भीर समस्याका रूपमा आएको उनी बताउँछिन् ।  आजभोलि यो समस्या लिएर अस्पताल पुग्नेहरूको संख्या निकै बढी छ । उनी यसको कारण बदलिँदो खानपान र जीवनशैली रहेको बताउँछन् । उनी भन्छिन्, ‘पहिला महिला आफ्नै बारीमा व्यस्त हुन्थे, बारीको अर्गानिक खानाहरू खान्थे, जीवनशैली राम्रो थियो, यो रोग पनि थिएन,’ उनी भन्छिन्, ‘आजभोलि काम गर्न छोडे, पिज्जा अनि बर्गर खान थाले, यस्तो समस्या बढ्दै गयो ।’   साथै आजभोलि नियमित महिनावारी नहुने, कहिल्यै छिटो-छिटो महिनावारी हुने, कहिले ३-४ महिनामा एक पटक हुने समस्या बढ्दै गएका छन् । खानपिनका कारणले यो समस्या आएको उनी बताउँछिन् ।  रुवाउने एउटा घटना लतासँग जीवनमा काम गर्ने क्रममा भएका तीतामीठा धेरै अनुभव छन् । केही घटनाले आजसम्म आनन्द दिन्छ भने केहीले अहिले पनि झस्काउँछ । यस्तै, एउटा नमीठो घटनाले उनलाई अहिले पनि झस्काउँछ । घटना त्यो बेलाको हो  जब उनी प्रसूति गृहमा कन्सलटेन्ट भएर काम गरिरहेकी थिइन् ।  एकजना महिलाले पहिलो सन्तान अप्रेसन गरेर जन्माएकी थिइन् । उनी दोस्रो पटक फेरि बच्चा जन्माउन अस्पताल पुगिन् । उनको पेटमा दुई जुम्ल्याहा बच्चा थिए । सुरुवातदेखि लताले नै उनको जाँच गर्दै आएकी थिइन् । समय बित्दै जाँदा उनको गर्भवती हुने मिति नजिक आयो । लताले उनलाई अस्पतालमा भर्ना गरिन् । अप्रेसनको तयारी गरिन् । उनले अर्को डाक्टरको टोलीलाई अप्रेसनको जिम्मा दिएर आफू अर्को काममा लागिन् । अप्रेसन गर्ने बित्तिकै अत्यधिक रक्तस्राव भयो ।  अप्रेसन गर्ने डाक्टरले लतालाई फोन गरेर बोलायो । उनी हतारहतारमा गइन् । रगत देखेर उनलाई पनि डर लाग्यो । रोक्ने प्रयास गर्दा पनि रोकिएन । लताले अर्को डाक्टरलाई पनि बोलाइन् तर दैवको अगाडि कसैको सीप चलेन । ती महिलाको मृत्यु भयो । उनलाई यो घटनाले अहिले पनि दुःख लाग्छ । पटक-पटक जाँच गर्न अस्पताल आउँदा भेटेको, कुराकानी गरेको झझल्को आँखामा आउन लाग्यो । हप्ता दशदिनसम्म उनी राम्रोसँग सुत्न सकिनन् । के कारण यस्तो भयो, मैले कहाँ गल्ती गरें, कसरी यस्तो भयो  उनको मनमा यस्ता कुराहरू खेल्न थाले । त्यो घटना सम्झँदै उनी भन्छिन्, ‘अप्रेसन गर्नु अगाडि अल्ट्रासाउण्ड गरेर साल कतिसम्म टाँसिएको छ भनेर हेर्न मिल्थ्यो, त्यो हेरेर अप्रेसन गरेको भए जोगाउन सकिन्थ्यो कि । ’ अहिले उनका जुम्ल्याहा बच्चा पनि ठूला भइसकेका छन् । तर पनि लतालाई यो कुरामा अहिले पछुतो लागिरहन्छ । यही घटनाले सिकाएको पाठ लता त्यो बेला थापाथली अस्पतालसँगै क्यापिटल अस्पतालमा पनि अप्रेसन गर्ने काम गर्थिन् । त्यो अस्पतालमा पनि ठ्याक्कै एउटा केश त्यस्तै आयो  । उनको पनि पहिलो बच्चा अप्रेसन गरेर निकालिएको थियो । दोस्रो बच्चा हुँदा ३२ हप्तामा रगत देखिन थालेछ । ती महिलालाई देख्नेबित्तिकै उनलाई थापाथलीमा भएको घटनाको याद आयो ।  