विकासन्युज

भारतमा बियरबाट परिवर्तन ल्याउँदै महिलाहरू

काठमाडौं । भारतको बढ्दो क्राफ्ट बियर दृश्यको अंशका रूपमा वर्षा भट दुई तरिकाले दुर्लभ छिन्, पहिलो मदिरा बनाउने महिलाका रूपमा र दोस्रो मदिरा पिउने महिलाका रूपमा । भट एउटा यस्तो देशमा पुरुष–प्रभुत्व भएको उद्योगमा आफ्नो दाबी गरिरहेकी छिन, जहाँ सामाजिक परम्पराहरूले धेरैजसो महिलालाई मदिरापान नगर्न बाध्य पार्छन् । ३८ वर्षीया भटले धेरै वर्षसम्म पुरुष साथीहरूको व्यङ्ग्य  । तिनीहरूले उनीसँग विशेष स्वादको परख गर्ने मांसपेशी छ कि छैन वा कामको दबाब सम्हाल्न पर्याप्त शान्त छन् कि छैनन् भन्ने प्रश्न गर्दथे । तर उद्योगमा एक दशकपछि उनी बेगंलुरुको सबैभन्दा लोकप्रिय पबहरू मध्ये एकमा हेड ब्रुअर बन्न पुगेकी छिन् । सहरको धनी युवा प्रविधि कामदारहरूको सेवा गरेकी छन् । ‘एक महिलाले गर्न नसक्ने केही पनि छैन जुन एक पुरुषले गर्न सक्छ, रेसिपी विकासदेखि, शारीरिक कामसम्म, टोली व्यवस्थापनसम्म’, भटले भनिन्, ‘हामीले अगाडि आउन र हामी यो गर्न सक्छौँ भनेर भन्नका लागि यो कदम चालेका छौँ, एउटा कलङ्क थियो ! हामी ती रूढीवादी र बाधाहरू तोड्दैछौँ ।’ सरकारी तथ्यांक अनुसार ९९ प्रतिशत महिलाले मदिरापान नगर्ने भारतको बाँकी भागभन्दा उदार मदिरा संस्कृतिका लागि बेगंलुरु लामो समयदेखि प्रसिद्ध छ । यसको प्रख्यात प्रविधि उद्योगले प्रायः सहरमा स्थापित सामाजिक सम्बन्धहरू नभई कुलीन विश्वविद्यालयहरूबाट आउने युवा र उच्च शिक्षित कार्यबललाई रोजगारी दिन्छ । यसले बेगंलुरुको फस्टाउँदो क्राफ्ट बियर बारहरूमा जोडदार व्यापार प्रदान गर्दछ । बेगंलुरुमा घरभित्रै ब्रुअरी छन् जसले सयौँ कामदारलाई रोजगारी दिन्छन् र नयाँ मानिसहरूसँग भेट्न उत्सुक र पैसा खर्च गर्न तयार ग्राहकहरू छन् । आधिकारिक तथ्यांक अनुसार काम गर्ने उमेरका महिलामध्ये २५ प्रतिशत मात्र औपचारिक रूपमा रोजगारीमा रहेको भारतमा सहरको कार्यबल एउटा अनौठो उदाहरण हो । तुलनात्मक रूपमा तिनीहरूले बेगंलुरुका प्रविधि फर्महरूमा काम गर्नेहरूको लगभग ४० प्रतिशत हिस्सा ओगटेका छन् । यो सहरको भारतका अन्य ठाउँबाट महत्त्वाकांक्षी महिलाहरूलाई आकर्षित गर्ने क्षमताको प्रमाण हो । तीमध्ये ठूलो सङ्ख्यामा कामपछि बारहरूमा साथीहरूसँग चर्को आवाजमा कुराकानी गरिरहेको देखिन्छ । रोल मोडेल तीमध्ये ३२ वर्षीया लिनेट पाइरेस पनि छिन । उनी औषधि अनुसन्धानकर्ताका रूपमा काम गर्न बेगंलुरु जाए तर चाँडै आफूलाई पेय पदार्थ बनाउने व्यवसायमा आकर्षित भएको पाइन् । सहरको दक्षिणमा फस्टाउँदो बाहिरी