विकासन्युज

आइएमई ग्रुपको लगानीमा बन्ने जालपादेवी केबलकारको शिलान्यास, ५ अर्ब लागत लाग्ने

काठमाडौं । कैलालीको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् । परराष्ट्र मन्त्री डा. देउवाले भनिन्, ‘सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाहरुले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरु विकासप्रेमी पनि छन् । हाम्रो सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भब्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुनेछ ।’ यस आयोजनालाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्शाउन सबैमा अपिल पनि मन्त्री डा. देउवाले गरिन् । यो आयोजना समयमै सम्पन्न गर्न तथा आगामी दिनमा यो क्षेत्रका सम्भावना र आवश्यकता हेरेर यो क्षेत्रमा पर्यटन लगायतका पूर्वाधारहरुमा बढी भन्दा बढी लगानी गर्न पनि उनले आग्रह गरिन् । ‘काठमाडौंको चन्द्रागिरिदेखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरू निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु । यहाँहरुको दक्षता, अनुभव र क्षमता अनुसार यो केबलकार प्रोजेक्ट समयमै सम्पन्न होस् भनी कामना गर्दछु,’ उनले भनिन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले आज निर्माण हुने केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए । उनले नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह समेत गरे । ‘सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा आधुनिक विकासका ठूला पूर्वाधारहरु निकै कम छन् । यस्ता पूर्वाधारका थप आयोजनाहरु लिएर हाम्रो क्षेत्रमा आउनुहोस् । हामी तपाईहरुलाई स्वागत गर्दछौँ,’ उनले भने । उनले वन विकासमा बाधक नभई सहयोगी बन्ने बताउँदै यस्ता विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न आग्रह गरे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार यस कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने बताए । उनले सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकासका आयोजनाहरुलाई हर सम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै बढी भन्दा बढी मात्रामा लगानी आकर्षित गर्ने काममा लाग्न लगानीकर्ताहरुलाई आग्रह पनि गरे । जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेका बताए । ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ,’ उनले भने । उनले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुने बताए । अध्यक्ष ढकालले केवलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाइ जालपादेवी केवलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए । यसको शिलान्यास र अवको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दलहरु र नेपाल सरकारका निकायहरुको सहयोग अन्य केवकार निर्माण क्षेत्रका लागि उदाहरण बन्न पुगेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । लम्की चुहाँ नगरपालिका-३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका-७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कुल ५ अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् ।

च्याउ मेला पुस १५ गते हुने, च्याउका परिकार निशुल्क पाइने

काठमाडौं । राष्ट्रिय च्याउ दिवस पुस १५ गते आयोजना हुने भएको छ । च्याउ उत्पादक किसान संघ, नेपालले च्याउ मेला तथा प्रदर्शनीसहित दिवस मनाउन लागेको हो । कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको संघले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने मेलामा ४० वटा स्टलहरूमा च्याउसंग सम्बन्धि विभिन्न विषयहरूमा प्रदर्शनी रहने अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए । मेला आयोजना हुने दिन बिहान ७ बजे कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डप ठुलो चौरसम्म मोटरसाईकल ¥याली आयोजना गरिनेछ । मेलामा च्याउका बिभिन्न परिकारहरूको बिभिन्न स्टलहरूमा प्रदर्शनी गरिने समेत संघले जनाएको छ । गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको ब्यवहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिनेछ । बिभिन्न स्टलहरूमा भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको प्रदर्शनी, राष्ट्रिय कलाकारहरूको उपस्थितीमा विशेष सांस्कृतिक कार्यक्रम लगायत कार्यक्रम आयोजना गरिने अध्यक्ष कार्कीले जानकारी दिए । मेलामा प्रवेश निशुल्क रहेको र च्याउका परिकारहरू निशुल्क चाख्न पाइने छ । मेलामा करिब १५ हजारले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । मेला आयोजना गर्नका लागि करिब २५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको उनले बताए । नेपालमा हाल च्याउ खेतिमा करिब ३५ हजार किसानहरू आवद्ध रहेको समेत संघले जानकारी दिएको छ । नेपालभरको बिभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब १५ अर्ब रुपैयाँ हाराहारीमा रहेको अध्यक्ष कार्कीले जानकारी दिए । साथै नेपालमा अहिलेसम्म च्याउको बिउ उत्पादन गर्ने ल्याबको संख्या ६७ वटा रहेको उनले जानकारी दिए । संघका अनुसार नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरूमा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेका छन् ।

नेफाको अध्यक्षमा राजेन्द्र संग्रौला निर्वाचित, को-को छन् कार्यसमितिमा ?

