विकासन्युज

एक समय ‘स्पेसएक्स’ बचाउन मस्कले गाडी बेचे, अहिले संसारकै मूल्यवान स्टार्टअप कम्पनी

काठमाडौं । विश्वकै धनी व्यक्ति एलन मस्कको अटो कम्पनी टेस्लाको बारेमा धेरैलाई थाहा छ । यो संसारको सबैभन्दा मूल्यवान अटो कम्पनी हो । यसको मार्केट क्याप लगभग १.४ ट्रिलियन डलर छ, जुन विश्वव्यापी अटो उद्योगको लगभग आधा हो । तर मस्कको अर्को कम्पनी स्पेसएक्स संसारको सबैभन्दा मूल्यवान स्टार्टअप कम्पनी बनेको छ । यसको मूल्य ३५० बिलियन पुगेको छ । मस्कले मंगल ग्रहमा मानिस पठाउने सपना देखेका थिए र यही मिसनका साथ उनले २००२ मा स्पेसएक्स स्थापना गरेका थिए । मस्क रकेट व्यवसायको बादशाह बन्न चाहन्छन् र यसमा उनी धेरै हदसम्म सफल पनि भएका छन् । यस कम्पनीको नाममा धेरै रेकर्डहरू छन् र अन्तरिक्ष उद्योगमा स्पेसएक्स ठूलो नामको रूपमा उभिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आज आफ्ना अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाउन स्पेसएक्सका रकेटहरू प्रयोग गरिरहेको छ । तर यहाँसम्म आउन स्पेसएक्सको यात्रा त्यति सहज थिएन । कम्पनीले एकपछि अर्को धेरै असफलताको सामना गर्नुपर्‍यो । कुनै बेला मस्कले जम्मा गरेको सबै पैसा यसैमा लगानी गरेका थिए । उनले रुसबाट रकेट किन्ने प्रयास पनि गरे तर सफल हुन सकेनन् । उनले आफ्नो सबै पैसा गुमाएका थिए र आफ्नो कार पनि बेच्नु परेको थियो । तर मस्कले कहिल्यै हार मानेनन् । एकदिन आफ्नो सपना पूरा हुनेमा उनी ढुक्क थिए । रुसमा अपमान अमेरिकी व्यापार स्तम्भकार र लेखक एश्ली भान्सले मस्कबारे लेखेको पुस्तक एलन मस्क: टेस्ला, स्पेसएक्स, र एउटा अद्भुत भविष्यको खोज’ मा स्पेसएक्ससँग सम्बन्धित घटना उल्लेख गरेका छन् । यस पुस्तकमा मस्कका उपलब्धिहरू, उनी कसरी टेस्ला, स्पेसएक्स, र अन्य इनोभेटिभ कम्पनीहरूमा संलग्न भए र भविष्यप्रति उनीसँग रहेको महत्त्वाकांक्षाको कथा वर्णन गरिएको छ । त्यो बेलामा स्पेसएक्स गठन भएको थिएन । मस्क रकेट प्रक्षेपणमा दुईदेखि तीन करोड डलर खर्च गर्न चाहन्थे । तर विज्ञहरूले यो सम्भव नभएको बताएका थिए । मस्कले रकेट प्रक्षेपणको लागत कति लाग्ला भन्ने जान्नका लागि रुस जाने योजना बनाए । उनी रुसबाट आईसीबीएम किन्न चाहन्थे र यसलाई आफ्नो प्रक्षेपण वाहनको रूपमा प्रयोग गर्न चाहन्थे । रकेट र मिसाइलमा एउटै प्रविधि प्रयोग गरिन्छ । यस कामका लागि मस्कले जिम क्यानट्रेल नामका व्यक्तिको सहयोग लिएका थिए । क्यान्ट्रेललाई जासुसीको आरोप लगाइएको थियो र सन् १९९६ मा रुसमा नजरबन्दमा राखिएको थियो । यही कारणले उनी रुस जान चाहँदैनथे तर मस्कले उनलाई मनाएरै छाडे । सन् २००१ को अक्टोबरमा मस्क, क्यान्ट्रेल र मस्कको कलेज साथी एडियो रेसी मस्को आइपुगे । मस्क र उनको टोलीले रुसीहरूसँग तीन पटक कुरा गरे । तर कुरा हुन सकेन । एक बैठकको दौरान एक रुसी प्रमुख डिजाइनरले क्यान्ट्रेल र मस्कलाई थुके । क्यान्ट्रेल भन्छन्, ‘रुसी प्रमुख डिजाइनरले म र एलनमाथि थुकेका थिए किनभने उसले सोचेको थियो कि हामी बकवास छौं ।’ कसरी गरे कमाल ? खासमा मस्कले रकेटका लागि २ करोड डलर जम्मा गरेर राखेका थिए । यसबाट तीनवटा आईसीबीएम खरिद गर्न सकिने उनको विश्वास थियो । एक बैठकमा मस्कले रुसीहरूलाई आईसीबीएमको लागत के हुन्छ ? भनेर सोधे । त्यसपछि मस्कले ८० लाख डलर लाग्ने जवाफ पाए । मस्कले यति पैसामा कम्तीमा दुईवटा आउने बताए । तर रुसीहरूले यो मूल्यमा मिसाइल वितरण नगर्ने बताए । मस्कले रुसीहरू यस सम्झौताको बारेमा गम्भीर नभएको वा उनीबाट सकेसम्म धेरै पैसा उठाउन चाहेको महसुस गरे । उनी ठूला सपना बोकेर रुस गएका थिए तर रित्तो हात फर्किए । उनी निराश भए तर हार मानेनन् । त्यसपछि मस्कले रकेट आफै बनाउने निर्णय गरे । उनले जुन २००२ मा स्पेसएक्सको स्थापना गरेका थिए । तर कम्पनीलाई आफ्नो रकेट सफलतापूर्वक उडान गर्न छ वर्ष लाग्यो । स्पेसएक्स सन् २००८ मा चर्चामा आएको थियो जब यसको रकेट स्याटेलाइटको अर्बिटमा पुग्न सफल भयो । सन् २०१० मा स्पेसएक्सको रकेटले एउटा पेलोडलाई अर्बिटमा राख्यो र त्यसपछि सुरक्षित रूपमा पृथ्वीमा फर्कियो । स्पेसएक्सको सफलताको मुख्य कारण यो हो कि कम्पनीले रकेटमा प्रयोग हुने लगभग ८० प्रतिशत सामग्री आफै उत्पादन गर्छ । यसले उत्पादन लागत कम गर्न कम्पनीलाई महत्त्वपूर्ण मद्दत गरेको छ । (एजेन्सीहरूको सहयोगमा)