बियर गार्डेनमा ब्रुअर बन्ने उनको बाटोले उहाँलाई आफूलाई गम्भीरताका साथ लिन अस्वीकार गर्ने पुरुष सहकर्मीहरूमाथि आफूलाई दाबी गर्न बाध्य तुल्यायो । ‘त्यहाँ अधिकांश पुरुष–प्रभुत्व भएको कोठामा उभिएर तपाईंको विचार व्यक्त गर्न वा तिनीहरूलाई सुन्न लगाउन कोशिश गर्दै तपाईंले त्यो कसरी पार गर्ने र पछाडि छोड्ने सिक्नुपर्छ’, उनले भनिन् । चार वर्षअघि उनले महिला ब्रुअर्स कलेक्टिभ स्थापना गरिन । यसले सहरका ब्रुपबहरूमा काम गर्ने दर्जनौँ अन्य महिलासँग मिलेर पछि आउनेहरूका लागि बाटो सहज बनाउने लक्ष्य राखेको छ । ‘म निश्चित रूपमा अन्य महिला ब्रुअरहरूका लागि एक रोल मोडेल बन्न चाहन्छु’, पाइरेसले भनिन्, ‘उद्योगमा प्रवेश गर्ने अन्य महिलाहरूलाई प्रेरित गर्न र विकास गर्न मद्दत गर्ने कुरा यही हो ।’ कटु पुरुष, कटु बियर भट र पाइरेस आफ्नै सहरमा पथप्रदर्शक भए तापनि महिलाहरू प्राचीन कालदेखि नै मदिरा बनाउने उद्योगका आधारस्तम्भ रहेका छन् । पहिलो अभिलेखित बियर रेसिपी १८०० ईसा पूर्वमा माटोको टुक्रामा बियरको सुमेरियन देवी निन्कासीको सम्मानमा लेखिएको मानिन्छ । त्यही समयतिर मेसोपोटामियामा प्राचीन कानूनहरूमध्ये एक हम्मुराबीको संहितामा महिला पानपसल मालिकहरूको उल्लेख गरिएको थियो । ‘यो इतिहासलाई ध्यानमा राख्दै जब मानिसहरूले यो पुरुषको पेय हो भन्छन् भने यो पागलपन र अलि अपरिपक्व र अज्ञानता हो’, भारतको बियर उद्योगको बारेमा पोडकास्ट होस्ट गिरिजा चट्टीले भने । भारतमा मदिरापानलाई प्रायः तिरस्कार गरिन्छ । स्वतन्त्रता नेता महात्मा गान्धी संयम र उन्मूलनको पक्षमा सबैभन्दा कडा आवाजहरू मध्ये एक थिए । भारतको सन् १९४९ को संविधानले सरकारलाई ‘औषधीय उद्देश्यहरू’ बाहेक मदिरापानमा रोक लगाउन आदेश दिन्छ, केही राज्यमा लागू गरिएको निषेधाज्ञा बाहेक यो खण्ड धेरैजसो बेवास्ता गरिन्छ । मदिरापान भारतीयहरूको सानो अल्पसङ्ख्यकमा पनि लिङ्गहरू बीचको विभाजन स्पष्ट छ । सन् २०२२ मा प्रकाशित सरकारी स्वास्थ्य सर्वेक्षण अनुसार महिलाहरू भन्दा लगभग १५ गुणा धेरै पुरुषहरूले ग्रहण गर्छन् । बारहरूमा जाने थोरै महिलाहरूको बीचमा त्यो विभाजन र त्यसको सामाजिक अपेक्षाहरू अझै पनि सजिलै देख्न सकिन्छ । चट्टीले वेटरहरूले पहिलो स्थानमा माग्ने महिलाको सट्टामा टेबलमा बसेको कुनै पनि पुरुषलाई पेय पदार्थको मेनु हस्तान्तरण गर्ने नियमित उदाहरणलाई उद्धृत गर्छिन् । ‘यदि महिलाहरूले कटु पुरुषहरूलाई सम्हाल्न सक्छन् भने उनीहरू कटु बियरलाई राम्रोसँग सम्हाल्न सक्छन्’, उनले हाँसो गर्दै भनिन् । रासस