काठमाडौं । नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । नेफाको २४औं वार्षिक सधारण सभापश्चात् भएको निर्वाचनबाट अध्यक्षमा संग्रौला, वरिष्ठ उपाध्यक्षमा नरेश कुमार अग्रवाल, उपाध्यक्षमा अशोक मान कपाली, महासचिवमा हरि प्रसाद ढकाल, कोषाध्यक्षमा इश्वर बहादुर गुरुङ, सचिवमा सुजन कुमार न्यौपाने, सहकोषाध्यक्षमा सञ्जिव अर्याल निर्वाचित भएका हुन् । यस्तै, कार्यकारिणी समिति सदस्यहरुमा सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ, गंगाराम पुडासैनी, गंगा बहादुर राया, सजिव शाक्य, राजेश चन्द्र प्रधानाङ्ग र प्रनुषा कार्की निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट निर्मल पौडेललाई कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेको एशोसिएसनले जनाएको छ । संघ विधानको व्यवस्था अनुसार सल्लाहकार समितिको संयोजकमा पूर्वअध्यक्ष प्रकाश सिंह कार्कीलाई मनोनीत र निवर्तमान अध्यक्ष मनोज अधिकारी कार्यकारिणी समितिको पदेन पदाधिकारी बनेका छन् । नवनिर्वाचित अध्यक्ष संग्रौलाले संस्थालाई नयाँ आयामबाट माथि उठाउने बताए । सरकार तथा सम्बन्धीत निकायसँग सहकार्य गरी फ्रेट फरवार्डस व्यवसायको प्रभावकारितामा अझै सुधार ल्याउने उनको भनाइ छ । अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नयाँ प्रविधिको अवलम्बन गर्दै नयाँ पुस्तालाई फ्रेट फर्वाडिङ्गको पेशामा आकर्षित गर्ने, कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्न प्रशिक्षण र क्षमता विकास तथा कार्य सहजता, भन्सार प्रक्रियाहरुको सरलीकरण र सहजीकरण तथा सीमा क्षेत्रमा भएका अन्य समस्याहरु समाधान गर्न निरन्तर पहल गरिने उनले बताए ।

लुम्बिनी सेरामिक्सको एक्स्क्लुसिभ डिलर चितवनमा, ५ सय बढी डिजाइनमा टायल पाइने

काठमाडौं । भिट्रिफाइड टायल्स, लेमिनार टायल्सको उत्पादक लुम्बिनी सेरामिक्सले पहिलो एक्स्क्लुसिभ डिलरको रुपमा चितवनको रत्ननगरस्थित जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सलाई नियुक्त गरेको छ । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी र लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको रत्ननगर–३ शान्तिचोकमा अवस्थित जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सको उद्घाटन गरे । कम्पनीको डिलरशिपका चार श्रेणीहरूमध्ये ‘एम्पोरियो’ सबैभन्दा प्रिमियम हो । जसले लुम्बिनी सेरामिक्सद्धारा उत्पादित टायल्सको सम्पूर्ण संग्रहहरुको वितरण गर्छ । गत मंसिरबाट औपचारिक उत्पादनमा आएको लेमिनार टायल्सलाई इञ्जिनियर, निर्माण ब्यवसायिक, इन्टेरियर डिजाइनर तथा ग्राहकहरूद्धारा अत्याधिकरुपमा रुचाइएको कम्पनीले दाबी गरेको छ । कम्पनीले आफ्ना उत्पादनलाई देशभर सहज रूपमा उपलब्ध गराउने उदेश्यका साथ १ सयभन्दा बढी डिलर र वितरकहरूको सञ्जालको स्थापना गरिसकेको छ । लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले चितवनमा पहिलो फ्रेञ्चाइज शोरूम ल्याएको बताए । लुम्बिनी सेरामिक्सले सन् २०२५ मा थप ५० भन्दा बढी विशेष शोरूम सञ्चालनमा ल्याउने योजना तय गरेको उनको भनाइ छ । ‘चितवनमा फ्रेञ्चाइज शोरूमको उद्घाटन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ, हाम्रा उत्पादनलाई विश्वास गर्दै शतप्रतिशत भिट्रिफाइड टायल्स जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सले उपलब्ध गराउनेछ,’ उनले भने । बर्दियाको गुलरियास्थित साँढे १२ बिघाह जमिनमा यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको कम्पनीको दाबी छ । करिब ५ सय वटाभन्दा बढी आकर्षक डिजाइनमा टायल चारवटा आकार (१६*१६ इञ्च, २*२ फिट, २*४ फिट र ८ इञ्च*४ फिट) मा उपलब्ध हुनेछन् । करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् ।

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट आयात सुरु, ढुवानी भाडा बच्ने

काठमाडौं । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुआत भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको हो । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए । ‘पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल ५ हजार ५ सय केएल र १ हजार केएल मट्टितेल ल्याएका छौँ,’ प्रमुख आचार्यले भने, ‘पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।’ यससँगै पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्नका लागि आवश्यक तयारीसमेत भइरहेको उनले जानकारी दिए । ‘जनवरी २०२५ देखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने छ,’ उनले भने । पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा ४ हजार १ सय किलो लिटर क्षमताका २ पेट्रोल ट्याङ्क, २५ं० किलोलिटर क्षमताका २ ट्रान्समिक्स ट्र्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे-रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरेको प्रमुख आचार्यले बताए । सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । तर विभिन्न कारणले केही दिनअघिमात्र पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताए । यस्तै पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि २ ट्रान्समिक्स ट्र्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्र्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ । परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलकोसमेत आयात हुने जनाएको छ । ‘एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ट्र्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो,’ प्रमुख आचार्यले भने, ‘आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको नियमित आयात पाइपलाइनबाटै हुन्छ ।’ मेतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुदाँ प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ । यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ ।