सूर्योदय वोमी लघुवित्तले घटायो लाभांश, वार्षिक साधारण सभा आह्वान

काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घटाएको छ । संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ का लागि घोषणा गरेको लाभांश संसोधन गरेर घटाएको हो । मसिंर ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई ७ करोड ३० लाख अर्थात ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त लाभांश घटाएर संस्थाले ७ करोड २६ लाख रुपैयाँ वितरण गर्ने भएको हो । जसमध्ये ६ करोड २६ लाख रुपैयाँ अर्थात ६ प्रतिशत बोनस सेयर र १ करोड ४ लाख रुपैयाँ अर्थात १ प्रतिशत नगत लाभांश वितरण गर्ने सञ्चालक समितिले निर्णय गरेको थियो । तर, पौष ५ गते बसोको संस्थाको सञ्चालक समितिको बैठकले उक्त लाभांश संसोधन गरेको हो । संस्थाले बोनस सेयर वितरण ६ प्रतिशतलाई नै निरन्तरता दिएको छ भने नगद लाभांस लाई १ प्रतिशतबाट ०.९६२३ प्रतिशतमा झारेको छ । अर्थात, संस्थाले १ करोड ४३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । सो संस्थालको हाल १ अर्ब ४ करोड ३६ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । साथै संस्थाले वार्षिक साधारण सभा पनि आह्वान गरेको छ । संस्थाले १३औँ वार्षिक साधारण सभा पौष २८ गतेका लागि आह्वान गरेको हो । वार्षिक साधारण सभा प्रयोजनका लागि पौष २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय संस्थाले गरेको छ । ललितपुरको लभु पार्टी प्यालेसमा विहान ११ बजेबाट सभा सुरु हुने पनि संस्थाले जानकारी गराएको छ ।

मुग्लिन-काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

भरतपुर । मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ । यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछ ।

सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक सय रुपैयाँ र चाँदी प्रतितोला तीस रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार हुनेछ ।

१०.५२ प्रतिशत लाभांश वितरण गर्ने ग्रिन भेन्चर्स कम्पनीको घोषणा

काठमाडौं । ग्रिन भेन्चर्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । पुस ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशन बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सिवाइसी नेपाल लघुवित्तले लाभांश नदिने

काठमाडाैं । सिवाइसी नेपाल लघुवित्तले वित्तीय संस्थाले लभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको हो । पुस ६ गते बसेको संस्थाको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो। कम्पनीले वितरणयोग्य मुनाफा संचित गरि लाभांश नदिने निर्णय गरेको हो । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

रविलाई अदालत उपस्थित गराइयो

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । आइतबार अदालत खुलेको केही समयमा जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका लामिछानेलाई अदालत ल्याइएको हो । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुँदै छ । यसअघि शुक्रबार, पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीका तत्कालीन अध्यक्ष तथा ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । बाँकी प्रतिवादीहरूविरुद्ध आज अभियोग दर्ता गराउने तयारी गरिएको छ ।

घोराही सिमेन्टले ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ७.५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । जस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजेदेखि होटल पौवा, घोराही–१५ दाङमा हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।