मौद्रिक नीतिको समीक्षापछि चम्कियो सेयर बजार, १८६ कम्पनीको मूल्य बढ्दा साढे ११ अर्बको कारोबार

काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.१५ अंकले बढेर २८१५ बिन्दुमा पुगेको छ । आज १८६ कम्पनीको मूल्य बढ्दा ५२ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३०० कम्पनीको २ करोड ६१ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ९६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ७६ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४६ करोड, सिङगटी हाइड्रो इनर्जीको २४ करोड र कुमारी बैंकको २० करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बिहीबार सेयर बजारका सबै सेक्टर बढेका छन् । बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशत बढेको छ । बैंकिङ पछि उत्पादन सेक्टर २.९१ प्रतिशतले बढेको छ । व्यापार १.२०, अन्य १.०१, निर्जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.९१, जीवन बीमा ०.८१, लगानी १.२५, हाइड्रोपावर १.८०, होटल तथा पर्यटन १.१२, फाइनान्स ०.२८ र विकास बैंक समूह १.५३ प्रतिशतले बढेको छ । मौद्रिक नीतिको समीक्षाले सेयर बजारका लागि खासै सन्तोषजनक नीति नल्याए पनि सेयर लगानीकर्ता खुसी हुँदा कारोबार गर्दा रकम बढेको हो । नेपाल राष्ट्र बैंकले समीक्षामार्फत् असल कर्जाको कर्जा नोक्सानी अनुपातलाई १ प्रतिशत कायम गरेको थियो । यसले बैंकको आम्दानी बढ्ने धेरैको अपेक्षा छ ।

उग्र रुप लिँदै दिपक र कुलमानको विवाद, ‘मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन’

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विवादले उग्र रुप लिन थालेको छ । मन्त्री खड्काले उनलाई हटाउनका लागि निरन्तर सोधेको स्पष्टीकरण र कुलमानको अटेर तथा स्पष्टीकरणको जवाफमा प्रयोग गरिएको भाषाले दुई व्यक्तिबीचको विवादले उग्र रुप लिएको बुझ्न सकिन्छ । उर्जामन्त्री खड्का अहिले जसरी पनि कुलमानलाई प्राधिकरणबाट हटाउने लयमा छन् भने घिसिङ त्यसको नतिजा कुरिरहेका छन् । अहिले दुवै निकायका प्रमुखबीच भइरहेको विावदले उग्र रुपल लिँदा प्राधिकरणको कामकारवाही पनि प्रभावित भएको बुझिएको छ । निरन्तर स्पष्टीकरण माग गरिरहेका उर्जामन्त्री खड्काले मंगलबार पनि उनीसँग २४ घण्टे स्पष्टीकरण माग गरे । बिहीबार सो स्पष्टीकरणको जवाफ दिँदै घिसिङले मन्त्रालयले आफूलाई स्पष्टीकरण सोध्न नसक्ने बताएका छन् । उनले बिहीबार ऊर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाउँदै मन्त्रालयले आफूलाई बारम्बार स्पष्टीकरण सोधेर कानुन र न्यायको सिद्धान्त विपरित काम गरिरहेको उल्लेख गरेका छन् । उनले आफूलाई मन्त्रालयले नभई मन्त्रिपरिषदले मात्रै स्पष्टीकरण सोध्न सक्ने बताएका हुन् । उनले स्पष्टीकरण दिँदै भनेका छन्, ‘म नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार नेपाल विद्युत प्राधिकरण ऐन २०४१ को दफा १७ (१) बमोजिम चार वर्षको निम्ति नियुक्त भएको हुँ , निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार कानुन व्याख्या सम्बन्धि ऐन २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली २०६४ को नियम २१ र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धको सेवा शर्त तथा सेवा सुविधा व्यहोरा पुनः निवेदन गर्दछु ।’ यस्तै, उनले जवाफमा स्पष्टीकरणमा कसुर एकिन नगरी गोश्वरा आरोपमा कारवाही गर्न नमिल्ने पनि उल्लेख गरेका छन् । उनले यसअघि दिएका स्पष्टीकरण अस्वीकार गरिनुको ठोस कारण समेत खुलाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘म उपर लगाइएका सबै आरोपहरु मनोगत हुन्, मेरो नियुक्ति पश्चातको प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्दछ, तसर्थ आत्मगत रुपमा जवाफ चित्तबुझ्दो नभएको भनि पुनः स्पष्टीकरण माग गरिएको कानुन र न्यायको मान्य सिद्धान्त प्रतिकुल छ ।’