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण

काठमाडौं । हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा समाहित गराउन आवश्यक सवस्टेशन निर्माणका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय हुम्लालाई अनुरोध गरेसँगै जिप्रका हुम्लाले उक्त जग्गा अधिग्रहण गर्न लागेको हो । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा नेत्र ज्ञवालीले हुम्ला कर्णाली र मुगु कर्णालीमा उत्पादित हुने २ हजार ५ सय मेगावाट विद्युतलाई राष्ट्रिय प्रसारण ग्रीडमा आवद्ध गराउनका लागि सर्केघाटमा सवस्टेशन निर्माण गर्न लागिएको जानकारी दिए । डा. ज्ञवालीले उक्त सवस्टेशन निर्माणले हुम्ला र मुगु क्षेत्रको जलविद्युत् विकासमा महत्वपूर्ण उपलब्धिसावित हुने बताए । कैलालीको दोधराबाट सुरु भई कालिकोट भएर हुम्ला जाने यो प्रसारण लाइन करिब २२० किलोमिटरको हुनेछ । हाल कैलालीको दोधरादेखि कालिकोटको फुकोटसम्मको प्रसारण लाईन निर्माणाधीन रहेको छ । उक्त जग्गा अधिग्रहण गरेपश्चात हुम्ला–कालिकोट खण्डको ९० किलोमिटर खण्डको विस्तृत इन्जिनियरिङ र वातावरण अध्ययन सुरु गरिने र दुई वर्षपछि निर्माणमा जान सकिने राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट १४ हजार विद्यार्थी दीक्षित (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका ९ हजार ६८, स्नातकोत्तर तहका ५ हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का १२२ जना विद्यार्थी दीक्षित भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ । यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन शङ्कायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेलाई प्रदान गरिएको छ । यसैगरी, अमृत पदक रसायनशास्त्र केन्द्रीय विभागका सुशील पोखरेललाई, मदन विद्या वातावरण विज्ञान पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागका रिकिता भण्डारीलाई, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार काठमाडौँ मोडल कलेजका रेविका भण्डारीलाई प्रदान गरिएको छ । नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्णपदक रत्नराज्यलक्ष्मी क्याम्पसका सुदीक्षा घिमिरेले पाएका छन् । शान्ति–नारायण मिश्र पदकबाट पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका सञ्जीवकुमार सिंह, डा दुबसु क्षेत्री स्वर्ण पदकबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रतीकराज जोशी, इमिरेट्स प्रा डा रामप्रसाद चौधरी स्वर्ण पदकबाट वनस्पति शास्त्र केन्द्रीय विभागका श्रीणा क्षेत्री र नारायण शान्ति मिश्र पदकबाट पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका चेतना कुँवरबाछ पुरस्कृत भएका छन् । तारपद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार श्रीज्या काफ्लेले पाएका छन् । काफ्ले अर्थशास्त्र केन्द्रीय विभागको छात्रा हुनुहुन्छ । शील्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शिक्षाशास्त्र केन्द्रीय विभागका सीताकुमारी श्रेष्ठले प्राप्त गरेका छन् ।

४० मेगावाटको राहुघाटको प्रगति ७२ प्रतिशत, ४ वटा टावर र प्रसारण लाइन पनि बने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय आयात-निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सले बाँध, सुरूङ र विद्युत् गृह निर्माणको कामलाई तीव्रता दिएको छ । आयोजनाका सिभिल महाशाखा प्रमुख रविन कट्टेलले आगामी २०८२ को असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भौतिक संरचना निर्माण र उपकरण जडानको कामलाई तीव्रता दिइएको जानकारी दिए । ‘बाँधमा ब्यारेज, ६ हजार २७० मिटर लामो मुख्य सुरूङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माण सकिएको छ,’ उनले भने, ‘स्विचार्ड निर्माण र विद्युत्गृहका उपकरण जडान गर्न थालिएको छ । डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरूङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ ।’ मुख्य सुरूङको ४ वटा अडिटबाट शुक्रबारसम्म २ हजार २४३.८ मिटर लाइनिङ (ढलान र प्लास्टर) सकिएको सिभिल महाशाखा प्रमुख कट्टेलले बताए । रघुगङ्गा गाउँपालिका-४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत गृह निर्माणाधीन छ । सिभिलतर्फ ७२ र इलेक्ट्रोमेकानिकलतर्फ ३० प्रतिशत प्रगति भएको आयोजनाको सिभिल ठेकेदारसँग विसं २०७४ मङ्सिर महिनामा ठेक्का सम्झौता भएको थियो । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ । कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० मा सकिनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको हो । बेनी-जोमसोम-कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत गृह र बाँधलाई सीधा सडकले जोडिएको छ । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना-कुश्मा प्रसारण लाइनमा लिलो (लुप इन, लुप आउट) माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।