उनले ती महिलालाई क्यापिटलबाट प्रसूति गृहमा पठाइन् । त्यो बेला उनी प्रसूतिमा सहायक निर्देशकको रूपमा कार्यरत थिइन् । उनले यो घटनाबारे त्यहाँको निर्देशकसँग कुरा गरिन् । त्यसपछि लता र निर्देशक मिलेर अप्रेसन गर्ने निधो गरे ।  सुत्केरी हुनुभन्दा अगाडि सालको अवस्था कस्तो छ भनेर अल्ट्रासाउण्ड गरेर हेरिन् । ती महिलाको पनि साल पाठेघरमा टाँसिएर बसेको थियो । उनले साल भएको ठाउँबाट नकाटी अर्को ठाउँमा काटेर बच्चा निकाले । पहिलेको केश जस्तै अत्यधिक रक्तस्राव भयो । तर उनीहरूले बच्चासँगै पाठेघर नै निकालेर फाले । पाठेघर निकाल्दा ती महिलाको ज्यान जोगाउन सफल भएको उनले बताइन् । उनलाई यी दुई घटना जीवनका सबभन्दा पीडादायी र खुसीदायी लाग्छन् । भन्छिन्, ‘एउटाको ज्यान जोगाउन सकिएन, त्यो घटनाले पाठ सिकायो । उस्तै घटनाले अर्को महिलाको ज्यान जोगायो ।’   परिवारलाई समय छुट्याउन गाह्रो कहिले अस्पताल, कहिले क्लिनिक लतालाई आफ्नो र परिवारका लागि समय छुट्याउन गाह्रो थियो । उनले काम गर्दै-गर्दा एकजना आर्थोपेडिक डाक्टरसँग बिहे गरिन् । बिहेपछि उनको छोरी जन्मिन् । छोरीलाई हेर्न त्यति समस्या भएन ।  किनकि यता घरमा पनि संयुक्त परिवार थियो, उता माइतीमा पनि आमाबुवा थिए ।  छोरी जन्मेको ७ वर्षपछि छोरा जन्मे । छोराछोरीलाई हुर्काउन, पढाउन एउटा महिलालाई निकै चुनौती हुन्छ । एकातिर काम अर्कोतिर छोराछोरी उनलाई हुर्काउन समस्या थियो । भन्छिन्, ‘यता आफ्नो काम,अर्कोतिर बच्चा निकै समस्या भएको थियो, तर जब मैले बच्चा राम्रो हेर्ने एउटा महिला पाएँ, त्यसपछि मलाई निकै सहज भयो ।’  छोराछोरीलाई पढाउन घरमै शिक्षक राखेकी थिइन् । घरमा शिक्षक आएपछि  बच्चा जिम्मा लिगाएर काममा जान्थिन् ।  अहिले लताकी छोरी पनि डाक्टर छिन् । छोरा एमबीए पढेर आफ्नै बिनसेस गरिरहेका छन् । यता लताको उमेरले डाँडा काट्दैछ तर उनको काम गर्ने जाँगर भने अझै घटेको छैन । उनमा अझै पनि काम गर्ने हुटहुटी छ ।  अहिले पनि लता दिनहुँ महिलाहरूका समस्या सुन्ने र त्यसको उपचार गर्ने काममा व्यस्त छिन् । ४८ वर्षदेखि निरन्तर यही पेशामा क्रियाशी लताले कतिजनाको उपचार गरिन्, त्यसको लेखाजोखा राखेकी छैनिन् ।  अहिले काम गरेको त्यो अवधि हेर्दा लतालाई गर्वको महसुस हुन्छ । ‘यो अवधिमा धेरैलाई खुसी दिएँ, सेवा गर्न पाउँदा यो नै ठूलो कुरा हो,’ उनी भन्छिन्, ‘आफूले जानेको सिकोको कुरा दिन पाउनुभन्दा अरू खुसी के हुन सक्छ र ।’  अब कहिलेसम्म काम गर्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘ जबसम्म मैले सक्छु, तबसम्म काम गर्छु, सक्ने हुँदाहुँदै घरमा बसेर खान मलाई मन लाग्दैन, जुन दिन शरीरले साथ दिँदैन त्यो दिन म थन्किएर बस्ने छु ।’