नेपाल लाइफद्वारा ‘छुट्ला है छुट’ योजना सार्वजनिक, यस्ता छन् सुविधा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है छुट’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा मिति २०८१/११/१५ देखि २०८२/२/१३ गते सम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताए । उनले बीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकको लागि सार्वजनिक गरिएको र व्यतित भएका बीमालेखहरु समयमा नै नविकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरेका छन् ।  साथसाथै बीमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न आग्रह गरे ।

नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन् । भेटका अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए । उनले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरुको लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरुलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले विदेशी लगानीकर्ताहरुको लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको लागि आकर्षक क्षेत्र रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गरे । उनले सरकारले निजी क्षेत्रका सरोकारहरुलाई सम्बोधन गरी विभिन्न कानुनहरु अध्यादेशमार्फत संशोधन गरी लगानीको लागि अझ सहज वातावरण तयार गरेको जानकारी दिए । टोलीमा फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्याली लगायत एक दर्जन भन्दा बढी कम्पनीका प्रतिनिधिहरु सहभागी थिए । समिट बिहीबारबाट काठमाडौंमा सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाले ‘काठमाडौं शैक्षिक मेला’ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभागृहमा ‘काठमाडौं शैक्षिक मेला’ आयोजना गर्ने भएको छ । महानगरपालिकाद्वारा थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो । बिहीबार यहाँ आयोजित पत्रकार सम्मलेनमा कामपाका प्रवक्ता नविन मानन्धरले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए । विद्यालय शिक्षालाई वैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचिका साथै अभिभावकको चाहनाअनुरुप सञ्चालन गर्न सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको उनले बताए । मेलामा महानगरभित्र सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकको क्षमता विकासलगायत कार्यक्रम समावेश गरिने छ । साथै मेलामा महानगरको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्ने छन् । विभिन्न ३५ वटा शैक्षिक उपसमूहका स्टल रहने मेलामा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरूले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्ने जनाइएको छ । नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायनलगायत प्रस्तुति समावेश गरिनेछ । विद्यार्थी नमूना संसद् अभ्यास, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, ‘बुक फ्री फ्राइडे’को बाबा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका एक हजार बढी ‘स्केचिङ’को नमूना प्रदर्शनी, नतिजा सुधारका असल अभ्यासको आदानप्रदान तथा महानगरका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्रको व्यवस्था गरिने प्रवक्ता मानन्धरले जानकारी दिए । उनका अनुसार मेलामा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच छलफल गरिनेछ । महानगरभित्र ८७ सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ विद्यार्थी र पाँच सय २४ संस्थागत विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ विद्यार्थी अध्ययनरत छन् । महानगरका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको बताए । उनका अनुसार यसबाट प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्री फ्राइडे (एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सीप), टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रम सञ्चालन भइरहेका छन् । विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहुवर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ कार्यान्वयनमा ल्याइएका छन् । यसरी सञ्चालन गरिएका कार्यक्रमबाट सैद्धान्तिक शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाएर समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनमा योगदान गर्ने महानगरपालिकाको लक्ष्य छ । महानगरपालिकाले सञ्चालन गरेका यी कार्यक्रमलाई लक्षित समुदाय, वर्ग र व्यक्तिसम्म पुर्‍याउन सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

ईयूबाट आयात हुने वस्तुमा अमेरिकाले २५ प्रतिशत कर बढाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठकमा युरोपेली संघ (ईयू) को जन्म अमेरिकालाई ‘मजबुत बनाउन’का लागि भएको बताएका छन् । ‘युरोपेली युनियनको गठन संयुक्त राज्य अमेरिकालाई पेचिलो बनाउनका लागि गरिएको हो । यसको उद्देश्य यही हो र उनीहरूले यसमा राम्रो काम गरेका छन् । तर, अहिले म राष्ट्रपति भएको छु ।’ ट्रम्पले आफ्नो पछिल्लो कर वृद्धिको विवरण चाँडै सार्वजनिक गर्ने बताएका छन् । ‘हामीले कर वृद्धिसम्बन्धि एउटा निर्णय गरेका छौं, त्यसलाई चाँडै नघोषणा गर्नेछौं, करवृद्धि २५ प्रतिशत हुनेछ,’ उनले भने । युरोपेली आयोगले ट्रम्पको भनाइप्रति तुरुन्तै जवाफी प्रतिक्रिया दिँदै भनेको छ, ‘युरोपेली संघ विश्वको सबैभन्दा ठूलो स्वतन्त्र बजार हो । यो संयुक्त राज्य अमेरिकाका लागि वरदान साबित भएको छ ।’ इयूले नयाँ कर वृद्धिको ‘दृढतापूर्वक र तुरुन्तै’ प्रतिक्रिया दिने पनि बताएको छ । हालैका साताहरूमा, अमेरिकी प्रशासनले युरोपेली सामानहरूमा उच्च आयात करहरू लगाउने प्रतिज्ञा गरेको र यसले संयुक्त राज्य अमेरिका र युरोपबीचको साझेदारीलाई उथलपुथलको अवस्थामा पु¥याएको छ । अमेरिकाले इयूबाट अमेरिका निर्यात हुने सामानमा लगाउने करको हाराहारीमा नै उसको सामानमा कर वृद्धि हुने दाबी इयूका अधिकारीले गरेका छन् । एजेन्सी

एक अर्ब ५० करोड डलरको क्रिप्टो चोरीको आरोप, हालसम्मकै बढी

  काठमाडौं । अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले उत्तर कोरियामाथि गत हप्ता एक अर्ब ५० करोड डलरको डिजिटल सम्पत्ति चोरी गरेको आरोप लगाएको छ । यो इतिहासमा सबैभन्दा ठूलो क्रिप्टो चोरी हो । ‘उत्तर कोरिया क्रिप्टोकरेन्सी एक्सचेन्ज, बाइबिटबाट लगभग एक अर्ब ५० करोड अमेरिकी डलर मूल्य बराबरको भर्चुअल सम्पत्ति चोरीको लागि जिम्मेवार थियो,’ एफबिआईले एक सार्वजनिक सेवा घोषणामा भनेको छ । ब्युरोले लाजारस ग्रुप पनि भनिने ट्रेडरट्रेटर एक समूह चोरीको पछाडि रहेको बताएको छ । ‘उनीहरू दु्रत गतिमा अघि बढिरहेका छन् र चोरी गरिएको केही सम्पत्तिलाई बिटकोइन र अन्य भर्चुअल सम्पत्तिमा परिवर्तन गरिसकेका छन् जुन धेरै ब्लकचेनहरूमा हजारौँ ठेगानामा फैलिएका छन्,’ ब्युरोले भनेको छ, ‘यी सम्पत्तिहरू थप रूपमा धुलाइ गरिने र अन्ततः फिएट मुद्रामा परिवर्तन गरिने अपेक्षा गरिएको छ ।’ उत्तर कोरियाली नेता किम जोङ उनको उपहास गर्ने फिल्म ‘द इन्टरभ्यु’ को बदलामा सोनी पिक्चर्समा ह्याकिङ गरेको आरोप लागेपछि लाजारस समूहले एक दशकअघि कुख्याति प्राप्त गरेको थियो । उत्तर कोरियाको साइबर–युद्ध कार्यक्रम कम्तीमा सन् १९९० को मध्यदेखि सुरु भएको हो । सन् २०२० को अमेरिकी सैन्य प्रतिवेदन अनुसार, त्यसबेला देखि यो छ हजार जना सदस्य भएको साइबर-युद्ध एकाइ बनेको छ जसलाई ब्युरो १२१ भनिन्छ र यो धेरै देशबाट सञ्चालन हुन्छ । एजेन्सी ।